पारलैङ्गिक भएकाले 'कन्भर्जन उपचार' गर्न छलमा पारेर साइबेरिया

एडा
तस्बिरको क्याप्शन, सन् २०२३ मा एलजीबीटीलाई प्रतिबन्ध लगाउने खालको कानुन पारित भएपछि एडाले रुस छाडिन्
    • Author, आनास्तासिया गोलुबेभा र जेनी नोर्टन
    • Role, बीबीसी रसियन

साइबेरियास्थित एउटा दुर्गम फार्ममा एक व्यक्तिले एडाको हातमा एउटा चक्कु थमाइदियो। उनीहरूका अगाडि एउटा सुँगुर थियो।

“त्यो काटेर फालिदेऊ,” उक्त व्यक्तिले भन्यो, “आफ्नो शल्यक्रिया गर्न मन छ भने तिमीलाई वन्ध्याकरण भनेको के हो थाहा हुनुपर्छ।”

एडा त्यतिखेर २३ वर्षकी थिइन्, उनी पारलैङ्गिक पनि थिइन्। उनले परिवारमा आफ्नो पहिचान खुलाएपछि छलपूर्वक उनलाई 'कन्भर्जन थेरपी सेन्टर' पठाइएको थियो। [आफ्नै लिङ्गका मानिससँग आकर्षित हुने व्यक्तिहरूको "उपचार" गर्ने विधिलाई 'कन्भर्जन थेरपी' भनिन्छ।]

उनका अनुसार यो सन् २०२१ को गर्मी यामतिरको कुरा हो। उनलाई एक आफन्तले नोभोसिबिर्स्कमा आफ्नो मुटुको जटिल शल्यक्रिया हुन लागेकाले सँगै जान आग्रह गरेकी थिइन्।

एडाका अनुसार उनीहरूले विमानस्थलमा एक व्यक्तिलाई भेटे। लामो यात्रा गरेपछि उनीहरू चढेको कार अचानक रोकियो र एडाकी आफन्त गाडीबाट बाहिर कुदिन्। गाडी कुदाइरहेको व्यक्तिले एडातर्फ फर्किएर उनको फोन र स्मार्टवाच आफूलाई दिन भन्यो। त्यसपछि उसले ठूलो स्वरमा भन्यो, "अब हामी तिम्रो यौनविकृतिको उपचार गर्ने छौँ।"

"दुई सातापछि न्यानो कपडाको पुलिन्दा पाएपछि मलाई त्यहाँ म केही रात वा १५ दिनका लागि मात्रै बस्ने होइन भन्ने महसुस भयो," उनले भनिन्। त्यहाँ उनलाई 'टेस्टस्टरोन' लिन लगाउनुका साथै प्रार्थना गर्न र दाउरा चिर्ने जस्ता शारीरिक श्रम गर्न लगाइयो।

सुँगुरको अङ्ग काट्न भनिएपछि उनलाई 'प्यानिक अट्याक' भयो। उनले आफूलाई अह्राइएको काम गरिनन्। त्यसको नौ महिनापछि उनी त्यहाँबाट भाग्न सफल भइन्। कसैले बेवारिसे छाडेको फोनबाट उनले प्रहरीलाई सम्पर्क गरेकी थिइन्। प्रहरीले एडालाई राखिएको केन्द्रमा अधिकारीहरू पठाएर उनलाई इच्छाविपरीत राखिएकाले बाहिरिन दिनुपर्ने बतायो।

बीबीसीले उक्त केन्द्रमा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले 'कन्भर्जन थेरपी'सँग सम्बन्धित सबै कुरा अस्वीकार गरे। हामीले एडाकी आफन्तलाई पनि सम्पर्क गर्‍यौँ तर उनीबाट पनि कुनै प्रतिक्रिया प्राप्त भएन।

हिउँमा तस्बिर खिचाउँदै एडा
तस्बिरको क्याप्शन, एडा नौ महिनापछि बल्ल साइबेरियाको दुर्गम फार्मबाट भाग्न सफल भएकी थिइन्

जीवनमा आफूले गरेका सङ्घर्षमध्ये उक्त केन्द्रमा व्यतीत गरेको समयमा आफू निकै कमजोर अवस्थामा पुगेको एडा बताउँछिन्। उनका अनुसार उनले सुरुसुरुमा परिवारसँग अनि त्यसपछि समाजसँग लड्नुपरेको थियो र अहिले झन् कठोर बन्दै गएको रुसी एलजीबीटी कानुनसँग सङ्घर्ष गर्नुपरेको छ।

संयुक्त राष्ट्रसङ्घका स्वतन्त्र विज्ञ ग्राएम रीडका अनुसार जोखिममा रहेका अल्पसङ्ख्यक समुदायलाई आक्रमण गर्ने सरकारको बृहत्तर राजनीतिक रणनीतिबाट त्यहाँका पारलैङ्गिक मानिसहरूको अधिकारमा प्रणालीगत हानि पुगेको छ। रुसले लिङ्ग परिवर्तन गर्ने शल्यक्रियामा प्रतिबन्ध लगाउने कानुन ल्याएको एक वर्ष पुग्दै गर्दा त्यहाँका पारलैङ्गिक व्यक्तिहरू “कानुनी पहिचान र स्वास्थ्य सेवामा पहुँचजस्तो आधारभूत अधिकारबाट” वञ्चित हुनुपरेको उनले बताए।

यो नयाँ व्यवस्थाले उनीहरूलाई सरकारी कागजपत्रमा आफ्नो व्यक्तिगत विवरण फेर्न पनि रोक लगाएको छ। एडा सन् २०२३ जुलाईमा उक्त कानुन लागु हुनुअघि नै आधिकारिक रूपमा आफ्नो नाम फेर्ने अन्तिममध्येकी व्यक्ति हुन्।

युक्रेनमाथि रुसले पूर्ण रूपमा आक्रमण गरेयता राष्ट्रपति भ्लादिमिर पुटिन पश्चिमा शक्ति र एलजीबीटी अधिकारमाथि खनिएका छन्। आफू परम्परागत रुसी मूल्यमान्यताका निम्ति लडिरहेको उनको तर्क छ। गत वर्ष सेन्ट पिटर्स्बर्गस्थित एउटा सांस्कृतिक मञ्चमा उनले पारलैङ्गिक व्यक्तिहरूलाई “ट्रान्स्फर्मर वा ट्रान्स्‌-आदि इत्यादि” भन्दै कटाक्ष गरेका थिए।

सन् २०२३ को अन्त्यमा रुसको न्याय मन्त्रालयले अर्को नयाँ नियम घोषणा गर्दै “अन्तर्राष्ट्रिय एलजीबीटी अभियान”लाई अतिवादी सङ्गठन भनेको थियो।

अन्तर्राष्ट्रिय एलजीबीटी अभियानलाई अतिवादी सङ्गठन घोषित गरिँदै गर्दा एडा मस्कोस्थित सर्वोच्च अदालतबाहिर थिइन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, अन्तर्राष्ट्रिय एलजीबीटी अभियानलाई अतिवादी सङ्गठन घोषित गरिँदै गर्दा एडा मस्कोस्थित सर्वोच्च अदालतबाहिर थिइन्

वास्तवमा त्यस्तो संस्था अस्तित्वमा थिएन। अहिले “अतिवादी गतिविधि” भनिएको कुरालाई समर्थन गर्नेलाई १२ वर्षको जेल सजाय हुन्छ। इन्द्रेणी झण्डा देखाउँदा पनि जरिवाना हुने जोखिम हुन्छ र पटकपटक त्यस्तो गरेमा चार वर्षको जेल सजाय हुने सम्भावना हुन्छ। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायहरू इन्द्रेणी झण्डालाई आफ्नो पहिचानका रूपमा प्रयोग गर्छन्।

नयाँ कानुनअन्तर्गतको पहिलो मुद्दा मदिरालय सञ्चालन गर्ने दुई व्यक्तिमाथि परेको थियो। मार्च महिनामा ओरेन्बर्गस्थित अदालतमा उपस्थित गराइएका ती दुई युवक भयभीत मुद्रामा थिए। उनीहरूको आँखामा आँसु थियो। उनीहरूले चलाएको 'बार'मा प्रायः एलजीबीटी समुदायका मानिसहरू आउने भएकाले मुद्दा लगाइएको थियो। उक्त मुद्दा अझै टुङ्गो लागेको छैन।

साइबेरियास्थित उक्त केन्द्रबाट भागेपछि एडा मस्को गइन् र त्यहाँ एउटा सानो फ्ल्याटमा बस्न थालिन्। त्यहाँ उनी अन्य पारलैङ्गिक मानिसलाई बस्नका निम्ति सुरक्षित स्थान उपलब्ध गराउँथिन्। तर नयाँ कानुनबाट उनलाई चोट लाग्यो। “म थप बस्न सकिनँ, मैले रुस छाड्नुपर्‍यो,” युरोपस्थित आफ्नो नयाँ घरबाट बोल्दै उनले भनिन्।

सन् २०१८ मा रुस छाडेका फ्रान्सिसका निम्ति नयाँ कानुनको अर्थ सम्भवतः कहिल्यै घर फर्किन नपाउनु हो। ती कानुन आउनुअघि समेत फ्रान्सिसको घर भएको सहर येकाटेरिन्बर्गका अधिकारीले उनीविरुद्ध कारबाही चलाएका थिए।

फ्रान्सिस
तस्बिरको क्याप्शन, फ्रान्सिसले 'म्यासेक्टोमी' गर्ने (शल्यक्रिया गरेर स्तन हटाउने) निर्णय गरेपछि रुसी अधिकारीहरूले उनका धर्मसन्तानलाई उनीसँग अलग्याइदिएका थिए

“जहाँसम्म मलाई सम्झना छ, मलाई म आफू केटी होइन भन्ने लाग्थ्यो,” उनी भन्छन्।

तर सन् २०१७ मा उनको विवाह ज्याकसँग भयो। तीन सन्तान जन्मिए र उनीहरूले अरू दुई बच्चालाई धर्मसन्तान बनाए।

“मैले मेरा पतिलाई भनेँ, ‘म गलत पनि हुन सक्छु, तर मलाई म आफू पारलैङ्गिक हुँ जस्तो लाग्छ'।”

चिकित्सकसँग परामर्श गर्ने कुरामा दुवै जना सहमत भए।

फ्रान्सिसले आफू सानो छँदाका तस्बिरहरू देखाए

तस्बिर स्रोत, BBC / Francis's family archive

तस्बिरको क्याप्शन, फ्रान्सिसले आफू सानो छँदाका तस्बिरहरू देखाए

“उनीहरूले ‘तिमी शतप्रतिशत पारलैङ्गिक हौ' भने। मलाई निकै सहज महसुस भयो। सबै कुराको टुङ्गो लाग्यो। यो नै मेरो पहिचान हो भन्ने मैले बुझेँ।”

त्यसपछि उनको लिङ्ग परिवर्तन गर्ने प्रक्रिया सुरु भयो। तर स्थानीय अधिकारीहरूले हस्तक्षेप गरे। उनीहरूका दुई धर्मसन्तानलाई हेरचाहका लागि भन्दै लगियो र फ्रान्सिसलाई उनैले जन्माएका सन्तानहरूलाई पनि त्यसै गरिने बताइयो।

त्यसपछि उक्त परिवारले रुस छाड्यो। त्यसयता उनीहरू स्पेनमा बसोबास गर्दै आएका छन्।

एली ‘नन्-बाइनरी’ हुन्। उनी अङ्ग्रेजीमा आफूलाई बहुवचनबोधक 'दे' सर्वनाम प्रयोग गर्छन्। [‘नन्-बाइनरी’ व्यक्तिहरू आफूहरू पुरुष वा महिला मात्र समाविष्ट ‍द्विवर्णीय वर्गीकरणमा नपर्ने ठान्छन्।]

एलीले सन् २०२२ मा युक्रेन युद्ध सुरु भएपछि रुस छाडे। यो उनकोराजनीतिक निर्णय थियो। एलजीबीटी समुदायमाथि परेको दबावसँग यसको सम्बन्ध थिएन। तर ती दबावले असर नै नपारेका भने होइनन्।

एली १४ वर्षको हुँदा कसैले सोधेको थियो, “तिमी केटा हौ कि केटी?”

“त्यसले मलाई एक किसिमले खुसी बनायो। उनले मेरो बाहिरी आवरण हेरेर मेरो लिङ्ग छुट्ट्याउन सकिनन् भन्ने कुराले म निकै खुसी थिएँ।”

एली
तस्बिरको क्याप्शन, रुसी अधिकारीहरूले आफूलाई पारलैङ्गिक भएकाले र विदेशीहरूले रुसी भएकाले मन नपराउने एलीको भनाइ छ

वर्षौँपछि एलीले एक साथीलाई भनेका थिए, “मलाई म केटीजस्तो पनि लाग्दैन, केटाजस्तो पनि लाग्दैन।”

“उनले मलाई हेरिन् र भनिन्, ‘ए होर! ठिक छ त।' त्यसपछि हामी सुप खान थाल्यौँ। त्यो मेरो जीवनकै सबैभन्दा खुसीको क्षणमध्येको थियो।”

एली अहिले जोर्जामा बस्छन्। गत वर्ष एलीले म्यास्टेक्टोमी [स्तन हटाउने शल्यक्रिया] गर्ने निर्णय गरे। यसबारे परिवारका सदस्यहरूलाई पनि थाहा छैन।

“मलाई आमाबुवासामु गएर 'मैले स्तन काटेँ, मलाई अब 'दे' सर्वनाम प्रयोग गर्नुहोस्' भन्नुभन्दा 'आमा, बुवा ! म समलिङ्गी महिला हुँ' भन्न सजिलो हुन्थ्यो होला।"

रुसमा नयाँ कानुनले लिङ्ग परिवर्तन गर्न रोक लगाउनुअघि नै एलीले चिकित्सकीय निदानको बाटो र लैङ्गिक रूपमा तटस्थ नाम रोजेका थिए। तर अब पासपोर्ट र अन्य महत्त्वपूर्ण कागजपत्र परिवर्तन गर्न सम्भव छैन।

फ्रान्सिसले पनि उस्तै समस्या भोग्नुपरेको छ। उनका सबै कागजपत्रमा उनको पुरानो नाम छ। यसले गर्दा उनको परिचयपत्र मागिएको अवस्थामा वा कुनै फारम भर्नुपर्दा अन्योल सिर्जना हुन्छ। तर उनी स्पेनमा जीवन राम्ररी चलिराखेको बताउँछन्। उनले एक टेक्स्टाइल उद्योगमा काम पाएका छन्। उक्त काम उनलाई मन पनि परेको छ।

एलीजस्तै फ्रान्सिस पनि एलजीबीटीविरुद्धको नयाँ कानुनले असहिष्णुता बढाएर परिवारसँगको सम्बन्धलाई समेत अझ जटिल बनाएको कुरामा सहमत छन्।

“मेरी आमा मसँग बोल्नुहुन्न,” उनी भन्छन्, “उहाँ मैले हाम्रो परिवारको प्रतिष्ठालाई लत्याएँ भन्ठान्नुहुन्छ। मैले चोरी गरेको, हत्या गरेको वा पागल नै भए जस्तो गरी आमा छिमेकीहरूसँग आँखा जुधाउन पनि अप्ठ्यारो मान्नुहुन्छ।"

अनि युक्रेनमा युद्ध चलिरहेको अवस्थामा आफू रुसी नागरिक भएकाले अन्य देशमा बस्दा अर्को तहको जटिलता थपिन सक्ने एलीको बुझाइ छ। “रुसमा सरकारी अधिकारी र रूढिवादीहरूले हामीलाई मन पराउँदैनन्, किनकि हामी पारलैङ्गिक हौँ। विदेशमा हामीलाई मन पराइँदैन, किनकि हामी रुसी हौँ।”

सम्पूर्ण पारलैङ्गिक समुदाय “आफूले चाहे जस्तो पोसाक लगाउन र कसैले कुट्ला भन्ने त्रासबिना बाँच्न चाहेको...” एडाको भनाइ छ। “म यत्ति चाहन्छु कि मानिसहरूले आफू कसरी जीवित रहने भनेर सोच्न नपरोस्।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।