भारतमा नेपाली छात्राको मृत्यु प्रकरण : केआईआईटीमा अहिले अवस्था के छ, वि‍वादित कर्मचारीलाई कस्तो कारबाही भयो

कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)

तस्बिर स्रोत, X/KIIT

    • Author, विष्णु पोखरेल
    • Role, बीबीसी न्यूज नेपाली

एक नेपाली छात्राको शङ्कास्पद परिस्थितिमा भएको मृत्युको घटनापछि भारतको ओडिसा राज्यस्थित एक शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थीहरू र उक्त संस्थाको प्रशासनबीच उत्पन्न तनाव सामान्य बनेको भन्दै उक्त विश्वविद्यालय र नयाँ दिल्लीस्थित नेपाली नेपाली दूतावासका अधिकारीहरूले विद्यार्थीलाई फर्किन र परीक्षामा सहभागी हुन अनुरोध गरेका छन्।

भुवनेश्वरको कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी)मा अध्ययनरत रूपन्देही जिल्लाकी एक विद्यार्थीको शव गत आइतवार साँझ छात्रावासमा "झुन्डिएको अवस्थामा" फेला परेको थियो।

त्यसयता विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू अन्योल र चिन्तामा परेका विवरण आइरहँदा दूतावासका कर्मचारीको उपस्थितिमा विश्वविद्यालय प्रशासन र पदाधिकारीले नेपालकी परराष्ट्रमन्त्री आरजू राणा देउवासँग टेलिफोन संवाद गरेर विद्यार्थीलाई फर्किन अनुरोध गरेको र उनीहरूको परीक्षाको व्यवस्था गरिनेबारे सहमति भएको दिल्लीस्थित दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले बीबीसीलाई जानकारी दिए।

उक्त घटनाको निष्पक्ष छानबिनको माग गर्दै त्यहाँस्थित नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। तर केआईआईटी प्रशासनले प्रतिक्रियास्वरूप छोटो समय दिएरसोमवार सबै नेपाली विद्यार्थीहरूलाई "बलपूर्वक" निकालेर घर फर्काउन थालेपछि नेपाली विद्यार्थीहरूले "अन्योल र चिन्तामा परेको" बताएका थिए।

तर सोमवार अबेर केआईआईटी प्रशासनले नेपाली विद्यार्थीहरूको सुरक्षाको प्रत्याभूति गर्ने जनाउँदै उनीहरूलाई फर्कन आग्रह गरेको थियो। उक्त संस्थाका अधिकारीहरूले सोमवार साँझ भुवनेश्वरस्थित रेल्वे तथा बस स्टेशनहरू र होटलहरूमा पुगेर माफी माग्दै विद्यार्थीहरूलाई फिर्ता गरेको त्यहाँस्थित नेपाली विद्यार्थीहरूले बीबीसीलाई बताए।

मङ्गलवार अपराह्ण परारष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत् उक्त घटनापछि उत्पन्न परिस्थितिबारे आफू र भारतस्थित नेपाली दूतावासका अधिकारीहरू निरन्तर सम्पर्कमा रही आवश्यक काम गरिरहेको जनाएकी छन्। दिल्लीस्थित नेपाली राजदूत शङ्कर शर्माले केआईआईटीका संस्थापक प्राध्यापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गरेको दूतावासले जनाएको छ।

उनले दिल्लीस्थित नेपाली दूतावासमा केआईआईटीका प्रतिनिधिहरूसँग भेटेर पछिल्लो परिस्थितिबारे छलफल पनि गरेका छन्।

 केआईआईटीका प्रतिनिधिहरूसँग छलफल गर्दै नेपाली राजदूत शङ्कर शर्मा

तस्बिर स्रोत, X/EONI

तस्बिरको क्याप्शन, दिल्लीस्थित नेपाली दूतावासमा केआईआईटीका प्रतिनिधिहरूसँग छलफल गर्दै नेपाली राजदूत शङ्कर शर्मा

संसद्‌मा सरकारको आलोचना

मङ्गलवार प्रतिनिधिसभामा बोल्दै सांसदहरूले भारतको ओडिसामा भएको घटनामा सरकारले "तत्काल" र "उपयुक्त" कूटनीतिक पहल गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

विपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने, "सिङ्गो नेपाल र नेपालीमाथि धावा बोलियो तर सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थी असुरक्षित छन्।"

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले भने, "हाम्रो कूटनीति यति कमजोर भयो कि छिमेकमा एउटा कलेजको चौकीदारले पनि हाम्रो नागरिकलाई सजिलै पिट्दिन पाए। 'तिम्रो देशको बजेट मेरो यूनिभर्सिटीको जति पनि छैन' भनेर हेप्न पाए।"

कतिपय सत्ताधारी सांसदहरूले पनि उक्त घटनाको निष्पक्ष छानबिनका लागि सरकारले गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका थिए।

उनीहरूले त्यहाँ नेपाली छात्राको मृत्यु भएपछि विद्यार्थीहरूलाई विश्वविद्यालय प्रशासनका अधिकारीहरूले गरेको व्यवहार नेपालीप्रतिकै "अपमान" भएको बताएका छन्।

अहिलेको अवस्था के छ

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूका अनुसार सोमवार कलेज प्रशासनले सुरक्षाको प्रत्याभूति गर्ने आश्वासन दिएपछि स्थानीय सुरक्षाकर्मीसहित कर्मचारीहरू नेपाली विद्यार्थीहरूलाई खोज्न विभिन्न क्षेत्रमा गएका थिए।

त्यसपछि भुवनेश्वरमा रहेका धेरै विद्यार्थीहरू छात्रावासमा फर्किएको तर कतिपय नेपालतर्फ हिँडिसकेका बताइएको छ।

केआईआईटीमा अध्ययनरत एक नेपाली छात्रले भने, "हामी धेरै फर्किएका छौँ। तर अझै केही [विद्यार्थी] होटलहरूमा बसिरहेका छन्। हामीलाई यहाँका भारतीय विद्यार्थीहरूबाट कुनै चिन्ता छैन तर कलेज प्रशासनले अलि दमन गर्न खोज्दा डर लाग्ने परिस्थिति बनेको हो।"

"नेपाल नफर्किएका साथीहरू क्रमश: कलेज आइरहेका छन् तर आज कक्षा हुने भनिए पनि धेरै विद्यार्थी कक्षाकोठामा गएका छैनन्।"

केआईआईटी

तस्बिर स्रोत, KIIT

तस्बिरको क्याप्शन, भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजीमा ठूलो सङ्ख्यामा नेपाली विद्यार्थीहरू छन्

दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले पनि "स्थिति सामान्य बन्दै गएको" जानकारी आफूहरूले पाएको बताए।

उनले भने, "अहिले स्थिति धेरै सामान्य भएको छ। विद्यार्थीको सुरक्षा प्रत्याभूति गर्ने विश्वविद्यालय प्रशासनले जनाएको छ।"

यसैबीच मङ्गवार दिउँसो विश्वविद्यालयका उपकुलपति शरणजीत सिंहले एउटा विज्ञप्तिमार्फत् माफी मागेका छन्। उनले आइतवारको घटनापछि प्रदर्शन गर्ने विद्यार्थीप्रति "आफूहरूमध्ये केहीले गरेको व्यवहारप्रति" खेद प्रकट गरेका हुन्।

सामाजिक सञ्जाल 'एक्स'मा क्षमायाचनाको पत्रमा राख्दा उनले भारतको विदेश मन्त्रालय, नेपालका प्रधानन्त्री, भारतका विदेशमन्त्री एस जयशङ्कर, भारतको प्रधानमन्त्रीको कार्यालय, नेपालको परराष्ट्र मन्त्रालय, नेपालस्थित भारतीय दूतावास र भारतस्थित नेपाली दूतावासलाई पनि ट्याग गरेका छन्।

केआईआईटीका उपकुलपतिले सार्वजनिक गरेको क्षमायाचनाको पत्र

तस्बिर स्रोत, KIIT

तस्बिरको क्याप्शन, केआईआईटीका उपकुलपतिले सार्वजनिक गरेको क्षमायाचनाको पत्र

"हाम्रा दुई अधिकारीहरूले गरेका टिप्पणीहरू अत्यन्त गैरजिम्मेवारपूर्ण छन्," उनले भने। ती कर्मचारीले गरेका आवेशमा आएर गरेका टिप्पणीहरू "व्यक्तिगत" भएका र तिनलाई संस्थाले समर्थन नगर्ने उपकुलपतिले स्पष्ट पारेका छन्। उनले नेपाली विद्यार्थीहरूलाई कलेज फर्किएर आफ्नो कक्षा लिनका लागि पुन: आग्रह गरेका छन्।

उक्त संस्थाका दुई महिला कर्मचारीले नेपाली विद्यार्थीहरूप्रति गरेको अपमानजनक टिप्पणी सुनिने भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसलाई कैयौँ भारतीयहरूले नै "अस्वीकार्य" भनी सामाजिक सञ्जालमा प्रतिक्रिया व्यक्त गरेका छन्।

ती दुवैले क्षमायाचना क्षमायाचना गरेको भिडिओ मङ्गलवार सार्वजनिक भएको छ।

नेपाली दूतावासका प्रतिनिधि ओडिसा प्रस्थान

थापाले दिएको जानकारीअनुसार नेपाली दूतावासले आफ्ना दुई कर्मचारीलाई भुवनेश्वर पठाएको छ।

"हामीले हिजै पठाउने भनेका थियौँ तर ढिलो भएकाले जहाज गएन। आज हामीले उहाँहरूलाई त्यहाँ पठाइसकेका छौँ," मङ्गलवार बिहान उनले भने, "त्यहाँ पुगेर उहाँहरूले नेपाली विद्यार्थी, कलेज प्रशासन र स्थानीय अधिकारीहरूसँग पनि कुराकानी गर्नुहुने छ।"

उनका अनुसार नेपाली दूतावासले ओडिसाको राज्य सरकारका अधिकारीहरूसँग पनि समन्वय गरेर स्थिति सामान्य बनाउने कोसिस गरिरहेको छ।

त्यस्तै केआईआईटी प्रशासनका मानिसहरूसँग पनि दूतावास निरन्तर सम्पर्कमा रहेर नेपाली विद्यार्थीलाई सहजीकरण गरिरहेको उनको भनाइ छ।

मृतकको पोस्टमोर्टम हुँदै

भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्ग इन्स्टिट्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी

तस्बिर स्रोत, KIIT

थापाका अनुसार मङ्गलवार मृतक छात्राको शवपरीक्षण भइरहेको भारतीय अधिकारीहरूले जानकारी गराएका छन्। मृतकका बुवा पनि भुवनेश्वर पुगेको बुझिएको छ।

"पोस्टमोर्टम हुँदै छ भन्ने खबर आएको छ। त्यसपछि उक्त घटनाबारे थप जानकारी प्राप्त होला," उनले भने भारतीय समाचारसंस्था 'एएनआई'सँग भने

मृतकका अन्य परिवारजन पनि पनि भुवनेश्वर पुगेकाले उनीहरूसँग समेत दूतावासका अधिकारीहरूले छलफल गर्ने थापाले जानकारी दिए।

त्यपपछि उनको शव नेपाल पठाउने वा उतै दाहसंस्कार गर्ने भन्नेबारे परिवारको इच्छामा निर्णय हुने बताइएको छ।

एएनआईले सामाजिक सञ्जालमा मङ्गलवार दिउँसो पोस्ट गरेको एउटा भिडिओमा ती छात्राका पिताले आफूले "अनुसन्धानपछि न्याय पाउने" आशा व्यक्त गरेका छन्।

उनले प्रहरीले आफ्नी छोरीलाई मृत्युअघि एक भारतीय युवाले "यातना दिएको पाइएको" आफूलाई जानकारी दिएको बताए। "हाम्रो एउटै माग छ - न्याय पाउनुपर्‍यो," उनले भने।

केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु र त्यसपछि उत्पन्न घटनाको विरोधमा नेपालमा विभिन्न दलनिकट विद्यार्थी सङ्गठनहरूले प्रदर्शन गरेका विवरणहरू आएका छन्।

राजधानी काठमाण्डूमा प्रदर्शन गर्नेमा सत्तारूढ दलनिकट विद्यार्थी सङ्गठनहरू पनि रहेका छन्।

सन्दिग्ध भारतीय युवक र हातपात गर्ने दुई सुरक्षागार्ड पक्राउ, विश्वविद्यालयका कर्मचारी निलम्बित

भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्ग इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी

तस्बिर स्रोत, X/KIIT

भुवनेश्वर-कटकका प्रहरी अधिकारी सुरेश देव दत्ता सिंहले पनि एएनआईसँगको कुराकानीमा एक भारतीय छात्रले ती नेपाली छात्रालाई दु:ख दिने गरेको खुलासा भएको बताएका छन्।

उनका अनुसार प्रारम्भिक जाँचमा त्यस्तो देखिएपछि ती सन्दिग्ध युवकलाई हिरासतमा लिएर कारबाही अघि बढाइएको छ।

उनले शान्ति सुरक्षाका लागि उक्त शैक्षिक संस्थामा प्रहरी तैनाथ गरिएको पनि जनाएका छन्।

मङ्गलवार नै अर्को विज्ञप्ति जारी गर्दै केआईआईटीले उक्त घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दै दुई सुरक्षागार्डलाई पदमुक्त गरिएको जनाएको छ।उनीहरूमाथि नेपाली विद्यार्थीहरूलाई हातपात गरेको आरोप लागेको थियो।

भुवनेश्वर प्रहरीले विज्ञप्तिमार्फत् मङ्गलवार ती दुई सुरक्षाकर्मीको नाम सार्वजनिक गर्दै उनीहरूविरुद्ध आपराधिक मामिला दर्ता गरी उनीहरूलाई पक्राउ गरिएको जनाएको छ।

त्यस्तै नेपाली विद्यार्थीलाई आवश्यक सहयोग नगरेको आरोप लागेका अधिकारीहरूलाई पनि निलम्बन गरिएको उसले जनाएको छ।

त्यसरी निलम्बन गरिएका अधिकारीहरूमा छात्रावाससम्बन्धी दुई वरिष्ठ अधिकारीहरू छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने विश्वविद्यालयको कार्यालयका एक वरिष्ठ अधिकारी पनि छन्।

त्यस्तै नेपाली विद्यार्थीलाई फर्काउन तथा सहयोग गर्नका लागि चौबीसघण्टे 'अपरेशन रूम' पनि सञ्चालनमा ल्याइएको उक्त विज्ञप्तिमा जनाइएको छ।

केआईआईटीले विद्यार्थीसँग भएको विवादका क्रममा आफ्ना केही कर्मचारीको अभिव्यक्ति क्षणिक आवेगमा व्यक्त भएको भन्दै त्यसप्रति माफी पनि मागेको छ।

केआईआईटीले उक्त बेला "आफूले भनेका कुराप्रति क्षमायाचना गर्छु" भन्दै मञ्जुषा पाण्डेले पोस्ट गरेको एउटा भिडिओ पनि रिपोस्ट गरेको छ। "मेरा विद्यार्थीहरू, नेपालमा दाजुभाइ दिदीबहिनीको भावनामा चोट पुर्‍याएकोमा क्षमायाचना," पाण्डेले लेखेकी छन्।

केआईआईटीकी मञ्जुषा पाण्डे

तस्बिर स्रोत, Manjusha Pandey/X

तस्बिरको क्याप्शन, केआईआईटीकी मञ्जुषा पाण्डेले आफूले भनेको कुराले नेपाली विद्यार्थीहरूको भावनामा चोट पुगेको भए त्यसका लागि आफूले क्षमायाचना गरेको बताएकी छन्

उक्त विश्वविद्यालयकी अर्की अधिकारी जयन्ती नाथले पनि माफी मागेकी छन्। उनले माफी मागेको भिडिओ पनि केआईआईटीले सामाजिक सञ्जाल एक्समा राखेको छ।

त्यसमा उनले आफ्नो अभिव्यक्तिले विश्वविद्यालय प्रशासनको प्रतिनिधित्व नगर्ने स्पष्ट पारेकी छन्। उनले प्रदर्शनका क्रममा "आफ्नो देश र संस्थाप्रति" गरिएको गलत टिप्पणीका कारण आफूले पनि त्यस्तो अभिव्यक्ति दिन पुगेको बताएकी छन्।

उक्त अभिव्यक्ति नेपाल र नेपालीलाई चोट पुर्‍याउन नदिएको उनको भनाइ छ।

जयन्ती नाथ

तस्बिर स्रोत, X/Jayanti Nath

तस्बिरको क्याप्शन, जयन्ती नाथले आफ्नाो अभिव्यक्तिले नेपाल र नेपालीलाई चोट पुगेको भए त्यसका लागि आफूले क्षमायाचना गरेको बताएकी छन्

उक्त घटनाबारे सोमवार नेपालस्थित भारतीय दूतावासले पनि एउटा विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको थियो।

उसले घटनाको छानबिन भएको भन्दै भारत सरकारले नेपाली विद्यार्थीको सुरक्षाका सुनिश्चित गर्न आवश्यक पर्ने कदम चालिरहेको प्रतिबद्धता व्यक्त गरेको थियो।

त्यसअघि दिल्लीस्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीको सुरक्षाको कलेज प्रशासनले प्रत्याभूति गरेको जनाएको थियो।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उक्त घटनाप्रति दु:ख व्यक्त गर्दै कूटनीतिक माध्यमबाट पहल गरिएको जानकारी दिएका थिए।

सोमवार नै भारतको सत्ताधारी दल भारतीय जनता पार्टीनिकट अखिल भारतीय विद्यार्थी परिषद्‌ले नेपाली विद्यार्थीको मृत्युको घटनाको निष्पक्ष छानबिन गर्नुका साथै नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेको थियो।

'निरन्तर सम्पर्कमा'

नेपालकी परारष्ट्रमन्त्री आरजु राणा देउवाले सामाजिक सञ्जालमार्फत् उक्त घटनापछि उत्पन्न परिस्थितिबारे निरन्तर त्यसबारे आफूहरूले जानकारी दिइरहेको जनाएकी छन्।

उनले फेसबुकमा लेखेकी छन्, "नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूतावास नयाँदिल्लीबाट नेपाल प्रहरीका दुई वरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ।"

"मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु।"

उनले उक्त मामिलामा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वय गरिरहेको जनाएकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।