के भारतको प्राचीन नालन्दा विश्वविद्यालय मुस्लिम शासकले ध्वस्त बनाएका हुन्

    • Author, मिर्जा एबी बेग
    • Role, बीबीसी उर्दू

भारतको राजधानी नयाँदिल्ली सात पटक क्षतिग्रस्त भएर सातै पटक पुन: निर्माण भएको सहर हो। हालको राजधानी सहरमा करिब दुई करोड मानिसहरूले श्वास फेरिरहेका छन्।

यस्तै कथा भारतको शैक्षिक संस्था नालन्दाको पनि छ। यो विश्वकै सबैभन्दा पुरानो विश्वविद्यालय पनि भएको दाबी गरिएको छ।

हालै प्रकाशित पुस्तक "नालन्दा : हाउ इट चेन्ज्ड द वर्ल्ड," मा लेखक तथा कवि अभय कुमारले यसको इतिहास र विश्वमा त्यसले पारेको प्रभावबारे उल्लेख गरेका छन्।

उनका अनुसार बौद्धमार्गीहरूले स्थापना गरेको यो संस्था तीन पटक क्षतिग्रस्त भएको थियो। तर यो जम्मा दुई पटक मात्रै पुनर्निर्माण भयो। तेस्रो पटक भत्काइएको यो विश्वविद्यालय करिब ८०० वर्षपछि अहिले पुनर्निर्माण भइरहेको छ।

गुप्त साम्राज्यका सम्राट् कुमार गुप्तका पालामा सन् ४२७ मा नालन्दा विश्वविद्यालय स्थापना भएको थियो। त्यसपछिका सात शताब्दीसम्म यो सिकाइको असाधारण केन्द्र बन्यो।

नालन्दाबारे व्याख्या गर्दै अभय कुमारले यो शब्दको उत्पत्तिबारे पनि चर्चा गरेका छन्। उनका अनुसार 'नालम'को अर्थ ज्ञानको प्रतीक कमलको फूल र 'दा' को अर्थ दिनु हो। जसकारण नालन्दाको अर्थ 'ज्ञान फैलाउने' भन्ने हुन्छ।

यसको ख्यातिका कारण भारतका मात्रै विद्यार्थी नभएर यसमा चीन, इन्डोनेशिया, जापान, कोरिया, पर्सिया, श्रीलङ्का, तिब्बत र टर्कीबाट पनि विद्यार्थीहरू आउने गरेका थिए।

नालन्दाको उत्कर्ष

जोर्जाका राजदूत समेत रहेका पुस्तकका लेखक अभयले नालन्दाको ख्याति उत्कर्षमा पुगेका समयमा यसमा १०,००० विद्यार्थीसम्म थिए। यहाँ बौद्धमार्ग मात्रै नभएर विश्वमा पढाइ हुने सबै विज्ञानको पढाइ हुन्थ्यो।

उत्कर्षको एक समयमा विश्वका २,००० जना प्रख्यात शिक्षकहरूबाट पूर्ण निःशुल्क शिक्षा दिइन्थ्यो।

तर यो भन्दा धेरै नालन्दा चिनिएको चाहिँ यसको विनाश हो। भारतमा हाबी रहेको ऐतिहासिक कथन अनुसार यो भव्य शैक्षिक केन्द्र मुहम्मद घोरीका जेनरल बख्तियार खिलजीले भत्काएका थिए।

तर केही इतिहासविद्हरूले यो कथनमा असहमति जनाएका छन्।

यो विषयमा प्रवेश गर्नुअघि यो कहिले भत्काइएको थियो भन्नेबारे चर्चा गरौँ।

बीबीसीसँग कुरा गर्दै अभय कुमारले यो संस्था तीन पटक क्षतिग्रस्त भएको र जम्मा दुई पटक मात्रै पुनर्निर्माण भएको बताए।

विनाशका तीन घटना

सबैभन्दा पहिले स्कन्दगुप्तको शासनकालमा मिहिराकुलाको नेतृत्वमा नालन्दाको विनाश भएको थियो। त्यसबेला यसको स्थापना भएको केही दशकमात्रै भएको थियो।

तर आक्रमण लगत्तै स्कन्दगुप्तका उत्तराधिकारी पुरागुप्त र नरसिंहगुप्तले यो विश्वविद्यालयको पुनर्निर्माण सुरु गरे। उनीहरूले त्यसअघि भन्दा ठूला ठूला भवनहरू बनाए र यसलाई अझै राम्रो पनि बनाए।

उनीहरूले यसलाई दीर्घकालसम्म धान्नसक्ने बनाउन पर्याप्त स्रोतसाधनले सम्पन्न बनाए। दोस्रो पटक त्यसको डेढ शताब्दीपछि यसको विनाश गरियो। सातौँ शताब्दीको आरम्भमा गौडा शासकहरूको आक्रमणमा यो दोस्रो पटक क्षतविक्षत भयो। यसपछि पनि हिन्दू राजा हर्षवर्द्धनले यसको पुनर्निर्माण गरेर यसका संरचनाहरूमा थप सुधार गरे।

त्यसबेला पनि यसको स्थापना भएको ८०० वर्षपछि एक विवादास्पद विनाश भयो। यसपटक गान्जीको आक्रमणपछि बख्तियार खिलजीले पनि यसमा आक्रमण गरे।

हामीले अभय कुमारलाई यसबारे गरेको प्रश्नमा उनले जेनरलहरूको आक्रमणमा संस्थाको विनाशसँग प्रत्यक्ष संलग्नता नदेखिए पनि उनको आक्रमणका कारण यो संस्थाको प्रणाली प्रभावित भएको बताए।

अभय आफैँ नालन्दाका स्थानीय हुन् र उनले दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययन गरे। उक्त विश्वविद्यालयमा रहेको नौ तल्ले पुस्तकालय भवनले उनलाई नालन्दामा रहेको भनिएको नौ तल्ले पुस्तकालयबारे स्मरण गराइरहन्थ्यो।

तर जवाहरलाल नेहरू विश्वविद्यालयबाट इतिहासमा एमफिल र विद्यावारिधि गरेकी रुचिका शर्मा आफ्नो भिडिओमा नालन्दाको विनाशबारे चर्चामा रहेका तीनवटै कारण सही नभएको बताउँछिन्।

उनले बख्तियार खिलजीको आक्रमणमा यो क्षतविक्षत भएको वा टर्कहरूले जलाइदिएको साँचो नभएको दाबी गरेकी छन्। उनले युट्युबमा राखेको २२ मिनटको भिडिओमा यसबारे वास्तविक ऐतिहासिक प्रमाणहरू पनि उल्लेख गरेकी छन्।

नालन्दाको परिकल्पना

अभय कुमारका अनुसार "नालन्दामा इशापूर्वको तेस्रो शताब्दीमा राजा अशोकले बौद्ध विहार स्थापना गरेका थिए।"

"मौर्यहरूको शासनकालमा शिष्यहरूलाई त्यहीँ राखेर शिक्षा दिने उद्देश्यले उक्त विहार बनाइएको थियो।"

उनका बुझाइमा आवासीय क्याम्पसको परिकल्पना यही समयमा भएको थियो। यो अवधारणा पछि मध्यपूर्व, अरब र युरोप हुँदै विश्वभरि फैलिएको उनको दाबी छ।

सूत्रहरू सार्ने र त्यसलाई विभिन्न भाषामा उल्था गर्ने नालन्दाको गज्जबको परम्पराले भाषा, साहित्य र संस्कृतिलाई एक शताब्दीहरूसँगै मजबुत बनाउँदै लग्यो। नालन्दाले पाण्डुलिपि लेखनको कला, नक्सा बनाउने, संरक्षण गर्ने र सार्ने अभ्यासको प्रवर्द्धनमा मुख्य भूमिका खेल्यो।"

यही तरिकाबाट पाण्डुलिपि लेख्ने, उतार्ने र संरक्षण गर्ने नालन्दाको संस्कृतिले विश्वभरि नै मौखिक परम्परालाई लिखित परम्पराको रूपमा विकास गर्‍यो।

उनले विश्वमा पहिलो पटक छापिएको 'द डाइमण्ड सुत्र' प्रज्ञापरमिता सुत्रकै एक अंश भएको उल्लेख गरेका छन्। यो सुत्र प्रख्यात विद्धान नागार्जुनले नालन्दामा लेखेका थिए। पवित्र शब्दहरू यान्त्रिक रूपमा घुम्ने धर्मचक्र पनि नालन्दामै विकास गरिएको थियो।

उनका अनुसार १४औँ शताब्दीमा नालन्दा महाविहार सञ्चालन रोकिए पनि यसको प्रतिष्ठा कायमै रह्यो। त्यसपछि पनि यही नाम राखेर शैक्षिक संस्था र मठहरू स्थापना गर्ने अभियान कायमै रह्यो।

अहिले फेरि नालन्दाको कथा दोहोरिने क्रममा छ र यसको पुनर्निर्माणले गति लिइरहेको छ।

स्रोतबारे बहस

तबाकत-ए-नासिरी बाहेक उनका सबै स्रोतहरू बाह्य हुन्।

उनका प्रारम्भिक स्रोतहरू किन विदेशी वा मध्ययुगीन समयमा भारतको भ्रमण गरेका मानिसहरू भन्ने हाम्रो जिज्ञासामा उनले भारतबाट केही शताब्दीभित्रै यसबारेको इतिहास हराएको र संस्थागत सङ्ग्रहमा पनि नरहेको बताए।

त्यहाँ कुनै पनि भग्नावशेष बाँकी नरहेको वा देखिने अवस्थामा नरहेको उनको भनाई छ। यद्यपि १९औँ शताब्दीको आरम्भमा बिहारको राजगिर जिल्लाका स्थानीयले त्यहाँ भेटिएको एउटा ढिस्कोमा हिन्दू र बौद्ध धर्मका विधानहरू रहेको जानकारी ब्रिटिश अधिकारीहरूलाई गराएका थिए।

त्यसपछि फ्रान्सिस बुकानन-ह्यामिल्टनले सन् १८११ र १२ मा यो क्षेत्रमा सर्वेक्षण गराए। उनले ती अवशेषहरू मध्ययुगीन समयका यात्रुहरूले आफ्नो अभिलेखमा उल्लेख गरेको नालन्दा विश्वविद्यालयकै भए नभएको यकिन गर्ने प्रयास गरेका थिए।

यद्यपि त्यसको एकसय वर्षपछि सन् १९१५ र १९१९मा भारतको पुरातत्त्व सर्वेक्षणको नेतृत्वमा कैयौँ चरणका उत्खननहरू भए। ती भग्नावशेषहरूले उक्त ऐतिहासिक विश्वविद्यालय त्यहाँ पुरिएको रहस्य उजागर गरेको थियो।

हामीले यसबारे रुचिका शर्मासँग पनि कुरा गर्‍यौँ। उनका अनुसार नालन्दा भारतमा बौद्ध धर्मसँगै कमजोर हुँदै गएको थियो। त्यही समयमा बौद्धधर्मसँग सम्बन्धित ओदान्तपुरी र विक्रमशिला जस्ता संस्था पनि उदय भएको उनको दाबी छ।

रुचिका शर्माले ११औँ शताब्दीमा भारत भ्रमण गरेका यात्रुले नालन्दाले आफ्नो भव्यता गुमाउँदै गरेको प्रसङ्ग लेखेको टेलिफोनमा बीबीसीसँग बताइन्।

आगजनीको प्रमाण

रुचिका शर्मा उत्खननहरूले धेरैवटा भवनहरूमा आगजनी भएका प्रमाणहरू फेला पारेको बताउँछिन्। तर त्यहाँ ब्राह्मणहरू वा टर्की अतिक्रमणकारी कसले आगजनी गर्‍यो अथवा दुर्घटनावश आफैँ आगो लाग्यो भन्ने प्रमाण नभेटिएको उनको दाबी छ। उनका अनुसार त्यहाँ भिक्षु शिष्यहरू बस्ने र पकाएर खाने गरेका कारण आगो सल्किएको हुनसक्ने सम्भावना पनि छ।

पुरातात्त्विक उत्खननहरूले यसको निर्माण कैयौँ चरणमा भएको खुलासा पनि गरेको छ। एक जना यात्रीले एक पटक भत्किएको भवन बालदित्य नामका व्यक्तिले पुनर्निर्माण गरेको कुरा लेखेका छन्।

भारतको संस्थागत अभिलेखबाट विश्वविद्यालयबारे सामग्री हराएकोबारे रुचिका सम्राट् अशोक बारे पनि २०औँ शताब्दीमा उनका शिलालेखहरू पढेर मात्रै थाहा भएको बताउँछिन्।

विश्वविद्यालय कुनै एउटा कारण मात्रै ध्वस्त नभएको र समय क्रममा त्यसका अवशेषहरू हराउँदै उनको बुझाई छ।

अभयले पनि यो विषय स्वीकार गरेका छन्। उनले खिलजीको शासनपछि पनि यसमा पढाइ हुने गरेको बताए।

उनका अनुसार १४औँ शताब्दीको मध्यबाट यो स्थानीय मानिसहरू र भारतीय संस्मरणबाट नामेट भएको थियो। नालन्दाको सम्मानमा तिब्बतमा स्थापना भएको नालन्दा विहारलाई अहिले तिब्बती नालन्दाको रूपमा चिन्ने गरिन्छ।

अभय र रुचिका दुवैले नालन्दाको विनाससँग बख्तियार खिलजीको प्रत्यक्ष सम्बन्ध नरहेको बताएका छन्।

रुचिकाका अनुसार मिनाज अल-सिराजद्वारा लेखिएको तबाकत-ए-नासिरीमा भने खिलजीको संलग्नताको दाबी गरेका छन्।

पुनर्निर्माण प्रयास

कुनै समय काजी रहेका मिनाजले मोहम्मद घोरीले विहारको किल्लामा आक्रमण गरेको र त्यसमा धेरै मानिसहरूको मृत्यु भएको उल्लेख गरेका छन्। उनका अनुसार त्यहाँ उनीहरूले कैयौँ पुस्तकहरू भेट्टाएका थिए।

अनुसन्धानका क्रममा उक्त स्थान विहार भनिने मदरसा वा कलेज भएको र त्यहाँ बौद्ध भिक्षुहरू बस्ने गरेको थाहा भएको थियो। त्यसमा नालन्दाबारे केही उल्लेख छैन।

त्यसमा उनले उक्त विहारलाई ओदान्त विहार भनेका छन्। जसलाई इतिहासकार जदुनाथ सकारले ओदान्तपुरीका रूपमा व्याख्या गरेका छन्।

यसले के देखाउँछ भने खिलजीले यसलाई किल्ला ठानेर आक्रमण गरेका थिए र उनलाई त्यो शैक्षिक संस्थान भन्ने थाहा थिएन।

उनका अनुसार अर्का इतिहासविद् डी आर पाटिलले पनि नालन्दाबारे एउटा महत्त्वपूर्ण पुस्तक लेखेका छन्। उनले नालन्दा खुम्चिँदै जानुमा ओदान्तपुरीको स्थापनालाई कारण मानेका छन्। बङ्गालको पाला वंशीय शासकहरूले त्यसको स्थापना गरेका थिए।

अभय कुमारले यसलाई हारुन अल रशिदले स्थापना गरेको प्रख्यात अनुसन्धान तथा शैक्षिक संस्था बेतल–हिक्मासँग जोडेका छन्। उनले अरब क्षेत्रमा मुस्लिम शासनको उदयसँगै त्यहाँ ज्ञानको संरक्षण सुरु भएपछि नालन्दाका विद्वानहरू त्यहाँ पुगेको उल्लेख गरेका छन्। परिणामस्वरूप गणित, खगोल विज्ञान र भारतीय कथाहरू अरबी भाषामा अनुवाद गरियो र यस मार्फत् तिनीहरू विश्वका अन्य भागहरूमा फैलिएको उनको दाबी छ।

भारतको स्वतन्त्रतासँगै यो संस्थाको पुनर्स्थापनाबारे छलफल भए पनि २१औँ शताब्दीमा भारतका राष्ट्रपति एपीजे अब्दुल कलामले मात्रै व्यवहारिक कदम चालेको अभय कुमारले उल्लेख गरेका छन्। कलामलाई विश्वभरिका बौद्धमार्गीहरूले पनि साथ दिएका थिए।

नोबल पुरस्कार विजेता प्रसिद्ध अर्थशास्त्री अमर्त्य सेनको नेतृत्वमा यो विश्वविद्यालयले सन् २०१४ देखि शैक्षिक अध्यापन सुरु गरेको छ। तर यसले कुनै कालमा बनाएको महत्त्वपूर्ण साख फर्काउनेमा अहिले आशङ्का गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।