तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
गौतम बुद्ध हुर्केबढेको प्राचीन तिलौराकोट विश्व सम्पदा सूचीमा पर्न नसक्नुको कारण
- Author, सञ्जय ढकाल
- Role, बीबीसी न्यूज नेपाली
'पर्याप्त' पुरातात्त्विक तथ्यले पश्चिम नेपालस्थित वर्तमान तिलौराकोट नै प्राचीन शाक्य अधिराज्यको राजधानी कपिलवस्तु भएको र त्यहीँ गौतम बुद्धको बाल्य तथा युवाकाल गुज्रिएको पुष्टि गरेको भन्ने नेपालको दाबीलाई विश्व सम्पदा समितिको ४७औँ सत्रले तत्काल स्वीकार नगरेपश्चात् उक्त क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने धेरै वर्षदेखिको प्रयासमा झट्का लागेको जानकारहरूले बताएका छन्।
फ्रान्सको राजधानी प्यारिसस्थित संयुक्त राष्ट्रसङ्घको शिक्षा, विज्ञान तथा सांस्कृतिक सङ्गठन (यूनेस्को)को मुख्यालयमा गत साता आयोजित उक्त बैठकले नेपालले राखेको विस्तृत प्रस्तावलाई स्वीकार गरेन।
स्मारक तथा सम्पदा क्षेत्रहरूबारे यूनेस्कोलाई परामर्श दिने इन्टर्न्याश्नल काउन्सिल अन मनुमेन्ट्स एन्ड साइट्स (आइकोमस)ले त्यसका निम्ति तीनवटा कारण दिएको बैठकमा सामेल अधिकारीहरूले जानकारी दिएका छन्।
तर त्योभन्दा पनि मुख्य कारण चाहिँ आफ्नो दाबीप्रति समितिका सदस्य राष्ट्रहरूलाई मनाउन नेपालको कूटनीतिक प्रयास पर्याप्त हुन नसकेकोलाई कतिपय जानकारहरूले बताउने गरेका छन्।
'तीन सुझाव' र तिनका जबाफ
प्यारिस बैठकमा सामेल पुरातत्त्व विभागकी प्रमुख सौभाग्य प्रधानाङ्गले दिएको जानकारीअनुसार तिलौराकोटलाई विश्व सम्पदा सूचीमा पार्न दुई वर्षअगाडि नेपालले 'नोमिनेशन डोसिअर' भनिने औपचारिक मनोनयन दस्ताबेज पठाएको थियो।
"'कपिलवस्तु-तिलौराकोट : सेटलमन्ट अफ एन्सिअन्ट शाक्य किङ्डम' भनेर हामीले पठाएका थियौँ। यूकेको डर्हम विश्वविद्यालयका विज्ञ अनि हाम्रा विज्ञहरूले १०-१२ वर्षदेखि गरिरहेका अनुसन्धानका आधारमा वैज्ञानिक कालक्रम परीक्षण गरिसकेपछि हामीले यो प्राचीन कपिलवस्तु नै हो भनेर पेस गरेका थियौँ," उनले बीबीसीसँग भनिन्।
आइकोमसले चाहिँ नेपालको दस्ताबेजमा तीन वटा 'सुझाव' राखेको प्रधानाङ्गले बताइन्।
"पहिलो, उनीहरूले त्यहाँ हालै भेटिएको 'अप्साइडल' भनिने अर्धवृत्ताकार मन्दिरको अवशेष उल्लेख गर्न भने। तर हामीले दस्ताबेज पठाइसकेपछि मात्र त्यो मन्दिर उत्खनन गर्दा भेटिएको थियो।"
"त्यो मन्दिर सारनाथको जस्तो भनिएको छ। तर भर्खरै भेटिएकाले थप काम गर्न बाँकी नै रहेको छ।"
दोस्रो सुझावका रूपमा आइकोमसले लुम्बिनीको सिमाना हेरफेर गरेर लुम्बिनी र कपिलवस्तुलाई एउटै प्रस्तावमा राखेर पेस गर्न भनेको उनले बताइन्।
"तर हामीले यी दुई छुट्टाछुट्टै स्थल भएकाले छुट्टै हुनुपर्छ भन्यौँ।"
तेस्रो सुझावमा उसले शाक्य अधिराज्यका शासनको कालक्रमबारे थप स्पष्ट पार्न भनेको प्रधानाङ्गले बताइन्।
"त्यसबारे हामीले कालक्रमअनुसारको सम्बन्धहरूबारे बतायौँ," प्रधानाङ्गले भनिन्।
"तर त्यसपछि विश्व सम्पदा समितिका २१ सदस्य राष्ट्रमध्ये कसैले पनि हाम्रो दस्ताबेज छलफलमा ल्याइदिन प्रस्ताव नगर्दा यो वर्षको बैठकमा यो विषय रोकियो," उनले भनिन्।
नेपाली अधिकारीहरू आफूले कमसेकम एउटा सदस्य राष्ट्रले प्रस्ताव गरिदिएला अनि छलफल अघि बढ्ला भन्ने आश राखेको बताउँछन्।
"प्रस्ताव आएको खण्डमा हाम्रो पक्षमा बोलिदिन्छौँ भनेर थुप्रैले भनेका थिए तर प्रस्ताव कसैले पनि राखिदिएन," उनले भनिन्।
यसका कारणबारे नेपाली अधिकारीहरूले मुख नखोले पनि कूटनीतिक कौशल नपुगेको रूपमा जानकारहरूले अर्थ्याएका छन्।
"तर हामीले के सन्तोष मान्न सक्छौँ भने कपिलवस्तुको विषय नेपाल(को प्रस्ताव)बाट हटाउन हामीले मानेनौँ। सूचीमा राखे पनि, नराखे पनि कपिलवस्तु हाम्रै हो भन्ने दर्ज भएको छ। हामी अर्को वर्ष पनि यो (प्रस्ताव) निरन्तर गर्छौँ," उनले भनिन्।
के हो तिलौराकोट?
प्राचीन कपिलवस्तु त्यही ठाउँ मानिन्छ, जहाँ बुबा राजा शुद्धोदनको दरबारमा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्नुअगाडि २९ वर्ष बिताएका थिए।
पुनर्जन्मको चक्रबाट मुक्तिका निम्ति उनले यहीँबाट परिवार र राज्य त्याग गरेको मानिन्छ।
उनले दरबार छाडेर गएको महाभिनिष्क्रमण द्वार यहीँ रहेको ठानिन्छ। उनीभन्दा अगाडिका क्रकुछन्द तथा कनकमणि बुद्धको समेत जन्मस्थल यही क्षेत्र रहेको भनेर जनाउने अशोकको शिलालेख पाइएको छ।
शाक्यमुनि बुद्धले यो ठाउँमा पटकपटक यात्रा गरेका विश्वास गरिन्छ।
पुरातत्त्व विभागले राखेको जानकारीअनुसार "इस्वी संवत्को प्रथम सहस्राब्दीको कुनै कालखण्डमा यहाँ बसोबास हुन छाडेपछि यो स्थल र बुद्धको जीवनसँग सम्बन्धित अन्य धेरै स्थलहरू बिर्सिइँदै जान थाले।"
सन् १८९९ मा आर्किओलजिकल सर्भे अफ इन्डियाका सर्वेक्षक पीसी मुखर्जीले यो स्थललाई फेरि पत्ता लगाएका थिए भने बीसौँ शताब्दीमा पनि यहाँ थुप्रै पटक अन्वेषण भएको बताइन्छ।
"आर्किओलजिकल सर्भे अफ इन्डियाकी देवला मित्राले सन् १९६२ मा उत्तरी किल्लामा अन्वेषण गरेकी थिइन् भने नेपाली पुरातत्त्वविद्हरू बीके रिजाल र टीएन मिश्रले सहरका बारेमा थुप्रै पुरातात्त्विक तथ्यहरू प्रकाशमा ल्याएका थिए," सरकारी जानकारीमा उल्लेख छ।
सन् २०१४ मा युनेस्कोले कपिलवस्तु-तिलौराकोट पुरातात्त्विक अन्वेषण, संरक्षण र प्रस्तुतीकरणका लागि जापान सरकारको 'फन्ड्स इन ट्रस्ट फर यूनेस्को'मार्फत् उपलब्ध गराएको आर्थिक सहयोग र अन्य दातृसंस्थाको सहयोगमा एउटा परियोजना सुरु गरिएको थियो।
त्यसलाई पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष, डर्हम विश्वविद्यालयका यूनेस्को अध्यक्ष, स्टर्लिङ् विश्वविद्यालय, ला ट्रोब विश्वविद्यालय तथा त्रिभुवन विश्वविद्यालय मिलेर कार्यान्वयन गरेका थिए।
यसबाट उक्त सहरस्थित प्राचीन सडक सञ्जाल पत्ता लगाउनुका साथै थुप्रै पुरातात्त्विक वस्तुहरू अनि दरबारको जस्ता विशाल पर्खाल भएका भवनसमूहहरूका अवशेष, इँटाबाट बनाइएका पानीपोखरी र विहारका संरचनाहरू फेला परेका थिए।
"उत्खनन गरिएका कोइलाका नमुनाहरूको 'रेडिओकार्बन' विधिबाट र माटोका नमुनाहरूको 'अप्टिकल्ली स्टिमुलेटेड लुमिनेस्सेन्स' प्रवृत्तिबाट गरिएको कालक्रम परीक्षणबाट इसापूर्व ८०० देखि यहाँ बसोबासको पुष्टि गरिएको छ," सरकारी जानकारीमा उल्लेख छ।
सम्पदा सूचीमा नपर्नु 'अनपेक्षित'
हाल उत्खनन तथा संरक्षण कार्य भइरहेको तिलौराकोट लुम्बिनीबाट करिब ३० किलोमिटर पश्चिमस्थित तौलिहवानजिकै पर्छ।
त्यहाँ वर्षौँदेखि कार्यरत छन् पुरातत्त्व विभागअन्तर्गतको कपिलवस्तु सम्पर्क कार्यालयका प्रमुख माधव आचार्य।
"प्राचीन कपिलवस्तुका भग्नावशेषहरूको वैज्ञानिक अध्ययन र जमिनमुनिको 'स्क्यानिङ' समेत यहाँ गरिएका छन्। यो सम्पदा सूचीमा नपर्नु भनेको मलाई व्यक्तिगत मात्र होइन यहाँका प्रादेशिक, स्थानीय तह अनि स्थानीय मानिसहरूका लागि पनि अनपेक्षित हो," उनले भने।
"तथ्यहरूले यसको पुष्टि गरेका हुनाले ढिलोचाँडो यसले मान्यता पाउँछ भन्ने हाम्रो विश्वास छ। यसको उत्खनन तथा संरक्षणमा यूनेस्को स्वयंको अगुवाइ छ भने जापान सरकारले पनि सहयोग गरिरहेको छ।"
लुम्बिनीलाई थप समय
विश्व सम्पदा समितिको ४७औँ सत्रले लुम्बिनीका निम्ति भने नेपालको लागि केही सुखद निर्णय गरेको अधिकारीहरूले बताएका छन्।
गत वर्षको समिति बैठकमा लुम्बिनीलाई खतरामा परेको सम्पदाको सूचीमा राख्ने प्रस्ताव आएको थियो तर पछि २१ मध्ये भारतलगायत अधिकांश सदस्यराष्ट्रले त्यसो गर्नु उपयुक्त नहुने राय दिएपछि नेपाललाई त्यसको उचित रेखदेख तथा संरक्षणका लागि थप समय मिलेको थियो।
"त्यसअनुसार यही फेब्रुअरीमा हामीले गरेका कामहरू उल्लेख गरेर संरक्षणको अवस्थासम्बन्धी रिपोर्ट पठाएका थियौँ। यसपालिको बैठकले खतराको सूचीमा राख्ने कुरा गरेन, बरु हाम्रो रिपोर्टबमोजिमका काम अनुगमन गर्न केही महिनापछि रियाक्टिभ मनिटरिङ मिशन पठाउने निर्णय गर्यो," पुरातत्त्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्गले भनिन्।
"उक्त मिशनको रिपोर्टको आधारमा समितिले थप निर्णय गर्ने भनिएको छ।"
नेपालमा लुम्बिनी तथा काठमाण्डू उपत्यका गरी दुईवटा सांस्कृतिक अनि सगरमाथा र चितवन राष्ट्रिय निकुञ्ज दुईवटा प्राकृतिक विश्व सम्पदामा सूचीकृत छन्।
तीबाहेक अन्य १५ वटा स्थलहरूलाई विश्व सम्पदा सूचीमा राख्नु पर्ने नेपालले भन्दै आएको छ। तिनमा तिलौराकोट, मुस्ताङको लो मान्थाङ्, काठमाण्डूको वज्रयोगिनी र साँखुको प्राचीन बसोबास, कीर्तिपुर, रुरु क्षेत्र, नुवाकोट दरबार, रामजानकी मन्दिर, तानसेन, सिन्जा उपत्यका, दैलेखको भुर्ति मन्दिर परिसर, पनौतीको पुरानो वास्तुकला, मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला, गोरखा दरबार, रामग्राम र खोकना गाउँको सम्पदा रहेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।