खानेकुरा बिस्तारै खाँदा यस्तो फाइदा हुन सक्छ

    • Author, जुलिआ ग्रान्ची
    • Role, बीबीसी विश्व सेवा

धेरै मानिस आफूले कसरी खाएको छु भन्ने वास्तै नगरी आफ्नै सुरमा भोजन गर्छन्। तपाईँले पनि मोबाइल फोन चलाउँदै वा टीभी हेर्दै त्यसरी खाना खाने गर्नुभएको हुन सक्छ।

तर विज्ञानले भन्छ - तपाईँले ध्यान दिएर बिस्तारै खानुभयो भने त्यसले तपाईँको स्वास्थ्यमा वास्तवमै परिवर्तन ल्याउन सक्छ।

हामीले खाना खाने गतिले हाम्रो जीवन, पाचन, सन्तुष्टि र तौल व्यवस्थापनदेखि समग्र स्वास्थ्यस्थितिलाई प्रभावित पार्छ।

पाचन

ब्रजिलको यूनिभर्सिटी अफ साओ पाउलोमा कार्यरत पोषणविद् लिभिआ हासेगावा भन्छिन्, "खानेकुरालाई चपाउँदा खाना ससाना टुक्रा बन्छन् र त्यसले खाना पचाउन सहयोग गर्छ। म प्राय: मेरा आमाबुवाले 'पेटको दाँत हुँदैन' भनेर दिने गरेको उपमा सम्झन्छु।"

"धेरै मात्रामा पेटमा खानेकुरा पुग्यो भने पाचन प्रक्रिया सुस्त हुन्छ र त्यसको प्रभावकारितामा कमी आउँछ।"

"त्यसका अतिरिक्त खाना चपाउँदा त्यसले र्‍यालमा पाचनक्रियाका लागि आवश्यक एन्जाइमहरू उत्पादनका लागि सहयोग गर्छ र पोषक तत्त्व सोस्ने क्रियालाई पनि सुधार गर्छ।"

यदि हामीले राम्ररी नचपाईकन खाना खायौँ भने पेटले धेरै परिश्रम गर्नुपर्छ। त्यसले गर्दा पेट फुल्ने र पचाउने क्रिया निष्क्रिय हुने सम्भावना बढ्छ।

"त्यसैले गर्दा खाना खाएपछि घण्टौँसम्म केही मानिसहरूले पेट फुलेको र खाना नपचेको महसुस गर्छन्," उनले भनिन्।

खाना निल्नुअघि कति पटक चपाउनुपर्छ भन्ने कुनै निश्चित सूत्र छैन।

विज्ञहरू सङ्ख्या गन्नुको साटो खाना निल्नुअघि त्यो उपयुक्त प्रकारले गिलो भएको र निल्न सहज भएको निर्क्योल गर्नुपर्ने सुझाव दिन्छन्।

"त्यसका अतिरिक्त खाना खाने बेलामा टीभी हेर्ने, फोन चलाउने वा धेरै कुराकानी गर्ने जस्ता गतिविधि गर्दै ध्यान अन्यत्र मोड्दा त्यसले नकारात्मक असर पार्न सक्छ। त्यस्ता गतिविधिले थाहै नपाई हामीले धेरै छिटो खाना खान्छौँ र त्योसँगै धेरै वायु पनि भित्र जान्छ। त्यसले गर्दा पेट फुल्ने अवस्था बन्छ।"

अतितृप्ति र तौलवृद्धि

पाचनमा पर्ने प्रभावसँगै खाना कति चपाइन्छ भन्ने कुरा शरीरको तौलवृद्धिसँग पनि जोडिएको छ।

"धेरै छिटो खाँदा तीव्र गतिमा ऊर्जा प्राप्त हुने अवस्था बन्छ। त्यसले एक मिनटमा खर्च हुने क्यालोरीको मात्रा पनि धेरै हुन्छ। अनुसन्धानहरूले त्यसरी तीव्र रूपमा ऊर्जा प्राप्त हुने अवस्थाले हामी अधिक खान्छौँ भन्ने देखाएका छन्," न्यूयोर्कस्थित कोर्नेल यूनिभर्सिटीको डिभिजन अफ न्यूट्रिशनल साइन्स एन्ड द श्लाइफर फ्यामलीका प्राध्यापक स्यान्डर केर्स्टन भन्छन्।

उनका अनुसार बिस्तारै खाँदा खाना मुखमा रहने समय अधिक हुन्छ। त्यसले पाचनसम्बन्धी प्रारम्भिक प्रतिक्रिया र होर्मोन निष्कासन प्रक्रियालाई वृद्धि गर्छ।

उनले भने, "अघाएको महसुस गराउने होर्मोन निष्कासन गर्न लागि मस्तिष्कलाई केही समय लाग्छ। त्यसैले तीव्र गतिमा खाना खाने व्यक्तिले आफूलाई आवश्यक पर्नेभन्दा धेरै खानेकुरा खपत गर्छन् किनभने उनीहरूको शरीरले अघाएको जानकारी दिने सूचना मस्तिष्कसम्म पुर्‍याउनै समय लाग्छ।"

त्यसको नतिजा भनेको अतिरिक्त क्यालोरी उत्पन्न हुनु हो र अन्तत: त्यो शरीरमा थुप्रिने बोसो बन्छ।

स्वास्थ्यमा दीर्घकालीन समस्या

छिटोछिटो खाँदा अमिलो पानी आउने र 'ग्यास्ट्राइटिस'जस्ता पाचनसम्बन्धी समस्याहरूलाई थप बल्झाउन सक्छ।

अमिलो पानी आउने सम्भावना भएका व्यक्तिहरूले छिटोछिटो खानेकुरा खाए भने उनीहरूमा देखिने त्यस्तो लक्षण अझ बढ्ने देखिएको छ।

"अर्को महत्त्वपूर्ण विषय भनेको पेटको 'माइक्रोबायोटा'मा हुने असर पनि हो। पेटमा व्यापक मात्रामा खानेकुरा पुग्दा पेटमा हुने ब्याक्टेरियाको सन्तुलनलाई बिग्रिन्छ र सम्पूर्ण पाचन प्रणालीलाई नै असर पुग्छ," हासेगावा भन्छिन्।

उनी अन्य अस्वस्थकर बानीसँगै छिटोछिटो खाना खाँदा विभिन्न स्वास्थ्य समस्याहरू उत्पन्न हुन सक्ने बताउँछिन्।

त्यस्ता स्वास्थ्य समस्याहरूमा मोटोपन, टाइप टू मधुमेह, कलेजोमा बोसो जम्ने समस्या, मुटुरोग, उच्च रक्तचाप, केही प्रकारका क्यान्सर आदि पर्छन्।

खाना कसरी बिस्तारै खाने

हासेवागा खाने क्रियाको गति कम गर्न हरेक गाँसको बीचमा आफ्ना काँटाचम्चा केही समय प्लेटमा राख्ने गर्दा खाना खाने गति घटाउन सकिने सुझाउँछिन्। हातैले खाना खाने व्यक्तिहरूले पनि केही समय हात बिसाउँदा उपयुक्त हुन्छ।

"तपाईँ लगातार काँटाचम्चा समातिराख्ने काम नगर्नुहोस्। त्यसो गर्दा खाना मज्जाले पेटसम्म नपुग्दै तपाईँ लगातार खाइरहेको हुन सक्नुहुन्छ," उनी भन्छिन्।

उनी एक गाँस खाएपछि काँटाचम्चा प्लेटमा राख्ने अनि फेरि बिस्तारै उठाएर खाने गर्दा त्यसले चपाउने थप समय पाइने बताउँछिन्। उनी खानेकुरालाई एकदमै नरम र गिलो नबन्दासम्म चपाउन सुझाव दिन्छिन्।

उनी भन्छिन्, "खानेकुरा गिलो बन्दा तपाईँलाई मज्जाले चपाउनुभएको छ भन्ने सङ्केत मिल्छ भने तपाईँको खाना खाने गति पनि कम हुन्छ।"

उनका अनुसार खाना खाने बेलामा अन्य गतिवधि गर्दा त्यसले पनि खानाको गति बढाउने भएकाले त्यस्ता गतिविधि गर्नु हुँदैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।