के विपद्मा उद्धारका लागि छुट्टै हेलिकप्टर आवश्यक हो?

तस्बिर स्रोत, Nepali Army
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्मा उद्धार तथा राहतका लागि हेलिकप्टरहरूको 'व्यवस्थापन गर्न' सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ।
धेरैले त्यसलाई नयाँ हेलिकप्टर खरिद गर्ने रूपमा अर्थ्याइरहँदा वर्षमा केही समय मात्रै प्रयोगमा आउने कामका लागि के हेलिकप्टर नै किनिरहन जरुरी हो भन्ने प्रश्न उठेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका एकजना पूर्वमहानिर्देशकले यस्तो कार्यका लागि सरकारले हेलिकप्टर किन्नु भन्दा निजी क्षेत्रका हेलिकप्टरहरू परिचालन गर्नु उपयुक्त हुने बताए। सरकारी विपद् व्यवस्थापन निकायको यस्तो निर्णयको सामाजिक सञ्जालमा समेत आलोचना भइरहेको छ।
तर प्राधिकरणका अधिकारीहरू गत असोजको बाढीमा हेलिकप्टरको अभावमा तत्कालै उद्धारको काम गर्न नसकिएको अनुभवका आधारमा हेलिकप्टर व्यवस्थापन गर्न सरकारलाई सिफारिस गरिएको बताउँछन्।
“पछिल्लो बाढी-पहिरोको सन्दर्भमा बाटोमा धेरै मानिसहरू अलपत्र परे, जोखिमपूर्ण ठाउँमा हुँदाहुँदै पनि सरकारसँग पर्याप्त हेलिकप्टर नभएका कारणले उद्धार गर्न निकै ढिलो भयो भन्ने कुराको महसुस भयो,” प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले बीबीसीसँग भने।
“त्यसैलाई मध्यनजर गरेर सरकारलाई विपद्को समयमा प्रयोग गर्ने गरी हेलिकप्टर चाहिन्छ भन्ने सन्दर्भमा हेलिकप्टर व्यवस्थापन गर्ने कुरा आएको हो।”
असोज दोस्रो साताको विध्वंसकारी वर्षाका बेला ललितपुरको नख्खुमा एउटा टहरोमाथि बसिरहेका चार जनाको समयमै उद्धार नहुँदा उनीहरूलाई टहरो सहित बाढीले बगाएको थियो। जसमध्ये तीन जनाको पछि खोलाबाट उद्धार गरिएको थियो।
अहिले नेपाली सेनाले आफूसँग रहेका हेलिकप्टरहरू विपद्का समयमा परिचालन गर्दै आएको छ। नेपाल प्रहरीले पनि लामो समय देखि हेलिकप्टरको माग गर्दै आएको छ।
हेलिकप्टर थप्न आवश्यक हो?

तस्बिर स्रोत, Nepali Army
नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम विपद्मा हेलिकप्टरको अभाव भन्दा पनि भएका हेलिकप्टरको परिचालनको कमी भएको बताउँछन्।
“पछिल्लो विपद्को घटनामा कति हेलिकप्टर परिचालन भए, कहाँकहाँ पुगेन, निजी क्षेत्रका हेलिकप्टर उडाउन मानेनन् की के हो भन्ने कुराको समीक्षा नगरिईकन हेलिकप्टर नै चाहियो भन्ने कुराको कुनै अर्थ छ जस्तो लाग्दैन मलाई,” गौतम भन्छन्।
हेलिकप्टर किनेर राखिरहनु भन्दा पनि भइरहेका हेलिकप्टरलाई व्यवस्थापनका लागि कार्यविधि बनाउन आवश्यक भएको उनी बताउँछन्।

तस्बिर स्रोत, Pradeep Bashyal/BBC
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अहिले नेपालमा ४० वटा व्यावसायीक प्रयोगका गैरसैनिक हेलिकप्टरहरू छन्।
त्यसबाहेक नेपाली सेनासँग अहिले १० वटा भन्दा बढी चालु अवस्थाका हेलिकप्टर रहेको बताइन्छ। हालै अमेरिकी दूतावासले नेपाली सेनालाई थप दुई वटा हेलिकप्टर अनुदानमा दिन लागिएको जनाएको थियो।
नागरिक उड्डयन प्राधिकरणले निजी हेलिकप्टर सञ्चालक कम्पनीहरूलाई सन् २०२८ सम्म कम्तीमा पाँचवटा हेलिकप्टर पुर्याउन वा कम्पनी मर्ज गर्न भनेको छ।
यस्तो अवस्थामा थप हेलिकप्टर आवश्यक नभएको निजी वायुसेवा सञ्चालक सङ्घका उपाध्यक्ष अनिल मानन्धर बताउँछन्।
उनले थपे: “विपद्का समयमा निजी क्षेत्रले गर्न सक्ने सहयोग गरिरहेकै हो। अस्तिको बाढी पहिरोमा पनि गरेकै हो। अहिले हेलिकप्टर राख्ने ठाउँ छैन यस्तोमा थपेर भन्दा पनि भएकालाई परिचालन गर्ने कुरा ठिक होला।”
काठमाण्डूमा पार्किङ अभाव

तस्बिर स्रोत, RSS
नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सञ्चालन रहेका व्यावसायीक हेलिकप्टरमध्ये आधालाई मात्रै काठमाण्डू उपत्यकामा पार्किङ गर्ने ठाउँ छ।
बाँकी हेलिकप्टरहरू उपत्यका बाहिरका विमानस्थलहरूमा पार्किङ गर्नुपर्ने अवस्था छ।
कुल २४ वटा हेलिकप्टर अटाउने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेका कारण हेलिकप्टर राख्ने गरिएको स्थानमा अहिले १० वटा मात्रै अटाउने ठाउँ रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले त्यहाँ नअटाएका हेलिकप्टरलाई भक्तपुरको नलिनचोकमा हेलिप्याड बनाएर सञ्चालनमा ल्याए पनि सञ्चालकहरूले प्राविधिक प्रश्न उठाउँदै त्यहाँबाट हेलिकप्टर उडान र अवतरण गर्न अस्वीकार गर्दै आएका छन्।
सिम्रिक एअरका निर्देशक समेत रहेका मानन्धरका अनुसार काठमाण्डू उपत्यकामा स्थान अभाव भएपछि हेलिकप्टरहरू राख्न उपत्यका बाहिर लैजानुपर्ने अवस्था छ।
उनले मुख्य पर्यटकीय यामबाहेक भइरहेकै हेलिकप्टरहरू पनि प्रयोगविहीन भएर रहनुपर्ने अवस्था रहेको बताए।
“नेपालमा हेलिकप्टरको काम आउने भनेको पाँच देखि छ महिना मात्रै हो। त्यो पनि नेपालीहरूका लागि भन्दा विदेशी पर्यटकहरू ओसार्न बढी काम आउने हो,” उनले भने।
विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले हेलिकप्टर खरिद नै गर्न भनेर किटान नगरेको तर सरकारी निकायहरूसँग थप हेलिकप्टरको व्यवस्थापन गर्न सिफारिस गरेको प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन्।
“खरिद नै गर्न नेपाल सरकारसँग त्यसको स्रोत छ कि छैन, अहिले छ कि छैन भन्ने विचार गरेर सरकारले त्यस विषयमा थप अध्ययन गरोस्, कति चाहिन्छ, कसले चलाउँदा उपयुक्त हुन्छ भन्ने अध्ययन गरोस् भन्ने हो,” उनले भने।
हेलिकप्टरको महँगो सञ्चालन खर्च

तस्बिर स्रोत, Nepali Army
वायुसेवा सञ्चालक सङ्घका उपाध्यक्ष अनिल मानन्धरका अनुसार हेलिकप्टर सञ्चालनको खर्च पनि महँगो छ।
हेलिकप्टरको पार्किङ शुल्क देखि सञ्चालनका लागि आवश्यक पाइलट, इन्जिनियर र अन्य व्यवस्थापकहरूको खर्च ठूलो हुने उनी बताउँछन्।
प्राधिकरणका पूर्व महानिर्देशक गौतम पनि हेलिकप्टर किनेर राखिरहँदा खर्च मात्रै धेरै हुने बताउँछन्।
“हेलिकप्टर किनेर थन्क्याएर राख्नुको कुनै अर्थ रहँदैन। नयाँ किन्ने हो भने चार अर्ब लाग्छ त्यसको सञ्चालन खर्च, पाइलट, इन्जिनियर, पार्किङ सबैका लागि अतिरिक्त पैसा लाग्छ। कि सञ्चालन गर्न सेना वा प्रहरीलाई दिनुपर्यो,” उनले भने।
प्राधिकरणका प्रवक्ता भट्टराईका अनुसार थप गरिएका हेलिकप्टर कसले व्यवस्थापन गर्ने भन्नेबारे प्राधिकरणले ठोस सुझाव दिएको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








