९/११ आक्रमणका 'योजनाकार'सँगको सहमति अमेरिकी रक्षामन्त्रीद्वारा रद्द

ट्विन टावरमा हमलापछिको भग्नावशेष

तस्बिर स्रोत, Getty Images

    • Author, म्याक्स माट्सा
    • Role, बीबीसी न्यूज

अमेरिकी रक्षामन्त्री लोएड अस्टिनले सन् २००१ को सेप्टेम्बर ११ मा भएको आतङ्ककारी आक्रमणको षड्यन्त्र रचेको आरोप लागेका व्यक्तिहरूसँगको 'सुनुवाइ अघिको सहमति'लाई रद्द गरिदिएका छन्।

शुक्रवार उनले जारी गरेको मेमोमा अस्टिनले आरोप लागेका व्यक्तिहरूसँग त्यस्तो सम्झौता गरी त्यसमा हस्ताक्षर गरेका सैन्य अदालत हेर्ने अधिकारीको अधिकार पनि गत बुधवार खोसेको उल्लेख गरिएको छ।

उक्त सम्झौता अन्तर्गत अभियोजनकर्ताहरूले अभियुक्तहरूलाई 'मृत्युदण्ड माग नगर्ने' र आरोप लागेका व्यक्तिहरूले 'हमलाको षड्यन्त्र गरेको स्वीकार्ने' सहमति बनेको बताइएको थियो।

उक्त विवरण सार्वजनिक भएपछि ती हमलामा मारिएका केही व्यक्तिका आफन्तले त्यस्तो निर्णयप्रति आपत्ति जनाएका थिए।

रक्षामन्त्रीले के भने?

लोएड अस्टिन

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, उक्त सम्झौता रद्द गरेकोमा कैयौँ रिपब्लिकनहरूले रक्षामन्त्री लोएड अस्टिनको प्रशंसा गरेका छन्

अमेरिकी रक्षामन्त्रीको मेमोमा हमलाको षड्यन्त्र बनाउने मुख्य व्यक्ति भनिएका खालिद शेख मोहम्मदसहित पाँच जनाको नाम रहेको छ।

उनीहरू सबैलाई क्युबास्थित अमेरिकी जलसेनाको आधारशिविर 'ग्वान्टानामो बे'मा राखिएको छ।

यद्यपि सुरुमा सहमति गरिएको भनिएको विवरणमा तीन जनाको मात्र नाम उल्लेख थियो।

अस्टिनले ब्रिगेडिअर जेनेरल सुसन एस्कलिअरलाई लेखेका छन्, "अभियुक्तसँग पूर्व-सुनुवाइ सम्झौता गर्ने निर्णयको अभिप्रायलाई मध्यनजर गर्दै मैले के निर्धारण गरेको छु भने... यस्तो निर्णयको जिम्मेवारी उच्च अधिकारीको रूपमा मसँग हुनुपर्छ।"

"म यसैका माध्यमबाट तपाइँको अख्तियार रद्द गर्छु। म मेरो अख्तियारको प्रयोगलाई तत्काल लागु गर्दै यसैमार्फत म तीनवटै पूर्व-सुनुवाइ सम्झौतालाई फिर्ता लिन्छु।"

ह्वाइट हाउसले पनि बुधवार उक्त सम्झौता हुनुमा आफ्नो कुनै भूमिका नभएको बताएको थियो।

पाँच पुरुषको नाम

खालिद शेख मोहम्मद

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खालिद शेख मोहम्मदलाई केएसएम भनेर चिन्ने गरिएको छ

मेमोमा पाँच जना पुरुषहरूमा केएसएम भनिने खालिद शेख मोहम्मद, वालिद मुहम्मद सालिह मुबारक बिन अताश, मुस्तफा अहमद आदम अल-हवसावी, राम्जी बिन अल-शिभ र अलि अब्दुल अजिज अलीको नाम उल्लेख गरिएको छ।

सम्झौता भएको भनेर बाहिर आएको विवरणमा राम्जी बिन र अलि अब्दुलको नाम उल्लेख गरिएको थिएन।

आरोप लगाइएका यी व्यक्तिहरूलाई विगत २३ वर्षदेखि कुनै पनि सुनुवाइ नगरी सैन्य हिरासतमा राखिएको छ।

ती सबै पुरुषहरूले आफूहरूलाई व्यापक यातना दिइएको आरोप लगाएका छन्।

उनीसँग सोधपुछ गर्न अमेरिका सरकारले गम्भीर यातनासहितका विभिन्न उपाय अवलम्बन गरेको बताइन्छ।

त्यस्ता उपायलाई "इन्ह्यान्स्ड इन्टेरगेशन टेक्निक" भनिन्छ र त्यसमा "वाटरबोर्डिङ" पनि पर्छ।

अमेरिकी सरकारले "वाटरबोर्डिङ"लाई प्रतिबन्ध लगाउनुअघि केएसएमलाई कम्तीमा १८३ पटक त्यस्तो यातना दिइएको थियो।

ती सबै पुरुषहरूले एक दशकभन्दा लामो समयदेखि अदालतमा पेस गरिनु अघिका सुनुवाइहरूको सामना गरिसकेका छन्।

यो प्रकणरलाई उनीहरूमाथि लगाइएका आरोप र उनीहरूलाई दिइएको यातनाले निकै जटिल बनाएको छ।

पीडितका परिवारको गुनासो

कयौँ पीडित परिवारका सदस्यहरूले बुधवारको सम्झौताका सर्तलाई व्यापक रूपमा उदार भएको भन्दै आलोचना गरेका थिए।

ब्रेट एगलसन ९/११ जस्टिसका अध्यक्ष हुन्। उक्त संस्थाले आक्रमणमा बाँचेका र मारिएकाहरूका आफन्तको प्रतिनिधित्व गर्छ।

यसै साताको सुरुमा उनले बीबीसीसँग पीडित परिवारका सदस्यहरू "ती सम्झौता भएको थाहा पाएपछि गहिरो आघातमा परेको" बताएका थिए।

आफ्ना श्रीमान् टमलाई गुमाएकी टेरी स्ट्राडाले बीबीसी टुडे कार्यक्रममा "'ग्वान्टानामो बेका बन्दीहरूलाई उनीहरूले जे चाहन्छन् त्यो दिनका लागि एउटा सम्झौता भएको कुरा सुन्दा आफू स्तब्ध बनेको" बताएकी थिइन्।

ट्विन टावर हमलापछिको भग्नावशेष निरीक्षण गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुश

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्विन टावर हमलापछिको भग्नावशेष निरीक्षण गर्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुश

आरोप लागेका व्यक्तिका वकिल के भन्छन्?

मोहम्मदको प्रतिनिधित्व गर्ने ग्वान्टानामोका एक जना वकिलले द न्यूयोर्क टाइम्ससँग निर्णय उल्ट्याइएको कुराबाट आफू स्तब्ध भएको बताएका छन्।

"यदि रक्षामन्त्रीले यस्तो आदेश जारी गरेका हुन् भने म सम्मानपूर्वक र गहिरो असहमति राख्छु। यति धेरै वर्ष बितिसक्दा पनि सरकारले यो मुद्दाबाट पाठ सिकेको छैन," वकिल ग्यारी सोवार्ड्सले भने।

"अनि यो कुचेष्टा उचित प्रक्रिया र निष्पक्ष कानुनी कारबाहीलाई बेवास्ता गर्दा उत्पन्न भएको परिणाम हो।"

ती पुरुषहरूलाई नागरिकहरूमाथि आक्रमण गरेको, युद्धसम्बन्धी कानुन उल्लङ्घन गरी हत्या र अपहरण गरेको र आतङ्कवादी कार्य गरेको जस्ता अभियोगहरू लगाइएको छ।

गत सेप्टेम्बरमा बाइडन प्रशासनले क्युबास्थित अमेरिकी जलसेनाको शिविरमा राखिएका पाँच जनासँग त्यस्तै खालको सम्झौताका सर्तहरूलाई अस्वीकार गरेको थियो।

ती आरोपितहरूले राष्ट्रपतिसँग उनीहरूलाई एक्लै राखिने कारागारमा नराख्न र आफूहरूलाई मानसिक आघात परेकाले उपचार गरिदिन आग्रह गरेको बताइने गरेको थियो।

ट्विन टावरमा भएको हमला

तस्बिर स्रोत, Getty Images

मुख्य योजनाकार र सहयोगी भएको आरोप

केएसएमले विमान अपहरण गर्ने तर विमानहरूलाई अमेरिकी भवनहरूमा ठोकाउने योजना अल-कायदाका नेता ओसमा बिन लादेनलाई सुनाएको आरोप लगाइएको छ।

उनलाई ती आक्रमणको मुख्य योजनाकार भएको मानिन्छ।

उनको योजनानुरूप नै अपहरणकारीहरूले यात्रुवाहक विमानहरू आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टर र वाशिङ्टनबाहिर पेन्टागनमा लगेर ठोकाउन बाध्य बनाएको ठानिन्छ।

चौथो विमान चाहिँ त्यसमा सवार यात्रुहरूले अपहरणकारीमाथि प्रत्याक्रमण गरेपछि पेन्सिल्भेनियास्थित एउटा मैदानमा खसेर दुर्घटना भएको थियो।

मोहम्मद अमेरिकामा पढेका इन्जिनियर हुन्। उनी सन् २००३ मा हाउसावीसँगै पाकिस्तानमा पक्राउ परेका थिए।

अमेरिकामा हमला

हाउसावी चाहिँ साउदी नागरिक हुन् र उनले रकमको बन्दोबस्त गरेको आरोप लगाइएको छ।

पछि केही अपहरणकारीहरूलाई तालिम दिन तथा उक्त कार्यमा संलग्न गराएका थिए।

कम्प्युटर वैज्ञानिक अलि चाहिँ केएसएमका भतिजा हुन् र उनले ९/११ आक्रमणका लागि प्राविधिक सहयोग गरेको आरोप लगाइएको छ।

यमनका बिन अल-शिभले आक्रमणको संयोजन गरेको आरोप लगाइएको छ।

उनी आफू पनि अपहरणकारी बन्न चाहन्थे र त्यसैअनुसार योजना बनाएका थिए। तर अमेरिकाको भिसा नलागेका कारण उनको त्यो लक्ष्य पूरा भएन।

बिन अताश पनि यमनी हुन् र सन् २००० मा यमनमा यूएसएस कोलमा बम विष्फोटन गराएको आरोप उनीमाथि लागेको छ।

त्यस क्रममा १७ जनाको ज्यान गएको थियो। उनीमाथि सेप्टेम्बर ११ को हमलामा पनि संलग्न भएको आरोप लगाइएको छ।

ट्विन टावर ढलेपछि भाग्दै सर्वसाधारण

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, ट्विन टावर ढलेपछि भाग्दै सर्वसाधारण

रक्षामन्त्रीको कदमको प्रशंसा

कैयौँ रिपब्लिकनहरूले उक्त सम्झौता रद्द गरेकोमा रक्षामन्त्रीको प्रशंसा गरेका छन्।

अल-कायदाले गरेका आक्रमणहरूमा न्यूयोर्क, भर्जिनिया र पेन्सिल्भेनिया राज्यमा झन्डै ३,००० मानिसको मृत्यु भएको थियो।

उक्त आक्रमणपछि अमेरिकी नेतृत्वमा अफगानिस्तान र इराकमा आक्रमणहरू सुरु भएका थिए। ती युद्धलाई अमेरिकाले "वार अन टेरर" अर्थात् "आतङ्कवादविरुद्धको युद्ध" भनेको थियो।

सन् २००१ का ती आक्रमणहरू अमेरिकी भूमिमा दोस्रो विश्वयुद्धपछि भएका सबैभन्दा घातक हमला थिए।

दोस्रो विश्वयुद्धका बेला सन् १९४१ मा हवाईमा जापानले आक्रमण गर्दा पर्ल हार्बरमा २,४०० जनाको मृत्यु भएको थियो।

त्यसपछि अल-कायदाको आक्रणम नै अमेरिकी भूमिका भएको सबैभन्दा घातक हमला हो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।