काठमाण्डू विमानस्थल सञ्चालन अवधि घट्दै, पोखरा र भैरहवा जान अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई 'सर्कुलर'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे विस्तारसहित स्तरोन्नतिको काम भइरहेको छ

तस्बिर स्रोत, Kamal Pariyar/BBC

तस्बिरको क्याप्शन, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रनवे विस्तारसहित स्तरोन्नतिको काम भइरहेको छ
    • Author, फणीन्द्र दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मर्मतसम्भारका लागि सञ्चालन अवधि घटाउने भन्दै वायुसेवा कम्पनीहरूलाई आफ्ना केही उडानलाई पोखरा र भैरहवाका नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानान्तरण गर्न अनुरोध गरेसँगै ती विमानस्थल अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न सक्षम अवस्थामा रहेको अधिकारीहरूले जनाएका छन्।

सन् २०७९ जेठदेखि सञ्चालन भएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब अढाई सय अन्तर्राष्ट्रिय उडानहरू भएर त्यस्ता उडान रोकिएको अधिकारीहरू बताउँछन्।

त्यही वर्षको माघमा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भने हालसम्म सात वटा चार्टर्ड उडान भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन।

आगामी कार्तिक २३ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतसम्भारका लागि १० घण्टा बन्द गर्न लागेको र त्यो समयमा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय वायुसेवाहरूले नियमित उडानहरू भर्ने व्यवस्था आफूहरूले मिलाएको अधिकारीहरूले बताइरहेका छन्।

नागरिक उड्डयन प्राधिकरणको 'सर्कुलर'मा के छ?

नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, EPA

यसै साता नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण गर्ने सबै अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई उडानको अवधि घटाइनेबारे जानकारी गराउँदै आगामी हिउँद यामको उडान तालिका त्यसैअनुसार मिलान गर्न अनुरोध गरेको थियो।

आगामी नोभेम्बर ८ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टामात्रै चल्ने भएकाले उडानहरू पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई भनिएको छ।

ती दुवै विमानस्थल दिगो रूपमा सञ्चालन गर्नका लागि सरकारले कार्ययोजना पारित गरको भन्दै पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मङ्गलवार अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका प्रतिनिधिहरूसँग छलफल गरेका थिए।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयकी सहसचिव इन्दु गौतमले बीबीसीसँग भनिन्, “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समयमा आन्तरिक उडानको पनि चाप हुन्छ। रातिको समयमा विमानस्थल बन्द हुने कुरा छ। त्यही भएर उहाँ (अन्तर्राष्ट्रिय वायुसेवा)हरूलाई सुविधा पनि होस् र नेपाली जनतालाई सेवा पनि होस् भन्ने हिसाबले हामीले निर्णयहरू लिएका हौँ। उहाँहरूको व्यवसाय नमरोस् भन्ने चाहना राखेका छौँ।”

वार्षिक क्षमता ८० लाख यात्रु रहेको भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ९५ लाख हाराहारी यात्रुले अघिल्लो वर्ष यात्रा गरेको अधिकारीहरू बताउँछन्
तस्बिरको क्याप्शन, त्रिभुवन विमानस्थलले आफ्नो क्षमताभन्दा बढी यात्रुलाई सेवा दिइरहेको बताइन्छ

वार्षिक क्षमता ८० लाख यात्रु रहेको भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै ९५ लाख हाराहारी यात्रुले अघिल्लो वर्ष यात्रा गरेको अधिकारीहरू बताउँछन्।

तर नोभेम्बरबाट मार्च महिनासम्म रनवे र ट्याक्सीवे लगायतका स्थानमा हुने निर्माणको कामले उल्लेख्य परिमाणमा उडान कटौती हुने नागरिक उड्डयन प्राधिकरणका सहव्यवस्थापक ज्ञानेन्द्र भूल बताउँछन्।

उनले भने, “त्यो बेलामा अहिलेको जस्तो घण्टामा ३३ वटा उडानहरू हामी व्यवस्थापन गर्न सक्दैनौँ। एक घण्टामा आउने र जाने गरी बढीमा आठ वटा अन्तर्राष्ट्रिय र १६ वटा जति आन्तरिक उडानहरू व्यवस्थापन गर्न सक्छौँ। त्यो बेला ३० प्रतिशत आन्तरिक र ४० प्रतिशत अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्न सक्ने अवस्थामा हामी हुँदैनौँ।”

आफूहरूले त्यो जानकारी वायुसेवा कम्पनीहरूलाई गराएको उल्लेख गर्दै उनले आउँदो हिउँद यामका लागि नयाँ उडान तालिकाहरूको प्रस्ताव पठाउन भनेको बताए।

उनी थप्छन्, “हामीले दिनको एउटा वा सोभन्दा कम उडान भएकालाई अहिलेको जस्तै गरी उडानहरू गर्न पाउने निर्णय गरेका छौँ। दुईवटा उडान भएकोले ७५ प्रतिशत उडान गर्न पाउने र त्यहाँ भन्दा बढी भएकोले ५० प्रतिशत काठमाण्डू र बाँकी पोखरा तथा भैरहवामा गर्नुपर्ने निर्णय गर्दै सर्कुलर गरेका छौँ।”

अक्टोबरको अन्तिम साताबाट प्राधिकरणले हिउँद यामको उडानको कार्यतालिका कार्यान्वयनमा ल्याउने भएकाले वायुसेवा कम्पनीहरूले निर्णय गर्न अझै केही समय पाउने अधिकारीहरू बताउँछन्।

कस्तो सहुलियत?

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझैसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन
तस्बिरको क्याप्शन, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अझैसम्म पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन

यसै महिनाको मध्यमा सरकारले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई विशेष सहुलियत दिने निर्णय लिएको थियो।

विक्रम संवत् २०८३ साल भदौ मसान्तसम्म दिइएको छुट र सहुलियतमा निम्न बुँदा समावेश छन्:

  • अन्तर्राष्ट्रिय हवाई टिकटमा लगाउने गरिएको यात्रु सेवा शुल्क ३,००० रुपैयाँ पूर्ण रूपमा छुट दिने
  • अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेशनमा पूर्ण छुट
  • हवाई टिकटमा लगाउने १,००० रुपैयाँ पर्यटन शुल्कमा पूर्ण छुट
  • ग्राउन्ड ह्यान्ड्लिङ शुल्कमा ७५ प्रतिशत छुट
  • बाहिर जाने वा अवतरण भएर देशभित्र जाने यात्रुहरूलाई आन्तरिक उडानमा अन्तर्राष्ट्रिय उडानसरहको लगेज सुविधा
  • सम्पूर्ण आधारभूत उपकरण, जनशक्तिको व्यवस्था
  • नाफा नलिईकन हवाई इन्धन बिक्री गर्ने

त्यसबाहेक मन्त्रिपरिषद्ले ती दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई प्रोत्साहित गर्न वैदेशिक रोजगारीसहित कतिपय सेवाहरू पोखरा र भैरहवाबाटै उपलब्ध हुने व्यवस्था मिलाउने निर्णय लिएको थियो।

अघिल्लो वर्ष सात वटा अन्तर्राष्ट्रिय एअरलाइन्सहरूमार्फत् १५ लाख २० हजार भन्दा बढी यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गरेका थिए, जसको ३५ प्रतिशत श्रमिक रहेको सरकारी आँकडा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Kamal Pariyar/BBC

दुवै विमानस्थलले कस्तो तयारी गरेका छन्?

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

तस्बिर स्रोत, Asian Development Bank

तस्बिरको क्याप्शन, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एअरले अर्को महिनाबाट उडान भर्ने इच्छा जाहेर गरेको छ

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले पूर्वाधारको हिसाबले अन्तर्राष्ट्रिय उडानहरू गर्नका लागि आफूहरू तयार रहेको बताए।

उनले भने, “अध्यागमन, भन्सार, श्रमलगायतको 'सेटअप' यहाँभन्दा पहिले पनि थियो। जजिरा, हिमालयन र नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानहरू गरेकै हो। हामी तत्कालै काम गर्न सक्छौँ।”

उनले पछिल्लो समयमा सेप्टेम्बरको अन्तिम साताबाट हप्ताको तीनवटा उडान गर्ने भन्दै जजिरा एअरलाइन्सले नागरिक उड्ययन प्राधिकरणमा प्रस्ताव पेस गरेको बताए।

उनले भने, “रातिको साढे २ बजेको समय माग गरेको हुनाले चौबीसै घण्टा विमानस्थल खोल्नुपर्ने खालको अवस्था छ। हामीले के गर्न सकिन्छ भनेर यहाँ रहेका सबे निकायहरूले पनि छलफल अघि बढाएका छौँ।”

नागरिक उड्ययन प्राधिकरणसमक्ष थाई एअर एशियाले पनि भैरहवाबाट हप्ताको चारवटा उडान भर्ने इच्छा व्यक्त गरेको छ। तर कहिलेबाट सो उडान सुरु हुने भन्नेबारे निर्णय गरिएको छैन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले गत वर्ष सात वटा चार्टर अन्तर्राष्ट्रिय उडान गराएको भन्दै आफूहरू त्यस्तो उडान सञ्चालन गर्न सक्ने अवस्थामा रहेको बताइन्।

उनले भनिन्, “हामीलाई कुनै पनि अप्ठेरो छैन। यो विमानस्थलमा न्यारोबडीका विमानहरूले अन्तर्राष्ट्रिय उडान गर्न सक्छन्।”

बाङ्ग्लादेशको दुई वटा निजी वायुसेवा कम्पनीले यसअघि पोखरामा उडान भर्ने इच्छा जनाउँदै विशेष सहुलियतको माग गरेका थिए।

सरकारको पछिल्लो निर्णयले त्यसलाई सम्बोधन गरेको र ती वायुसेवा कम्पनीहरू आफ्नो सम्पर्कमा ने रहेको अधिकारीहरू बताउँछन्।

सरकारी कार्ययोजनाको कार्यान्वयन कहाँ पुग्यो?

नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

दुवै विमानस्थल सञ्चालनका लागि मन्त्रिपरिषद्ले स्वीकृत गरेको कार्ययोजनामा त्यहाँबाट वैदेशिक रोजगारीमा जाने नेपालीहरूलाई विशेष सहजीकरण गर्ने उल्लेख गरिएको थियो।

बीबीसीसँग कुरा गर्दै श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता कविराज उप्रेतीले आफूहरूले वैदेशिक रोजगार व्यवसायी सङ्घ, स्वास्थ्य र अभिमुखीकरण सेवा प्रदायकहरूसँग छलफलपछि पोखरा र भैरहवामा श्रम स्वीकृतिको सेवा उपलब्ध गराउनेसहितका निर्णय लिएको बताए।

उनले भने, “तर भिसा सेन्टर विषयले अलिकति समस्या भएको छ। हामीले कतार र साउदी अरेबियाको भिसा सेन्टर त्यहाँ स्थापना गर्नुपर्‍यो भनेर परराष्ट्र मन्त्रालयमार्फत् लेखेका छौँ। उनीहरूको प्रतिक्रिया कुरिरहेका छौँ। त्यो सकारात्मक भयो भने हाम्रोतर्फबाट हामी तयार अवस्थामा नै छौँ।”

भिसा सेन्टर स्थापना भएपछि अनुमतिप्राप्त स्वास्थ्य परीक्षण केन्द्रहरू दुई वटा सहरमा स्थापना गर्न समस्या नहुने अधिकारीहरू ठान्छन्।

हाल वैदेशिक रोजगार विभागले दिँदै आएको सेवा कसरी पोखरा र भैरहवामा दिन सकिने वा नसकिने विषयमा श्रम तथा रोजगार मन्त्रालयले सहसचिव गोविन्द रिजालको संयोजकत्वमा कार्यदल बनाएर अध्ययन गरिरहेको उनले बताए।

नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरू वायुसेवा कम्पनीहरूलाई सहुलियत दिइएकाले भैरहवा र पोखराबाट उडान भर्दा टिकटको मूल्य सस्तो हुने पनि बताउँछन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।