तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरियामा असदलाई सत्ताच्युत गरेका विद्रोहीसँग अमेरिका 'सिधा सम्पर्क'मा
- Author, सेबास्टिअन असर र इयन केइसी
- Role, बीबीसी मध्यपूर्व क्षेत्रीय सम्पादक/बीबीसी न्यूज
सिरियामा बशर अल-असदको सत्ताको अन्त्य गराएर हाल देशमा नियन्त्रण कायम राखेका हायत तहरिर अल–शाम (एचटीएस) विद्रोहीसँग अमेरिकाले "सिधा सम्पर्क" गरेको विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले जनाएका छन्।
सिरियाली विद्रोह समूह एचटीएसलाई आतङ्ककारी सङ्गठन मानिरहेको अमेरिकाले पहिलोपटक यो समूहसँग सिधा संवाद गरेको स्वीकारोक्ति आएको हो।
सिरियाको भविष्यबारे अरब देश, टर्की र युरोपेली देशका प्रतिनिधिहरूसँग भएको छलफल पछि जोर्डनमा बोल्दै ब्लिङ्कनले यस्तो स्वीकार गरेका हुन्। उक्त छलफलमा अधिकारीहरू एउटा शान्तिपूर्ण सङ्क्रमणलाई साथ दिन सहमत भएका छन्।
जोर्डनका विदेशमन्त्रीले छलफलपछि क्षेत्रीय शक्तिहरूले "अराजकता फैलिएको" देख्न नचाहेको बताए।
उनीहरूले जारी गरेको एउटा संयुक्त वक्तव्यमा सिरियामा सबैलाई समेट्ने सरकारको आह्वान गरिएको छ। त्यस्तो सरकारले अल्पसङ्ख्यकहरूको अधिकारको संरक्षण गर्नुपर्ने र "आतङ्कवादी समूहहरू"लाई आधार प्रदान गर्न नहुने भनिएको छ।
'अर्को लिबिया नबनोस्'
हालैका सातामा सिरियामा भएका उतारचढावपूर्ण घटनापछि सिरिया भित्र र बाहिर भइरहेका वार्तामा सबै सिरियालीहरूको प्रतिनिधित्व गर्ने गरी नयाँ सरकार स्थापना गर्ने कुराले महत्त्व पाइरहेको छ।
जोर्डनमा भएको उक्त बैठकमा इराकी विदेशमन्त्री फुआद हुसैनले मध्यपूर्वमा र त्यसबाहिर साझा चिन्ता देखा परेको बताए।
उनले लिबियामा कर्णेल गद्धाफी सत्ताच्युत भएपछिको भद्रगोलपूर्ण अवस्थाको प्रसङ्ग उल्लेख गर्दै क्षेत्रीय शक्तिहरूले अर्को लिबिया देख्न नचाएको बताए।
टर्कीका विदेशमन्त्री हकान फिदानले हाल कायम रहेका सिरियाली संस्थाहरूको संरक्षण र सुधार हुनुपर्ने बताए।
"यस सङ्क्रमणकालीन अवस्थाको लाभ आतङ्कवादलाई लिन दिनु हुँदैन। र हामीले हाम्रा प्रयासको समन्वय गर्दै विगतका गल्तीबाट सिक्नुपर्छ," फिदानको भनाई उद्धृत गर्दै रोएटर्स समाचार संस्थाले लेखेको छ।
वार्तामा को थिए, को थिएनन्?
सिरियाको सबैभन्दा शक्तिशाली विद्रोही समूह एचटीएसले आफूले समावेशी सरकार चाहेको सङ्केत गरेको छ।
तर उक्त समूहको विगतका हिंस्रक गतिविधिका कारण उक्त सङ्गठन आफ्नो बाचामा कायम रहला नरहला भन्नेमा सन्देह उत्पन्न भएको छ।
ब्लिङ्कनले एचटीएससँग सिधा सम्पर्कमा रहेको र त्यो सम्पर्क लामो समयदेखि बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइको अवस्था बुझ्नमा केन्द्रीत रहेको बताएका छन्।
"हामी एचटीएस र अन्य समूहहरूसँग सम्पर्कमा छौँ," जोर्डनमा ब्लिङ्कनले पत्रकारहरूसँग भने।
जोर्डनको सो वार्तामा सिरियाबाट भने कोही प्रतिनिधि थिएनन्।
सहभागी आठ अरब देशका विदेशमन्त्रीहरूले सिरियामा एकता सुनिश्चित भएको देख्न चाहेको र साम्प्रदायिकता आधारमा विभाजन नचाहेको बताएका छन्।
सो बैठकमा असदको सरकारलाई लामो समय सत्तामा कायम रहन आर्थिक सहयोग गर्ने दुई देश इरान र रुस समेत सहभागी थिएनन्।
सिरियामा लामो समय लडेका बाह्य शक्तिहरूको छाया यतिखेर उक्त देशका लागि महँगो साबित भइरहेको छ।
सिरियाका नयाँ आउँदै गरेका राजनीतिक शक्तिहरूले गत साता अनुभव गरेको जस्तै स्वतन्त्रताको स्वादमा साँच्चिकै देश बनाउन चाहेको अवस्थामा देशभित्र मात्रै नभएर बाह्य रूपमा पनि एकताको खाँचो पर्नेछ।
पछिल्लो उतारचढावपछिको चासो
सिरियाली विद्रोहीहरूले ८ डिसेम्बरमा राजधानी दमास्कस कब्जा गर्दै राष्ट्रपतिलाई देश छाड्न बाध्य पारेसँगै बशर अल-असदको २४ वर्षे शासनको अन्त्य गराएका थिए।
प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई दमन गरेसँगै सुरु भएको १३ वर्ष लामो गृहयुद्धपछि असद सत्ताच्युत भएका हुन्।
अन्तर्राष्ट्रिय शक्ति र उनीहरूका प्रोक्सीहरू संलग्न सो गृहयुद्धमा पाँच लाखभन्दा धेरै मानिसहरू मारिनुका साथै दशौँलाख विस्थापित भएका थिए।
अहिले अबु मोहम्मद अल-जुलानी भनेर परिचित एचटीएस नेता अहमद अल-शाराले सिरियाको अन्तरिम प्रधानमन्त्रीमा मोहम्मद अल-बसिरलाई नियुक्त गरेका छन्।
असद परिवारको आधा शताब्दी लामो शासनको अन्त्यपछि सिरियाको राजनीतिक परिदृश्य कस्तो होला भन्ने कुरा विश्वले व्यग्रतापूर्वक हेरिरहेको छ।
एचटीएस सन् २०११ मा जबात अल-नुस्राका नाममा अल कायदासँग प्रत्यक्ष रूपमा जोडिएर स्थापना भएको थियो। सो समूह राष्ट्रपति असदविरुद्ध उभिएको सबैभन्दा प्रभावकारी र घातक समूहका रूपमा गनिन्थ्यो।
जुन सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घ, अमेरिका, टर्की र अन्य देशहरूले आतङ्कवादी सङ्गठन मान्छन् र त्यो अझै कायम छ।
तर अल-शाराले अल-कायदासँग सम्बन्ध तोडेको सार्वजनिक रूपमा जनाएको छ र उसका हालैका वक्तव्यहरूमा समावेशिता समेटिएको तथा हिंसा र बदला नकारिएको देख्न पाइन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।