गोलन हाइट्समा रकेट प्रहार भएपछि हिजबुल्लाहविरुद्ध इजरेलले गर्यो 'आक्रमण'

तस्बिर स्रोत, EPA
- Author, पोल एडम्स, बार्बरा प्लेट असर र इडो भोक
- Role, बीबीसी कूटनीतिक संवाददाता, बीबीसी न्यूज, जेरुसलेम र लण्डन
इजरेलको नियन्त्रणमा रहेको गोलन हाइट्सस्थित एउटा फुटबल मैदानमा रकेट प्रहार हुँदा १२ बालबालिका र एक युवाको मृत्यु भएको बताइएको छ। उक्त आक्रमणमा दर्जनौँ घाइते भएको इजरेली अधिकारीहरूले बताएका छन्।
इजरेल डिफेन्स फोर्सेस (आईडीएफ)ले लेबननको शक्तिशाली लडाकु समूह हिजबुल्लाहले प्रहार गरेको रकेट मज्दाल शाम्सको ड्रुज सहरमा खसेको दाबी गरेको छ। त्यो दाबीलाई हिल्बुल्लाह समूहले कडा रूपमा अस्वीकार गरेको छ।
गोलन हाइट्सको आक्रमणपछि इजरेली सेनाले लेबननभित्र हिजबुल्लाहलक्षित आक्रमण गरेको जनाएको छ।
आइतवार सबेरै लेबननभित्रका सातवटा हिजबुल्लाहका "केन्द्रहरूमा" आक्रणम गरेको इजरेसी सेनाले जनाएको छ। तर उनीहरूले कहाँ आक्रमण गरेका हुन् अझै स्पष्ट छैन।
गोलन हाइट्स घटनापछि इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले बदला लिने वाचा गर्दै हिजबुल्ला समूहले "ठूलो मूल्य चुकाउनु पर्ने" बताएका थिए।
पूर्ण युद्ध निम्त्याउन सक्ने हमला

तस्बिर स्रोत, Reuters
यो घटनाले इजरेल र हिजबुल्लाहबीच पूर्ण स्तरको युद्ध निम्त्याउने सम्भावना बढाएको छ।
गत वर्ष अक्टोबरमा इजरेल-गाजा युद्ध सुरु भएयता हिजबुल्लाह र इजरेली सेनाले एक अर्काविरुद्ध लगातार गोलाबारी गरिरहेका छन्।
शनिवारको आक्रमण इजरेलको उत्तरी सीमामा गत वर्ष अक्टोबर ७ मा युद्ध सुरु भएयताकै सबैभन्दा धेरैले ज्यान गुमाउनेगरी भएको घातक हमला हो।
संयुक्त राष्ट्रसङ्घले एउटा विज्ञप्ति जारी गर्दै “सबै पक्षलाई अधिकतम संयमता अपनाउन” आग्रह गरेको छ।
विज्ञप्तिमा व्यापक द्वन्द्वको जोखिमले “सम्पूर्ण क्षेत्रलाई सोचेभन्दा व्यापक र भयानक विध्वंशमा पार्ने” चेतावनी दिइएको छ।
हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफले आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरे।
बीबीसीले उक्त समूहले एउटा इजरेली 'इन्टरसेप्टर रकेट'को विस्फोटनका कारण उक्त घटना भएको भनेर संयुक्त राष्ट्रसङ्घलाई बताएको विवरणहरू पुष्टि गर्ने प्रयास गरिरहेको छ।
इजरेली अधिकारीहरूले मारिएका सबै १० देखि २० वर्षबीचका रहेको बताएका छन्। यद्यपि केही इजरेली सञ्चारमाध्यमहरूले त्यो भन्दा कम उमेरका पनि केही रहेको समाचार सम्प्रेषण गरेका छन्।
पुष्टि भएका भिडिओमा फुटबल मैदानमा मानिसहरूको भिड लागेको र स्ट्रेचरलाई एम्बुलेन्सतर्फ लैजादै गरेको दृश्य देखिएका छन्।
आक्रमण भएको स्थान

गोलन हाइट्सका चारवटा गाउँहरूमध्ये मज्दाल शाम्स पनि एउटा हो। त्यहाँ अरबी भाषा बोल्ने ड्रुज धार्मिक तथा जातीय समूहका करिब २५,००० सदस्यहरू बस्छन्।
उक्त आक्रमणबाट भएको क्षतिको विवरण आउनुअघि हिजबुल्लाहले अन्य चार आक्रमणको भने जिम्मेवारी लिएको थियो।
त्यसमध्ये एउटा हमला इजरेल-लेबनन सीमामा पर्ने माउन्ट हर्मनस्थित सैन्य परिसर नजिकै भएको थियो। त्यो भनेको पछिल्लो आक्रमण भएको फुटबल मैदानभन्दा करिब तीन किलोमिटर टाढा पर्छ।
आक्रमणस्थलको भ्रमण गरेका आईडीएफका प्रवक्ता ड्यानियल हगारीले हिजबुल्लाहले "झूटो बोलेको र घटनाको जिम्मेवारी अस्वीकार गरेको" आरोप लगाए।
उनले आक्रमणमा प्रयोग भएको रकेट इरानमा निर्मित 'फलक-१' भएको र त्यो "मुख्य रूपमा हिजबुल्लाहको स्वामित्वमा रहने गरेको" बताए।
"हाम्रो सूचना स्पष्ट छ। निर्दोष बालबालिकाको हत्याका लागि हिज्बुल्लाह जिम्मेवार छ," उनले भने। हगारीले इजरेलले उक्त आक्रमणको बदला लिने तयारी गरिरहेको पनि बताए।
गोलाबारी जारी

तस्बिर स्रोत, Reuters
इजरेल र हिजबुल्लाहबीच नियमित रूपमा गोलाबारी जारी छ र दुवैतर्फ मानवीय क्षति पनि भएको छ। तर गत वर्ष अक्टोबरदेखि दुवै पक्षले दक्षिणी लेबननमा व्यापक युद्ध निम्तिन सक्ने गतिविधिलाई भने बढाएर लैजाने खालका गतिविधि चाहिँ गरेका छैनन्।
अमेरिका भ्रमणमा रहेका इजरेली प्रधानमन्त्री नेतन्याहू उक्त घटनापछि भ्रमण छोट्याएर स्वदेश फर्किरहेका छन्।
इजरेलको ड्रुज समुदायका नेता शेख मोवाफाक तारिफले एउटा आक्रोशपूर्ण वक्तव्यमा उक्त घटनालाई "भयानक नरसंहार" भनेका छन्। उनले त्यो निम्त्याउनका लागि "सम्भावित सबै सीमारेखाहरू" पार गरिएको जनाएका छन्।
"एउटा वास्तविक राज्यले आफ्ना नागरिक र बासिन्दालाई निरन्तर हानी हुन दिन सक्दैन। यो विगत नौ महिनादेखि उत्तरी क्षेत्रमा बसोबास गर्ने समुदायले भोगिरहेको वास्तविकता हो," उनले भनेका छन्।
इजरेलका विदेशमन्त्रीले इजरेलको च्यानल-१२ न्यूजलाई भनेका छन्, "हामीले सबैतिरबाट युद्धको सामना गरिरहेका छौँ।"
इजरेली राष्ट्रपतिले घटनालाई "भयानक र स्तब्ध पार्ने खालको" भनेका छन्।
उनले "इजरेलले आफ्ना नागरिक र आफ्नो सार्वभौमसत्ताको दृढताका साथ रक्षा गर्ने" पनि जनाएका छन्।

तस्बिर स्रोत, Reuters
लेबननले के भन्यो?
लेबननको सरकारले पनि उक्त घटनाको प्रतिक्रियास्वरूप एउटा विज्ञप्ति जारी गरेको छ। लेबनन सरकारले यस्तो गर्नु दुर्लभ मानिन्छ।
उक्त विज्ञप्तिमा "सर्वसाधारण नागरिकविरुद्ध हुने हिंसा र आक्रामणका सबै कार्यको" निन्दा गरिएको छ र "सबै मोर्चा"लाई शत्रुतापूर्ण व्यवहारहरूको तत्काल अन्त्य गर्न आह्वान गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, "सामान्य नागरिकहरूलाई लक्षित गर्नु अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन हो र यो मानवताको सिद्धान्त विरुद्ध हुन्छ।"
अमेरिका र ईयूले पनि घटनाको निन्दा गरेका छन्।
संयुक्त राष्ट्रसङ्घका राजदूत टोर वेन्सल्यान्डले घटनाको निन्दा गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, "मध्यपूर्व (युद्धको) डिलमा छ, विश्व र यो क्षेत्रले अर्को खुला द्वन्द्व सहन सक्दैन।"
गोलन हाइट्सका समुदाय

तस्बिर स्रोत, Reuters
अधिकांश ड्रुजहरू उत्तरी इजरेल, लेबनन, जोर्डन र सिरियामा बसोबास गर्छन्। इजरेलमा उनीहरूलाई पूर्ण नागरिक अधिकार दिइएको छ र उक्त देशको जनसङ्ख्याको लगभग १.५ प्रतिशत ड्रुजहरू रहेका छन्।
सन् १९८१ मा गोलन हाइट्सलाई इजरेलले सिरियाबाट गाभेपछि उनीहरूलाई इजरेली नागरिकताको प्रस्ताव गरिएको थियो तर त्यहाँका सबैले उक्त प्रस्तावलाई स्वीकार गरेनन्।
गोलनका ड्रुजहरूले अहिले पनि इजरेलमा अध्ययन र काम गर्न सक्छन् तर नागरिकता भएकाहरूले मात्र मतदान गर्न सक्छन्।
ड्रुज पुरुषहरूले इजरेली सेनामा सेवा गर्नु पर्ने हुन्छ र आईडीएफमा भएको यो सबैभन्दा ठूलो गैर-यहुदी समूह हो।
अधिकांश अन्तर्राष्ट्रिय समुदायले गोलन हाइट्समा भएको इजरेली कब्जालाई मान्यता दिएका छैनन्।
मालोरी मोन्चद्वारा थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








