य:मरी अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा, सूचीमा पर्न कसले के गर्नु पर्छ?

इन्द्रचोककी मचा नानी महर्जनलाई सानै हुँदा य:मरी बनाउन सिकेकोदेखि केही दिनपछि टोल छिमेकमा य:मरी माग्न गएको सम्मको सम्झना ताजै छ।

अहिले ५५ वर्षकि महर्जनले आफू ७/८ वर्षकी हुँदादेखि नै आमा दिदीहरूसँग य:मरी बनाउन सिकेको बताइन्।

"त्यति बेला आफ्नै खेतको धान कुटेर निकालिएको चामलको पिठो र चाकुको य:मरी बनाउने गर्थ्यौँ। त्यो बेला य:मरीको स्वाद नै अर्कै हुन्थ्यो," उनले भनिन्।

"सानोमा सिकेको बेलादेखि अहिलेसम्म वर्षैपिच्छे बनाउँदै आएको छु। य:मरी बनाएर दिदीबहिनी भाञ्जा भाञ्जीलाई बोलाउने अनि आफू पनि खान जाने चलन अहिले पनि छ," उनी भन्छिन्।

उनलाई सानै छँदा य:मरी पुन्ही सकिएको केही दिनपछि टोल छिमेकका घरमा गएर उनीहरूले दिएको य:मरी आगोमा तताएर खाएको सबैभन्दा मिठो सम्झना छ।

"हामी आउँछौँ भनेर जानकारी दिएर टोल छिमेकमा जान्थ्यौँ। त्यसरी ल्याएको य:मरी आगोमा भित्रैसम्म पाक्ने गरी तताएर खाँदा त्यसको मिठास नै अर्कै हुन्थ्यो," उनले भनिन्।

"त्यति बेला आफ्नै खेतको ताइचिनको चामलमा बनाउने य:मरी अहिले जस्तो फुट्ने हुँदैन थियो। त्यो बेलाको जस्तो गुणस्तर र स्वाद अहिले पाइँदैन।"

आफूलाई सबैभन्दा मनपर्ने खानेकुरालाई अहिले सरकारले "अभौतिक सांस्कृतिक सम्पदा"को रूपमा सूचीकरण गरेको सुनेर उनले असाध्यै खुसी लागेको बताइन्।

यो वर्ष सरकारले घोषणा गरेको यो सूचीमा केवल य:मरीमात्रै परेको संस्कृति मन्त्रालयले जनाएको छ।

य:मरीको महत्त्व किन?

सम्पदा संरक्षण अभियानकर्मी आलोक सिद्धि तुलाधर य:मरीजस्तो नेवारी समुदायको विभिन्न विशेष चाडपर्व तथा जात्रामा चाहिने य:मरीलाई अभौतिक सांस्कृतिक सम्पदामा सूचीकरण गर्नु सराहनीय रहेको बताउँछन्।

उनको बुझाइमा य:मरीका खासगरी दुई वटा विशेषता छन्।

य:मरीबारे वृत्तचित्र समेत बनाएका तुलाधरका अनुसार किसानहरूले धान भित्र्याइसकेर भकारीमा राखेपछि भात खानका लागि धान निकाल्नुअगाडि पहिला भकारीमा य:मरी चढाउनुपर्ने चलन रहेको छ।

"त्यो धानको चामलबाट य:मरी भकारीमा चढाउने चलन अहिलेसम्म पनि नेवार समुदायका किसानहरूले मान्दै आएका छन्," उनले भने।

दोस्रो भनेको य:मरी पुन्ही अर्थात् धान्य पूर्णिमा (मंसिर शुक्लपक्ष)को दिनबाट फागुन पूर्णिमा सम्मका लागि शरीर न्यानो राख्न पनि नेवारहरूले य:मरी खाने गरेको पाइएको उनले बताए।

नेपाल भाषामा यःमरीको अर्थ मन पर्ने रोटी हो। पछिल्लो एक दशकमा नेवार समुदायले खाँदै आएको य:मरी काठमाण्डू उपत्यकामा निकै चर्चित बन्दै गएको देखिएको उनी बताउँछन्।

अहिले ठूलाठूला किनमेल केन्द्र र मार्टहरूमा बाह्रै महिना खुवा वा चाकु हालिएका य:मरी किन्न पाइन थालेको छ।

यही परिकारलाई मास्टर सेफ सन्तोष साहले लन्डनमा भएको प्रतिस्पर्धामा समेत प्रस्तुत गरेका थिए।

यस्तो य:मरी सुरुमा काभ्रे जिल्लाको पनौतीमा पकाइएको भन्ने किंवदन्तीहरूमा सुनिएको अभियानकर्मी तुलाधर सुनाउँछन्।

एक किसान दम्पतीले काठमाण्डूदेखि पुगेका ज्वाइँलाई मिठो खुवाउन घरमा भएको चामलको पिठो र चाकु प्रयोग गरेर बनाएका र उनलाई मन परेको रोटी भएकाले यसलाई नेवारहरूले 'मन पर्ने रोटी' भन्न थालेको भन्ने कथा रहेको उनले सुनाए।

य:मरीसँग मिल्दो जुल्दो मिठाइ मोदकको प्रचलन भारतमा पाइने भए पनि त्यहाँबाट यो नेपाल भित्रिएको हो वा होइन भन्ने आफूलाई जानकारी नभएको उनले बताए।

अभौतिक सांस्कृतिक सम्पदामा य:मरी मात्रै किन?

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेवार समुदायको य:मरीलाई गत साउन २३ गते अभौतिक सांस्कृतिक सम्पदाको रूपमा सूचीकरण गरेको हो।

तर सूचीकरणमा राख्न यो सरकार आफैँले चयन गरेको भन्दा पनि ललितपुरको नेवार समुदायका व्यक्तिहरूले आवश्यक सबै प्रक्रिया र प्रमाणहरू पेस गरेपछि मूल्याङ्कन र सिफारिस समितिले सरकारलाई दिएको सिफारिस अनुसार निर्णय भएको मन्त्रालयले जनाएको छ।

विभिन्न समुदायहरूको पहिचान एवं अभिलेखिकरणमार्फत् अभौतिक सांस्कृतिक सम्पदाहरूको संरक्षण सम्बन्धित समुदायबाटै गर्ने कामलाई निरन्तरता दिन यो वर्षबाट यसरी सूची निकाल्न थालिएको मन्त्रालयले जनाएको छ।

तर सूचीकरणमा पर्नका लागि मन्त्रालयले गत वर्ष गरेको आह्वान अनुसार करिब १०५ वटा आवेदन परे पनि विधि प्रक्रिया नपुगेका कारण यो वर्ष य:मरी मात्रै सूचीकरणमा परेको मन्त्रालयले जनाएको हो।

ललितपुर महानगरपालिकाका १ देखि २९ वडाका नेवार समुदायले दिएको आवेदनलाई दुई वटा समितिले अध्ययन गरेर मन्त्रालयलाई दिएको सिफारिसका आधारमा चयन भएको मन्त्रालयअन्तर्गतको संस्कृति महाशाखाका प्रमुख सुरेश सुरस श्रेष्ठले बीबीसीलाई बताए।

"कार्यविधिमा व्यवस्था भए अनुसार मूल्याङ्कन समितिमा रहेका विज्ञहरूले हेर्छन् र अभौतिक सांस्कृतिक सम्पदासँग सम्बन्धित निकायका प्रतिनिधि रहेको सिफारिस समितिले मन्त्रालयलाई सिफारिस गर्छ। त्यही सिफारिसको आधारमा मन्त्रालयले बल्ल निर्णय गर्छ।"

उनले य:मरी पनि यो वर्ष त्यही प्रक्रियाबाट अभौतिक सांस्कृतिक सम्पदाको सूचीमा परेको उनले बताए।

प्रचारप्रसार हुँदै जाँदा यसले व्यापकता पाउने र अन्य समुदायका खानाका परिकार वा विधा अन्तर्गत तोकिएका वस्तुहरू सूचीमा पर्दै जाने आशा मन्त्रालयले गरेको पनि उनले बताए।

गत वर्ष भदौ ३१ गतेको निर्णय अनुसार अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) कार्यविधि बनेको थियो।

उक्त कार्यविधि अनुसार अभौतिक सांस्कृतिक सम्पदा भन्नाले नेपालमा परम्परागत रूपमा बसोबास गर्दै आएका जातीय समुदायका एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै तथा अभ्यास भई आएका सांस्कृतिक विधाहरू सम्झनुपर्छ।

त्यस्ता सांस्कृतिक विधामा मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान र जात्रा पर्वहरू, प्रकृति एवं ब्रह्माण्डसम्बन्धी ज्ञान, परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधि, परम्परागत खेल, खाद्य परिकारका सीप, पहिरनलगायत आभूषणसम्बन्धी ज्ञान, सम्पदा अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल, स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदा गरी १० वटा डोमेन कार्यविधिमा छुट्टाइएको छ।

मन्त्रालयको संस्कृति महाशाखाका प्रमुख श्रेष्ठले स्मरणमा रहेका तथा प्रचलनमा नरहेका सांस्कृतिक महत्त्वका वस्तुहरूको पनि अभिलेखीकरण होस् भन्ने उद्देश्य अनुसार अभौतिक सांस्कृतिक सम्पदालाई सूचीकरण गर्ने काम अगाडि बढाइएको बताए।

"हाम्रा विविध समुदाय र समग्र राष्ट्रको पहिचानको रूपमा रहेको अभौतिक सांस्कृतिक सम्पदाको पहिचान संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यले यो गर्न खोजिएको हो," उनले भने।

विविधतायुक्त समुदाय रहेको र तिनका सांस्कृतिक महत्त्व पनि उत्तिकै रहेका कारण त्यसलाई सूचीकरण गर्ने अभ्यास गर्दा त्यसले पुस्तान्तरण हुन पनि बाटो रहोस् भन्ने उद्देश्य पनि रहेको उनले बताए।

कुनै पनि व्यक्ति वा परिवार वा समुदायले कार्यविधिले तोकेका १० वटा सांस्कृतिक विधामा सूचीकरणमा पर्नका लागि आवेदन दिन सक्ने महाशाखा प्रमुख श्रेष्ठले बताए।

अभौतिक सम्पदा सूचीकरणमा पर्नका लागि आफूले आवेदन दिन लागेको सम्पदाको पूर्ण विवरण, सम्बन्धित व्यक्ति, समूह वा समुदायको सहमति, सम्पदाको फोटो, अडियो तथा भिडियो, अहिलेसम्मको पुस्तान्तरणसम्बन्धी आवश्यक विवरण, सम्बन्धित स्थानीय तहको सिफारिस, स्थानीय तहमा सूचीकरण भएको भए त्यसको प्रमाण मन्त्रालयमा पेस गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।

श्रेष्ठका अनुसार त्यसका लागि कार्यविधि हेरेर मन्त्रालयको वेबसाइटमा उपलब्ध फारम भरी मन्त्रालयमा बुझाउनु पर्छ।

त्यसपछि पहिला मूल्याङ्कन समिति र पछि सिफारिस समितिले दिएको सिफारिसपछि मन्त्रालयले निर्णय गरेर सम्पदा सूचीको आधिकारिक घोषणा गरिने गर्ने उनले बताए।

नेपाल संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी महासन्धि २००३ को पक्ष राष्ट्र हो।

त्यसैले नेपालले देशभित्रका जाति/समुदायको अभौतिक सांस्कृतिक सम्पदाहरूको विवरण सूची तयार पार्नुपर्ने प्रावधान छ।

त्यसै अन्तर्गत अहिले सूचीकरणका लागि कार्यविधि बनाएर प्रक्रिया अगाडि बढाइएको मन्त्रालयले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।