बढेको अन्तर्राष्ट्रिय हवाई भाडा पुरानै अवस्थामा फर्काउन कति सहज?

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सङ्ख्या बढाउन प्रयास भइरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ
    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले काठमाण्डू आउने र यहाँबाट विभिन्न देशमा हुने उडानको भाडादर दोबरभन्दा बढीले वृद्धि गरेपछि त्यसलाई घटाउन सरकारले आग्रह गरेको छ।

आफ्नो आग्रहलाई बेवास्ता गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई कारबाहीका लागि सम्बन्धित देशका नियामक निकाय गुहार्ने पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको चेतावनी छ।

दैनिक २१ घण्टा खुला हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शुक्रवारबाट दैनिक १४ घण्टा मात्र सञ्चालन हुँदा अन्तर्राष्ट्रिय उडानहरू ३० प्रतिशतसम्म कटौती भएका छन्।

उडान कटौतीसँगै नेपाल आउने र बाहिरिने उडानको हवाई भाडा व्यापक वृद्धि भएको जानकारहरू बताउँछन्।

पर्यटकहरू

तस्बिर स्रोत, RSS

असर कुन कुन क्षेत्रमा?

हवाई टिकटको मूल्य तत्काल नियमन गर्न नसकिए नेपालको प्रमुखमध्येको एउटा आयस्रोतका रूपमा रहेको पर्यटन व्यवसायमा समेत असर पर्ने 'नेपाल असोसिएसन अफ टुर्स एन्ड ट्राभल्स' अर्थात् नाट्टाले जनाएको छ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव मेघनाथ भुर्तेलले चाहिँ हवाई भाडा वृद्धिको मारमा खाडी राष्ट्र र मलेशिया जाने तयारीमा रहेका नेपाली श्रमिकहरू परेको बताए।

“पहिले यूएई जाने टिकट ३० देखि ३५ हजारमा पाइन्थ्यो। अहिले ९० हजारमा पनि पाउन मुस्किल छ। तीनगुणासम्म टिकटको भाउ बढ्दा चाडबाडमा बिदा मनाउन आएका र नयाँ जाने तयारीमा रहेका श्रमिकहरूलाई मर्का परेको छ,” उनले भने।

रोजगारदाताले केही महिना अघि नै हवाई टिकटको सम्झौता गर्ने प्रचलन रहेको तर अचानक टिकटको मूल्य बढ्दा रोजगारदाताले दिएको पैसामा टिकट नपाइएको कारण देखाउँदै सम्झौता गरेका कम्पनीहरूले श्रमिकहरूलाई टिकट नदिएको उनले बताए।

कतिपय देशहरू जाने यात्रुले टिकट पाउनै समस्या भोगिरहेको ट्राभल्स एजेन्सीका सञ्चालकहरूले बताएका छन्।

नागरिक उड्डयन प्राधिकरणले टिकटको मूल्य कम गर्नेबारे सरोकारवालाहरूसँग पाँच बुँदे सहमति गरे पनि त्यसको कार्यान्वयन हुनेमा आशङ्का गरिएको छ।

“निर्देशन दिएर र विज्ञप्ति निकालेर मात्र यो सम्भव छैन। अन्तर्राष्ट्रिय एअरलाइन्सहरूले गरेको निर्णयलाई न हामीले उल्ट्याउन सक्छौ न सरकारले नै सक्ला जस्तो मलाई लाग्छ,” नाट्टाकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले बीबीसीसँग भनिन्।

प्राधिकरण के भन्छ?

नेपाल वायुसेवाको विमान

तस्बिर स्रोत, CAAN

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले टिकट बिक्रीमा देखिएको “मिलेमतो”का कारण अस्वाभाविक मूल्यवृद्धि भएको बताए।

“वायुसेवा कम्पनीले बेच्ने टिकट ट्राभल एजेन्सीहरूले एकमुष्ट किनेर राख्ने, यात्रुहरूको नाम र ठेगाना ‘टु बी अनाउन्स्ड- टीबीए’ भनेर किनिने त्यस्ता टिकट महँगोमा बेच्ने अभ्यासका कारण अहिले टिकटको मूल्य अस्वाभाविक बढेको देखिएको छ,” उनले भने।

“प्राधिकरणले यस्तो प्रणाली खारेज गरेर सीधै वायुसेवा कम्पनीमार्फत् नै टिकट बिक्री गर्ने व्यवस्था गर्न वायुसेवा सञ्चालकहरूसँग सहमति गरेको छ।”

तर प्राधिकरणले गरेको त्यस्तो सहमति बाध्यकारी हुने कानुनी व्यवस्थाको अभावमा त्यसको पालना हुनेमा कतिपयले आशङ्का गरेका छन्।

प्राधिकरणसँग कस्तो अधिकार छ?

नागरिक उड्डयन प्राधिकरण कार्यालय

तस्बिर स्रोत, CAAN

नागरिक उड्डयन प्राधिकरणसँग नेपाल आउने वायुसेवा कम्पनीहरूलाई उड्डयन अनुशासनमा नियमन गर्नसक्ने अधिकार भए पनि उनीहरूको व्यापारमा नियमन गर्ने अधिकार छैन।

हवाई टिकटको बिक्री गर्ने ट्राभल एजेन्सीहरू पर्यटन विभागमा दर्ता हुने व्यवस्था भए पनि उनीहरूले लिने टिकटको मूल्यमा नियमन कुन निकायबाट हुने भन्ने प्रस्ट व्यवस्था छैन।

“अहिले टिकटको मूल्य बढ्नुमा टिकट होल्ड गरेर राख्ने ट्राभल एजेन्सीहरू बढी जिम्मेवार देखिन्छन् तर उनीहरूलाई कुन निकायबाट नियमन गर्ने भन्ने प्रस्ट व्यवस्था छैन,” प्राधिकरणका सूचना अधिकारी भूलले भने।

प्राधिकरणले २० प्रतिशत भन्दा धेरै मुनाफा राखेर टिकट बेचिएको अवस्थामा उपभोक्ता अधिकारसम्बन्धी कानुनअन्तर्गत पनि कारबाही गर्न सकिनेबारे छलफल भइरहेको जनाएको छ।

तर नाट्टाकी वरिष्ठ उपाध्यक्ष तुलाधर नेपाल सरकारले दिएको निर्देशन विदेशी कम्पनीले नमान्न सक्ने बताउँछिन्।

“नेपाल वायु सेवा निगम, हिमालयन एअर र बुद्ध एयर जस्ताले त कार्यान्वयन गर्लान् तर विदेशीले नमान्न सक्छन्,” उनले भनिन्।

प्रतिस्पर्धात्मक बजारमा माग र आपूर्तिको सन्तुलनका आधारमा हवाई यात्राको टिकट मूल्य निर्धारण हुने गर्छ।

नेपाली वायुसेवा कम्पनीहरू कम हुँदा नेपालमा उडान गर्ने अधिकांश अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरू विदेशी छन्।

“यदि नेपाल सरकारले विमानस्थलमा केही सुविधा दिने घोषणा गर्‍यो भने विदेशी हवाई कम्पनीले घटाउलान् नत्र त म गाह्रै देख्छु। यो हामीले निर्णय गरेर पनि हुँदैन। माग र आपूर्तिको कुरा पनि हो। जति माग बढ्छ त्यति टिकटको भाउ बढिहाल्छ,” श्रेष्ठ भन्छिन्।

विकल्प के?

भैरहवा विमानस्थल

तस्बिर स्रोत, Asian Development Bank

विमानस्थल विस्तारको कार्य नसकिएसम्म हवाई भाडा पुरानै दरमा आउने सम्भावना कम रहेको अधिकारीहरू बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी भूल अस्वाभाविक मूल्य रोक्न प्राधिकरणले हरसम्भव प्रयास गर्ने बताउँछन्।

“उडान कम हुँदा सीट पाउन पर्खनुपर्ने होला तर मूल्य बढ्ने कुरा स्वाभाविक होइन। टिकट अनावश्यक होल्ड गर्ने अवस्थाको अन्त्य गर्न सहयोग नगरे सम्बन्धित वायुसेवा रहेको देशको नियामकलाई पत्र लेखेर भए पनि कारबाही गर्नेबारे हामीले सोचिसकेका छौँ,” भूलले भने।

उनका अनुसार प्राधिकरणले आफ्नो निर्देशन पालना नगर्ने वायुसेवा सञ्चालकलाई नेपालमा उडान गर्नै प्रतिबन्ध लगाउन पनि सक्छ।

वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव भूर्तेलले काठमाण्डूमा उडान कम हुँदा हवाई टिकटमा देखिएको चाप कम गर्न पोखराबाट नियमित उडान गर्ने वातावरण सरकारले बनाउनुपर्ने धारणा राख्छन्।

“उडान कटौती भएका वायुसेवाहरूलाई पोखरा वा भैरहवा लैजानुपर्‍यो। गलत गर्नेलाई प्राधिकरणले पहिचान गरेर कारबाही गर्न सक्नुपर्‍यो,” उनले भने।

नाट्टाकी वरिष्ठ उपाध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठ पनि रातिको समयमा विमानस्थल बन्द हुँदा उडानका लागि सरकारले अन्य विकल्प दिनुपर्ने बताउँछिन्।

“सरकारले १० घण्टा विमानस्थल बन्द गर्दा यस्तो भएको हो भने त्यसलाई घटाउने वा अन्य उपाय पो निकाल्नु पर्‍यो यस्तो निर्देशन दिएर मात्र हुन्छ र?,” उनले भनिन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।