यसरी सम्भव भयो मणिपुरबाट नेपाली महिलाको उद्धार

- Author, विष्णु पोखरेल
- Role, बीबीसी नेपाली सेवा
गत बुधवार माइती नेपालमा भारतको राजधानी दिल्लीबाट कसैले फोन गरेर सूचना दिए- 'त्यहाँको राजीवनगर क्षेत्रमा केही नेपाली महिलालाई शङ्कास्पद रूपमा राखिएको छ।'
उक्त सूचना पाएपछि माइती नेपालका अध्यक्ष विश्वराम खड्काले दिल्ली महिला आयोगलाई खबर गरे।
सूचना दिने व्यक्तिले त्यस क्षेत्रमा २५ देखि ३० जनासम्म नेपाली महिला रहेको बताएका थिए।
उक्त सूचनका आधारमा दिल्ली महिला आयोग र प्रहरीको टोलीले बुधवार नै राजीवनगर क्षेत्रबाट ६ जना नेपाली महिलालाई उद्धार गर्यो।
इराक र कुवेत जान हिडेको बताउँने ती महिलासँग न त राहदानी थियो न त हवाई टिकट नै।
इमोबाट आदेश
नेपाली नागरिकता बोकेका हुनाले उनीहरू नेपाली हुन् भन्ने खुल्यो।
सिन्धुपाल्चोक, नुवाकोट, मोरङ, दोलखा र सुनसरी स्थायी ठेगाना भएका उनीहरूले इराक र कुवेत उड्ने दिन दलालले राहदानी र टिकट दिने बताएको जानकारी दिए।
तर कसैले पनि उनीहरूलाई इराक र कुवेत पठाउने दलालाको नाम भने लिन मानेनन्।
दिल्ली महिला आयोग गत शुक्रवार जारी एउटा सूचनामा भनिएको छ, "उनीहरूलाई कसैले स्मार्टफोन एप इमोमार्फत् फोन गरेर कहाँ र कसरी जाने भनेर बताउने गरेको थियो।"

आयोगको उक्त सूचना अनुसार ६ जनामध्ये सबैभन्दा कान्छी १९ वर्षीया युवतीले भने भारतको उत्तरपूर्वी राज्य मणिपुरको राजधानी इम्फाल जानका लागि हवाई टिकट लिइराखेको पाइयो।
ती युवतीसँग इम्फालको हवाई टिकट भेटिएपछि आयोगका परामर्शदाताहरूले उद्धार गरिएका नेपाली महिलाहरूसँग मणिपुर 'कनेक्सन'बारे सोधपुछ गरेका थिए।
अन्तत: केही महिलाले दलालले आफूहरूलाई इम्फालबाट म्यान्मार हुँदै इराक र कुवेत पठाउन लागेको जानकारी दिए।
उक्त जानकारी माइती नेपाललाई पनि गराइयो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 1
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 2
सक्रियता
अध्यक्ष खड्काले उक्त सूचनालाई तत्कालै मणिपुरसँग सीमा जोडिएको राज्य मेघालयस्थित एउटा संस्था इम्पल्स एनजीओ नेटवर्कलाई जानकारी गराए।
उक्त नेटवर्कले शनिवार जारी गरेको विज्ञप्तिमा खड्काले ७० नेपाली महिलाहरू मणिपुरको बाटो हुँदै म्यान्मारतर्फ पठाइन लागेको जानकारी दिएको उल्लेख छ।
सोही सूचनाका आधारमा नेटवर्कले मणिपुरस्थित आफ्नो साझेदार संस्था, मणिपुर सरकारको मानव ओसारपसार नियन्त्रण युनिट र सीमा सुरक्षा बललाई खबर गर्यो।
त्यसपछि मणिपुर-म्यान्मार सीमा नाका मोरे, इम्फाल बजार क्षेत्र र इम्फाल एयरपोर्ट क्षेत्रबाट शुक्रवार र शनिवार गरी कुल १ सय ४० जना महिलालाई उद्धार गरिएको मणिपुरस्थित अधिकारीहरूले बताएका छन्।
उनीहरूका अनुसार उद्धार गरिएकामध्ये अधिकांश नेपाली महिला रहेको प्रमाणित भइसकेको छ।
मणिपुर-म्यान्मार सीमा नाका मोरेबाट केही दलाललाई पनि पक्राउ गरिएको छ।
उद्धार गरिएका महिलाहरूलाई मणिपुरस्थित उज्ज्वल होम नामको आश्रयगृहमा राखिएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त, 3
दलाल पनि नेपाली
'मणिपुर काउन्सिल फर चाइल्ड राइट्स्'का एकजना सदस्य मोन्टु अहान्थेमले बीबीसी नेपालीसँगको टेलिफोन कुराकानीमा पक्राउ परेका दलालहरू पनि नेपाली नागरिक भएको पुष्टि भइसकेको छ।
उनीहरूविरूद्ध मणिपुर प्रहरीमा मानव बेचबिखनको आरोपमा उजुरी दर्ता गराइएको छ।
उनका अनुसार कतिपय नेपाली महिला भने मोरे हुँदै म्यान्मार गइसकेको पाइएको छ।
उनले भने, "हामीले मोरेस्थित अध्यागम कार्यालयसँग गएको एक महिनाको विवरण मागेका थियौँ। त्यसमा ३ सय १० जना नेपाली महिला मोरे नाकाबाट म्यान्मार गइसकेको विवरण प्राप्त भएको छ।"
यसले मणिपुरहुँदै म्यान्मारको बाटोबाट अवैध रूपमा नेपाली महिलाहरूलाई विभिन्न मुलुकमा पठाइने गरेको खुलासा भएको उनले बताए।
दलालहरूले पहिले दिल्लीबाट हवाई मार्ग हुँदै विभिन्न मुलुकमा नेपाली महिलालाई पठाउने गरेका थिए।
तर, गत वर्षदेखि दिल्ली महिला आयोगले नेपाली महिलामाथि निगरानी बढाएपछि दलालले नयाँ बाटो खोज्न थालेको जानकारहरू बताउँछन्।
त्यस्तै दिल्ली विमानस्थल हुँदै तेस्रो मुलुक जाने नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासको 'नो अब्जेक्सन लेटर' अनिवार्य गरिएपछि पनि पनि त्यो क्रममा केही कमी आएको उनीहरूको भनाइ छ।
अधिकांश अरब मुलुकहरूमा अहिले पनि नेपाली महिलालाई घरेलु कामदारका रूपमा जान प्रतिबन्ध लगाइएको छ।

सोही प्रतिबन्धका कारण ती मुलुकहरू जान चाहने महिलाहरूलाई लोभ लालच देखाएर दलालले भारतको बाटो हुँदै ती मुलुक पठाउने गरेको बताइन्छ।
दलाले किन रोजे मणिपुर?
मणिपुरबाट ठूलो सङ्ख्यामा नेपाली महिलाको उद्धार भएपछि दिल्लीलाई अवैध रूपमा नेपाली महिला विदेश पठाउने केन्द्रका रूपमा प्रयोग गरिरहेका दलालले पूर्वोत्तर भारतका राज्यहरूलाई रोज्न थालेको देखिएको छ।
यसरी पूर्वोत्तर भारतीय राज्यलाई उनीहरूले रोज्नुको कारण त्यस क्षेत्रमा नेपालीभाषीहरूको उल्लेख्य बसोबास हुनु एउटा कारण हुनसक्ने जानकारहरू बताउँछन्।
यसैगरी त्यस क्षेत्रमा बासिन्दाहरू र नेपाली महिलाको हुलिया मिल्ने भएकाले पनि दलालले ती क्षेत्रलाई आफ्नो केन्द्र बनाएको हुनसक्ने कतिपय उद्धारकर्ताको भनाइ छ।
इम्पल्स एनजीओ नेटकवर्ककी अध्यक्ष हसिना खर्भीले भनिन्, "भारतको उत्तरपूर्वी क्षेत्रमा महिलाहरू र नेपाली महिलाहरू उस्तै-उस्तै देखिने भएकाले पनि दलालहरूले यो बाटो प्रयोग गर्न थालेका छन्। धेरै महिलाहरू कतिपय अवस्थामा नक्कली राहदानी प्रयोग गरेर पनि जाने गरेका छन्। जसले उनीहरूलाई थप खतरामा पार्न सक्छ।"
उनले नेपाली महिलाका लागि यो रुट एकदमै नयाँ भएपनि भारतको पूर्वोत्तर क्षेत्रका महिलाका लागि नयाँ नभएको बताइन्।
माइती नेपालका अध्यक्ष खड्का पनि पूर्वोत्तर भारत दिल्लीका तुलनामा दलालका लागि सहज हुने भएकाले उनीहरूले त्यो क्षेत्र रोजेको हुनसक्ने ठान्छन्।
उनले भने, "मणिपुरबाट नेपाली महिलाको तस्करी हुने गरेको पत्ता लागेको र यत्रो ठूलो सङ्ख्यामा नेपाली महिलाको उद्धार भएको घटना सम्भवत: यो नै पहिलो हो। त्यसैले हामी त्यसतर्फ केन्द्रित हुनुपर्ने देखिएको छ।"
नेपाल प्रहरीका प्रवक्ता उत्तरराज सुवेदी मानव तस्करहरूले जहिले पनि आफूहरूलाई सजिलो हुने बाटो रोज्ने गरेकाले अहिले नेपाली महिलालाई पठाउनेहरू पूर्वोत्तर भारतमा सरेको हुनसक्ने बताए।
जानकारहरूका अनुसार पूर्वोत्तर भारतबाट म्यान्मार हुँदै अन्य मुलुक पठाउने दलालहरूले सहज हुँदा हवाई र नहुँदा समुद्रको बाटो समेत प्रयोग गर्ने गरेका छन्।








