तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'जोइस्टिक' ले नियन्त्रण गर्न मिल्थ्यो हराइरहेको पनडुब्बी
टाइटानिक पानीजहाजको भग्नावशेषतर्फ गइरहेको एउटा पर्यटकीय पनडुब्बी हराएपछि गत आइतवारदेखि खोजी जारी छ। त्यसमा पाँच जना सवार छन्।
उत्तर आन्ध्र महासागरको झन्डै २०,००० वर्ग किलोमिटर क्षेत्रमा 'टाइटन' नामक पनडुब्बीको खोजी भइरहेको छ। क्यानडाको पी-थ्री विमानले "पानीभित्रबाट आवाज आएको" सुनेको विवरण सार्वजनिक भएपछि खोजी र उद्धारकार्यमा त्यसलाई पनि आधार बनाइएको छ।
तीन दिनदेखि चलिरहेको खोजी अभियानमा उक्त पनडुब्बीको अवस्थितिबारे सम्भवतः यो नै पहिलो ठोस सङ्केत हो।
ओशनगेट नामक कम्पनीको स्वामित्वमा रहेको उक्त पनडुब्बीको भिडिओ सन् २०२२ मा बीबीसीले खिचेको थियो।
एक भिडिओ गेम कन्ट्रोलरले सञ्चालन गर्ने उक्त जहाजमा सीमित अक्सिजन बाँकी रहेको मानिएको छ।
बीबीसीसँग कुरा गर्दै उक्त पनडुब्बीका एक पूर्वयात्रुले भने, "सम्भावित खतराबारे हामी सबैलाई थाहा थियो।"
उक्त पनडुब्बी खोज्नका लागि थप स्रोतको परिचालन गरिएको छ र समुद्रभित्र निकै गहिरो स्थानमा गरिने उद्धारमा विशेषज्ञता भएका निजी कम्पनीहरू समेत सहभागी भएका छन्।
खोजी अभियानमा अहिले विभिन्न देशका विमान र पानीजहाज पनि खटेका छन्। उक्त पनडुब्बी खोजी अभियानमा अमेरिकी तथा क्यानडाका तटरक्षकहरू सहभागी छन्। अनुसन्धानमा प्रयोग हुने फ्रान्सको एउटा पानीजहाज पनि खोजीमा प्रयोग भएको छ।
पनडुब्बीमा को थिए?
एक सय वर्षभन्दा पहिले डुबेको टाइटानिक पानीजहाजको भग्नावशेष हेर्न धनाढ्य यात्रुसहित पानीमुनि गएको उक्त पनडुब्बीसँग आइतवारदेखि सम्पर्कविच्छेद भएको थियो।
पाकिस्तानी मूलका ब्रिटिश धनाढ्य दाउद शाहजादा (४८) र उनका छोरा सुलेमान (१९) अनि ब्रिटिश अर्बपति हमिश हार्डिङ (५८) पनि उक्त पनडुब्बीमा थिए।
पहिला फ्रान्सको जनसेनामा काम गरेका पल-अन्री नार्गेओ (७७) पनि टाइटानिकको भग्नावशेष हेर्न सँगै गएका थिए। उनले पहिला टाइटानिकको अन्वेषण गरेका थिए।
टाइटानिकसम्मको यात्रा गराउने ओशनगेट कम्पनीका प्रमुख कार्यकारी स्टक्टन रश (६१) पनि पनडुब्बीमा थिए्।
उक्त पनडुब्बीभित्र अब ३० घण्टाभन्दा कम समयका लागि मात्र अक्सिजन रहेको बताइएको छ।
त्यो माथि सतहमा उत्रिएमा त्यसलाई बाहिरबाट मात्र खोल्न मिल्ने विज्ञहरूले बताएका छन्।
सन् १९१२ मा डुबेको टाइटानिकको भग्नावशेष पानीको सतहभन्दा ३,८०० मिटर गहिराइमा छ।
अमेरिकी तटरक्षकहरूका अनुसार उक्त पनडुब्बी पानीमा डुबुल्की मारेको एक घण्टा ४५ मिनेटपछि सम्पर्कविहीन भएको थियो।
टूर कम्पनी ओशनगेटले हराइरहेको पनडुब्बीको खोजीका लागि सबै विकल्प प्रयोग भइरहेको बताएको छ।
'टाइटन सब' क्यानडाको न्यूफाउन्डल्यान्ड प्रान्तको राजधानी सेन्ट जोन्सबाट झन्डै १,४५० किलोमिटर पूर्व र ६४३ किलोमिटर दक्षिणमा रहेको ठानिएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।