तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
असद र उनको परिवारको अबको भविष्य के?
- Author, साम ह्यानकक
- Role, बीबीसी न्यूज
आइतबार जब सिरियामा बशर अल-असदको सत्ता ढल्यो, त्यसबाट उनको २४ वर्षको राष्ट्रपति शासनको अन्त्य मात्रै भएन।
उनको परिवारले ५० वर्ष भन्दा लामो समयदेखि कायम राखेको शासनको अध्याय समेत समाप्त भयो।
इस्लामवादी लडाकु समूह हायत तहरिर अल-शाम (एचटीएस) ले सङ्क्रमणकालीन सरकार गठन गरेसँगै अपदस्थ गरिएका राष्ट्रपति, उनकी श्रीमती र तीन जना सन्तानको भविष्य अनिश्चित बनेको छ।
उनीहरू अहिले रुसमा छन् जहाँ उनीहरूलाई शरणको प्रस्ताव गरिएको छ। तर उनीहरूको भविष्य के हुन्छ?
असद किन रुस भागे
सिरियामा गृहयुद्ध जारी रहँदा रुस सिरियाको प्रमुख साझेदार रहेको छ। रुसका दुई प्रमुख सैनिक अखडाहरू त्यहाँ रहका छन्।
सन् २०१५ मा रुसले असदको समर्थनमा हवाई कारबाहीहरू गरेको थियो जसले उक्त गृहयुद्धलाई सरकारको पक्षमा ल्याइदियो।
यूके मुख्यालय भएको एउटा निगरानी समूहले त्यसपछिका नौ वर्षमा रुसको सैनिक कारबाहीमा २१ हजारको ज्यान गएको र मारिनेमध्ये ८,७०० गैरसैनिक रहेको जनाएको छ।
तर युक्रेनमा जारी आफ्नो युद्धको कारण नोभेम्बरको अन्त्यमा रुस असद सरकारलाई सहयोग गर्न अनिच्छुक वा असफल भइरहेको थियो।
विद्रोहीहरूले दमास्कसमा नियन्त्रण कायम गरेको घण्टौँपछि रुसको सरकारी सञ्चारमाध्यमले असद र उनको परिवार मस्को आएको र उनीहरूलाई 'मानवीय आधार'मा शरण दिइने बताएको थियो।
तर जब क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभलाई असद रहेको स्थान र शरण दिइएको विषयबारे सोमबार प्रश्न गरियो, उनले भने, "मसँग तपाईँहरूलाई अहिले भन्ने केही पनि छैन। वास्तवमै यस्तो निर्णय राज्य प्रमुख बिना सम्भव हुँदैन। यो उहाँको निर्णय हो।"
असदको रुससँगको सम्बन्धलाई राम्रोसँग अभिलेखमा राखिएको छ। सन् २०१९ मा फाइनान्शल टाइम्सले गरेको अनुसन्धानले असदको विस्तारित परिवारका सदस्यहरूले रुसी राजधानीमा १८ वटा विलासी अपार्टमेन्टहरू खरिद गरेको उल्लेख गरिएको थियो। गृहयुद्धको समयमा लाखौँ डलर देशबाहिर राख्न त्यस्तो गरिएको उक्त विवरणमा जनाइएको छ।
यसैबीच असदका जेठा छोरा हाफज उक्त शहरमा पीएचडी अध्ययन गरिरहेका एक विद्यार्थी रहेको स्थानीय सञ्चारमाध्यमले अघिल्लो हप्ता मात्रै जनाएको थियो।
सप्ताहान्तको घटनाक्रमपछि रुसी सरकारी टेलिभिजनले मस्कोका अधिकारीहरू 'सिरियाली सशस्त्र विपक्षी'सँग रुसका सैन्य शिविर र कूटनीतिक मिसनहरूको सुरक्षा सुनिश्चित गर्न छलफलमा रहेको बताएका थिए।
असदका श्रीमती र सन्तान को हुन्?
असदको विवाह द्वैध ब्रिटिस र सिरियाली नागरिकता रहेकी आस्मासँग भएको थियो। उनी पश्चिम लन्डनमा सिरियाली परिवारमा जन्मिएकी थिइन्।
इनभेस्टमेन्ट ब्याङ्कर बन्नुअघि उनले लन्डनमा नै विद्यालय र विश्वविद्यालयको अध्ययन गरेकी थिइन्।
सन् २००० मा आस्मा सिरियामा बसाइ सरिन् र त्यही बेला उनको विवाह असदसँग भयो। लभभग त्यही समयमा उनी आफ्ना पिताका उत्तराधिकारी बनेका थिए।
लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्स (एलएसई)की भिजिटिङ फेलो नेसरिन अलरिफाइले बीबीसीलाई बताए अनुसार आस्मासँग अझै पनि ब्रिटिस राहदानी छ। त्यही भएर उनी रुसमा बस्नुको सट्टा 'यूकेमा पनि फर्कनसक्छिन्।'
"तर उनका पिता डाक्टर फवाज अल-अख्राजमाथि संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको छ। उनी पनि रुसमा नै रहेका विवरणहरू आउने गरेका छन्," उनले थपिन्। अहिलेको लागि उनी मस्कोमा नै बस्नसक्ने उनको बुझाइ छ।
एउटा विवरणमा मेल अनलाइनले छिमेकीहरूलाई उद्धृत गर्दै आस्माका पिता जो मुटु सम्बन्धी डाक्टर हुन् र आमा शहर जो अवकाशप्राप्त कूटनीतिज्ञ हुन् उनीहरूले मस्कोमा बस्न चाहेको उल्लेख गरेको छ। आफ्नी छोरी र ज्वाइलाई 'सान्त्वना' दिन उनीहरूले त्यस्तो गरेको भनिएको छ।
असद र आस्माका तीन छोरा छोरी छन्। उनीहरूको नाम: हाफज (पीएचडी गरिरहेका छन्,) छोरी जीअन र अर्का छोरा करिम हो।
सन् २०२२ मा अमेरिकी विदेश मन्त्रालयले कंग्रेसलाई बुझाएको एउटा प्रतिवेदनले असद परिवारको कूल सम्पत्तिको मूल्य १ अर्बदेखि २ अर्ब डलरसम्म रहेको उल्लेख गरेको थियो।
विभिन्न ठाउँमा सम्पत्तिहरू छरिएका र कैयौँ खाताहरू, घरजग्गा, कर्पोरेसन अनि विदेशका कर छल्न प्रयोग हुने ठाउँहरूमा ती रकम राखिएकाले कूल सम्पत्तिको आकलन गर्न कठिन भएको त्यसमा जनाइएको थियो।
उक्त प्रतिवेदनले बशर र आस्मले सिरियाका 'ठूला आर्थिक खेलाडीहरूलाई नजिकबाट संरक्षण गर्ने गरेका र उनीहरूका कम्पनीहरूलाई प्रयोग गरी गैरकानुनी गतिविधिका कालोधनलाई सेतो बनाएर सत्ताका लागि रकम भित्र्याएको' आरोप लगाएको थियो।
त्यसमा सिरियाको जारी आर्थिक सङ्कटको व्यवस्थापनका लागि गठन गरिएको आर्थिक कमिटीमा आस्माको 'प्रभाव' रहेको भन्दै त्यसले उक्त देशको 'खाद्य र इन्धन अनुदान, व्यापार र मुद्रा' बारे महत्त्वपूर्ण निर्णय लिएको जनाइएको थियो।
सन् २०२०मा तत्कालीन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले आफ्ना श्रीमान् र परिवारको मद्दतले 'सिरियाको युद्धबाट लाभ लिने एक जना कुख्यात व्यक्ति' आस्मा रहेको बताएका थिए।
ट्रम्प प्रशासनकै अर्का वरिष्ठ अधिकारीले उनलाई 'परिवारको व्यापार प्रमुख'को संज्ञा दिएका थिए।
के असदमाथि कारबाही हुन्छ?
असद वंशको सत्ता ढलेपछि एमनेस्टी इन्टरन्याशनलले सिरियालीहरू भयावह मानवअधिकार उल्लङ्घनको शिकार भएको र कैयौँ त्यस्ता मानवीय पीडाहरू अझैसम्म बाहिर नआएका बताएको थियो।
त्यसमा रासायनिक अस्त्र आक्रमण, ब्यारल बमको प्रयोग र हत्या, यातना, बेपत्ता, आम नरसंहारसहितका अन्य युद्ध अपराधहरू पर्छन् जसलाई मानवताविरुद्धको अपराधका रूपमा समेत उल्लेख गर्ने गरिन्छ।
एमनेस्टीकी महासचिवले विश्व समुदायलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्ने र गम्भीर मानवअधिकार हननमा संलग्न रहेकाहरूलाई छानबिन गरी कारबाही गरिनुपर्ने बताएकी थिइन्।
मङ्गलवार सिरियाका इस्लामवादी विद्रोही नेताले राजनीतिक बन्दीहरूलाई यातना दिन संलग्न रहेका हाल पदच्युत भएका सत्ताका वरिष्ठ अधिकारीको नाम सार्वजनिक गरिने बताएका थिए।
अबु मोहम्मद अल-जोलानीले सिरियाको नयाँ सरकारले अर्को देशमा भागेका अधिकारीहरूलाई देश फिर्ता गराउने प्रयास गर्ने बताएका थिए।
फ्रान्समा न्यायाधीशहरूले असदमाथि पक्राउ पुर्जी जारी गरेका छन्। सन् २०१३ मा सिरियामा रासायनिक अस्त्र प्रयोग गरेको अभियोगमा विश्वव्यापी क्षेत्राधिकार अन्तर्गतको कानुनी अवधारणामा आधारित रहेर उक्त निर्णय लिइएको थियो।
रुसले आफ्ना नागरिकलाई अन्य देशलाई सुपुर्दगी गर्दैन। सुपुर्दगी प्रक्रियामा कोही व्यक्तिलाई सन्दिग्ध अपराधमा सुनुवाइका लागि अर्को देशलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।
असदले आफूलाई सिरियामा सुपुर्दगी गर्ने वा अपराधको कुनै आरोप लगाउने अन्य कुनै देश जानका लागि रुस छाड्ने सम्भावना छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।