'ग्राउन्ड ह्यान्डलिङ' प्रतिस्पर्धामा दिँदा यात्रुलाई के फरक पर्छ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ

तस्बिर स्रोत, Bishnu Pokharel/BBC

नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ भनिने सेवा प्रदान गर्ने कम्पनी प्रतिस्पर्धाबाट छनोटको प्रक्रिया अघि बढाएपछि यसबारे बहस र विवाद सुरु भएको छ।

प्राधिकरणले यस्तो सेवा दिने कम्पनी प्रतिस्पर्धाबाट छान्दा जहाजमा यात्रा गर्ने सर्वसाधारणलाई के फरक पर्छ?

अन्तर्राष्ट्रिय उडान गर्दा हरेक यात्रुको टिकटबाट वायुसेवा प्रदायकहरूले जुटाउने यस्तो शुल्क कम हुन्छ, बढी हुन्छ वा उस्तै रहन्छ भन्नेबारे बीबीसी न्यूज नेपालीले दुवै निकायका अधिकारीहरूसँग सोधेको छ।

विवादको विषय के हो?

नेपालमा वायुसेवा नियमन र व्यवस्थापनको काम गर्दै आएको प्राधिकरण र विगत ६५ वर्षदेखि यस्तो काम गरिरहेको नेपाल वायुसेवा निगमबीच अहिले यो विषय विवादको केन्द्र बनेको छ।

प्राधिकरणले प्रतिस्पर्धाबाट कम्पनी छनोटको काम गर्न एउटा समिति नै बनाएपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमका कर्मचारीहरू आन्दोलित बनेका छन्।

नागरिक उड्डयन सम्बन्धी कानुनले ग्राउन्ड ह्यान्डलिङ व्यवस्थापनको अधिकार नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ। तर विसं २०१५ सालमा डकोटा विमान भित्र्याएर नेपालमा वायुसेवा सुरु गरेदेखि नै हालको नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङको काम गर्दै आएको निगमका अधिकारीहरू बताउँछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ

तस्बिर स्रोत, CAAN

ग्राउन्ड ह्यान्डलिङबारे गुनासाहरू आएको कारण देखाउँदै सन् २०२५ बाट काम गर्ने गरी यस्तो सेवा दिने कम्पनी प्रतिस्पर्धाबाट छान्न लागिएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौला बताउँछन्।

तर निगमका कर्मचारीहरूले भने प्राधिकरणले स्वार्थ समूहलाई विमानस्थलमा पहुँच दिन प्राधिकरणले निजी क्षेत्रलाई ग्राउन्ड ह्यान्डलिङमा भित्र्याउन खोजेको आरोप लगाएका छन्।

ग्राउन्ड ह्यान्डलिङ के हो?

ग्राउन्ड ह्यान्डलिङमा विमानको उडान र अवतरणका क्रममा चाहिने सेवा पर्दछन्।

नेपाल एअरलाइन्सले आफ्नो वेबसाइटमा विमानको लोडिङ र अनलोडिङ, मार्सलिङ, विमान धकेल्ने र सार्ने, यात्रुका सामान र कार्गो व्यवस्थापन, ट्वाइलेट र पानीको व्यवस्थापन, यात्रुको टिकट र जाँच, सहायता चाहिने यात्रुका लागि ह्विलचेअरको व्यवस्थापन लगायतका सेवा दिइने उल्लेख गरेको छ।

नेपाल वायुसेवा निगमका अनुसार यो सेवामा क्याबिनसहित विमानको सरसफाई र सामान्य जाँचको काम पनि समावेश छन्।

निगमको भनाइ के छ?

नेपाल वायुसेवा निगमको जहाज

तस्बिर स्रोत, Bishnu Pokharel/BBC

निगमले यसका लागि विभिन्न उपकरण खरिदमा १० अर्ब बराबर लगानी गरिसकेको र करिब ६०० जना कर्मचारी यो कामका लागि अनुबन्ध गरेको जनाएको छ।

अहिले प्राधिकरणले चालेको कदमले आफ्नो लगानी र कर्मचारीहरूको रोजीरोटी मात्रै नभएर राष्ट्रिय ध्वजावाहकको प्रमुखमध्येको आम्दानीको स्रोत नै धराशायी बनाउने निगमका अधिकारीहरूको दाबी छ।

“ग्राउन्ड ह्यान्डलिङ राष्ट्रिय ध्वजावाहकको आम्दानीको मेरुदण्ड हो। ग्राउन्ड ह्यान्डलिङको व्यापार खोस्ने कि नखोस्ने निगम मास्ने कि राख्ने भन्नेसँग जोडिन्छ,” वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बीबीसी न्यूज नेपालीसँग भने।

निगमले हरेक वर्ष ग्राउन्ड ह्यान्डलिङबाट वार्षिक ४.५ देखि ५ अर्ब रुपैयाँको हाराहारीमा राजश्व उठाउँदै आएको छ। त्यसको १५ प्रतिशत रोयल्टी निगमले प्राधिकरणलाई बुझाउने गरेको छ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७८-७९ को प्रतिवेदन अनुसार निगमको कूल आयको १९.३३ प्रतिशत हिस्सा ग्राउन्ड ह्यान्डलिङले ओगटेको छ भने बाँकी ८०.६७ प्रतिशत विमानको उडानबाट हुने गरेको छ।

निगमले गत आर्थिक वर्षमा एक अर्ब खुद नाफा कमाएको थियो। निगमका अधिकारीहरू त्यसमा ग्राउन्ड ह्यान्डलिङको हिस्सा उल्लेख्य रहेको बताउँछन्।

निगमले काठमाण्डूसहित पोखरा र भैरहवा विमानस्थलको पनि ग्राउन्ड ह्यान्डलिङको जिम्मा लिएको छ।

“अहिले पोखरा र भैरहवा विमानस्थलको आम्दानी छैन। काठमाण्डूको आम्दानीबाट उताको खर्च व्यवस्थापन गर्ने हाम्रो योजना हो। तर यो नै खोसिएपछि अब निगम धराशायी हुनसक्छ,” पौडेल भन्छन्।

उनका अनुसार ग्राउन्ड ह्यान्डलिङको आम्दानीकै आधारमा निगमले दुई वटा वाइडबडी विमान किन्न ऋण लिएका कारण यदि त्यो सेवा गुमाएको अवस्थामा त्यसको दबाव पनि निगमलाई पर्न सक्छ।

प्राधिकरण किन प्रतिस्पर्धाबाट भित्र्याउन चाहन्छ

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, आन्तरिक उडानतर्फको ग्राउन्ड ह्यान्डलिङ सम्बन्धित विमान कम्पनीहरूले आफैँ गर्दै आएका छन्

कानुनले नागरिक उड्डयन प्राधिकरणलाई दिएको अधिकार प्रयोग गर्दै यो सेवालाई प्रतिस्पर्धी बनाउन लागिएको प्राधिकरणका प्रवक्ता निरौला बताउँछन्।

“यो निगमबाट खोस्न खोजिएको होइन। खुला प्रतिस्पर्धामा निगमले पनि भाग लिन पाउँछ र छानिन पनि सक्छ,” निगमसँग प्रतिस्पर्धामा भाग लिने विकल्प खुला रहेको दाबी गर्दै उनले भने।

उनका अनुसार प्रतिस्पर्धाबाट छानिएको कम्पनीले हाल तोकिएको न्यूनतम १५ प्रतिशत भन्दा बढी रोयल्टी पनि प्राधिकरणलाई दिन सक्ने भएकाले सरकारको आम्दानी बढाउन प्रतिस्पर्धामा लैजान खोजिएको हो।

तर निगमका प्रवक्ता आफूहरू थप रोयल्टी तिर्न तयार रहे पनि प्राधिकरणले त्यसमा सहमति नजनाएको बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम प्रतिस्पर्धाबाट यस्तो सेवा दिने कम्पनी छनौटको अधिकार प्राधिकरणलाई भएको बताउँछन्।

“तर लामो समयदेखि यो सेवा दिइरहेको नेपाल एअरलाइन्सले यसमा अर्बौँ लगानी गरिसकेको छ र यो नेपाल सरकारकै एउटा निकाय हो। त्यो पृष्ठभूमिमा यसलाई कसरी अघि बढाउने भन्नेतर्फ जानुपर्छ। द्वन्द्वात्मक रूपमा मैले जसरी पनि हटाउँछु भन्दा पनि प्रतिस्पर्धाबाट सेवाको गुणस्तर तोकेर अघि बढ्दा उपयुक्त हुन्छ जस्तो मलाई लाग्छ,” उनले बीबीसी न्यूज नेपालीसँग भने।

सर्वसाधारणलाई के फरक पर्छ?

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरू

अहिले नेपाल वायुसेवा निगमले नेपालबाट उडान गर्ने १६० जना यात्रु क्षमताको विमानका लागि एक पटकको ग्राउन्ड ह्यान्डलिङको शुल्क २१०० अमेरिकी डलर अर्थात् २,८०,००० नेपाली रुपैयाँ तोकेको छ।

यो शुल्क नेपालबाट अर्को देश उडान गर्दा र अर्को देशबाट फर्किएर नेपाल आउँदाका लागि हो। निगमका प्रवक्ता पौडेलका अनुसार जाँदा र आउँदा यस्तो विमानले लाने र ल्याउने गरी जम्मा १६० जना यात्रुबाट यस्तो शुल्क उठाइन्छ।

पौडेलले दिएको उदाहरणका आधारमा हेर्ने हो भने अन्तर्राष्ट्रिय उडान भर्ने एक जना यात्रुले ग्राउन्ड ह्यान्डलिङ बापत करिब ९०० रुपैयाँ शुल्क तिर्नुपर्छ।

“यो शुल्क नजिक वा टाढा जुनसुकै गन्तव्यमा गए पनि बराबर नै हो,” पौडेल भन्छन्।

उनी प्रतिस्पर्धाबाट छानिएको कम्पनीले पनि यात्रुहरूलाई यो भन्दा कम शुल्क लिने गरी सेवा दिन चुनौती रहेको बताउँछन्।

नयाँ आउने कम्पनीले त्यसमा थप लगानी गर्नुपर्ने कारण देखाउँदै उनी नेपाल वायुसेवा निगमले भइरहेकै संरचनाबाट दिएको भन्दा सस्तो सेवा दिन कठिन रहेको बताउँछन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रतिस्पर्धाबाट छानिएको कम्पनीले यात्रुहरूलाई सेवामा गुणस्तर दिनसक्ने बताउँछन्।

“विमान चढ्ने यात्रुहरूलाई यसले शुल्कमा खासै फरक पर्दैन। विमान कम्पनीहरूले तिर्नुपर्ने शुल्कमा चाहिँ कमी आउने अनुमान हामीले गरेका छौँ। यात्रुहरूको सामान हराएको र ब्याग च्यातिएको जस्ता गुनासो चाहिँ सम्बोधन होला भन्न सकिन्छ,” निरौला भन्छन्।

तर निगमले आफूसँग अन्तर्राष्ट्रिय गुणस्तरको प्रमाणपत्र भएको भन्दै यस्तो आरोपको खण्डन गर्ने गरेको छ।

प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम पनि प्रतिस्पर्धाबाट कम्पनी छनोट हुँदा विमानका यात्रुलाई अहिलेकै मूल्यमा थप गुणस्तरीय सेवा प्राप्त हुने बताउँछन्।

“अहिले जुन स्तरको सेवा छ त्यसलाई अझ बढी गुणस्तरीय बनाउन सकिन्छ कि भन्ने प्राधिकरणको आशा हुनसक्छ। नेपाल एअरलाइन्सको एकाधिकार हुँदा जस्तो सेवा पनि लिनुपर्ने र अन्तर्राष्ट्रिय वायुसेवालाई जुन मूल्य पनि बाध्य भएर स्वीकार गर्नुपर्ने अवस्था छ,” गौतम भन्छन्।

“प्रतिस्पर्धाबाट छनोट गर्दा सेवाको गुणस्तर र मूल्यमा प्रतिस्पर्धा हुन्छ।”

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।