तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
एशिया कपमा नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
एशिया कपमा नेपालले भारतलाई २३१ रनको को लक्ष्य दिएको छ।
पहिलो ब्याटिङ गरेको नेपालले ४९औँ ओभरमा अल आउट हुँदै २३० रन जोड्यो। नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ र सोमपाल कामीले दुई छक्का सहित ४८ रन जोडे।
कुशल भुर्तेलले दुई छक्का सहित ३८ र दीपेन्द्रसिंह ऐरीले २९ रन जोडे। छैटौँ क्रममा आएका ब्याटर गुलशन झा ले २३ रन जोडे भने बाँकी खेलाडीहरू १० भन्दा कम रनमै आउट हुनपुगे।
श्रीलङ्कामा भारत र पाकिस्तानबीच एशिया कपअन्तर्गत शनिवार वर्षाका कारण खेल स्थगित भएकै रङ्गशालामा उस्तै मौसम पूर्वानुमानबीच नेपाली क्रिकेटप्रेमीहरूका लागि बहुप्रतीक्षित खेल सुरु भएको थियो। जहाँ भारतले टस जितेर धेरैले सोचे अनुसार नै फील्डिङ रोज्यो।
नेपाली राष्ट्रिय टोलीले पहिलो पटक भारतको पहिलो रोजाइको टोलीसँग खेल्ने अवसर पाएको छ।
हिन्द महासागरको टापु देश श्रीलङ्काको पर्यटकीय पहाडी क्षेत्र क्यान्डीको पल्लिकेले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला क्षेत्रको मौसम पुर्वानूमान अनुसार सोमवार पनि वर्षा हुने छ।
आइतवार समेत क्यान्डीमा दिनभरि पानी परेको थियो। सोमवार पनि ८० प्रतिशत वर्षा हुने पूर्वानुमान छ।
तर सोमवार बिहान मौसम सफा रहेको र अपराह्ण केही बेर वर्षा हुन सक्ने ठानिएका कारण दर्शकहरू खेल भने नरोकिने अपेक्षामा छन्।
केही गरी मौसमका कारण पूरा खेल हुन नसकेमा त्यो नेपालको लागि यो दुःखद हुने छ। किनकि पहिलोपटक भारतसँग खेल्न गइरहेको नेपाली टोलीलाई इतिहास बनाउने मैदानमा पूरा खेल खेल्न पाउनु महत्त्वपूर्ण छ।
सत्ताइस वर्षको पर्खाइपछि नेपालले बल्ल छिमेकी भारतसँग खेल्न अवसर पाएको छ।
जारी एशिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो। नेपालको पाकिस्तानी राष्ट्रिय टोलीसँग पनि पहिलो पटक भेट भएको हो।
यदि सोमवार पनि वर्षाले खेल हुन नसके भारत सुपर-४ को लागि छानिने छ भने नेपाल प्रतियोगिताबाट बाहिरिने छ।
भारतीय टोली पाकिस्तान जान अस्वीकार गरेपछि अधिकांश खेल श्रीलङ्कामा सार्न आयोजक पाकिस्तान बाध्य भएको थियो।
क्यान्डीमा अहिले पानी पर्ने मौसम भएको थाहा हुँदाहुँदै पनि त्यहाँ खेल गराएर एशिया कपलाई खल्लो बनाएको भन्दै सञ्चारमाध्यममा यसको आलोचना पनि भइरहेको छ।
जसप्रीत बुमराह भारत फर्किए
भारतका चर्चित खेलाडीहरूसँग नेपाली खेलाडीको कसरी खेल्लान् भन्ने धेरैमा उत्सुकता जागेको छ।
भारत एशिया कप जित्ने उद्देश्यसहित आफ्नो बलियो टोली लिएर श्रीलङ्का पुगेको छ। तर भारतका तीव्र गतिका बलर जसप्रीत बुमराहले नेपालविरुद्ध खेल्ने छैनन्।
चोटको कारण नभई उनी व्यक्तिगत काम विशेषले भारत फर्किएको बताइएको छ।
उनको स्थानमा मोहम्मद शमी अथवा प्रसिद्ध कृष्ण खेल्ने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यदि विराट कोहलीले नेपालविरुद्ध ९८ रन बनाउन सकेमा आफ्नो एकदिवसीय खेलजीवनमा उनले १३,००० रन पूरा गर्ने छन्।
त्यसो भएमा उनी त्यो स्कोर बनाउने दोस्रो भारतीय तथा समग्रमा विश्वका पाँचौँ खेलाडी हुने छन्।
नेपालका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले भारतविरुद्धको सोमवारको खेलमै थप छ रन जोडेर एकदिवसीय खेलमा आफ्नो १,००० पूरा गरेका छन्।
दुई महिनापछि भारतमा हुने एकदिवसीय विश्वकपको तयारीको रूपमा हेरिएको एशिया कपमा भारत आफ्नो पहिलो रोजाइको टोली लिएर श्रीलङ्का पुगेको छ।
त्यसैले नेपालविरुद्धको खेलमा पनि भारतले पहिलो टोलीलाई मैदानमा पठाएको छ।
वर्षा बाधक नभए खेल निकै रोमाञ्चक हुने नेपाली दर्शकहरूको अपेक्षा छ।
वर्षाबाट प्रभावित पल्लिकेले रङ्गशालामा टसका विषयमा पनि थुप्रै अनुमानहरू पनि गरिएका छन्।
यदि भारतले टस जितेमा उसले फील्डिङ रोज्ने र जतिसक्दो चाँडो खेल टुङ्ग्याउन प्रयास गर्ने अनुमान गरिएको थियो।
भारतले टस जित्यो र त्यही नै निर्णय लियो।
नेपाली कप्तानलाई टस जितेको भए के मनसाय थियो भनेर सोधिएको प्रश्नमा उनले बलिङ गर्ने बताए।
जित वा हारभन्दा पनि नेपाली टोली भारतसँग बढीभन्दा बढी समय बिताउन चाहने धेरैको विश्लेषण गरिँदै आएको थियो।
दुर्लभ भेट
भूगोलका हिसाबले नजिकै भए तापनि क्रिकेटको हकमा भारत र नेपालबीच त्यस्तो सामीप्य कहिल्यै रहेन। यी दुई देशबीच न प्रतिस्पर्धा भयो न त क्रिकेट विकासको विषयमा विशेष सहयकार्य नै।
दुई महिनाअघि श्रीलङ्कामा नै नेपालले भारत 'ए'सँग खेलेको थियो।
इमर्जिङ टीम कप्सको त्यो भेटमा इन्डियन प्रिमिअर लीग आईपीएलका खेलाडीहरूको बाहुल्य रहेको भारतीय टोलीसँग नेपाल नौ विकेटले पराजित भएको थियो।
तर सन् २०१७ मा १९ वर्ष उमेर समूहको प्रतियोगितामा भएको नेपाल भारतको भेट भने अहिलेसम्मको लागि नेपालको अविस्मरणीय प्रतिस्पर्धा रह्यो।
उक्त खेलमा नेपालले भारतलाई जुनकुनै प्रकारको प्रतिस्पर्धामा पहिलो पटक हराएको थियो।
सोमवार यी दुई देशका राष्ट्रिय टोलीबीच पहिलो पटक खेल भएको हो।
नेपालको आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग यो पाँचौँ भेट हो।
कस्तो होला प्रतिस्पर्धा
एशिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग ठूलो हार बेहोरे पनि नेपालको खेलमा केही केही उल्लेख्य पक्ष देखिएको विश्लेषण भइरहेको छ।
उदाहरणका लागि, सोमपाल कामी र करण केसीको 'अनुशासित एवं स्तरीय बलिङ' अनि ललित नारायण राजवंशीको 'कसिलो स्पिन'।
त्यस्तै कप्तान रोहित पौडेलले इमाम उल हक र दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई गरेको रन आउट (डाइरेक्ट हिट) विश्वस्तरीय थियो। त्यो देखेर दर्शकहरूले नेपाली खेलाडीको प्रशंसा गरेका छन्।
भारतविरुद्ध पनि नेपालले केही अप्रत्याशित खेल देखाउन सक्ने अनुमान गर्न सकिन्छ।
वर्षाको डरबीच हुने यो खेलमा नेपाली स्पिनरहरूले भारतीय खेलाडीहरूलाई चुनौती दिन सक्ने ठानिएको छ।
विश्वस्तरका खेलाडीहरूसँग खेल्ने अनुभव बोकेका एकमात्र खेलाडी सन्दीप लामिछानेबाट नेपाली टोलीले विशेष आशा गरेको छ।
क्रिकेटसम्बन्धी सामग्री प्रकाशित गर्ने वेबसाइट ईएसपीन क्रिकइन्फोले ललितनारायण राजवंशीलाई यो खेलमा हेर्नयोग्य खेलाडीको सूचीमा राखेको छ।
"प्रायः सन्दीप लामिछानेको छायामा परेका बायाँहाते स्पिनर राजवंशीले पछिल्लो समय राम्रो गरिरहेका छन्। विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध राम्रो गरेका थिए। उनले रोभ्मन पावेल, साई होप र किमो पोललाई आउट गरेका थिए।"
पाकिस्तानविरुद्ध राजवंशीले १० ओभरमा ४८ रन दिएका थिए। सो क्रममा उनले ३३ डट बल फ्यालेका थिए।
सोमपाल कामी र करण केशीको लययुक्त बलिङ भारतविरुद्धको खेलमा पनि अपेक्षा गर्न सकिन्छ।
भारत-११
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयश ऐयर, ईशान किशन, हार्दिक पान्ड्या, रवीन्द्र जडेजा, शार्दूल ठाकुर, कुलदीप यादव, मोहम्मद शमी वा प्रसिद्ध कृष्ण, मोहम्मद सिराज
नेपाल-११
कुशल भुर्तेल, आशिफ शेख, रोहित पौडेल, भीम सार्की, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।