विमानस्थलमा तीन जनाको नियम: सर्वसाधारणलाई मात्र कि भीआईपीलाई पनि

यात्रु पुर्‍याउन जानेहरूको भिड
तस्बिरको क्याप्शन, विमानस्थलमा यात्रु पुर्‍याउन जानेहरूका कारण भिड व्यवस्थापन कठिन बनेको बताइन्छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा “एकजना यात्रुका लागि बढीमा तीन जना मात्र आएर स्वागत तथा बिदाइ गर्न” नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा विज्ञप्तिमार्फत् असार १२ सर्वसाधारणहरूलाई अपील गर्‍यो।

विज्ञप्तिमा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने भिडभाडका कारण ट्राफिक व्यवस्थापन कठिन भएको र दुर्घटनाको जोखिम बढेको जनाइएको थियो।

उक्त अपीललाई सामाजिक सञ्जालका कतिपय प्रयोगकर्ताले “स्वागतयोग्य” भएको बताए भने कतिपयले आलोचना गरेका छन्।

“म विदेश जाने बेला बिदाइ गर्न आउन पाइएन भनेर नरिसाओ है, मेरा प्यारा मान्छेहरू। अबदेखि विमानस्थलमा तीन जना मात्रै जान पाइने भएको छ,” हेटौँडाका किशोर खत्रीले फेसबुकमा व्यङ्ग्यात्मक शैलीमा लेखे।

यद्यपि यस्तो अपील अतिविशिष्ट व्यक्तिका हकमा पनि लागु भए मात्र प्रभावकारी हुने उनको विचार छ।

"भीआईपीलाई पनि लागु हुने भए सबैले स्वागत गर्छन्। नत्र सर्वसाधारणका लागि मात्र जारी हुने नियम/कानुनप्रति मेरो घोर आपत्ति छ,” उनले बीबीसीसँग प्रतिक्रिया जनाउँदै भने।

“हामी खाडी जानेआउनेलाई त त्यही तीन जना पनि धेरै भयो। को पो आउँथ्यो र? तर युरोप, अमेरिका अनि जापान, कोरिया जानेआउनेलाई गाह्रो पर्ला कि? एउटा बिहेको जन्तीजत्रै लर्को हुन्थ्यो,” अर्का फेसबुक प्रयोगकर्ता मोहम्मद मुख्तारले लेखेका छन्।

उक्त विषयबारे विभिन्न कोणमाथि टीकाटिप्पणी भइरहँदा उक्त अपील प्रभावकारी देखिएको अधिकारीहरूले बताएका छन्।

“विमानस्थलमा भिडका कारण समस्या नै परेपछि त्यस्तो आग्रह गरेका हौँ। हाम्रो अपील प्रभावकारी देखिएको छ। भिड नियन्त्रणमा नागरिक स्तरबाट सहयोग पाएको जस्तो देखिएको छ,” विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले बीबीसीसँग भने।

redline
redline

कस्ता समस्या देखिएका थिए?

विमानस्थलमा रहेको आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवनबाहिरको परिसर साँघुरो भएका कारण यात्रुलाई बिदाइ वा स्वागतका निम्ति आउने मानिसहरूका कारण त्यहाँको ट्राफिक व्यवस्थापन कठिन भएको र दुर्घटनाको जोखिम बढेको सिटौलाले बताए।

त्यसका अतिरिक्त विमानस्थलका सेवासुविधा प्रवाह समेत प्रभावित भएको जनाइएको छ।

“यात्रुहरूभित्र पस्ने ढोका देख्नै गाह्रो हुने स्थिति आयो। न एन्ट्री गेटदेखिने न त सहायता कक्ष नै। वरपर मान्छे घेरेर बसेपछि केही नदेखिने,” सिटौलाले भने।

“वृद्धवृद्धा तथा धेरै बेर कुर्न उभिन नसक्ने यात्रुहरूका लागि राखिएका कुर्सीमा समेत सही ढङ्गमा प्रयोग हुन सकेन।“

धेरै मानिस आउँदा सवारी चाप पनि बढेको र पार्किङमा समस्या देखिएको उनले बताए। त्यस्तै सामान ओसार्न राखिएका ट्रलीहरू पनि गुडाउने ठाउँ नभएको उनले बताए।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार एक यात्रुको बिदाइका लागि १० जनासम्म गाडी नै लिएर आउने गरेका छन्।

“हाम्रो विमानस्थल सानो छ। त्यसमाथि त्यहाँ निर्माण कार्य भइरहेको छ। एकजना यात्रु छोड्न सात जना, १० जना जाँदा भिडभाड भयो। त्यसलाई व्यवस्थित गर्नकै लागि अपील गरिएको हो,” उनले भने।

सुरक्षामा खटिएका कर्मचारीहरूलाई पनि कसलाई प्रवेश दिने, कसलाई नदिने भन्नेमा अन्योल भएपछि सर्वसाधारण मानिसहरूलाई नै अपील गरिएको निरौलाको भनाइ छ।

कति आवश्यक?

यात्रु पुर्‍याउन जानेहरूका कारण भिड

नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले कार्यालयको उक्त अपील अत्यावश्यक र उचित भएको बताए।

सर्वसाधारणले उक्त अपील आत्मसात् गरेको खण्डमा विमानस्थलको भिड नियन्त्रणसँगै सुरक्षा जोखिम पनि कम हुने उनको मत छ।

“हाम्रो देशको विमानस्थलको संरचना र क्षमता हेर्दा सार्वजनिक अपील आवश्यक थियो। हाम्रो टर्मिनल भवन सानो छ। त्यसले भिड थेग्नै नसकेपछि सुरक्षा जोखिम बढ्दो थियो,” उनले भने।

अन्य देशहरूमा यात्रु छोड्न गएकाहरू भित्रैसम्म जान पाइने प्रावधानबारे उनले सुनाए। "त्यहाँ पास नै चाहिँदैन। तर उनीहरूलाई छोड्न एक जना मात्रै जान्छन्। प्रायः त्यो पनि जाँदैनन्। हाम्रोमा त्यस्तो छैन।"

यद्यपि विमानस्थलको संवेदनशीलताबारे सर्वसाधारण मानिस मात्र नभई विशिष्ट व्यक्तिहरू पनि सतर्क हुनुपर्ने उनले औँल्याए।

भीआईपीको हकमा के हुन्छ?

क्षेत्रीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र नभई देशभरिका अन्य विमानस्थलहरूमा चिनजानका आधारमा वा शक्तिको दुरुपयोग गरेर धेरै मान्छे लिएर जाने, भीआईपी कक्षको प्रयोग गर्ने, फोटो वा भिडिओ खिच्नका लागि भिड बनाउने समस्याहरू व्याप्त छन्।

“सुरक्षाका निम्ति प्रयोग गर्नु जायज हो तर चिनजानकै आधारमा त्यस्तो गर्नु शक्तिको दुरुपयोग गर्नु हो। यस्तो ठिक हुँदैन,” उनले भने।

उनी यस्तो बेलामा सम्बन्धित कार्यालयहरूले नै कडाइ गर्नुपर्ने कुरामा जोड दिन्छन्।

“तर समस्या के हुन्छ भन्ने, उदाहरणका लागि प्रधानमन्त्रीसँग आइसकेका भीआईपीहरूलाई कसरी रोक्ने? उहाँहरूले आफैँ बुझेर भिडभाड नगर्नु ठिक हुन्छ,” उनले भने।

redline
redline

“किनकि सुरक्षा मुख्य कारण हो। भीआईपीसँग कोही आएका छन् भन्ने खासै जाँच नगरी माथिसम्म पठाइन्छ। त्यसरी गएका कसैको नियतमा खोट रहेछ र उसको कारण कुनै समस्या देखिए को जिम्मेवार हुने?” क्षेत्रीले प्रश्न गरे।

विमानस्थल संवेदनशील स्थान भएकाले त्यहाँ गएर तस्बिर खिचाउने वा टिकटक बनाएर सार्वजनिक गर्न नहुने उनको धारणा छ।

यिनै समस्याहरू सम्बोधनका निम्ति सार्वजनिक अपील गरिएको र त्यो सर्वसाधारणलाई मात्र नभई देशमा रहेका सबैको हकमा लागु हुने विमानस्थलस्थित प्राधिकरणको कार्यालयका महाप्रबन्धक सिटौलाले बताए।

“सबैलाई नियम त्यही हो, तर कहिलेकाहीँ विशिष्ट वा अतिविशिष्ट व्यक्तिहरूको प्रतिनिधिमण्डल नै आउनुपर्ने अवस्था हुन्छ। त्यस्तो अवस्थामा अगाडि नै पत्रमार्फत् जानकारी गराउनु हुन्छ।"

"त्यो अपवाद र बाध्यकारी अवस्था हो जसमा हामीले सोहीअनुरूप व्यवस्थापन गर्छौँ।"