बाङ्ग्लादेशी निजी वायुसेवा कम्पनीले गर्‍यो पोखरामा नियमित उडानको प्रस्ताव, कत्तिको सम्भव

यो वायुसेवाले हाल बाङ्ग्लादेशमा मात्रै उडान गर्दै आएको छ

तस्बिर स्रोत, Air Astra

तस्बिरको क्याप्शन, यो वायुसेवाले हाल बाङ्ग्लादेशमा मात्रै उडान गर्दै आएको छ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने इच्छासहित बाङ्ग्लादेशको एउटा वायुसेवा कम्पनीले प्रस्ताव गरेपछि त्यसका लागि अनुमति दिने प्रक्रियामा रहेको अधिकारीहरूले जनाएका छन्।

हालसम्म एउटा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बाङ्ग्लादेशको एउटा निजी वायुसेवा कम्पनीले राजधानी ढाकाबाट हप्ताको चार वटा उडान गर्ने इच्छा देखाएको अधिकारीहरूले जनाएका छन्।

एअर एस्ट्राले नेपाल सरकारलाई पत्र लेखेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने प्रस्ताव पेस गरेको हो।

एस्ट्रा एयरवेज लिमिटेडले गरेको कर छुटसहितका मागबारे निर्णय लिन अर्थमन्त्रालयमा छलफल भइरहेको नागरिक उड्डयन प्राधिकरणका एक जना अधिकारीले बीबीसीलाई बताए।

नेपालको सर्वाधिक लोकप्रिय पर्यटकीय गन्तव्य रहेको पोखरामा निर्माण गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको ज्यानुअरी १, २०२३ मा उद्‌घाटन गरिएको थियो।

वर्षभरिमा आठ वटा चार्टर्डबाहेक अन्य नियमित अन्तर्राष्ट्रिय उडान नभएपछि २४ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ ऋण लिएर निर्माण गरिएको सो विमानस्थल ‘सेतो हात्ती’ बन्न सक्ने चिन्ता कतिपयले व्यक्त गर्ने गरेको पाइन्छ।

बाङ्ग्लादेशी वायुसेवा साँच्चिकै आउँला?

पोखरामा उडान गर्ने इच्छा देखाएको एस्ट्रा एअर बाङ्ग्लादेशको उड्डयन बजारको एउटा नयाँ खेलाडी हो।

सो एअरवेजका प्रमुख कार्यकारीले मार्च महिनामा नेपाल सरकारको संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयका सचिवलाई लेखेको एउटा पत्रमा एस्ट्रा एअरले ढाका-पोखरा-ढोका र ढाका-काठमाण्डू-ढाका रुटको सम्भाव्यता विचार गरिरहेको जनाएको थियो।

सो पत्रमा उसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न आफू अति नै इच्छुक रहेको भन्दै आफूलाई दिन सक्ने छुटहरूबारे जानकारी उपलब्ध गराउन उसले अनुरोध गरेको थियो।

त्यसपछि दुवै पक्ष सम्पर्कमा रहेको र सो वायु सेवाले ढाका-पोखरा-ढाकामा हप्ताको चार वटा उडानहरू गर्ने इच्छा व्यक्त गरेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले बताए।

उनले भने, “हाम्रो यहाँको बुद्ध एअर जस्तै एटीआर विमान चलाउने उक्त बाङ्ग्लादेशी कम्पनी एअर एस्ट्रामार्फत् पोखरा र काठमाण्डूमा उडान गर्नका लागि उनीहरूले नेपालमा जनरल सेल्स एजेन्ट नियुक्त गरिसकेका छन्। बाङ्ग्लादेशसँग अहिले नेपाल सरकारको काठमाण्डू विमानस्थलमा र काठमाण्डू विमानस्थलबाट मात्रै उडान गर्नसक्ने खालको सम्झौता छ। बाङ्ग्लादेशले एस्ट्रा एअरलाइन्सले पोखरा उडान गर्न चाहेको छ भनेर अनुमति मागेको छ।”

उनले उक्त पत्रको नेपाल सरकारले जबाफ दिइनसकेको भन्दै ‘अनुमति दिने विषय प्रक्रियामा’ रहेको बताए।

पोखरा

उक्त वायुसेवाले एटीआरमार्फत् उडान गर्ने भएकाले आफूहरूले पोखरालाई जोड दिइरहेको अधिकारीहरूले बताएका छन्।

नेपाल सरकारले पोखरामा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवाहरूलाई आकर्षित गर्न ल्यान्डिङ र पार्किङ शुल्क लगायतमा छुट दिने नीति लिएको छ।

सूचना अधिकारी भूल भन्छन्, “आर्थिक रूपमा सम्भाव्य नहुन्जेलसम्म उहाँहरूले करमा छुट माग्नुभएको छ। अवतरण र पार्किङमा हामीले छुट दिइरहेका नै छौँ। कर छुट गरेर फिर्ता लाने विषय प्राधिकरण र पर्यटन मन्त्रालयको मात्रै विषय नभएकाले अर्थ मन्त्रालयको पनि निर्णय चाहिन्छ। एउटा फाइल अर्थ मन्त्रालयमा छ। अनुमति दिने विषय प्रक्रियामा छ र त्यो सम्पन्न भएपछि नियमित उडान सुरु हुन्छ।”

यो वायुसेवा कस्तो हो?

एअर एस्ट्राको वेबसाइट अनुसार उक्त वायु सेवा बाङ्ग्लादेशको जोइन्ट स्टक कम्पनीजमा जुलाई सन् २०२१ मा समावेश भएको थियो।

यात्रु र कार्गो सेवा प्रदान गर्ने लक्ष्य लिएको सो वायुसेवाले बाङ्ग्लादेशलाई विश्वसँग जोड्ने लक्ष्य लिएको उसले जनाएको छ।

आफ्नो वेबसाइटमा विमानको सङ्ख्या १० पुर्‍याउने लक्ष्य भएको बताएको सो वायुसेवाले नेपाललाई पठाएको पत्रमा भने हाल आफूसँग ३ वटा एटीआर ७२-६०० विमान रहेको जनाएको छ।

उसले सन् २०२४ सम्म त्यसलाई बढाएर ६ वटा पुर्‍याउने र अन्तर्राष्ट्रिय बजारमा सेवा विस्तार गर्ने जनाएको छ।

हाल सो वायुसेवाले बाङ्ग्लादेशमा मात्रै उडान गर्दै आएको छ। उसले देशभित्र पनि उडानहरू विस्तार गर्ने लक्ष्य राखेका विवरणहरूमा जनाइएको छ।

उडान

तस्बिर स्रोत, Air Astra

तस्बिरको क्याप्शन, यो वायुसेवाका प्रमुख कार्यकारीले नेपाल सरकारलाई पत्र लेखका थिए

हाल नेपालबाट हिमालय एअरलाइन्सले बाङ्ग्लादेशसम्म उडान गर्ने गर्छ।

बाङ्ग्लादेशबाट विमान बाङ्ग्लाले दिनमा कम्तीमा एकसहित हप्ताको १० वटा उडान गर्दै आएको अधिकारीहरू बताउँछन्

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म कति उडान भयो?

सन् २०२३ को ज्यानुअरी १ मा सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म नियमित अन्तर्राष्ट्रिय उडानहरू हुन सकेका छैनन्।

अहिलेसम्म जम्मा आठवटा चार्टर्ड उडान उक्त अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् भएका र २९६ यात्रुले यात्रा गरेका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीले बताइन्।

सन् २०२३ को ज्यानुअरी १ बाट सेवा सुरु भए लगत्तै ज्यानुअरी १५ मा यति एअरलाइन्सको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ७२ जनाको मृत्यु भएपछि पोखरा विमानस्थल झन् बढी चर्चामा आएको थियो।

हालसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्नेमा चीनको सिचुआन एअरलाइन्स, भुटानको ड्रुक एअरलाइन्स र नेपाली र चिनियाँ संयुक्त लगानीको हिमालयन एअरलाइन्स छन्।

त्यसबाहेक जाजरकोट भूकम्पका पीडितहरूलाई राहत साग्रीहरू लिएर चिनियाँ जनमुक्ति सेनाका दुई वटा विमान पनि पोखरामा गएको नोभेम्बरमा अवतरण गरेको थियो।

पोखरा
तस्बिरको क्याप्शन, जाजरकोट र रुकुममा गएको भूकम्पका प्रभावितलाई राहत सामग्री लिएर ८ नोभेम्बरमा चिनियाँ जनमुक्ति सेनाका दुई वटा कार्गो विमान चीनको छेङ्दुबाट पोखरा आएका थिए

प्रवक्ता सुवेदीले एक वर्षलाई पार्किङ र अवतरणका लागि दिइएको छुट सन् २०२४ को अन्त्यसम्म विस्तार गरिएको बताइन्।

उनले भनिन्, “पोहोर ज्यानुअरी १ मा उद्घाटन भयो र त्यो साल भर छुट भयो। अहिले यो वर्षभरि फेरि छुट दिइएको छ। पार्किङ र यहाँ आएपिच्छे तिर्नुपर्ने एइरोनोटिकल शुल्क तिर्नु पर्दैन।”

हवाई मार्गबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुँदै करिब १ लाख ३० हजार विदेशीहरू उक्त पर्यटकीय नगरी पुगेका थिए।

चिनियाँ ऋण चुक्ता गर्ने चुनौती

नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि चिनियाँ एक्जिम ब्याङ्कसँग लिएको ऋण तिर्ने उपायको खोजी भइरहेको यसअघि अधिकारीहरूले बीबीसीलाई बताएका थिए।

अघिल्लो वर्ष आफ्नो चीन भ्रमणका क्रममा उक्त अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लागेको ऋणमा छुट वा मिनाहा गरिदिन प्रधानमन्त्री प्रचण्डले चिनियाँ अधिकारीहरूलाई अनुरोध गरेका विवरण आएका थिए।

बेइजिङ जोडिएको परियोजना भएकाले दिल्लीले उक्त विमानस्थलमा भारतीय सहरहरूबाट उडान गराउन काठमाण्डूले राखेको प्रस्तावबारे सकारात्मक जबाफ नदिएको कतिपय उड्डयन र भूराजनीतिक मामिलाका जानकारहरूले बताउने गरेको पाइन्छ।

नेपालले थप हवाई रुटहरू उपलब्ध गराउन गरेको मागलाई समेत भारतले सम्बोधन गरिसकेको छैन।

नेपालले भारतसँग थप हवाई प्रवेशमार्गहरू उपलब्ध गराउनुपर्ने माग गरेको दशक भन्दा बढी भएको अधिकारीहरू बताउँछन्

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, नेपालले भारतसँग थप हवाई प्रवेशमार्गहरू उपलब्ध गराउनुपर्ने माग गरेको दशकभन्दा बढी भएको अधिकारीहरू बताउँछन्

पछिल्लो समयमा पोखरामा सोझै चीनबाट उडान गराउन आफूले पहल गरेको नेपाली अधिकारीहरूले बताउने गरेका थिए।

चिनियाँ ऋणमा निर्माण गरिएको यो विमानस्थलको वित्तीय पाटोहरूलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाँच गरिरहेका विवरणहरू पनि आएका छन्।

महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार नेपाल सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि प्राधिकरणलाई पाँच प्रतिशत ब्याज तिर्ने गरी दिएको ऋणमध्ये १९ अर्ब ३० करोड ४३ लाख रुपैयाँ ऋण तिर्न बाँकी छ।

महालेखा परीक्षकको प्रतिवेदनअनुसार कुल २२ अर्ब रुपैयाँ लागतमा बनाउने लक्ष्य राखिएको पोखरा विमानस्थलको लागत बढेर २५ अर्ब ३४ करोड रुपैयाँ पुगेको थियो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालले चीनबाट दुई प्रतिशत ब्याजदरमा २१ अर्ब रुपैयाँभन्दा बढी रकम र शून्य प्रतिशत ब्याजदरमा थप तीन अर्ब रुपैयाँभन्दा बढी रकम ऋण लिइएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे चिनियाँ एक्जिम ब्याङ्क र नेपाल सरकारबीच भएको सम्झौता अनुसार सात वर्षको ग्रेस अवधि (कुनै पनि ब्याज तिर्नुनपर्ने समय) सहित २० वर्षभित्र ऋण चुक्ता गरिसक्नु पर्छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।