हिन्दी फिल्म शोलेको ५० वर्ष, किन यसको अझै चर्चा गर्छन् दर्शक

तस्बिर स्रोत, Puneet Barnala/BBC
- Author, वन्दना
- Role, सीनियर न्यूज एडिटर, बीबीसी न्यूज
"हामीले जुन सिनेमा हलमा शोले हेर्यौँ, त्यसको स्क्रीन यति ठूलो थियो कि सिनेमा हेर्न दर्शकहरूले दायाँदेखि बायाँ टाउको घुमाउनुपर्थ्यो।"
चर्चित हिन्दी चलचित्र 'शोले'का प्रशंसक तथा नेपालका वरिष्ठ फिल्म समीक्षक विजयरत्न तुलाधरलाई दशकौँ पुरानो त्यो दिनको सम्झना अझै छ।
उनी नेपालबाट बस चढेर २०० किलोमिटर टाढा भारतमा शोले हेर्न गएका आफ्ना साथीहरूको कथा सुनाउँछन् जो फर्किएर आएपछि ठूलो डिङ हाँक्थे। शोले फिल्ममा एक चित्रित गफाडी पात्र सुरमा भोपालीले जस्तै गरी।
त्यति बेला धर्मेन्द्रले गरेको भनिएको नकारात्मक टिप्पणीका कारण नेपालमा उनले अभिनय गरेका चलचित्रमाथि प्रतिबन्ध लागेको बताइन्थ्यो । त्यसैले शोले नेपालमा प्रदर्शनमा थिएन।
तर ५० वर्षअघि १५ अगस्ट १९७५ मा रिलीज भएको शोले फिल्मको जादु यस्तो छ कि त्यसको ५० वर्षपछि पनि भारतमा मात्र हैन टाढाटाढका देशमा पनि मानिसहरू त्यसबारे अझै कुरा गर्छन्।
भारतको अवधी वा खडी बोलीको बीचको भाषा बोल्ने शोलेका खलनायक डाँकु गब्बर सिंह इरानजस्ता देशमा आज पनि 'जब्बर सिंह'को नामले प्रख्यात छन्।
इरान-इराक युद्ध, बसन्ती र शोले

तस्बिर स्रोत, Puneet Barnala/BBC
भारतमा शोले रिलीज भएको केही वर्ष पछिको समय अर्थात् सन् १९८० को दशकमा इरान र इराकबीच युद्ध चलिरहेको थियो।
युद्धको छायामा पराई भाषामा बनेको फिल्म कतयून केजेलबाशजस्ता मानिसहरूका लागि विशेष महत्त्व राख्छ।
कतयून भन्छिन्, "इरानमा युद्धको समय थियो। त्यस बेला इरानमा भीसीआर राख्नु पनि गैरकानुनी थियो। हामी ठूलो मेहनत गरेर गोप्य तरिकाले भिडिओ टेपको व्यवस्था गर्थ्यौँ अनि बन्द कोठाभित्र फिल्ममा डुब्थ्यौँ। तिनै फिल्ममध्ये शोले थियो। वीरू र जयको मित्रता र रमाइलोले हाम्रो मन जित्यो।"
" रङ्गीन कपडा लगाएकी बसन्ती खाली खुट्टा गब्बरको अगाडि नाच्दा म पनि आफ्नो कोठामा घुमीघुमी नाच्थेँ। क्यामराले मलाई नै खिचिरहेको झैँ मानेर। युद्धका बेला फैलिएको अनिश्चितता र डरबीच हामी केटाकेटीहरू फिल्ममा केही बेर भए पनि रमाउँथ्यौँ। शोले मेरो लागि केवल चलचित्र मात्र नभई इरानमा व्यतीत मेरो बाल्यकालको एउटा महत्त्वपूर्ण हिस्सा पनि थियो।"
तातेको चट्टान र काँचको टुक्रामा खाली खुट्टा नाचेकी हेमा
गीत र बसन्तीको प्रसङ्ग चल्दा 'जब तक है जाँ' बोलको गीत बिर्सिन सकिँदैन। यो गीतका लागि बसन्तीको भूमिकामा अभिनय गरेकी हेमा मालिनीले चर्को घामले तातेको चट्टानमाथि नाचेको दृश्य खिच्नुपर्ने थियो। उनले डाँकु गब्बरको अगाडि खाली खुट्टा नाच्नुपर्ने थियो।
भुइँ तातेको ठाउँमा नाच्न हेमा मालिनीलाई पैतालामा लगाउन प्याड दिइएको थियो।
तर खुट्टामा प्याड लगाएर नाच्न उनलाई सजिलो भएन। त्यसैले तातो चट्टान भए पनि धेरैजसो दृश्यमा हेमा मालिनीले खाली खुट्टा नै नाचेर छायाङ्कन गरिन्।
एउटा दृश्यमा साम्बा ( डाँकु गब्बरका सहयोगी) काँचको बोतल फुटाउँछन्। त्यसमाथि बसन्तीले खाली खुट्टा नाच्नुपर्ने थियो। तर गल्तीवश काँचका केही टुक्राले हेमा मालिनीका खुट्टामा साँच्चै चोट लाग्न पुगेको थियो। तर उनले घाइते खुट्टा लिएर नै छायाङ्कन सम्पन्न गरेकी थिइन्।
जब बाङ्ग्लादेशको ढाकामा केटाकेटी गब्बर वाला खेल खेल्थे

तस्बिर स्रोत, Puneet Barnala/BBC
भारतको छिमेकी देश बाङ्ग्लादेशमा पनि शोलेका फ्यान पाइन्छन्।
ढाकामा बसोबास गर्ने फरजाना बारी रत्ना भन्छिन्, "यो ९० को दशकको कुरा होला। हामी बाल्यकालमा भीसीआरमा शोले हेर्थ्यौँ, पूरै परिवारका साथमा।"
"गब्बरको अभिनय केटाकेटीलाई निकै मन पर्थ्यो। हामी बच्चाहरूको सबभन्दा मन पर्ने खेल नै शोलेको दृश्य दोहोर्याउनु हुन्थ्यो। र हामी खेलमा एक अर्कालाई 'कितने आदमी थे' भनेर सोध्थ्यौँ।"
"डिश टीभी आएपछि त्यसमा त्यसमा शोलेको गीत बारम्बार आउँथ्यो। ये दोस्ती हम नहीँ छोडेङ्गे र त्यो होली वाला गीत।"
अनि उनी केटाकेटीहरूजस्तै उत्साहित भएर 'महबूबा ओ महबूबा' गीत गुनगुनाउन थाल्छिन्।
आरडी बर्मन, 'महबूबा ओ महबूबा' र हेलेन
धेरैलाई थाहै छ, शोलेमा हेलेनमाथि छायाङ्कन गरिएको गीत 'महबूबा ओ महबूबा' निकै लोकप्रिय भएको थियो। उक्त गीत आरडी बर्मनले गाएका थिए।
यसको धुन ग्रीक गायक डेमिस रूसेसको गीत 'से यू लव मी' सँग धेरै मेल खान्छ। त्यो गीत शोलेभन्दा अगाडि सन् १९७४ मा रिलीज भएको थियो। यसको धुन पनि एक पुरानो लोकगीतसँग मिल्छ।
अनुपमा चोपडाले शोलेमाथि लेखेको किताबका अनुसार, "शोलेका पटकथाकार जावेद अख्तर यो गीत राख्न तयार थिएनन्।
उनलाई जङ्गलमा बस्ने डाँकु गब्बरलाई यो गाना सुहाउला जस्तो लागेको थिएन।
तर गीत सुनेपछि जावेदले पनि यो असाध्यै राम्रो भएको माने। अनि उनले धर्मेन्द्र र हेमाका लागि यसलाई खिचौँ न त भन्ने प्रस्ताव राखे।
तर रमेश सिप्पीलगायत अरूलाई लाग्यो त्यो वीरू र बसन्तीका लागि उपयुक्त हुन्छ जस्तो लागेन।
घरमा पैसा चोरेर काठमाण्डूबाट शोले हेर्न बिहार
नेपालका वरिष्ठ पत्रकार विजयरत्न तुलाधरलाई शोले फिल्मका सबै दृश्य याद छ।
उनी भन्छन्, "शोले आएपछि कैयौँ केटाहरू काठमाण्डूबाट बिहारको रक्सौलमा फिल्म हेर्न गए। मेरा केही साथीहरू घरबाट भागेर फिल्म हेर्न गएका थिए।"
"शोले हेर्न कतिले त घरमा आमाबुबाको खल्तीबाट पैसा चोरेका थिए ।"

तस्बिर स्रोत, Puneet Barnala/BBC
पाकिस्तानमा बिक्थ्यो शोलेको अडिओ टेप
पाकिस्तानमा ४० वर्षपछि सन् २०१६ मा शोले रिलीज हुँदा फिल्म हेर्न गएका दर्शकहरू गब्बर, बसन्ती, र वीरू सँगसँगै उनीहरूको डाइलग दोहर्याइरहेका थिए।
शोले पाकिस्तानी सिनेमा हलमा वर्षौँसम्म नदेखाइए पनि शोलेको १२० मिनेट लामो अडिओ टेप त्यहाँ वर्षौँदेखि पाइन्थ्यो। खाडीका देशबाट पाहुना आउँदा पाकिस्तानी नातेदारहरूका लागि शोलेको टेप उपहारका रूपमा आउँथ्यो। त्यसैले मानिसहरूलाई शोलेको डाइलग कण्ठ हुन्थ्यो ।
एम एलियास खानले बीबीसीका लागि लेखेको लेखमा पाकिस्तानी पत्रकार हामीद भुट्टोसँग जोडिएको घटनाको चर्चा गरेका छन्।
"एक मित्रले मलाई कार किन्न मद्दत गरेका थिए। केही दिनपछि उनले मलाई सोधे 'तिम्रो धन्नोको हालखबर के छ' भनेर? (सिनेमामा धन्नो बसन्तीको घोडीको नाम हो)।" यसले पुस्तौँ पुस्तासम्म शोलेको लोकप्रियता दर्साउँछ।
शोलेका कैयौँ दृश्य 'वन्स अपन अ टाइम इन द वेस्ट' जस्ता हलीवुड चलचित्रबाट अनुकरण गरिएको भन्ने चर्चा वर्षौँदेखि हुँदै आएको छ।
अफ्रिकामा बस्ने शोलेका एक फ्यान यूट्यूबमा यी दुई फिल्म हेरेर गरिएको तुलनासँग सहमत छैनन्। उनी भन्छन्, "हलीवुडका फिल्मको तुलनामा हामी अफ्रिकाका मान्छेलाई शोले धेरै मन पर्यो किनभने हामी भारतीय संस्कृति र परम्परालाई आफूसँग जोडेर हेर्छौँ। हलीवुडको दाँजोमा शोलेको भावुक विषयवस्तुले हामीलाई ज्यादा छोयो।"
शोले विदेशमा पनि किन चल्यो
के कारणले शोलेले भाषा, देश र संस्कृति पार गर्न यति सफल भयो त?
इरानी सञ्चारमाध्यमका इतिहासकार बहरूज तौरानी भन्छन,, "सन। ८० को दशकमा इरानमा सरकारले नाचगानमा रोक लगाएको थियो। तैपनि शोले इरानमा लोकप्रिय भयो किनकि देशमा जेजे विषयमा प्रतिबन्ध लगाइएको थियो त्यो सबै कुरा शोलेमा थियो।"
"इरानका मानिसलाई शोलेको रोमान्स, साहस, गीत असाध्यै मन पर्यो। अनि पात्रहरूलाई वास्तविक जीवनभन्दा निकै धेरै बढाइचढाइ गरेर प्रस्तुत गर्ने भारतीय फिल्मको तरिका पनि।"
सुरुमा शोले 'फ्लप' घोषणा भएको थियो

तस्बिर स्रोत, Puneet Barnala/BBC
शोले सबभन्दा धेरै चलेको भारतीय चलचित्रमध्ये पर्छ। तर रिलीज भएको पहिलो केही हप्तामा भने यसलाई 'फ्लप' घोषणा गरिएको थियो।
अनुपमा चोपडाको पुस्तक 'शोले -द मेकिङ अफ ए क्लासिक'मा डेलोरेस परेरा नामकी एक महिलाको प्रसङ्ग छ जो ट्यारोकार् मार्फत् मानिसहरूको भाग्य बताउँथिन्।
"सन् १९७४ को कुरा हो - ब्याङ्गलोरमा उनको घरमा तीनजना मानिस आए। ह्याट लगाएका छोटो कदका एक व्यक्ति थिए, उनी फिल्म निर्देशक थिए। दाह्रीवाला अर्का व्यक्ति थिए जसलाई देख्दा लाग्थ्यो उनले तत्काल नुहाउन जरुरी छ र साथमा थिइन् उनकी पत्नी। अभिनेतालाई हेरेर डेलोरेसले भनिन् यी मानिस निकै माथि पुग्ने छन् र यो चलचित्र सिनेमाहलहरूमा कैयौँ वर्ष चल्ने छ," पुस्तकमा लेखिएको छ।
त्यो कुरा त्यसै हरायो। तर उक्त चलचित्र सार्वजनिक भएपछि गब्बर अर्थात् अमजद खान सुपरहिट हुन पुगे र शोले पाँच वर्षसम्म सिनेमा घरमा चलिरह्यो।
रोचक कुरा के छ भने भारतमा गब्बर सिंह नामका एक डाँकु वास्तवमै थिए। उनी मान्छेको नाक काट्ने व्यक्तिका रूपमा कुख्यात थिए।
शोलेतिरै फर्किँदा शोलेको शूटिङ गान्धी जयन्तीका दिन २ अक्टोबर सन् १९७३ मा ब्याङ्गलोरनजिकै रामनगरममा सुरु भएको थियो। तर पहिलो दिनको शूटिङ बर्खामा परेको पानीका कारणले बिग्रियो।
त्यसको भोलिपल्ट शोलेको पहिलो दृश्य खिचियो - अमिताभ बच्चनले घरमा चोरी गर्ने कोसिस गरेपछि जया बच्चनलाई साँचोहरू फर्काउँछन्। अनि त्यसको चार वाक्यको 'आइडिया' सधैँका लागि हिन्दी सिनेमाको 'गेम चेन्जर' बन्न पुग्यो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








