बिहानीपख हुस्सु र तुँवालो, उडानहरू प्रभावित हुन थाले

तराईमा तुवाँलोले जमिनमा भिजिबिलिटी घट्न थालेको छ

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, अहिले हुस्सु र तुवाँलोले भिजिबिलिटी घट्न थालेको छ
    • Author, प्रदीप बस्याल
    • Role, बीबीसी न्यूज नेपाली

सोलुखुम्बुको लुक्ला विमानस्थल हुँदै सगरमाथा क्षेत्रको पदयात्रामा जान हिँडेका झन्डै १,००० पर्यटक र पथप्रदर्शकहरू खराब मौसमका कारण सोमवार र मङ्गलवार मन्थली विमानस्थलमा अड्किए।

रामेछापको सदरमुकाम मन्थलीमा झन्डै १५० पर्यटकलाई पुग्ने होटलका कोठाहरू उपलब्ध छन्। तर कैयौँगुना बढी मानिस बस्नुपर्ने अवस्था आउँदा व्यवस्थापन गर्न सकस भएको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले बीबीसीलाई बताए।

"यहाँ कतिखेर मन्थलीमा त कतिखेर लुक्लामा मौसम नखुल्ने अवस्था देखियो। मौसमको समस्यासँगै विमान कम्पनी तथा ट्राभल कम्पनीहरूले राम्रोसँग व्यवस्थापन गर्न नसक्दा पर्यटकहरूले सास्ती बेहोर्नुपर्‍यो," नगरप्रमुख श्रेष्ठले भने।

यो वर्ष 'कम जाडो हुने'

मौसम छिटो खुल्ने र बन्द हुने भएकाले पर्यटकहरूको धेरै चहलपहल हुने वसन्त र शरद् ऋतुमा लुक्ला आउजाउ गर्ने अधिकांश उडान मन्थलीबाट हुने अधिकारीहरू बताउँछन्।

"काठमाण्डू विमानस्थलको अत्यधिक उडान चाप अनि काठमाण्डूबाट लुक्ला पुग्न लाग्ने धेरै समयका कारण मन्थलीबाट उडान गर्ने गरिएको हो," त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले भने।

"काठमाण्डूबाट लुक्ला ३० मिनेटमा पुगिन्छ भने मन्थलीबाट त्यसको झन्डै आधा समयमै पुगिन्छ। समयमै विमान अवतरण गर्ने मुख्य चुनौती कम गर्न त्यसो गरिएको हो।"

पहाडी भेगमा मात्र नभएर तराईका विमानस्थलमा समेत पछिल्ला केही दिन तुवाँलोका कारण बिहानीपख उडान ढिलो हुने गरेका पाइन्छ। त्यसको असर दिउँसो निर्धारित उडानमा पनि पर्छ।

उड्डयन अधिकारीहरूका अनुसार तराईतर्फ भने धेरै उडान रद्द हुने अवस्था छैन।

लुक्ला विमानस्थलको धावनमार्ग

तस्बिर स्रोत, Pradeep Bashyal/BBC

तस्बिरको क्याप्शन, लुक्ला विमानस्थलमा दुई दिन उडान नहुँदा कम्तीमा १४० यात्रु मन्थलीमा अलपत्र परेको अधिकारीहरूले बताएका छन् (फाइल तस्बिर)

मौसम 'स्थिर तर धुम्म'

यो वर्ष नेपालबाट १० दिन ढिलो गरी मनसुन बाहिरियो। अहिले पहाडी भेगमा हुस्सु र तराईमा तुवाँलो देखा पर्न थालेपछि उडानहरू प्रभावित भएका छन्।

विभागका मौसमविद् रोजन लामिछानेले नेपालमा यतिखेर कुनै ठूलो मौसमी प्रणाली सक्रिय नभएको बताए। उनका अनुसार यस्तो स्थिर अवस्थामा बिहानीपख तुवाँलो बन्न थालेको हो।

"कतैकतै पहाडी भेगका केही भूभागमा बाहेक अन्यत्र पानी परेको अवस्था छैन," लामिछानेले भने।

"वायुमण्डलमा रहेको आर्द्रता पनि सक्रिय नभएकाले त्यसले पानी पारिहाल्ने अवस्था छैन। मौसममा फेरबदल हुने अवस्था पनि नभएकाले धुम्म भइरहेको हो।"

उनले आगामी केही दिन मौसममा खासै परिवर्तन आउने अवस्था नरहेको तर दिउँसो भने केही सुधार हुने बताए।

मौसम कहिले खुल्छ

मौसमविद् विनु महर्जनले पूर्वी तथा मध्यपहाडी भेगका केही स्थानमा शनिवारसम्म हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र ती क्षेत्रमा धेरैतिर मौसम नखुल्ने देखिएको बताइन्।

"खास गरी कोशी, बागमती र गण्डकी प्रदेशमा त्यस्तो मौसमी प्रवृत्ति देखिको छ। तर ठूलो वर्षा हुने सम्भावना भने कतै छैन," उनले भनिन्।

"तर पनि मौसम बदली भइरहेको र बिहानको तापक्रम समेत घट्दो क्रममा रहेको अवस्था छ। केही हदसम्म प्रदूषण समेत जिम्मेवार छ। तुवाँलो र हुस्सु देखिने बेला पनि यही नै हो। यस प्रवृत्तिले सामान्य अवस्थामै पनि खास गरी हवाई उडानमा असर गर्छ।"

नेपालमा हिउँदमा तुँवालो र हुस्सुले उडानहरूमा असर गर्ने गरेको छ

तस्बिर स्रोत, EPA-EFE/REX/Shutterstock

तस्बिरको क्याप्शन, नेपालमा हिउँदमा तुँवालो र हुस्सुले उडानहरूमा असर गर्ने गरेको छ

विभागका मौसमविद्हरूका अनुसार पानी पर्ने वा हावा नचल्ने अवस्थाका कारण 'भिजिबिलिटी' अर्थात् दृश्यात्मकता घटेको हो।

"तापक्रम घटिरहँदा हुस्सु बन्ने अनुकूल अवस्था सिर्जना हुन्छ। छ्याङ्ङ हुनका लागि तल्लो वायुमण्डलदेखि माथिल्लो वायुमण्डलसम्म अनुकूल हुने प्रणाली बन्नुपर्ने हुन्छ," मौसमविद् रोजन लामिछानेले भने।

"दुई-तिन दिन त्यस्तो सम्भावना छैन। विगत केही दिनदेखि पानी नपरिरहेकोमा वर्षाको समयको तुलनामा प्रदूषणको तह समेत वृद्धि भएको हुन सक्छ।"

बर्खा सकिएपछिको मौसम

पोस्ट-मनसुन अर्थात् बर्खायाम सकिएपछिको अवधिमा वर्षभरि हुने कुल वर्षाको झन्डै पाँच प्रतिशत पानी पर्ने गरेको पाइन्छ। हिउँदमा चार प्रतिशत र प्री-मनसुन अर्थात् बर्खायाम सुरु हुनुअघिको अवधिमा भने त्यसको लगभग तीनगुना बढी पानी पर्ने विज्ञहरू बताउँछन्।

नेपालमा सबैभन्दा बढी वर्षा मनसुनमा (झन्डै ८० प्रतिशत) हुन्छ। सो अवधिको मनसुनी वायु बर्सेनि चार महिनाजति पूर्वतिरबाट पश्चिमतर्फ बहने गर्छ। बाँकी आठ महिना नेपालमा पश्चिमी वायुको प्रभाव रहन्छ।

"यो बेला पश्चिमी वायुको प्रणालीका साथै स्थानीय मौसमी प्रणालीका कारण वर्षा हुने गर्छ। कहिलेकाहीँ बङ्गालको खाडीमा चक्रवात सिर्जना हुँदा त्यसको प्रभाव नेपालतर्फ देखिँदा समेत पानी पर्ने गर्छ," मौसमविद् महर्जनले भनिन्।

मौसमविद्हरूका अनुसार स्थानीय प्रणालीले सिर्जना गर्ने असरको पूर्वानुमान गर्ने सहज हुँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।