वायुसेवा निगममा बारम्बार समस्या, यात्रुको 'विश्वास' र संस्थाको 'छवि'मा 'धक्का'

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
- Author, प्रदीप बस्याल
- Role, बीबीसी न्यूज नेपाली
गत शनिवार राति मलेशियाको क्वालालम्पुर उड्नुपर्ने नेपाल वायुसेवा निगम (एनएसी)को एउटा न्यारोबडी जहाजलाई प्राविधिक समस्या देखाउँदै 'ग्राउन्डेड' गरिएपछि मलेशिया उड्ने र त्यहाँबाट नेपाल आउने तयारीमा रहेका साढे दुई सयभन्दा धेरै यात्रुहरू प्रभावित बने।
अमेरिकाबाट आएको पाटपुर्जा फेरिएपछि मङ्गलवारबाट 'सगरमाथा' नामको उक्त विमान उड्न थाल्ने 'एनएसी'ले जनाए तापनि त्यसबीचका कैयौँ उडान प्रभावित हुँदा कसैको टिकट सार्नुपर्यो भने कसैको टिकट रद्द गर्नुपर्ने अवस्था सिर्जना भयो।
निगमका प्रवक्ता रमेश पौडेलले यस्ता घटनाले निगमको 'छवि'मा गहिरो असर पर्ने गरेको स्विकार्छन्।
विश्वसनीयतामा क्षय
तर 'थोरै जहाज हुँदा नियमित देखा पर्ने साना समस्या पनि ठूलो रूपमा देखिने गरेको' प्रवक्ता पौडेल बताउँछन्।
"अन्तर्राष्ट्रिय उडान गर्ने कुल चार वटा जहाजमध्ये एउटा बिग्रनेबित्तिकै हामीकहाँ जति ठूलो समस्या पर्छ, त्यति समस्या कम्तीमा बीसतीसवटा जहाज हुने गरेको अवस्थामा पर्दैन," प्रवक्ता पौडेलले भने।
"एउटा विमान सेवाका लागि आवश्यक पर्ने न्यूनतम जहाज पनि हामीसँग नहुँदा यस्तो समस्या देखिने गरेको हो। झन् यही बेला एउटा जहाज 'सी-चेक'का लागि गएको समय पर्यो।"
सामान्यतः छमहिना अघिबाट अन्तर्राष्ट्रिय उडानको टिकट बुकिङ खुला हुन्छ। अन्य विमान सेवासँग जोडिएर थप अर्को गन्तव्यमा पुग्नेहरूका लागि यसरी उडान अवरुद्ध हुँदा अतिरिक्त समस्या हुने गर्छ।
त्यसैले पूर्वपर्यटनसचिव सुशील घिमिरे यस्ता घटनाले 'ट्रान्जिट' हुँदै अन्यत्र जानको लागि 'एनएसी' यात्रुको रोजाइमा पर्ने कुरामा निकै कमी आउने टिप्पणी गर्छन्।
"उड्डयन व्यवसायमा समयको विश्वसनीयता निकै नै ठूलो कुरा हो। धेरैले त्यसकै आधारमा विमान सेवाको छवि निर्माण गर्छन्," घिमिरे भन्छन्।
"त्यही भएरै उड्ड्यन क्षेत्रमा एउटा भनाइ छ, गुनासोरहित तरिकाले दुई वटा विमान चलाउन साढे दुईवटा विमान चाहिने गरी हिसाब गर्नुपर्छ।"
खुम्चँदो सेवा
निगमले हाल दुई वाइडबडी र दुई न्यारोबडी जहाजमार्फत् सात देशका दश गन्तव्यमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। तीमध्ये हाल एउटा विमान नियमित प्राविधिक परीक्षणका लागि गएको छ भने अर्को जाने क्रममा छ।
आन्तरिकतर्फ निगमको उपस्थिति नाम मात्रको छ। दुईवटा ट्विनअटर विमानमा खुम्चिएको निगमको आन्तरिक वायुसेवामा तत्काल एउटा मात्रै विमान सञ्चालनमा छ।
निगमले उडान बन्द गरेर राखिएका चीनबाट ल्याइएका पाँचवटा आन्तरिकतर्फका जहाजहरू बिक्रीका लागि बारम्बार बोलपत्र आह्वान गरे पनि त्यो सफल हुन सकेको छैन।
विसं २०७७ साउनदेखि ती जहाजहरू उडान बन्द गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको ह्याङ्गरमा राखिएपछि त्यसबाट आम्दानी गर्न सकिएको छैन।
निगमका अधिकारीहरू ती जहाजबाट आम्दानी नै नभएकाले हालसम्म किस्ताबापत रकम नतिरिएको बताउँछन्।
समस्या कति स्वाभाविक?

तस्बिर स्रोत, NAC
यस अवस्थामा चालु रहेका थोरै सङ्ख्याका जहाज भएको बेलाबेलामा एनएसीमा प्राविधिक समस्या देखिँदा आइपर्ने उडान अवरोधलाई अस्वाभाविक मान्न नहुने विज्ञहरूको मत पाइन्छ।
तर उनीहरू राष्ट्रिय ध्वजावाहकप्रति यात्रुको 'विश्वास' र निगमको 'छवि' राम्रो रहनका लागि व्यवस्थापकीय पक्षबाट उल्लेख्य रूपमा कमजोरी भइरहेको बताउँछन्।
"यी समस्या निगममा हुने नियुक्तिहरूबाटै सुरु हुने गरेको छ। त्यहाँ राम्रा र क्षमतावान् मानिसहरू पुगिरहेका छैनन् कि भनेर मूल्याङ्कन गर्नुपर्छ," निगमको कार्यकारी अध्यक्ष समेत भइसकेका घिमिरे भन्छन्।
विगतमा कहिले पाइलट अभाव त कहिले जगेडामा चक्का नहुँदा समेत उडान अन्तिम समयमा आएर उडान अवरुद्ध भएका छन्।
सम्बन्धित देशसँग उडान गर्नका लागि लिनुपर्ने प्रमाणपत्र अर्थात् 'एफएओसी' नवीकरण नगर्दा समेत एनएसीको उडान अवरुद्ध भएको छ।
नियमित उडान हुँदा समेत ढिलासुस्तीको समस्या बारम्बार देखिने गरेको गुनासो आउने गरेको छ।
निगम प्रवक्ता पौडेल 'एनएसी'ले प्रतिस्पर्धी अन्तर्राष्ट्रिय विमानसेवासँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा सोही अनुसारको सेवासुविधा कर्मचारीहरूलाई दिन नसक्दा पाइलट र इन्जिनियरहरू बाहिरिइरहेको बताउँछन्।
"स्वभावैले यो अत्याधुनिक र सुविधा सम्पन्न सेवा क्षेत्र हो। तर हामीले त्यहाँ सरकारी मापदण्डमा रहेर थाई एअरवेज वा कतार एअरवेजस्ता कम्पनीसँग प्रतिस्पर्धा गर्नुपरेको छ। त्यसले गर्दा प्रतिस्पर्धात्मक बजारमा जनशक्ति पलायन हुने स्वाभाविक समस्या देखा परेको छ," रमेश पौडेल भन्छन्।
कस्तो सुधार आवश्यक?

निगमकै कतिपय वरिष्ठ अधिकारीहरू 'एनएसी'लाई प्रतिस्पर्धात्मक हिसाबले सञ्चालन गर्नका लागि 'सार्वजनिक कम्पनी'को संरचनामा जानुको विकल्प नरहेको बताउँछन्।
पूर्वसचिव घिमिरे समेत 'संरचनागत सुधार' नगरीकन पुरानै ढाँचाका भरमा निगममा ठूलो सुधार हुने आशा गर्न नसकिने तर्कमा सहमत छन्।
"अहिलेको अवस्थामा सम्पूर्ण रूपमा सरकारको भर परेर संस्था अगाडि बढ्ने सम्भावनै छैन। सरकारले झन्डै ४० अर्ब रुपैयाँजति ऋण तिर्ने अवस्था पनि छैन," उनी भन्छन्।
"यही तौरतरिकामा त्यति धेरै लगानी गरेर त्यसबाट तत्काल प्रतिफल आउला भन्ने सुनिश्चितता समेत देखिँदैन।"
यसैकारण विगतमा गठित कार्यदलहरूले सरकारको ५१ प्रतिशत स्वामित्व कायम रहने र बाँकी ४९ प्रतिशतमध्ये ३५ प्रतिशत जतिमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेर अन्तर्राष्ट्रिय साझेदार भित्र्याउनका लागि सुझाव दिएका थिए।
ती अध्ययन कार्यदलहरूले १५ प्रतिशत हाराहरिमा सञ्चय कोष, नागरिक लगानी कोष र ट्राभल कम्पनीहरूसहितका स्थानीय लगानीकर्तालाई शेअर दिने सुझाव दिएका थिए।
"व्यवस्थापनका लागि मात्र अन्तर्राष्ट्रिय साझेदार ल्याउने कुरा अहिले ढिलो भइसक्यो। हामीलाई लगानीसहितको रणनीतिक साझेदार चाहिएको हो," पूर्वसचिव सुशील घिमिरे भन्छन्।
"त्यो सरकारलाई पनि फाइदा हुने र निगम समेत अगाडि बढ्ने उपायका रूपमा हामीले सुझाव दिएका थियौँ। तर त्यसका लागि सरकारको प्रतिबद्धता पनि देखिएन।"
उनी अन्य संस्थानहरूजस्तो 'केही करोड रुपैयाँ' लगानी गरेर पार लगाउन सकिने अवस्था नेपाल वायुसेवा निगमका हकमा नरहेको बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








