हराइरहेको टाइटन पनडुब्बीको खोजीमा के भयो र के बाँकी छ

    • Author, भिजूअल जर्नलिजम टीम
    • Role, बीबीसी न्यूज

टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी गत आइतवारदेखि हराएपछि त्यसको खोजीका लागि उद्धार टोलीहरूले तीव्र ढङ्गले काम गरिरहेका छन्।

पाँच जना यात्रु रहेको पनडुब्बीकोखोजीमा जुटेका उद्धारकर्ताहरूले आफ्ना प्रयासहरूलाई आन्ध्र महासागरको झन्डै २०,००० वर्ग किलोमिटर क्षेत्रमा केन्द्रित गरेका छन्।

यसबीच उद्धारकर्ताका उपकरणले आवाज सुनेको खबर आएसँगै यात्रुहरू जीवितै हुन सक्ने आश जागेको छ। ब्रिटिश समयअनुसार भोलि बिहीवार बिहानसम्म पनडुब्बीमा अक्सिजन रहने भनिएकाले आगामी घण्टाहरूको खोजी झनै महत्त्वपूर्ण हुनेछ।

तर यस क्रममा उनीहरूले कस्ता चुनौती भोग्नुपर्ने हुन सक्छ?

खोज कहाँ केन्द्रित छ?

आइतबार भग्नावशेषको अवलोकनका लागि यात्रा सुरु गरेको १ घण्टा ४५ मिनेटपछि टाइटन पनडुब्बीका चालक दलका सदस्य र सतहमा रहेको पोलर प्रिन्स नामक पानीजहाजबीचको सम्पर्क टुटेको थियो। विज्ञहरूले करिब चार दिनसम्म पुग्ने अक्सिजन उक्त पनडुब्बीसँग रहेको जनाएका थिए।

टाइटानिकको भग्नावशेष न्यूफाउन्डल्यान्डको राजधानी सेन्ट जोन्सको ७०० किलोमिटर दक्षिणमा अवस्थित छ।

उद्धार कार्य बोस्टन म्यासचूसिट्सबाट सञ्चालन भइरहेको छर यसमा करिब एक दर्जन जहाजहरू प्रत्यक्ष वा अप्रतक्ष रूपमा संलग्न छन्।

अमेरिका र क्यानडाका निकायहरू, जल सैनिक र व्यावसायिक डीपसी फर्महरू सबैले उद्धार कार्यहरूमा सघाइरहेका छन्। सैनिक विमान, एउटा पनडुब्बी र पानीमा हिँडिरहेको वस्तु पहिचान गर्ने उपकरण खटाइएको छ।

पोलर प्रिन्सलाई खोजी कार्यमा केबल बिछ्याउने पानीजहाज डीप इनर्जी र अन्य तीन जहाजहरूले साथ दिइरहेका छन्। एट्लान्टिक मर्लिन जहाज थपिने क्रममा छ।

यूसीएलका एक सामुद्रिक इन्जिनियरिङ प्राध्यापक एलिस्टर ग्रेगका अनुसार उद्धारकर्ताहरूलाई सतहमा केन्द्रित हुने कि समुद्रमुनिको ठोस सतहमा भन्ने कुरा थाहा छेन। ती दुई सतहको बीचमा पनडुब्बी हुन "असम्भवप्राय:" छ भन्दै उनी दुबैतर्फको खोजी चुनौतीपूर्ण रहेको बताउँछन्।

सतहमा खोजी

अमेरिकी तटरक्षक निकायले अनुसन्धानमा खटिने पानीजहाज पोलर प्रिन्सले सोमवार साँझ पानीको सतहमाथि उक्त पनडुब्बीको खोजी गरेको थियो। पोलर प्रिन्सले भग्नावशेष रहेका ठाउँमा पनडुब्बीहरूलाई पुर्‍याउने गर्छ र उक्त पानीजहाजले आइतवारदेखि हराइरहेको पनडुब्बीलई पनि सहयोग गरेको थियो।

तीन वटा सी-१३० हर्क्युलीज विमानले पनि आकाशबाट हराइरहेको पनडुब्बी खोजीको प्रयास गरिरहेका छन्। त्यसमध्ये दुईवटा विमान अमेरिकाबाट र एउटा क्यानडाबाट उक्त अभियानमा जुटेका छन्।

अमेरिकी तटरक्षक निकायका अनुसार १० हजार वर्ग माइलको क्षेत्रफलमा खोज गरिसकिएको छ।

अस्ट्रेलियाली पनडुब्बी उद्धार परियोजनाका पूर्वनिर्देशक फ्राङ्क ओवेनले बीबीसीलाई बताएअनुसार सतहमा आइपुगेको खण्डमा सो सबले उद्धारकर्ताहरूलाई सङ्केत दिन सक्छ।

“त्यहाँ रेडिओ ट्रान्समिटर र जीपीएस सिग्नलहरू छन्,” उनले भने। “खोजीमा संलग्न फौजहरूलाई मद्दत पुर्‍याउने स्ट्रोब लाइट्स (एक प्रकारको चम्किलो फ्ल्याश लाइट) र रडार रिफ्लेक्टर त्यहाँ हुनेछन्।”

तर उसले अप्ठेरोमा परेको सङ्केत पठाउन नसकेको खण्डमा त्यसलाई फेला पार्नु चुनौतीपूर्ण हुन सक्ने प्राध्यापक ग्रेगको भनाइ छ। “त्यो एउटा ठूलो ट्रान्जिट भ्यानको आकार बराबर हुन्छ र त्यसमा सेतो रङ्ग छ। त्यही भएर त्यसलाई आकाशबाट पत्ता लगाउने प्रयास गर्नु वास्तवमै चुनौती हो।”

मौसममा देखा पर्न सक्ने परिवर्तन र कमजोर प्रकाशलाई अर्को चुनौती ठानिएको छ।

समुद्रको गहिराइको खोज

उद्धारकर्ताहरूले ६.७ मिटर लामो पनडुब्बीका लागि झन्डै ४ किलोमिटर गहिराइसम्म खोज्नुपर्ने हुन्छ किनभने रेडियो र जीपीएस सङ्केत पानीभित्र प्रवाह हुँदैनन्।

अमेरिकी तटरक्षक निकायले मङ्गलवार अझ गहिरो समुद्री क्षेत्रमा खोजलाई विस्तार गरेको पुष्टि गरेको छ। एउटा क्यानडेली पी३ अरोरा एअरक्राफ्ट ध्वनिका माध्यमबाट पनडुब्बीको सङ्केत पत्ता लगाउन सो क्षेत्रमा पुगेको छ।

सोनर बोई वा सोनोबोई भन्ने उपकरण पानीभित्र हिँडिरहेका वस्तुको पहिचान गर्न प्रयोग गरिन्छ। अधिकांश अवस्थामा शत्रु पनडुब्बीलाई निसाना बनाउन तिनको प्रयोग गरिन्छ।

उनीहरूले प्रोपेलर वा अरू उपकरणहरूबाट निस्किएका आवाज सुन्न सक्छन्। पनडुब्बीका चालक दलका सदस्यले भित्र गरेका हल्ला वा उपकरणको सहायताले पनि उनीहरूले ध्वनि सुन्न सक्छन्।

पनडुब्बीसँग केके आपत्‌कालीन उपाय हुन सक्छन्?

सब्मर्सबल पनडुब्बी सब्मरिन पनडुब्बीभन्दा केही फरक हुन्छ।

न्याश्‍नल ओशनिक एन्ड एटमसफिअरिक एड्मिनिस्ट्रेशनका अनुसार सब्मरिन बन्दरगाहबाट समुद्रमा आफैँ स्वतन्त्रतापूर्वक पठाउन मिल्छ।

तर सब्मर्सबलसँग सीमित शक्ति हुन्छ र उसलाई अर्को जहाजको माध्यमबाट प्रक्षेपण गर्नुपर्छ र फिर्ता ल्याउनुपर्छ।

अघिल्लो वर्ष अमेरिकी टेलिभिजन नेटवर्क सीबीएसका डेभिड पोग टाइटानिकसम्मको यात्रामा सहभागी भएका थिए। उनलाई सुरक्षित रूपमा सतहमा फर्कन पनडुब्बीमा सात वटा सुरक्षा प्रणाली रहेको भनिएको थियो।

  • ट्रिपल वेइट्स: तीन वटा लीड पाइपलाई हाइड्रोलिक्सको प्रयोग गरी खसालेर तैराउन सकिने
  • रोल वेइट्स: यदि हाइड्रोलिक प्रणाली विफल भयो भने त्यहाँभित्र रहेकाहरूले पनडुब्बीलाई कोल्टाउने र त्यसका विभिन्न क्षेत्रमा रहेका तौल घटाउने
  • ब्यालास्ट ब्याग: मोटरहरूको प्रयोग गरी पनडुब्बीको पछाडि झुन्ड्याइएका धातुका सटहरूलाई खसाल्ने
  • फ्यूजिबल लिङ्क: यो विशेष किसिमको तार हो जसमा ब्यालास्ट ब्यागलाई पनडुब्बीसँग जोडिएको हुन्छ। पनडुब्बी यदि निरन्तर १६ घण्टासम्म पानीभित्र रहेको अवस्थामा कुनै कारणले इलेक्ट्रिक र हाइड्रोलिक प्रणाली विफल भयो भने उक्त लिङ्कस आफैँ गल्छ र त्यो ब्याग पनडुब्बीबाट अलग हुन्छ
  • थ्रस्ट्रर्स: सतहसम्म धकेल्न प्रयोग गरिने प्रणाली
  • सबको तल्लो भाग: पाइलटले सबको तल्लो भागलाई फ्यालेर तौल घटाउन सक्छन्
  • एअरब्याग: सञ्चालन टोलीले एअरब्याग फुलाएर तैराउन सक्छन्

समुद्रको पिँधमा रहेको पनडुब्बीलाई उद्धारकर्ताहरूले के गर्छन्?

अमेरिकी तटरक्षक निकायका रिअर एडमिरल जन माउगिअरले उक्त सब पानीमुनि फेला परेको खण्डमा थप विज्ञता चाहिने भन्दै आफूहरूले अमेरिकी जलसेना र निजी क्षेत्रलाई सहयोगका लागि आग्रह गरेको बताए।

ओशनगेटका अनुसार टाइटन ३,८०० मिटरमुनि अवस्थित टाइटानिकसम्म पुग्न सक्ने क्षमताको पाँच जना व्यक्ति रहन सक्ने एक मात्र सब्मर्सब हो।

त्यो पनडुब्बी समुद्रको पिँधमा रहेको र आफ्नै इन्धनले चल्न नसक्ने भएको खण्डमा विकल्पहरू सीमित रहेको यूनिभर्सिटी कलेज लन्डनका पनडुब्बी विज्ञ प्राध्यापक एलिस्टर ग्रेगले बताए।

उनले भने, “सब्मर्सबल सग्लो अवस्थामा पनि हुन सक्छ, यदि त्यो २०० मिटरभन्दा गहिराइमा छ भने त्यति भित्रसम्म पुग्न सक्ने एकदमै सीमित पनडुब्बीहरू छन्। गोताखोरहरूले त्यसो गर्न सक्दैनन्। पनडुब्बी उद्धारका लागि डिजाइन गरिएका साधनहरू टाइटानिक रहेको गहिरो भूभागको छेउछाउसम्म पुग्न सक्दैनन्।”

त्यो क्षेत्रमा समुद्रको पिँधमा पुग्ने कुनै पनि प्रयास मानवरहित रिमोटद्वारा सञ्चालिय यन्त्र अर्थात् आरओभीको मद्दतले अघि बढाउनुपर्ने हुन्छ।

मङ्गलवार उक्त क्षेत्रमा पुगेको डीप इनर्जी केबलसँग आरओभी क्षमता रहेको मरिन वैज्ञानिक डेभिड मिअर्न्स बताउँछन्। तर आवश्यक गहिराइसम्म त्यो पुग्न सक्ने या नसक्ने स्पष्ट नरहेको उनले बताए।

अमेरिकी जलसेनासँग पनि आरओभी छ जसले साउथ चाइना सीमा अघिल्लो वर्ष दुर्घटनाग्रस्त भएको एउटा लडाकु विमान ३,७८० मिटरमा फेला पारेको थियो।

त्यस बेला अमेरिकी सेनाले आरओभीलाई वायुयानलाई बाँध्ने र सतहमा रहेको उद्धारमा खटिएको पानीजहाजमा रहेको क्रेन तान्ने हुकसँग जोडिएको थियो।

डेभिड मिअर्नसका अनुसार यदि आरओभीले टाइटनलाई फेला पारेको खण्डमा उसले त्यसलाई निकाल्न सक्छ।

उनले भने, “दुई वटा म्यानिपुलेटर्स सहितको एउटा उच्च गुणस्तरको आरओभीले टाइटनलाई नियन्त्रणमा लिन सक्छ वा त्यसलाई माथि उठाउने यन्त्रमा जोडेर बिस्तारै बाहिर डोर्‍याउन सक्छ।”