देव आनन्दः भारतीय अभिनेता जो नेपालमा लोकप्रिय छन्

"मलाई एउटी युवतीले निकै भावपूर्ण पत्र पठाउँथिन्, मैले उनलाई १०-१२ पटक जबाफ पनि दिएँ। एक दिन मैले जबाफ पठाउन छोडेँ। उनले बिदाइ सन्देशसहित मलाई ती सबै पत्र फिर्ता पठाइन्। उनको मन दुखेको थियो। मलाई हजारौँ प्रशंसकले चिठी पठाउँथे। एक पटक मैले एउटी प्रशंसकको चिठीको जबाफ दिएँ। त्यसपछि उनले मलाई ३,७२० बटा चिठी पठाइन्। फेरि मैले जबाफ दिन्छु भन्ने आशामा उनले त्यसो गरेकी थिइन्।”

यो कुनै काल्पनिक कथा होइन, देव आनन्दले आफ्नो आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा यो प्रसङ्ग उल्लेख गरेका छन्। देव आनन्द जीवित भएको भए अहिले १०० वर्षका हुन्थे।

उनी यस्ता नायक थिए जसको लोकप्रियता भारत, पाकिस्तान र नेपालसहित कैयौँ देशमा थियो। डेभिड लीन, ग्रेगरी पेक, फ्रान्क काप्राजस्ता हलीवुडका दिग्गजहरूले उनलाई चिन्थे। उनी अन्तर्राष्ट्रिय ख्याति भएका भारतका पहिलो 'सहरिया नायक'को रूपमा चिनिन्थे।

नेपालमा देव आनन्दका धेरै प्रशंसकहरू थिए। नेपालको राजपरिवारसँग उनको निकट सम्बन्ध थियो। उनको निकै सफल चलचित्र 'हरेराम हरेकृष्ण' को छायाङ्कन नेपालमा गरिएको थियो।

नेपालका वरिष्ठ पत्रकार वसन्त थापा सानैदेखि देव आनन्दका प्रशंसक थिए।

उनी भन्छन्, “नेपालमा देव आनन्दको धेरै क्रेज थियो। उनकै जस्तो कपाल बनाउन युवाहरू बाँसको ढुङ्ग्रोमा तताएको विशेष किसिमको तेल लगाउँथे। उनका दाँतका बीचमा छिद्र थियो। उनका फ्यानहरू आफ्ना दाँत बिगारेर देव आनन्दको जस्तै बनाउने प्रयास गर्थे। 'हरेराम हरेकृष्ण'को छायाङ्कन नेपालमा हुँदा मानिसहरूको ठूलो घुइँचो लागेको थियो।"

“मञ्चमा बसेर उनी रोइरहे। भित्तामा टाँसिएर रोइरहे। लाहोर छोडेर जाने बेलामा आफूले अन्तिम समयमा उषालाई भनेको कुरा उनले त्यहाँ सुनाए।”

“एक रात हामीले 'दम मारो दम' गीतको छायाङ्कन काठमाण्डूमा भइरहेको थाहा पायौँ। म पनि त्यहाँ पुगेँ। देव आनन्द र जीनत अमानलाई हेर्न चाहने मानिसको भिड उत्तेजित भयो, त्यहाँ ठेलमठेल सुरु भयो। स्थिति सहज बनाउन प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो। मानिसहरूले प्रहरीमाथि पनि ढुङ्गा हाने। हामीले पनि एक–दुई पटक हान्यौँ। यो देव आनन्दको जादु थियो। त्यही समयतिर म दार्जिलिङ गएको थिएँ, सबै पर्यटकहरू देव आनन्दले 'ज्वेल थीफ'मा लगाएकै जस्तो टोपी अनि कालो र सेतो जुत्ता लगाएर घुमिरहेका थिए।”

देव आनन्दका दाँतको बीचमा छिद्र थियो। नेपाली युवाहरूले आफ्नो दाँतको स्वरूप बिगारेर देव आनन्दको जस्तै दाँत बनाउने प्रयास गरेका थिए। 'हरेराम हरेकृष्ण 'को छायाङ्कनका क्रममा भिड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको थियो।- वसन्त थापा

लाहोरको कलेजमा देव आनन्द ढोकामा टाँसिएर रोए

देव आनन्दको जन्म सेप्टेम्बर २२, १९२३ मा अविभाजित पन्जाबमा भएको थियो। उनको जन्मस्थान अहिले पाकिस्तानमा छ। लाहोरबाट स्नातक गरेपछि जुलाई १९४३ मा देव आनन्द खल्तीमा ३० रुपैयाँ लिएर बम्बई जाने रेल चढे। त्यसको केही वर्षभित्रै उनी हिन्दी चलचित्रका ठूला नायक बने।

तर उनले आफ्नो जन्मभूमि फर्किन ५५ वर्ष कुर्नुपर्ला भन्ने कल्पना पनि गरेका थिएनन्।

सन् १९९९ मा देव आनन्द भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयीसँग पाकिस्तान जाँदा पत्रकार गौहर बट लाहोरमा थिए। बीबीसीसँग कुरा गर्दै गौहरले त्यस बेला देव आनन्द लाहोरमा आफूले पढेको कलेज जाँदाको दृश्य वर्णन गरे।

“हामी कलेजमा प्रवेश गर्दै गर्दा मैले पालेलाई देव आनन्द आएको कुरा सुनाएँ। उनले अचम्म मान्दै सोधे, 'भारतबाट आएका हुन्?' आफ्नो कलेज देख्नेबित्तिकै देव आनन्दका आँखाबाट आँसु बग्न थाल्यो। ढोकामा टाँसिएर उनी ठूलो स्वरले रोए। कलेज पढ्दा उनी उषा नामकी युवतीलाई मन पराउँथे। देव आनन्दले उषाको नाम लिए। मञ्चमा बस्दा पनि रोइरहे। भित्तामा टाँसिएर रोइरहे। उनले आफ्नो पूरै प्रेमकथा सुनाए।”

लाहोर छोडेर सन् १९४३ मा बम्बई गएका देव आनन्दले सुरुमा कहिले क्लर्कको रूपमा र कहिले ब्रिटिश सेनाको सेन्सर कार्यालयमा पनि काम गरे।

तर उनी अभिनेता बन्न चाहन्थे। उनले सन् १९४६ मा चलचित्र ‘हम एक हैं’मा खेल्ने अवसर पाए।

पहिलो चलचित्रमा देव आनन्दका लागि एउटा सर्त राखिएको थियो। देव आनन्द आफ्नो पुस्तकमा लेख्छन्, “मलाई मेरा दाँतको बीचमा फिलर राख्नुपर्छ भनिएको थियो। मैले मेरा अगाडिका दाँतका दुवै छेउमा साँच्चै छिद्र रहेको यकिन गर्न जिब्रो घुमाएँ। दाँतमा खाली ठाउँ भएका कारण म फिलर राखेर छायाङ्कनमा जाँदा सहज महसुस भएन। पछि मेरो अनुरोधमा त्यो फिलर हटाइयो। जनताले मलाई म जस्तो छु त्यसरी नै स्वीकार गरेकामा म खुसी छु।”

जब इन्डोनेशियाका राष्ट्रपति देव आनन्दलाई हेर्न आए

भर्खरै स्वतन्त्र भएको भारतमा देव आनन्द सबैभन्दा ठूला अभिनेतामध्ये एक थिए। चम्बलका डाँकादेखि विभिन्न देशका शासकसम्म देव आनन्दका प्रशंसक थिए। चलचित्र 'कालापानी'को छायाङ्कन हेर्नै भनेर इन्डोनेशियाका राष्ट्रपति सुकार्नो भारत आएका थिए।

देव आनन्दको आत्मकथा ‘रोमान्सिङ विथ लाइफ’मा केही घटनाबारे वर्णन गरिएको छ। ‘हम बेखुदी मे तुमको पुकारे चले गए’ गीतको छायाङ्कन हुन लागेको थियो र सबै जना राष्ट्रपतिको पर्खाइमा थिए। दुई घण्टासम्म पनि उनी नआएपछि हामीले गीत छायाङ्कन गर्‍यौँ। छायाङ्कन सकिनेबित्तिकै हामीले उनीहरू आइपुगेको थाहा पायौँ। इन्डोनेशियाका राष्ट्रपतिका लागि भनेर हामीले फेरि छायाङ्कन दोहोर्‍यायौँ। राष्ट्रपतिले ताली बजाए। हिन्दी चलचित्रको छायाङ्कन देखेर उनी निकै खुसी भए। कालापानीका लागि मैले फिल्मफेअर अवार्ड पाएको थिएँ। त्यो अवार्ड मैले इजिप्टका राष्ट्रपति अल नासिरबाट हातबाट पाएको थिएँ।

अलिअलि नुहेको गर्दन, उनको त्यो टोपी, घाँटीमा रङ्गीन स्कार्फ र नरोकिई निरन्तर बोल्ने शैली... यो शैलीबाट धेरै मानिस प्रभावित थिए।

यसबारे देव आनन्दले बीबीसीसँगको कुराकानीमा भनेका थिए, "वास्तवमा म कुप्रिएर हिँड्छु। चलचित्रमा मलाई लामो संवाद दिइन्थ्यो र म ‘पज’ गरेर बोल्ने कि नबोल्ने भन्ने दुबिधामा हुन्थेँ। त्यसैले म एकैसासमा बोल्थेँ। अनि त्यो नै देव आनन्दको शैली बन्यो।”

देव आनन्द र कालो शर्ट

बाजी, ट्याक्सी ड्राइभर, ग्याम्बलर र गाइडजस्ता चलचित्रका लागि मात्र होइन, देव आनन्दलाई उनको शैलीका लागि पनि याद गरिन्छ। नुहेको घाँटी, उनको त्यो टोपी, गलामा रङ्गीन स्कार्फ र नरोकिईकन बोल्ने शैलीको धेरै मानिस उनीप्रति मन्त्रमुग्ध हुन्थे।

यसबारे देव आनन्दले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘वास्तवमा म कुप्रिएर हिँड्छु। चलचित्रमा मलाई लामो संवाद दिइन्थ्यो र म ‘पज’ गरेर बोल्ने कि नबोल्ने भन्ने दुबिधामा हुन्थेँ। त्यसैले म एकैसासमा बोल्थेँ। अनि त्यो नै देव आनन्दको शैली बन्यो।”

उनलाई देखेर युवतीहरू बेहोस हुने भएकाले देव आनन्दलाई कालो शर्ट लगाएर बाहिर निस्किन रोक लगाइएको हल्ला फैलियो।

तर देव आनन्द त्यो कुरालाई हाँसेर टारिदिन्थे। उनका अनुसार 'कालापानी'मा आफूले कालो कपडा लगाएपछि त्यस्तो हल्ला सुरु भएको थियो।

‘स्टाइलिश स्टार’ हुनुबाहेक देव आनन्दलाई हिन्दी चलचित्रको क्षेत्रमा दूरदर्शी पनि मानिन्छ। उनमा जोखिम मोल्ने साहस थियो।

बाटो देखाउने 'गाइड'

सन् १९५० र ६० को दशकमा उनले बलीवुडमा 'ट्याक्सी ड्राइभर', 'कालाबजार' र 'हम दोनो' जस्ता मूलधारका धेरै चलचित्र बनाए र तिनमा अभिनय पनि गरे। ती चलचित्र 'गोल्डन बेअर अवार्ड'को प्रतिस्पर्धामा पुगे।

उनले सन् १९६५ मा ‘गाइड' चलचित्रमा पनि अभिनय गरे। त्यसमा व्यभिचारको कथा थियो। उनले कपाल पाक्न लागेको पात्रको भूमिका निर्वाह गरेका थिए। चलचित्रमा ती पात्र अन्ततः सन्त बन्छन् र मर्छन्। त्यो भूमिका देव आनन्दको छवि र व्यक्तित्वभन्दा धेरै फरक थियो।

देव आनन्दले त्यही चलचित्रबाट हलीवुडमा पाइला टेकेका थिए। त्यो चलचित्र हिन्दी र अङ्ग्रेजी दुवै भाषामा बनाइएको थियो।

गाइडलाई देव आनन्दको उत्कृष्ट फिल्ममध्ये मानिन्छ। सन् २००८ मा एउटा अन्तर्वार्तामा उनले मसँग भनेका थिए, "मानिसहरू यदि गाइड मेरो उत्कृष्ट फिल्म हो भन्छन् भने मैले उनीहरूको कुरा सुन्नुपर्छ। तर म राम्रो फिल्म निर्माण गर्न सक्षम छैन भन्नु उचित हुँदैन। आखिर म देव आनन्द हुँ।"

सुरैया र देव आनन्दको प्रेम

देव आनन्दको व्यक्तिगत जीवन पनि खुला किताबजस्तै थियो। उनी अभिनेत्री सुरैयालाई माया गर्थे। तर फरक धर्मका भएकाले उनीहरूले बिहे गरेनन्। सुरैया आजीवन अविवाहित बसिन्।

वरिष्ठ पत्रकार अली पिटर जोन देव आनन्दका साथी र प्रशंसक पनि थिए।

आफ्नो पुस्तक 'माई देवः मेमरीज अफ एन इमोर्टल म्यान'मा उनी लेख्छन्, “देव आनन्द मसँग भन्थे: हाम्रो कथाको अन्त्य अरू नै किसिमले भइदिएको भए हुन्थ्यो। म त्यतिबेला स्क्रीनमा काम गर्थेँ र सन् २००२ मा स्क्रीनले सुरैयालाई ‘लाइफ टाइम अवार्ड’ दिने निर्णय गर्‍यो। सुरैयाले मेरा सहकर्मी पिरोजलाई ‘देव आउनुहुन्छ?’ भनेर सोधिरहेकी थिइन्। पिरोजले देवले कुनै पनि स्क्रीन समारोह छाड्दैनन् भने। तर देव आनन्दले अलीसँग आफूलाई त्यहाँ जान अप्ठ्यारो लागेको बताए। उनले भनेः विगत ४० वर्षदेखि मैले न त उनलाई देखेको छु न त फोनमा बोलेको छु। यसपालि होस्। हामी दुवैले सहन सक्दैनौँ।

“पछि देवले सुरैया कस्ती देखिन्थिन्, कपालमा फूलहरू थिए कि थिएनन् वा कस्तो सारी लगाएकी थिइन् भनेर सोधखोज गरे। सुरैयाको मृत्यु भएको दिन उनले मलाई फोन गरेका थिए। उनको पेन्टहाउस बन्द थियो। उनी छतको एउटा पालमा एक्लै बसेका थिए। उनको आँखामा आँसु मात्रै थियो।"

तर उनको गीत ‘मै जिन्दगी का साथ निभाता चला गया’का हरफजस्तै देव आनन्द जीवनमा अगाडि बढ्दै गए। उनले नायिका कल्पना कार्तिकसँग बिहे गरे।

फ्यानहरू थाके तर देव आनन्द थाकेनन्

आफ्नो अभिनययात्राका अन्तिम दुई दशकमा देव आनन्दले अभिनय गरेका चलचित्रहरूलाई दर्शकले खासै रुचाएनन्। कतिपयले तिनलाई असान्दर्भिक पनि माने।

चलचित्र समीक्षक भारती दुबेले देव आनन्दको अभिनययात्रालाई लामो समय नियालेकी छन्। उनको देव आनन्दसँग धेरै पटक भेट पनि भयो। उनी भन्छिन्, “उनका पछिल्ला चलचित्रहरू धेरैलाई मन परेन। तिनमा उस्तै निखार थिएन। तर देव आनन्दलाई चलचित्र बनाइरहनुपर्छ भन्ने लाग्यो। चलचित्रले शून्य रेटिङ पाए पनि वा अस्वीकृत भए पनि उनलाई केही फरक पर्दैन थियो। देव आनन्द आफू सक्रिय रहँदै मर्न चाहेको बताउँथे। पछिल्ला केही चलचित्रले देव आनन्दलाई परिभाषित गर्न सक्दैनन्। 'गाइड' र 'हरेराम हरेकृष्ण' जस्ता चलचित्रका कारण उनलाई अन्तर्राष्ट्रिय छवि भएको स्टारको रूपमा सधैँ सम्झना गरिने छ।"

वसन्त थापा भन्छन्, "हामी फ्यान उनको फिल्म हेरेर थाक्यौँ तर देव आनन्द थाकेनन्।"