आईपीएल यसपालि कति फरक, कसरी हुन्छन् फाइनलसम्मका खेल

तस्बिर स्रोत, BCCI/IPL
टी२० क्रिकेटमा सबैभन्दा ठूलो प्रतियोगिता मानिने इन्डियन प्रेमिअर लीग (आईपीएल) को सत्रौँ संस्करण शुक्रवार सुरु हुन लागेको छ।
यो खेलमा विभिन्न देशका क्रिकेट हस्तीहरू सहभागी हुने छन्। तर इङ्ग्ल्यान्डका केही ठूला खेलाडीहरू भने अनुपस्थित हुने छन्।
आईपीएल २०२४ मा कुनै नेपाली खेलाडीले पनि खेल्ने अवसर पाएका छैनन्।
आईपीएल कहिले सुरु हुन्छ?
आईपीएलको पहिलो खेल शुक्रवार साँझ हुने छ।
प्रतियोगिताको पहिलो खेलमा साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स ब्याङ्लोर भारतीय समयानुसार साँझ ८ बजे भिड्ने छन्।
उद्घाटन खेलमा महेन्द्र सिंह धोनी र विराट कोहलीका टोलीबीच रोचक भिडन्त हुने अनुमान गरिएको छ।
यद्यपि प्रतियोगिताको पूर्वसन्ध्यामा धोनीले चेन्नईको कप्तानी छोड्ने घोषणा गरेका छन्।

तस्बिर स्रोत, MICHAEL STEELE-ICC/ICC VIA GETTY IMAGES
आईपीएल २०२४ को तालिका कस्तो छ? फाइनल खेल कहिले हुन्छ?
भारतमा लोकसभाको निर्वाचनको मुखमा आईपीएल सुरु हुन लागेको छ। विभिन्न स्थानमा एप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन हुने छ।
आईपीएलमा सुरुका दुई सातामा हुने खेलहरूको तालिका बनिसकेको छ। तर प्रतियोगिताको पूर्ण तालिका सार्वजनिक हुन बाँकी छ।
भारतीय क्रिकेट बोर्ड बीसीसीआईले बाँकी खेलको तालिका बिस्तारै घोषणा गर्ने जानकारी दिएको छ।
फाइनलको मिति पनि तोकिन बाँकी छ। तर मे महिनाको अन्तिम सप्ताहान्तमा हुने प्रबल सम्भावना छ।
आईपीएल २०२४ कसरी खेलिन्छ?

यो प्रतियोगितामा कुल १० वटा टोली सहभागी हुने छन्। तिनलाई दुई समूहमा बाँडिएको छ।
प्रत्येक समूहमा पाँच-पाँचवटा टोली छन्। प्रत्येक टोलीले पहिलो चरणमा कुल १४ वटा खेल खेल्ने छन्। आफ्नो समूहका टोलीसँग एक पटक र अर्को समूहका टोलीहरूसँग 'होम एन्ड अवे' को प्रचलन पछ्याउँदै दुई पटक खेल हुने छ।
ती खेलको नतिजाका आधारमा नयाँ अङ्कतालिका बन्ने छ।
पहिलो र दोस्रो स्थानमा रहेका टोलीबीच हुने प्लेअफ खेलमा जित्ने टोली सोझै फाइलनमा पुग्ने छ।
त्यसपछि तेस्रो र चौथो भएका टोलीबीच अर्को खेल हुने छ। त्यसमा जित्ने टोली र पहिलो प्लेअफमा पराजित टोलीबीच अर्को खेल हुने छ।
उक्त खेलमा विजयी हुने टोलीले पनि फाइनलमा प्रवेश पाउने छ।

तस्बिर स्रोत, ANI
के आईपीएल २०२४ मा नयाँ नियम छ?
आईपीएल २०२४ मा एउटा नयाँ नियम छ। यसपालि बलरले प्रत्येक ओभरमा दुइटासम्म बाउन्सर प्रहार गर्न पाउने छन्। यसअघि एउटा बाउन्सर मात्र प्रहार गर्न पाउने अनुमति थियो।
टस गरिसकेपछि खेलमा सहभागी हुने खेलाडीहरूको नाम छान्न पाउने चलनलाई यसपालि पनि निरन्तरता दिइएको छ। त्यसमा पाँच वैकल्पिक खेलाडीको नाम पनि पर्छ।
वैकल्पिक खेलाडीमध्ये एक जनालाई मैदानमा पठाउने सुविधा दिने 'इम्प्याक्ट प्लेअर' को नियम गत वर्षदेखि लागु भएको हो। यो नियमलाई यसपालि पनि राखिएको छ। टोलीले सुरुमै मैदानमा चार विदेशी खेलाडी पठाइसकेको छ भने यो नियमानुसार वैकल्पिक खेलाडी भारतीय नै हुनुपर्छ।
यसपालि पनि वाइड र नो-बलको अपील र रिभ्यू गर्न पाइन्छ।

तस्बिर स्रोत, BCCI/IPL
इङ्ग्ल्यान्डका कुनकुन खेलाडी छन्?
यसपालि आईपीएलका क्लबहरूले इङ्ग्ल्यान्डका १३ खेलाडीलाई राखेका छन्। तीमध्ये विकेटकीपर टम कोहलर-क्याडमोर पहिलो पटक आईपीएलमा खेल्न लागेका हुन्। गत वर्ष टोलीमा परेर पनि विल ज्याक्सले खेल्न पाएका थिएनन्। यसपालि उनले अवसर पाउन सक्छन्।
अस्ट्रेलियाका जेसन बेहरन्ड्रफ घाइते भएपछि मुम्बई इन्डियन्सले उनको स्थानमा इङ्ग्ल्यान्डका अर्का खेलाडी लूक वुडलाई टोलीमा राखेको छ।
हजुरआमाको मृत्यु भएकाले ब्याटर ह्यारी ब्रुकले प्रतियोगिता परित्याग गरेका छन्। बलरद्वय मार्क वुड र गस एट्किन्सन अनि ब्याटर जेसन रोयले पनि आफ्नो कार्यव्यस्तताका कारण आईपीएलमा सहभागी नहुने निर्णय लिएका छन्।
टेस्ट कप्तान बेन स्टोक्स र ब्याटर जो रूट आईपीएलको अक्शनमै सहभागी भएका थिएनन्।
अरू कस्तो परिवर्तन?
हार्दिक पान्ड्या मुम्बई इन्डियन्समा फर्किएका छन्। रोहित शर्माको साटो उनले टोलीको नेतृत्व गर्ने छन्।
धोनीको साटो ऋतुराज गायकवाडले चेन्नई सुपर किङ्सको कप्तानी गर्ने छन्।
अस्ट्रेलियाका बायाँहाते सीमर मिचल स्टार्क कोलकाता नाइट राइडर्समा सहभागी भएका छन्। त्यसका लागि उनले २३ लाख पाउन्ड पारिश्रमिक लिने सहमति गरेका छन्।
अस्ट्रेलियाका अर्का खेलाडी प्याट कमिन्सले सनराइजर्स हैदराबादको नेतृत्व गर्ने छन्।

तस्बिर स्रोत, ANI
भारतका विकेटकीपर ऋषभ पन्तले यसपालि खेल्ने सम्भावना छ। उनी दिल्ली क्यापिटल्सका कप्तान हुन्। सन् २०२२ मा कार दुर्घटनामा परेपछि उनी आईपीएलको मैदानमा देखा परेका छैनन्।
न्यूजील्यान्डका अल-राउन्डर रचिन रवीन्द्र गत वर्ष आयोजित विश्वकप क्रिकेटपछि पहिलो पटक खेल्न लागेका छन्। उनले ५० ओभरको विश्वकपमा प्रभावशाली प्रदर्शन गरेका थिए। उनी चेन्नई सुपर किङ्समा छन्।
तर मुम्बई इन्डियन्समा आबद्ध श्रीलङ्काका सीमर दिलशान मधुशङ्कले घाइते भएपछि प्रतियोगिता गुमाउने भएका छन्।
मुम्बई र चेन्नई दुवैले पाँच-पाँच पटक आईपीएलको उपाधि जितेका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।








