डेङ्गी सङ्क्रमण यो वर्ष अघिल्लो सालभन्दा घातक बन्ला?

तस्बिर स्रोत, EPA
अधिकारीहरूले अहिलेकै अवधिसँग गएको वर्ष तुलना गर्दा डेढ गुणा बढी डेङ्गीका घटनाहरू देखिएको तर त्यसबेलाको र अहिलेको प्रकोपको चरित्र भने फरक रहेको बताएका छन्।
पोहोर साल डेङ्गीको प्रकोप मुख्यगरी काठमाण्डू उपत्यकासहितका जिल्लाहरूमा केन्द्रित रहेको भए पनि यसपालि सबैभन्दा धेरै प्रभाव पूर्वी नेपालको सुनसरी जिल्लामा देखिएको छ।
अधिकारीहरूले सन् २०२२ मा ५४, ७८४ डेङ्गी सङ्क्रमण देखा परेका उल्लेख गर्दै त्यो वर्ष उक्त रोगका कारण इतिहासकै सर्वाधिक ८८ जनाको ज्यान गएको बताएका छन्।
विशेष प्रकारको लामखुट्टेको सङ्क्रमणबाट सर्ने डेङ्गीले यो वर्ष थप भयावह रूप लिनसक्ने चिन्ताहरू प्रकट भइरहेका छन्। तर विज्ञहरू वर्षा, सरसफाइ, सामुदायिक हस्तक्षेप जस्ता धेरै कारणको विश्लेषणविना सङ्क्रमणले लिनसक्ने बाटो अनुमान गर्न नसकिने बताउँछन्।
अहिलेसम्मको आँकडाले के देखाउँछ?
अधिकारीहरूका अनुसार आगामी भदौ र असोज महिनामा डेङ्गीको सङ्क्रमण सर्वाधिक उच्च विन्दुमा पुग्नसक्छ।
साउन १८ गतेसम्मको आँकडा अनुसार यस पटक डेङ्गी ७१ जिल्लामा देखा परेको छ भने करिब ७,२५३ जनामा सङ्क्रमण पुष्टि भएको सरकारी अभिलेखमा राखिएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख रुद्र मरासिनीले यो साल सबै जिल्लामा डेङ्गी देखा पर्ने जोखिम रहेकाले सावधानी अपनाइनुपर्नेमा जोड दिए।
उनी भन्छन्, “पोहोर साल कुल ६६ जिल्लामा देखिएको थियो तर यो साल सबै जिल्लामा पुग्छ भन्ने मलाई लाग्छ। अगस्ट र सेप्टेम्बरमा सङ्क्रमण अझै उच्च विन्दुमा जान्छ र त्यसपछि बिस्तारै कम हुन्छ। त्यही भएर सङ्क्रमण बढ्न नदिन सबैले सहयोग गर्नुपर्ने हुन्छ।”
स्वास्थ्य निकाय एक्लैले यो सङ्क्रमण नियन्त्रण गर्न नसक्ने उल्लेख गर्दै उनले थपे, “सबैले आफ्नो घर र कार्यालयबाट लामखुट्टेको वृद्धि र विकास हुन नदिन काम गर्नुपर्छ। घर वा बाहिर कतै पनि पानी जम्न नदिने काम तुरुन्तै गर्नुपर्छ”

तस्बिर स्रोत, BPKIHS
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख गोकर्ण दाहालले यो वर्ष अघिल्लो सालको यही समयको तुलनामा डेङ्गी सङ्क्रमणका घटना डेढ गुणासम्म बढेको पाइएको बताए।
उनी भन्छन्, “डेढ गुणासम्म बढी केस देखिएको अवस्था छ। ७० जिल्लाबाट बिरामीहरूको प्रतिवेदन आएको भए पनि झन्डै पाँचवटा जिल्लामा धेरै सङ्क्रमण देखिएको छ। अझ कुल सङ्क्रमणको ७० प्रतिशतभन्दा बढी सुनसरी जिल्ला एक्लैबाट भएको देखिन्छ।”
महाशाखाको अगस्ट ३ सम्मको तथ्याङ्क अनुसार सुनसरीमा ४,६७९, धादिङमा ८२९ कास्कीमा २१४, दार्चुलामा १९१ र काठमाण्डूमा ११९ वटा ‘केस’ दर्ता भएका छन्।

तस्बिर स्रोत, Reuters
सन् २०२२ मा डेङ्गीको सबैभन्दा धेरै असर बाग्मती प्रदेशमा थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पोहोर साल बाग्मतीमा देखिएका झन्डै साढे ४२ हजार सङ्क्रमणमध्ये ७० प्रतिशतभन्दा बढी काठमाण्डू, ललितपुर र भक्तपुरमा अभिलेख गरिएको थियो।
इडीसीडी प्रमुख मरासिनी भन्छन्, “यो मनसुन सुरु भएपछि बढ्ने रोग हो। अघिल्लो सालभन्दा फरक के देखिएको छ भने गत साल भएका ठाउँमा त्यति देखिएको छैन। अहिले नयाँ ठाउँमा देखिएको छ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग नियन्त्रण शाखाका प्रमुख दाहाल फरक फरक प्रवृत्ति देखा परिरहेका कारण डेङ्गीको प्रक्षेपण गर्न सहज नभएको बताउँछन्।
उनले भने, “पानी पर्ने, तापक्रमको स्थिति कस्तो हुने, मान्छेको सचेतना कस्तो छ भन्ने कुराले डेङ्गीको प्रक्षेपणलाई प्रभावित पार्छ। गएको सालभन्दा केसहरू बढेपनि गतसालका 'क्लस्टर'हरूबाट केसहरू खासै नआएकाले नयाँ जिल्लाहरू, नयाँ शहर उन्मुख जिल्लाहरूबाट घटनाहरू धेरै आउँछ कि भन्ने अनुमान गर्न सकिन्छ।”
दाहालले मानिसहरूले आफ्नो घर वरपर लामखुट्टेको विस्तार र वृद्धिलाई व्यवस्थापन गर्न प्राप्त गर्ने सफलताले यो वर्ष उक्त प्रकोपको प्रभाव नेपालमा कुन स्तरमा देखिने भन्ने प्रक्षेपणमा प्रभाव पार्ने उल्लेख गरे।
लामखुट्टेको बासस्थान नष्ट गर्ने, लार्भाहरू मार्ने र उसले फूल पार्ने पानी भएका स्थानहरू हटाउने जस्ता कदम यो रोग नियन्त्रणका लागि महत्त्वपूर्ण हुने विज्ञहरू बताउँछन्।

डेङ्गी नियन्त्रणका लागि कस्तो प्रयास अघि बढाइएको छ?
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशैभरि डेङ्गी नियन्त्रण कार्ययोजना लागू गरिएको र त्यसै अनुसार स्थानीय तहहरूलाई परिचालित गरिएको जनाएको छ।
अधिकारीहरूले सबैभन्दा धेरै सङ्क्रमण देखिएको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूको चाप उच्च रहेको उल्लेख गर्दै त्यसको इमर्जेन्सी उपचार कक्षलाई डेङ्गीको उपचारका लागि प्रयोगमा ल्याइएको बताएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख मरासिनी भन्छन्, “इमर्जेन्सी र मेडिसिन वार्डमा सबै डेङ्गीकै बिरामीहरू छन्। उहाँहरूले पहिला जुन कोभिड अस्पताल बनाउनुभएको थियो अहिले डेङ्गी रोग अस्पतालका रूपमा सञ्चालन गरिरहनुभएको छ।"
मरासिनीका अनुसार त्यहाँ स्वास्थ्यकर्मीहरूलाई पटक पटक तालिम दिइएको छ र केन्द्रबाट गएका स्वास्थ्य अधिकारीहरूले परिस्थिति निगरानी गरिरहेका छन्।

तस्बिर स्रोत, Getty Images
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी प्रवक्ता डाक्टर अन्जु प्रधानका अनुसार प्रकोप बढेसँगै उक्त अस्पतालमा असार २९ गतेबाट ज्वरोसम्बन्धी क्लिनिक र श्रावण ७ गतेबाट डेङ्गीसम्बन्धी अलग्गै वार्ड सञ्चालनमा ल्याइएको छ।
“ज्वरो क्लिनिक सञ्चलनमा आएयता दैनिक १३५ देखि १५० जनाको स्वास्थ्य परीक्षण गरिएको छ र त्यसमा करिब ८२ प्रतिशतमा डेङ्गीको सङ्क्रमण पाइएको छ।”
हालसम्म डेङ्गीको सबैभन्दा बढी असर धरानको १८ नम्बर वडामा पाइएको उल्लेख गर्दै विज्ञहरूले धरानमा किन यो स्तरमा सङ्क्रमण फैलियो भन्नेबारे अध्ययन गरिरहेको पनि उनले उल्लेख गरिन्।
वैशाख यता गरिएका प्रयोगशाला परीक्षणमा भने झन्डै ५६ प्रतिशतमा डेङ्गी पाइएको उनले बताइन्।
उपचारको व्यवस्थापनका लागि कुनै ठाउँ बाँकी नराखेको उल्लेख गर्दै उनी थप्छिन्, “डेङ्गीका लागि छुट्याइएको वार्ड अरूभन्दा अलिकति टाढै छ। त्यसका लागि अलग्गै चिकित्सकहरू, नर्स र अन्य स्वास्थ्यकर्मी छुट्याइएको छ।”
उनले बच्चाको वार्डमा पनि आधा बिरामी डेङ्गीकै रहेको उल्लेख गर्दै अझै पनि यो प्रकोप बढ्ने क्रममै रहेको बताउँछिन्
डेङ्गी के हो, यसका लक्षण के हुन्?

तस्बिर स्रोत, Getty Images
डेङ्गी सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरसजन्य रोग हो। सामान्यत: जोखिमपूर्ण नभएपनि कतिपय जटिल लक्षणहरू देखिए भने यसले मानिसको जीवनमा खतरा उत्पन्न गराउन सक्छ।
एइडिज प्रजातिको लामखुट्टेबाट सर्ने यो रोगको जोखिममा विश्वको आधा जनसङ्ख्या अर्थात् ४ अर्ब मानिसहरू रहेको अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलले जनाएको छ।
प्रत्येक वर्ष ४० करोड जना व्यक्ति सङ्क्रमित हुने ठानिएको डेङ्गीका कारण हरेक वर्ष ४० हजार जनाले ज्यान गुमाउने गरेको बताइन्छ।
चार वटा सम्बन्धित भाइरसहरूका कारण लाग्ने डेङ्गी एउटै मानिसलाई आफ्नो जीवनकालमा एकभन्दा धेरै पटक पनि लाग्नसक्छ।
अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार डेङ्गीको लक्षणमा ज्वरो आउने, बान्ता हुने, छालामा डाबर आउने जस्ता पर्छन्।
चरम खालको डेङ्गीमा आन्तरिक रक्तस्राव हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत आउने, दिशामा रगत देखिने जस्ता समस्या हुने जनाइएको छ।
त्यस्तो भए तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्ने भएकाले तत्कालै अस्पताल जानुपर्छ।
डेङ्गीले गम्भीर असर पारेका कतिपय बिरामीमा प्लेटलेटसको सङ्ख्यामा उल्लेख्य कमी आउने गरेका चिकित्सकहरूले बताउने गरेका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका दाहाल अधिकांश डेङ्गीका बिरामीमा गम्भीर लक्षण नदेखिने भएपनि केही बिरामीहरूमा रगत जम्ने प्रक्रियामा केही समस्या आउने बताउँछन्।
उनले थपे, “प्लेटलेटस कम भयो भन्दैमा आत्तिहाल्नुपर्ने पनि छैन। हाम्रोमा प्लेटलेटसको उपचार सम्बन्धी राष्ट्रिय प्रोटोकल नै छ। कस्तो अवस्थामा रगत चढाउनुपर्ने, कस्तो अवस्थामा सावधानी र निगरानी अपनाउनुपर्ने भनेर पनि स्पष्ट रूपमा लेखेको छ।”
डाक्टर दाहाल डेङ्गी रोग निको हुन थाल्यो भने स्वत: प्लेटलेटस बढ्ने उल्लेख गर्दै चिकित्सकहरूको परामर्शका आधारमा अघि बढ्नुपर्ने सुझाव दिन्छन्।
नेपालमा डेङ्गी सबैभन्दा पहिले कहिले देखियो?

तस्बिर स्रोत, Getty Images
सीडीसीका अनुसार करिब १ हप्तामा अधिकांश मानिसहरूलाई डेङ्गी निको हुन्छ।
उपचारका लागि विशेष औषधि नरहे पनि पर्याप्त आराम गर्नुपर्ने, पानी पिउनु पर्ने र ज्वरोको अवस्था हेरेर सिटामोल खानुपर्ने सुझाव चिकित्सकहरूले दिने गरेका छन्।
नेपालमा सन् २००४ मा आयातित रोगका रूपमा डेङ्गी नेपालमा भित्रिएको थियो। तर अहिले यो रैथाने रोगका रूपमा विकास भएको जनस्वास्थ्यविद्हरू बताउँछन्।
सुरुमा छिटपुट देखिएको सङ्क्रमण सन् २०११ सम्म आइपुग्दा १५ जिल्लामा फैलिएको थियो र सर्वाधिक धेरै सङ्क्रमण चितवनमा पाइएको थियो।
सन् २०२२ मा चितवनमा ३२ सयभन्दा बढीमा देखिएको डेङ्गी यस पटक जुलाई ३० सम्म ४६ जनामा देखिएको छ।
पोहोर सालको डेङ्गीको तथ्याङ्क सन् २०१९ को तुलनामा तीन गुणा बढी रहेको स्वास्थ्य अधिकारीहरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार भारतबाट फर्किरहेका एक जना व्यक्तिबाट सन् २००४ मा पहिलो पटक डेङ्गी देखिएको प्रतिवेदन नेपालले दिएको थियो।
उक्त निकायले लामखुट्टेहरू जलवायु परिवर्तन र व्यापक सहरीकरणका कारण माथिल्लो भूभागतर्फ पनि बसाइँसराइ गरिरहेको उल्लेख गर्दै राम्रोसँग व्यवस्थापन गर्न नसके नेपालमा डेङ्गीले प्रकोपको रूप लिने जोखिम उच्च रहेको जनाएको छ।
भारतसँगको खुला सिमाना भएको र ठूलो सङ्ख्यामा अन्तर्राष्ट्रिय पर्यटकको चहलपहल हुने नेपालमा देखिने डेङ्गीको असर सीमा भन्दा बाहिरसम्म पुग्नसक्ने विज्ञहरू बताउँछन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








