भैरहवा विमानस्थलबाट तीन कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गर्दै, कस्तो छ तालिका

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Bhairahawa Immigration Office

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आगामी महिनादेखि सेवा सुरु गर्न दुई अन्तर्राष्ट्रिय एअरलाइन्स कम्पनीले उडान तालिका स्वीकृत गराएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार उक्त विमानस्थलबाट उडान अनुमति लिइसकेको अर्को एउटा अन्तर्राष्ट्रिय कम्पनीले भने तालिका स्वीकृत गराउन बाँकी छ।

उद्घाटन भएको लामो समयसम्म पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानहरू हुन नसकेको भैरहवा विमानस्थलबाट हाल नेपाल वायुसेवा निगमले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

ठूलो लगानीमा बनाइएको उक्त विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू गराउन नसकेको भन्दै सरकारको व्यापक आलोचना हुँदै आएको छ।

अधिकारीहरूले अहिले अनुमति पाएकाबाहेक अन्य कम्पनीहरूले पनि उडान अनुमति लिन चासो देखाएकाले अब त्यस्तो आलोचनाको औचित्य नरहने दाबी गरेका छन्।

उडान अनुमति लिएका तीन कम्पनी

फ्लाईदुबईले हप्ताका सातै दिन भैरहवा विमानस्थलमा उडान गर्ने भएको अधिकारीहरूले बताएका छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, फ्लाईदुबईले हप्ताका सातै दिन भैरहवा विमानस्थलमा उडान गर्ने भएको अधिकारीहरूले बताएका छन्

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भैरहवा विमानस्थलबाट उडान गर्नका लागि यूएईको फ्लाईदुबई, कुवेतको जजीरा एयरवेज र हालै नेपालमा उडान थालेको थाई एअर एशियाले अनुमति पाएका छन्।

उनले भने, "उडान अनुमति पाएकामध्ये फ्लाई दुबई र जजीराले सेड्यूल पनि स्वीकृत गराइसकेका छन् तर थाई एअर एशियाले चाहिँ सेड्यूल स्वीकृत गराइसकेको छैन।"

यही अक्टोबर २ बाट नेपालमा उडान सुरु गरेको थाई एअर एशियाले ब्याङ्कक-काठमाण्डू चार र ब्याङ्कक-भैरहवा चारवटा उडान गर्ने गरी अनुमति पाएको उनले बताए।

"उसले भैरहवामा उडान गर्न पाउने नीतिगत अनुमति पाइसकेको छ, अब तालिका स्वीकृत गराउन मात्र बाँकी हो," उनले भने।

उक्त कम्पनीको प्राविधिक टोलीले गत अक्टोबर ३ मा भैरहवा गएर विमानस्थलको प्राविधिक निरीक्षण गरिसकेकाले चाँडै तालिका स्वीकृतिका लागि पठाउनसक्ने भुलको भनाइ छ।

फ्लाईदुबई र जजीराको सेवा कहिले सुरु हुन्छ?

पहिले उडान गरेर हाल बन्द गरेको जजीरा एयरवेजले पनि भैरहवामा सातामा तीन उडान गर्ने भएको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, पहिले उडान गरेर हाल बन्द गरेको जजीरा एयरवेजले पनि भैरहवामा सातामा तीन उडान गर्ने भएको छ

भैरहवा विमानस्थलका निमित्त महाप्रबन्धक सन्तोषकुमार पोखरेलका अनुसार फ्लाईदुबई र जजीरा दुवैले यही अक्टोबर २७ देखिको उडान तालिका स्वीकृत गराएका छन्।

"फ्लाईदुबईले नोभेम्बर १० देखि उडान सुरु गर्ने पत्र पठाइसकेको छ। जजीराले भने कुन दिनदेखि उडान हुन्छ भन्ने यकिन मिति दिन बाँकी छ," पोखरेलले भने।

कम्पनीहरूले दिएको जानकारीअनुसार नै उडानको व्यवस्थापनका लागि विमानस्थलले तयारी गरिरहेको उनले बताए।

प्राधिकरणका सूचना अधिकारी भुलले दिएको जानकारी अनुसार फ्लाईदुबईले हप्ताका सातै दिन एकएक उडान गर्ने तालिक स्वीकृत गराएको छ।

जजीराले भने मङ्गलवार, बिहीवार र शनिवार गरी सातामा तीन उडान गर्ने स्वीकृति लिएको छ।

कुन समयमा उडान र अवतरण?

हालै नेपालमा उडान थालेको थाई एअर एशियाले पनि भैरहवा विमानस्थलबाट उडान अनुमति पाइसकेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, हालै नेपालमा उडान थालेको थाई एअर एशियाले पनि भैरहवा विमानस्थलबाट उडान अनुमति पाइसकेको छ

भुलले भने, "फ्लाईदुबईले हरेक दिन दिउँसो १:४५ मा दुबईबाट भैरहवामा अवतरण गर्छ र त्यहाँ एक घण्टा रोकिन्छ। यात्रुहरू त्यहाँ झर्छन्, अनि २:४५ मा त्यो जहाज काठमाण्डूका लागि उड्छ।"

"काठमाण्डूमा ३:३० बजे अवतरण हुन्छ र यहाँबाट यात्रुहरू लिएर ४:३० मा दुबईका लागि उड्छ।"

भैरहवा विमानस्थलका निमित्त महाप्रबन्धक पोखरेलका अनुसार फ्लाईदुबईले भैरहवामा बोइङ-७३७ विमानबाट उडान गर्ने अनुमति लिएको छ।

जजीराले भने बिहानको समयमा उडान गर्ने अनुमति लिएको छ। कुवेतबाट भैरहवा विमानस्थलमा बिहान ७:३० मा अवतरण गर्ने जजीरा बिहान ८:३० मा त्यहाँबाट कुवेतका लागि उड्ने छ।

उक्त कम्पनीले चाहिँ एयरबस-३२० विमानबाट उडान गर्ने अनुमति लिएको छ।

भुलले फ्लाईदुबईलाई उड्डयन क्षेत्रमा 'एट्थ फ्रीडम' भनेर बुझिने नियमअनुसार नेपालमा अनुमति दिइएको हो।

"यो नियमअनुसार कुनै पनि विदेशी विमान सेवा कम्पनीले अर्को देशभित्रैका दुईवटा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्न पाउँछन्। उनीहरूले यात्रुहरू ओराल्ने र चढाउने पनि गर्न मिल्छ," भुलले भने।

"हामीले सोही नियमअनुसार फ्लाई दुबईलाई अनुमति दिएका हौँ।"

सरकारी सहुलियत

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे विस्तारसहित स्तरोन्नतिको काम भइरहेको छ

तस्बिर स्रोत, Kamal Pariyar/BBC

तस्बिरको क्याप्शन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे विस्तारसहित स्तरोन्नतिको काम भइरहेकाले त्यहाँका केही उडानलाई अन्य विमानस्थलमा सार्ने सरकारको योजना छ

काठमाण्डूबाहिर भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाएको सरकारले ती विमानस्थलबाट तालिकाबद्ध रूपमा उडानहरू हुन नसकेपछि त्यहाँबाट उडान गर्ने कम्पनीहरूलाई सहुलियत दिने घोषणा गरेको छ।

पोखरा र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान प्रोत्साहित गर्नका लागि टिकट शुल्कमा लाग्ने गरेको मूल्य अभिवृद्धि कर (भ्याट) र अन्य कतिपय सेवा शुल्कहरू तत्कालका लागि नलिने निर्णय गरिएको छ।

भ्याट नजोडिँदा टिकटको मूल्य घट्ने भएकाले त्यसले पर्यटकसहित अन्य यात्रुलाई ती विमानस्थलतर्फ आकर्षित गर्न सक्ने अधिकारीहरूले दाबी गरेका छन्।

त्यस्तै पर्यटन बोर्ड र नागरिक उड्डयन प्राधिकरणले लिने शुल्क नलगाउनेलगायतका सहुलियत पनि सरकारले घोषणा गरिसकेको छ।

नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका लागि राति उडान बन्द गर्ने प्राधिकरणले जनाएको छ।

रातको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्न लागिएका बेला भैरहवामा अन्तर्राष्ट्रिय कम्पनीहरूले उडान अनुमति लिएर तालिका स्वीकृत गराउनु सकारात्मक भएको प्राधिकारणका अधिकारीहरूले बताएका छन्।

तयारी कस्तो छ?

रातको समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, GBIA

तस्बिरको क्याप्शन, रातको समयमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवाबाट अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले तालिकाअनुसार नियमित उडान गर्ने भएपछि अध्यागमन, श्रम स्वीकृतिलगायतका विभिन्न सेवाहरू उपलब्ध गराउन आवश्यक तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका निमित्त प्रमुख विष्णुप्रसाद ढुङ्गानाले फ्लाईदुबई र जजीराको सेवा नियमित रूपमा सुरु हुने भएपछि आवश्यक तयारी जारी रहेको बताए।

"हाम्रो अहिलेको जनशक्तिले मात्र सेवा दिन अपुग हुने भएकाले हामीले विभागसँग लेखापढी गरिसकेका छौँ," उनले भने।

"महानिर्देशकज्यूसमेत यहाँ आउनु भएको थियो र आवश्यक जनशक्ति व्यवस्थापन र तालिमको व्यवस्था हुने भएको छ।"

उनका अनुसार उक्त कार्यालयमा हाल ३० जनाको दरबन्दी भए पनि १८ जना मात्र कर्मचारी रहेका छन्।

भैरहवा विमानस्थलस्थित अध्यागम डेस्क

तस्बिर स्रोत, Bhairahawa Immigration Office

नेपालबाट अरब क्षेत्रमा वैदेशिक रोजगारीका लागि जाने नेपालीहरू धेरै हुने भएकाले त्यहाँका वायुसेवा कम्पनीहरूले भैरहवामा पनि नेपाली कामदारहरूलाई लक्षित गरेर उडान गर्न लागेको जानकारहरू बताउँछन्।

कामदारका लागि मेडिकल रिपोर्ट बनाउन र श्रम स्वीकृति लिन काठमाण्डू नै धाउनुपर्ने बाध्यता हुँदा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान प्रभावकारी नभएको कतिपयले बताउने गरेका छन्।

अब भने सरकारले भैरहवाबाटै श्रम स्वीकृतिको व्यवस्था मिलाउने र मेडिकल रिपोर्ट लिनका लागि पनि सहजीकरण गरिरहेको अधिकारीहरूले बताएका छन्।

वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता गुरुदत्त सुवेदी भन्छन्, "अहिले पनि प्रदेशस्तरका कार्यालयहरूबाट श्रम स्वीकृति जारी भइरहेको छ तर अब सरकारले नै भैरहवा र पोखरा विमानस्थलमा एकीकृत रूपमै वैदेशिक रोजगारीको सबै काम गर्ने एउटा छुट्टै यूनिट राख्ने तयारी गरिरहेको छ।"

उनले भैरहवा र पोखरा विमानस्थलमा छुट्टै एकाइ राख्नका लागि वैदेशिक रोजगार व्यवसायी, पूर्वप्रशिक्षण दिने तालिमकेन्द्रहरू र मेडिकल जाँचको सेवा दिने कम्पनीहरूसँग पनि छलफल भइरहेको बताए।

भैरहवा विमानस्थलबाट अहिले सातामा एक दिन मात्र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ। साताको मङ्गलवार निगमले क्वालालम्पुरबाट भैरहवामा उडान गर्ने गर्छ।

जजीरा एयवेजले चाहिँ भैरहवा विमानस्थल सञ्चालनमा आएपछि उडान थालेको थियो तर उसले सन् २०२३ को एप्रिलदेखि फेरि उडान स्थगित गर्‍यो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।