तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इजरेलले सिरियामाथि किन आक्रमण गरिरहेको छ
- Author, जेरेमी होवेल
- Role, बीबीसी विश्व सेवा
इजरेलले सिरियाली सैनिक शिविरहरूमा सयौँ पटक हवाई हमला गरेको छ अनि आफ्नो नियन्त्रणमा रहेको सिरियाली भूभागमा थप अतिक्रमण गर्दै गोलन हाइट्सस्थित असैनिकीकृत मध्यवर्ती क्षेत्रमा आफ्नो सेना पठाएको छ।
आफ्ना नागरिकको सुरक्षाका लागि त्यसो गर्नुपरेको इजरेलको दाबी छ।
तर इजरेलले आफ्नो पुरानो शत्रुलाई कमजोर बनाउन मौका छोपेको धारणा अन्य पक्षको छ।
इजरेल हवाई हमला
यूकेस्थित सिरियन अब्जर्भेटरी अफ ह्यूमन राइट्सले आइतवार बशर अल-असदको सत्ता ढलेयता ३१० वटाभन्दा बढी हमला भएको अभिलेख आफूसँग भएको जनाएको छ।
ती हमलामा उत्तरमा रहेको अलेपोदेखि दक्षिणको दमास्कसमा अवस्थित सिरियाली सैन्य संरचनाहरू, हतियार र गोलीगट्ठा भण्डार, विमानस्थल, जलसेनाको शिविर र अनुसन्धान केन्द्रहरूलाई निसाना बनाइएको विवरण आएको छ।
सिरियन अब्जर्भेटरी अफ ह्यूमन राइट्सका संस्थापक रामी अब्दुल रहमानले ती हमलाहरूले "सिरियाली सेनाको सबै सामर्थ्य" ध्वस्त पारिरहेको र "सिरियाली भूमिमा अतिक्रमण" भइरहेको बताए।
इजरेलले सिरिया असदपछिको युगमा प्रवेश गर्न लाग्दा "हतियार उग्रवादीहरूको हातमा पर्न नदिन" आफूले त्यस्तो कदम चालेको बताएको छ।
रासायनिक अस्त्रबारे इजरेलको चिन्ता
बशर अल-असदसँग रहेको भनेर आरोप लगाउने गरिएको रासायनिक अस्त्रभण्डार कसको हातमा पुग्छ भन्नेमा इजरेलको चासो देखिन्छ।
सिरियासँग कति त्यस्ता अस्त्र छन् भन्ने थाहा छैन। तर पूर्वराष्ट्रपति असदसँग रासायनिक अस्त्रको भण्डार नै भएको ठान्ने गरिन्छ।
रासायनिक पदार्थ निगरानी गर्ने संयुक्त राष्ट्रसङ्घी निकायले सोमवार त्यस्ता अस्त्रहरू सुरक्षित रहेको सुनिश्चित गर्न इजरेललाई अनुरोध गरेको थियो।
पहिला सिरियामा राष्ट्रसङ्घीय अस्त्र निरीक्षकको भूमिका निर्वाह गरेका ओका सेल्स्ट्रमका अनुसार इजरेलले हवाई हमला गरेर सिरियाको रासायनिक अस्त्र क्षमतालाई निसाना बनाएको छ।
"इजरेलले उनीहरूको सम्पत्ति खोस्दै छ। त्यो मानवदेखि भौतिक संरचना वा उपकरण जे पनि हुन सक्छ," उनले भने।
बशर अल-असदप्रति बफादार सुरक्षाकर्मीहरूले सन् २०१३ मा दमास्कसभन्दा बाहिरको एउटा इलाकामा विषालु 'सरीन' ग्यास प्रयोग गरेका थिए। त्यसबाट १,००० भन्दा बढी मानिसको ज्यान गएको ठानिएको छ।
उनीहरूमाथि सरीन ग्यास, क्लोरीन ग्यास र अरू रासायनिक अस्त्रहरू हालै भएका आक्रमणहरूमा पनि प्रयोग गरेको आरोप लाग्ने गरेको छ।
सेल्स्ट्रमका अनुसार विद्रोही फौजहरूसँग पनि त्यस्ता अस्त्रको भण्डार हुन सक्छ। आफ्ना शत्रुविरुद्ध उनीहरूले सिरियामा त्यस्ता पदार्थ र अस्त्र प्रयोग गरेको कुरा पहिला पत्ता लागेको थियो।
"असदसँग इजरेलसँगको द्वन्द्वमा केही शक्ति देखाउनका लागि यी अस्त्रहरू थिए तर उनी सुरुमै ती अस्त्र प्रयोग गरिहाल्दैनथे। तर अहिले पूरै नयाँ सरकार छ।"
"उनीहरूसँग रासायनिक अस्त्रसँग सम्बन्धित जे छ … इजरेल त्यसलाई पूरै सखाप पार्ने पक्षमा छ।"
गोलन हाइट्समा इजरेल
इजरेली प्रधानमन्त्रीले आफ्ना सैनिकहरूले गोलन हाइट्सस्थित असैनिकीकृत मध्यवर्ती क्षेत्रमा नियन्त्रण कायम गरेको घोषणा गरेका छन्। इजरेली सेनाले उक्त क्षेत्रमा आफ्नो नियन्त्रणमा भएको सिरियाली भूमि बढाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले "उपयुक्त प्रबन्ध फेला नपरेसम्म त्यो अस्थायी रक्षात्मक उपस्थिति" भएको बताएका छन्।
"इजरेललले अक्टोबर ७ मा हमासले गरेको जस्तो आक्रमण सिरियाली क्षेत्रबाट हुन नदिन आफूले चाहेको बताएको छ," एसओएएस यूनिभर्सिटी अफ लन्डनका प्राध्यापक गिल्बर्ट अश्करले भने।
"तर यो अघि बढ्ने र अन्य फौजहरूलाई अधीनस्थ क्षेत्रको सीमानजिकै पुग्न नदिने अवसर हो।"
इजरेलले असैनिकीकृत मध्यवर्ती क्षेत्रलाई कब्जा गरेकोमा अरब देशहरूले निन्दा गरेका छन्। इजिप्टको विदेश मन्त्रालयले सोमवार सो कदम "सिरियाली भूभागमाथिको कब्जा भएको" भन्दै त्यो सन् १९७४ मा भएको सहमतिको "ठाडो उल्लङ्घन" भएको दाबी गरेको छ।
सिरियाली विवरणहरूमा इजरेलले भूमि कब्जा गरेको क्षेत्र "बफर जोन"भन्दा पर रहेको र त्यो दमास्कसभन्दा २५ किलोमिटर भित्रको भूभागसम्म पुगेको उल्लेख छ। तर इजरेली सैन्य स्रोतले त्यसलाई अस्वीकार गरेका छन्।
इजरेली डिफेन्स फोर्स (आईडीएफ)ले पहिलो पटक गोलन हाइट्सको मध्यवर्ती क्षेत्रभन्दा पर आफ्ना सैनिकहरूले काम गरिरहेको स्वीकार गरेका छन्। तर आईडीएफका प्रवक्ताका अनुसार इजरेली सेना धेरै भित्रसम्म प्रवेश गरेको छैन।
गोलन हाइट्स के हो, त्यहाँ कसको नियन्त्रण छ
गोलन हाइट्स दक्षिणपश्चिम सिरियामा अवस्थित एउटा पठार हो। उक्त भूभाग आधा शताब्दीभन्दा बढी समयदेखि इजरेली सेनाको अधीनमा छ।
सन् १९६७ मा भएको मध्यपूर्व युद्धमा सिरियाले इजरेलमाथि उक्त स्थानबाट गोलाबारी गरेको थियो।
तर इजरेलले द्रुत रूपमा सिरियाली सेनालाई पछि धकेल्दै १,२०० वर्ग किलोमिटर क्षेत्रमा नियन्त्रण कायम गर्यो। सिरियाले सन् १९७३ मा भएको 'योम किपुर' भन्ने मध्यपूर्वको लडाइँमा उक्त भूभागलाई फिर्ता लिने प्रयास गर्यो तर विफल भयो।
दुवै पक्षले सन् १९७४ मा युद्धविराममा हस्ताक्षर गरे र त्यहाँस्थित युद्धविराम रेखामा सन् १९७४ यता राष्ट्रसङ्घीय पर्यवेक्षण बल तैनाथ छ।
सन् १९८१ मा इजरेलले उक्त भूभाग आफ्नो देशमा गाभेको थियो जसलाई अन्तर्राष्ट्रिय समुदायका धेरैले मान्यता दिएका थिए। तर सिरियाले गोलन हाइट्सबाट फिर्ता नभएसम्म आफूले इजरेलसँग शान्ति कायम गर्न नसक्ने बताउँदै आएको छ।
गोलन हाइट्समा बसेका अधिकांश अरब मूलका सिरियालीहरू सन् १९६७ कै युद्धमा त्यहाँबाट भागेका थिए।
उक्त क्षेत्रमा हाल ३० वटाभन्दा बढी इजरेली बस्तीहरू छन्। त्यहाँ झन्डै २०,००० मानिसको बसोबास छ। सन् १९६७ को युद्ध अन्त्य भएलगत्तै इजरेलले त्यहाँ निर्माणको काम थालेको थियो।
अन्तर्राष्ट्रिय कानुनअनुसार उक्त निर्माणलाई गैरकानुनी हुन्छ। तर इजरेलले त्यसलाई स्वीकार गर्दैन।
इजरेलीहरूसँगै त्यहाँ २०,००० जनाजति सिरियालीहरू पनि बस्छन्। गोलन हाइट्स इजरेल अधीनस्थ हुँदा पनि उनीहरू त्यहाँबाट भागेका थिएनन्।
इजरेलको चिन्ता कति उचित
नेतन्याहूले गोलन हाइट्सको मध्यवर्ती क्षेत्रमा आफ्नो सेनाले गरेको कब्जा अस्थायी भएको बताएको भए पनि त्यहाँबाट फौजको फिर्ती सिरियाको नयाँ सरकारको व्यवहारमा निर्भर हुने ठानिन्छ।
"यदि हामीले सिरियामा उदाइरहेका नयाँ शक्तिहरूसँग छिमेकी सम्बन्ध र शान्तिपूर्ण सम्बन्ध कायम राख्न सक्यौँ भने त्यो हाम्रो चाहना हो," उनले भने, "तर यदि त्यसो भएन भने हामी इजरेल राज्यको रक्षा र इजरेलको सीमाको सुरक्षाका लागि आवश्यक सबै कुरा गछौँ।"
लन्डनस्थित थिङ्क-ट्याङ्क रोयल यूनाइटेड सर्भिसेज इन्स्टिट्यूटका डा एचए हेलीयरका अनुसार इजरेलले सिरियाभित्र रहेका शक्तिहरूले गोलन हाइट्समा घुसपैठ गर्ने ठानेको हुन सक्ने र त्यही भएर त्यस्तो मौका नदिन ऊ आफैँ अघि बढेको हुन सक्ने बताए।
"तर विगतमा इजरेलले सुरक्षाको कदम भनेर गोलन हाइट्स कब्जा गर्यो र त्यसपछि किल्ला बनायो। उसले पुन: त्यस्तो गर्न सक्छ।"
इजरेली विदेशमन्त्री गिडन सारले आफ्ना नागरिकहरूको सुरक्षा गर्ने एकमात्र उद्देश्यले सिरियाली सेनाका शिविरहरूमा हमला गरिएको बताए।
उनले बाँकी रासायनिक अस्त्र वा लामो दूरीका क्षेप्यास्त्र वा रकेट उग्रवादीहरूको हातमा नपरोस् भन्नका लागि आफूहरूले त्यस्तो गरेको बताए।
तर प्राध्यापक गिल्बर्ट अश्कर सिरियामा रासायनिक अस्त्र व्यापक नभएको र दुई-तीन ठाउँमा मात्रै त्यसको भण्डार सीमित रहेको बताउँछन्।
उनले भने, "तर ३०० वटाभन्दा धेरै हवाई हमलाहरू भएका छन्, तपाईँ त्यो देशलाई निकै कमजोर बनाउँदै हुनुहुन्छ।"
अश्करका अनुसार इजरेलले बशर अल-असदलाई "परिचित दुष्ट" का रूपमा लिने गरेको थियो तर अब के हुन्छ भन्नेबारे अस्पष्ट छ।
"उनीहरूले लिबियाजस्तै विभिन्न युद्ध गरिरहेका गुटहरूमा सिरिया विभाजित हुने अपेक्षा गरेका छन्। त्यसमध्ये कुनै गुटले इजरेलसँग शत्रुता राख्न सक्ने डर उनीहरूको छ।"
"उनीहरू त्यस्ता गुटले सिरियाली सेनाको अस्त्र प्रयोग गर्न नसकून् भन्ने चाहन्छन्।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।