तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
दशैँअघि बाढीपहिरो पीडितमा अन्योल, कतिपय ठाउँमा हेलिकोप्टरबाटै राहत पठाउनुपर्ने अवस्था
पनौतीको वडा नम्बर १२ रोशी झरनाका अमित हुमागाईँ बाढी पहिरो पीडितका लागि राहत सामाग्री लिनका लागि बुधवार गाउँपालिकाको कार्यालय पुग्दा त्यहाँ झन्डै डेढ सय मानिसहरूको भीड लागेको थियो।
शुक्रवार यताको अविरल बर्षाका कारण उनको घरमा पहिरो खसेपछि अमित र उनको परिवारका सदस्यहरू अहिले छिमेकीको घरमा शरण लिएर बसिरहेका छन्।
पहिरोका कारण उनको घर भत्किएको छ तर घरभन्दा पहिला गोठमा पहिरो खस्न थालेको थाहा पाएपछि उनीहरूले सुरक्षित स्थानमा आश्रय लिइसकेका कारण कसैलाई केही नभएको हुमागाईँ बताउँछन्।
उनले भने, “रातको १२-१ बजेतिर निरन्तरको पानीपछि हाम्रो बाख्राको खोर लड्यो। त्यसपछि म उठेँ। अनि अरू बस्तुभाउलाई के भयो त्यो पनि हेरेँ। केही नभएको देखेपछि बाख्राहरूलाई त्यहाँ सारिदिएँ। अनि हामी सबै छिमेकीको घर गयौँ। त्यसको केही घण्टापछि घर पनि आधा लड्यो।”
उनले त्यसयता आफूहरू निरन्तर छिमेकीहरूकै घरमा बसिरहेको बताउँदै तीन घण्टा पैदल हिँडेर राहत सामाग्री लिनका लागि पनौती नगरपालिका वडा नम्बर १२ को कार्यालयमा पुगेको जनाए।
उक्त वडामा बाढी तथा पहिरोमा परेर कम्तीमा ५ जनाको ज्यान गएको छ भने झन्डै दुई दर्जन घाइते भएका छन्।
'बाटोमा खोला बग्छ, दशैँ मनाइएला वा नमनाइएला थाहा छैन्'
बाढी तथा पहिरोले झन्डै ५०० घर पूर्ण रूपमा क्षति भएको पनौती नगरपालिकाको वडा नम्बर १२ सबैभन्दा खराब असर व्योहोरेको ठाउँमा पर्छ।
उक्त वडाका सचिव लालबहादुर लामाले झन्डै ३०० वटा घर बाढी तथा पहिरोले बगाएको भन्दै सञ्चार, सडक र विद्युत् अवरुद्ध हुँदा मानिसहरूले दुख पाइरहेको बताए।
उनी भन्छन्, “पानी छैन, बत्ती छैन र इन्टरनेट पनि छैन। त्यही भएर मानिसहरूले बस्ती छाडेर हिँड्न थाले। रोशीसम्मको बाटो मङ्गलवार बिहान खोल्यौँ। मास्तिरको पुरै बाँकी छ। हिजोबाट बल्ल राहत सामाग्री बाँड्न थालेका छौँ।”
लामाका अनुसार विस्थापितमध्ये धेरै जना पनौतीतर्फ गएका छन् भने अहिलेसम्म वडा कार्यालयमा चामल र चाउचाउ वितरण गरिएको छ। मङ्गलवार र बुधवार बिहान गरी झन्डै डेढ सय बोरा चामल वितरण गरेका स्थानीय अधिकारीहरूले राहत आउने क्रम सुरु भएको तर सडक सञ्जाल टुट्दा सबै ठाउँमा पुर्याउन अप्ठेरो रहेको जनाएका छन्।
राहत लिन एक जना छिमेकी काकासँग आएको बताउने अमित चाडपर्वको मुखमा आएको पछिल्लो विपद्ले निराश बनाएको बताउँछन्।
उनले भने, “हामीलाई आउन जान नै धेरै अप्ठेरो छ। बाटोमा खोला बग्छ त्यही भएर डाँडै डाँडा हिँडेर राहत सङ्कलनका लागि आएको हो। सरकारले जतिसक्दो चाँडो बाटो बनाइदिए हुन्थ्यो।”
उनले थपे, “यसपाली दशैँ पनि मनाइएला कि नमनाइएला थाहा छैन।”
अमित कलेजका विद्यार्थी हुन् भने उनका आमा बुबा कृषि पेशामा आबद्ध छन्। उनकी बहिनी पाँच कक्षामा अध्ययन गर्छिन्।
आफ्ना गाउँका अन्य पाँच सात जनाको घर र गोठ बगाएको उल्लेख गरेका उनी पहिरोका कारण मानिसहरूले ठूलो आर्थिक क्षति व्योहेरोको र रोजगारी गुमाएको भन्दै सरकारले सहयोग उपलब्ध गराउनुपर्ने ठान्छन्।
पनौतीका मेयर रामशरण अधिकारीले पछिल्लो विपद्का कारण आफ्नो नगर क्षेत्रमा ५०० घरमा पूर्ण क्षति भएको र ७०० भन्दा बढी घरमा आंशिक क्षति भएको उल्लेख गर्दै सहयोगका लागि अपिल गरेको बताए।
नगरपालिकाले जारि गरेको सूचना अनुसार विभिन्न सडक क्षेत्रमा पहिरोका कारण क्षति पुगेको छ भने सयौँ रोपनीमा लगाइएका खेती नष्ट भएको छ।
मेयर अधिकारीले बीबीसीसँग भने, “अहिले हामीले खाद्यान्न र त्रिपाल जे हामीसँग छ त्यो वितरण गरिरहेका छौँ। आन्तरिक ढङ्गले जुटाएको र दाताहरूले दिएका सामानहरू बाँडिरहेका छौँ। सबैभन्दा ठूलो चुनौती भौतिक क्षतिको पुनर्निर्माण र पीडितहरूको पुनर्वास रहेको छ।”
उनका अनुसार धेरै पीडितहरू आफन्तको आश्रयमा बसिरहेका छन्। “हामीले सहयोगको हात फैलाइरहेका छौँ।”
नगरप्रमुख अधिकारीले बाढी तथा पहिरोले पनौतीको वार्ड नम्बर १२ मा ११ किलोमिटर भन्दा बढी पक्की बाटो र त्यत्ति नै किलोमिटर बराबरको खानेपानीको पाइपलाइन पहिरोले बगाएको बताउँदै कतिपय स्थानमा आफूहरू अझै पुग्न नसकेको जनाए।
दशैँ अघि कस्तो सहयोग उपलब्ध गराउन सकिन्छ भन्ने निर्णय लिन आफूहरूले कार्यपालिकाको बैठक बसेर सम्बोधन गर्न खोजेको उल्लेख गर्दै उनले गृहमन्त्री रमेश लेखकसँग ‘तीन मिनेट’ कुरा राख्न मौका पाएको जनाए।
उनले भने, “उहाँ पनि व्यस्त भएर मैले तीन मिनेट कुरा राख्न पाए। मुख्यमन्त्रीलाई पनि मैले सुनाएको छु। उहाँहरूले सघाउनुहुन्छ भन्ने अपेक्षा गरेको छु।”
पनौती नगरपालिकाले बाढी तथा पहिरोका कारण त्यहाँ २० जनाको निधन भएको जनाएको थियो।
पछिल्लो विपद्ले काठमाण्डू उपत्यकामा ठूलो क्षति पुर्याएको अधिकारीहरूले बताइरहँदा विपद् व्यवस्थापनमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेको छ।
रोशी गाउँपालिकाको अवस्था के छ?
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले पालिकाका विभिन्न स्थानमा सडक, विद्युत् र सञ्चार टुटेकाले क्षतिको पूर्ण विवरण आइनसकेको बताए।
१२ जनाको ज्यान गएको उल्लेख गर्दै उनले भने, “हाम्रो तीनवटा बस्तीहरू बगाएको छ। दश सैयाको अस्पतालको भवन बगाएको छ। एउटा पक्की पुल बगाएको छ। एउटा चिस्यान केन्द्र पनि बगाएको छ।”
चार सय देखी ५०० घरहरूमा पूर्ण क्षति भएका प्रारम्भिक विवरण आएको उल्लेख गर्दै उनले रोशी गाउँपालिकाहुँदै अघि बढ्ने बीपी राजमार्गको उक्त खण्ड लगभग ८० प्रतिशत ध्वस्त भएको बताए।
अहिले दशैँ अगाडी उक्त क्षतिग्रस्त सडक सञ्चालनका लागि ट्र्याक खोल्न आफूहरू लागि परेको भएपनि दीर्घकालमा उक्त सडक खण्डको पुनर्निर्माण गर्दा विपद्को जोखिमलाई ध्यान दिँदै अहिले प्रयोग भएको रेखाङ्कनलाई समेत समीक्षा गरिनुपर्ने उनले उल्लेख गरे। दशैँ अघि नै एकतर्फी सडक खुलाउन सडक विभागसहित सबै पक्षले काम गरिरहेको उनको भनाई छ।
उक्त गाउँपालिकाले उद्धार कार्य चलिरहँदा अति प्रभावित क्षेत्रहरूमा नेपाली सेनाको हेलिकोप्टरबाट राहत सामाग्री खसालेको जनाउँदै सडक सम्पर्क टुटेकाले त्यसलाई निरन्तरता दिनुको विकल्प नरहेको जनाएको छ।
अध्यक्ष लामाले बुधवारबाट त्रिपाल, नगद र खानेकुरासहितका सामाग्रीको वितरण सुरु भएको उल्लेख गर्दै मुख्य सडक संचालनमा नआएसम्म हवाई साधनबाटै राहत सामाग्री पठाउनुपर्ने अवस्था रहेको जनाए।
उनले भने, “पालिका भित्र यातायात वा स्थलमार्गबाट राहत सामाग्री लैजान सकिने अवस्था छैन। बीपी राजमार्ग नछिचोलेसम्म बाटोहरू मर्मत गर्न सकिने स्थिति पनि छैन।”
अस्थायी आवास र खानेपानी लगायतको पूर्वाधारका लागि स्थानीय तहहरूले केन्द्र सरकारको सहयोगको अपेक्षा गरिरहँदा सरकारले पूर्ण क्षतिको अध्ययन अघि बढाएको छ।
त्यसबाहेक पीडितहरूलाई आवास निर्माण लगायतमा पनि सहयोग गर्ने सरकारले जनाएको छ।
बाढी तथा पहिरोले बीपी राजमार्गका विभिन्न खण्डमा क्षति पुर्याएपछि त्यहाँ हजारौँ मानिसहरू अलपत्र परेका विवरणहरू आएका थिए।
तीमध्ये कतिपयको उद्धार गरिएको थियो भने धेरै जना कष्टकर यात्रा गर्दै सुरक्षित स्थानमा आइपुगेका थिए।
अध्यक्ष लामाले अहिले रोशी गाउँपालिकामा लगभग सात सय सवारी साधन रोकिएका र त्यसलाई रुङ्न तीनका चालक र सहचालक त्यहाँ रहेका सुनाए।
उनले बाटो नखुलेसम्म ती सवारीसाधन अन्यत्र कतै पनि जाने सम्भावना नरहेको पनि उल्लेख गरे।
बीपी राजमार्गमा अब यात्रुहरू अलपत्र नरहेको उल्लेख गरेका अधिकारीहरूले मंगलवार मात्रै १५३ जनाको उद्धार गरिएको जनाएका थिए।
गृहमन्त्रालयले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पीडितहरूलाई राहत वितरण थालिएको जनाउँदै प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा त्यसलाई तीव्रता दिइएको उल्लेख गरेका छन्।
नेपाली सेनाका अनुसार मङ्गलवारसम्म विपद् प्रभावितहरूका लागि ७ हजार ५३ केजी राहत सामाग्री ढुवानी गरिएको थियो।
विगतमा यस्ता विपद्पछिको समयमा पहुँचवालाका क्षेत्रमा राहत सामाग्री पुगेका र राहत वितरणमा अनियमितताहरू भएका गुनासाहरू आउने गरेका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।