दक्षिण कोरिया: सफलताको दबावका कारण बढ्दो आत्महत्या

    • Author, सेरिन हा
    • Role, बीबीसी विश्व सेवा

"तीन वर्षअघि जतिखेर मैले मेरो सानो भाइको चिसो शरीर फेला पारेँ, त्यस बेला मे महिना भए तापनि मेरो हृदय जाडो याममा झैँ भएको थियो।"

एक जना दाइको विलाप। जेङ जुन-हा नि:शब्द भए। उनका भाइ ३५ वर्षका मात्र थिए।

धेरै दिनसम्म आफ्नो भाइलाई मोबाइल फोनमा सम्पर्क गर्न नसकेपछि जेङले प्रहरीलाई फोन गरे।

जब उनीहरूले जबर्जस्ती जेङको भाइको कोठाको ढोका खोलिदिए, जुन-एन ओछ्यानमा प्राणविहीन अवस्थामा भेटिए।

"त्यति बेला म एक परामर्शदाता बन्नको लागि आत्महत्या रोकथाम केन्द्रमा पढिरहेको थिएँ," जेङ भन्छन्।

"म विद्यालयहरूमा गएर आत्महत्याका सोच आउने सामान्य लक्षणहरू र तिनलाई के गर्न सकिन्छ भनेर बालबालिकाहरूलाई बताउन गएँ। मैले अरूको ज्यान बचाउने प्रयास गरेँ, तर मेरो भाइले आफ्नो ज्यान लिनेछ भनेर कहिल्यै सोचिनँ।"

यी ४५ वर्षे जेङलाई आफ्नो परिवारले बेहोरेको अवस्थाबारे खुलेर कुरा गर्न अझै अप्ठेरो लाग्छ।

दक्षिण कोरियाली समाजमा यो विषय निकै संवेदनशील मानिन्छ। तर उनले आफ्नो व्यक्तिगत जीवनको यात्रा सुनाउँदै सचेतना फैलाउन सक्दो गरिरहेका छन्।

विकसित देशमध्येमा सबैभन्दा उच्च आत्महत्या दर

दक्षिण कोरिया के-पप र सामसङजस्ता विश्‍वव्यापी कम्पनीहरूका लागि चर्चित छ।

तर बाह्य रूपमा देखिने यी चर्चित सफलताका कथाबीच त्यहाँ दैनिकजसो ३६ जना मानिसहरूले आत्महत्या गर्छन्।

विश्‍वका ३८ धनी देशहरूको सङ्गठन अर्गनाइजेशन फर ईकोनोमिक कोअपरेशन एन्ड डिभलपमन्ट (ओईसीडी)का सदस्यहरूमध्येमा यस देशको आत्महत्या दर सबैभन्दा उच्च छ।

दक्षिण कोरियाको तथ्याङ्कसम्बन्धी निकायका अनुसार त्यहाँ सन् २०२१ यता १३,३५२ जनाले आत्महत्या गरेका छन्।

दशदेखि ३९ वर्षबीचका दक्षिण कोरियालीहरूमा आत्महत्या मृत्युको मुख्य कारणमा पर्छ।

किशोरकिशोरीहरूका सबै खाले मृत्युमध्ये पाँच जनामध्ये दुई जनाभन्दा धेरै (४३.७ प्रतिशत) को कारण आत्महत्या छ।

साथै २० देखि ३० वर्षका मानिसहरूका हकमा यो ५६.८ प्रतिशत छ भने ३० देखि ४० वर्षबीचका मानिसहरूका हकमा ४०.६ प्रतिशत छ। जेङका भाइ केही हासिल गर्न सङ्घर्ष गरिरहेको यस पुस्ताका एक हिस्सा हुन्।

सोलमा प्रत्येक एक लाखमा २३.६ जनाको मृत्युदर छ, जुन ओइसिडीको औसत ११.१ को दोबरभन्दा धेरै छ।

सरकारले आत्महत्या रोकथामका लागि हालै पाँच वर्षे योजनाको घोषणा गर्दै त्यसलाई ३० प्रतिशतले कम गर्ने लक्ष्य राखेको छ।

यो एक उल्लेख्य लक्ष्य हो किनकि सरकार सफल भएमा दक्षिण कोरिया 'ओइसिडी देशहरूमध्येको उच्च आत्महत्या दर भएको देश' रहनेछैन।

तर के यो खालि एउटा चर्चाका लागि ल्याइएको कदम हो वा यसले तथ्याङ्कभित्र गहिरो ढङ्गले लुकिरहेको विषयको समाधान गर्नेछ?

उच्च दबाव भएको समाज

दक्षिण कोरियाको आत्महत्या दर आर्थिक, सामाजिक र सांस्कृतिक कारकहरूको मिश्रण हो।

सन् १९५३ मा अन्त्य भएको कोरियाली युद्धबाट विखण्डित भएको पृष्ठभूमिमा दक्षिण कोरिया विश्‍व आर्थिक शक्ति बनेको हो।

तर उक्त तीव्र आर्थिक वृद्धिले राज्यका सेवाको विस्तार गर्न सकेन, बरु बढ्दो असमानताका लागि योगदान पुर्‍यायो।

यसबाट उच्च प्रतिस्पर्धा र सफलतामा आधारित समाज विकसित भयो र त्यसले धेरै नागरिकहरूलाई मनोवैज्ञानिक समस्याबाट ग्रस्त बनायो।

भाइको मृत्युपछि मात्र जेङले उनी पछिल्लो १० वर्षयता हरेक साता मनोवैज्ञानिक परामर्शमा गइरहेको थाहा पाए।

"मेरो भाइले चलचित्र सिद्धान्त पढेको थियो र विदेशमा गएर थप पढ्ने तयारी गरिरहेका थियो। अन्य कोरियाली परिवारहरूजस्तै ऊ सफलताका लागि दबावमा थियो। आर्थिक सीमितताका कारण उसको लागि जीवन कठिन थियो," जेङ भन्छन्।

"मेरो भाइ डिप्रेसनसँग निकै धेरै लडिरहेको थियो। धेरै समय त्यो थाहा नपाएकोमा मेरो मन निकै टुटेको छ।"

लामो समयदेखि विज्ञहरूले खास गरी पैसा वा सामाजिक स्थितिलाई लिएर व्यक्तिको सफलतामा धेरै ध्यान केन्द्रित गर्ने समाजको जोखिमबारे बोलेका छन्।

"दक्षिण कोरियामा उच्च आत्महत्या दरको अतिरिक्त, त्यहाँको समाजको कमजोर कल्याणकारी प्रणालीको दुःखद कथा छ। तर त्यो धेरै सफलताउन्मुख छ र सामान्यतया व्यक्तिले कति सम्पत्ति जम्मा गर्छ भन्नेमा सफलता देखिन्छ," चुङ आङ यूनिभर्सिटीको कलेज अफ नर्सिङकी डिन सुङ-नाङ जङ भन्छिन्।

"तर परिवारका सदस्य र छिमेकीहरूबीचको परम्परागत सम्बन्ध कमजोर भइरहेको छ र सबै आफैँ सफलताको लडाइँ लडिरहेका छन्।"

'कुरा गरौँ'

उक्त संस्कृति बिस्तारै परिवर्तन हुँदै छ, तर अझै धेरै गर्न बाँकी छ।

"दक्षिण कोरियालीहरू यस्तो निकै उच्च प्रतिस्पर्धी समाजमा अगाडि बढ्न बानी परेका छन्, र कोरिया खासमा आफ्नो भावना व्यक्त गर्न सहज हुने ठाउँ होइन," २४ घण्टे आत्महत्या रोकथाम सेवा दिने एक परोपकारी संस्था लाइफलाइन सिओसोलका निर्देशक यिओन-सु किम भन्छिन्।

"आफ्नो सङ्घर्ष र भावना खुला तथा सुरक्षित तरिकाले व्यक्त गर्न मानिसहरूलाई थप ठाउँको आवश्यकता पर्छ। हामीले मानिसहरूलाई सफल हुन विभिन्न तरिकाहरू छन् र वास्तवमै त्यसलाई स्वीकार गर्नुपर्छ भन्ने कुरा सम्झाइराख्नुपर्छ।"

जेङ अहिले सोलस्थित एक मानसिक स्वास्थ्य केन्द्रमा क्लिनिकल मनोविद्का रूपमा काम गर्छन्। त्यहाँ उनले आत्महत्याबाट प्रभावित परिवारहरू र आत्महत्याको सोच आएका मानिसहरूलाई सघाउँछन्।

आफ्ना प्रियजनले आत्महत्या गरेका परिवारहरूलाई सघाउने समूहहरूको समेत उनले नेतृत्व गर्छन्।

"यो निकै कठिन काम हो। परिवारका सदस्यहरू प्राय: शव देख्ने पहिलोमध्येका मानिसहरू हुन्छन्। उनीहरूले उक्त दृश्य निकै राम्रोसँग सम्झन्छन् र त्यो क्षण राम्ररी व्याख्या गर्न सक्छन्।"

तिनीहरूकसँगको संवादहरूले आफूलाई पार्ने भावनात्मक असरबारे जेङ सचेत छन्।

"तर जब उनीहरूमा सुधार आएको देखिन्छ, यो काम निकै महत्त्वको रहेको अनुभव हुन्छ।"

यससँगै, उनको आफ्नै परिवारमा समेत स्विकार्ने र मन बुझाउने भावना विकास भएको छ।

जेङले आफ्ना भाइले आत्महत्याअघि लेखेको नोट सम्झन्छन्, जसमा उनले आमाबाबु र उनलाई छोडेकोमा माफी मागेका थिए।

गत गर्मी याममा उनको परिवार आत्महत्या गरेका भाइको समाधिस्थल पुगेको थियो। त्यस बेला जेङले उनका भाइलाई भनेका थिए 'ठिकै छ।'

"तिमीले नराम्रो मान्नुपर्दैन। हामीले एक अर्काको ख्याल गर्दै राम्रो गरिरहेका छौँ," जेङले भने।

"त्यसैले दुःख नमान।"