लेबननमा शान्ति सेनामाथि गोली नचलाउन इजरेललाई अमेरिकाको आग्रह

राष्ट्रसङ्घीय शान्ति सेना

तस्बिर स्रोत, Getty Images

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडनले लेबननमा हिज्बुल्लाहसँग जारी द्वन्द्वका क्रममा संयुक्त राष्ट्रसङ्घका शान्ति सेनामाथि गोली चलाउने काम बन्द गर्न इजरेललाई आफूले “पूर्ण रूपमा, सकारात्मक ढङ्गले” आग्रह गरिरहेको बताएका छन्।

विगत २४ घण्टाको अवधिमा शान्ति सेनामाथि इजरेली फौजले गोली चलाएका दुईवटा घटना सार्वजनिक भएपछि बाइडनले पछिल्लो अनुरोध गरेका हुन्।

इजरेल डिफेन्स फोर्सेस (आईडीएफ) ले घटनाका लागि आफ्ना फौजहरू जिम्मेदार रहेका शुक्रवार स्वीकार गरेको छ।

उक्त घटनामा यूएन इन्टेरिम फोर्स इन लेबनन (युनिफिल) अन्तर्गत खटिएका दुईजना श्रीलङ्काली सैनिक घाइते भएका छन्।

आईडीएफ के भन्छ?

लेबननको नाकुरास्थित युनिफिलको आधार क्षेत्र आसपास कारबाहीका क्रममा खतरा महसुस गरिएपछि गोली चलाइएको आईडीएफले दाबी गरेको छ।

सो घटनाबारे “निकै उच्चस्तर”मा छानबिन गरिने इजरेली सेनाले जनाएको छ।

त्यसअघि बिहीवार इजरेली ट्याङ्कबाट गरिएको गोलाबारीबाट युनिफिलका दुईजना इन्डोनेशियाली सैनिक घाइते भएका थिए।

फ्रान्स, इटली र स्पेनका नेताहरूले एउटा संयुक्त वक्तव्य जारी गर्दै इजरेली कार्यको निन्दा गरेका छन्।

त्यस्ता कार्य अक्षम्य भएको र यथाशीघ्र बन्द हुनुपर्ने उनीहरूले उल्लेख गरेका छन्।

श्रीलङ्काको विदेश मन्त्रालयले आफ्नो देशका दुईजना सैनिकलाई घाइते बनाउने गरी आईडीएफले गरेको आक्रमणको “चर्को निन्दा” गरेको छ।

युनिफिल

तस्बिर स्रोत, EPA

संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाका प्रमुखले दक्षिणी लेबननस्थित राष्ट्रसङ्घका केही आधार क्षेत्रतर्फ सीधै गोली चलाउने गरिएका कुरामा विश्वास गर्ने कारण रहेको बताएका छन्।

यद्यपि त्यस्ता घटनाका लागि को जिम्मेदार छन् भन्नेबारे उनले केही उल्लेख गरेनन्।

इजरेलले दक्षिणी लेबननमा अतिक्रमण गरिरहँदा आईडीएफ र लेबननको सशस्त्र समूह हिज्बुल्लाहले सीमावर्ती क्षेत्रमा क्षेप्यास्त्र एवं रकेट हमला जारी राखेका छन्।

हिज्बुल्लाहले गरेका रकेट हमलाको जवाफमा भन्दै इजरेली फौजहरूले गत महिनाबाट दक्षिणी लेबननमा स्थलगत आक्रमण गरिरहेका छन्।

हमासले गाजा स्ट्रिपमा गत वर्षको अक्टोबर ७ मा घातक हमला गरेयता हिज्बुल्लाह र इजलेलले एकअर्कातर्फ सीमावारपार हमला गर्दै आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।