भारतमा बादल फाटेर एक्कासि आएको बाढीका कारण कैयौँ बेपत्ता

भारतको उत्तराखण्ड राज्यमा अचानक आएको बाढीबाट प्रभावित एउटा गाउँमा उद्धार कार्य जारी छ। उक्त घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौँ हराइरहेको विवरणहरू आएका छन्।

भिडिओ फुटेजहरूमा उत्तरकाशी जिल्लामा पहाडी क्षेत्रबाट पानी र लेदोको तीव्र धार आइरहेको र भवनहरू बगाइरहेको देखिएको छ।

उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीले युद्धस्तरमा उद्धार तथा खोजी कार्य भइरहेको बताएका छन्।

पहाडी क्षेत्रमा आकस्मिक बाढी र भूस्खलनका घटनाहरू अधिक देखिन थालेका छन्। कतिपय विज्ञहरूले जलवायु परिवर्तनका कारण यस्ता घटना भइरहेको बताएका छन्।

धरालीका स्थानीय बासिन्दाहरूले विनाशको मात्रा ठूलो भएको र यसले ठूलो जनधनको क्षति पुर्‍याएको दाबी गरेका छन्।

मुख्यमन्त्री पुष्कर सिंह धामीले ट्विटरमा पोस्ट गर्दै यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले आफू वरिष्ठ अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको र परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका छन्।

प्रत्यक्षदर्शीले के भने?

समाचार एजेन्सी एएनआईसँग बोल्दै मुख्यमन्त्री धामीले भने, "बादल फाटेको विवरण आएको छ। पानी र लेदो तीव्र गतिमा आएको छ। हाम्रो प्रयास सकेसम्म चाँडो राहत र उद्धार कार्य गर्नेमा छ। जिल्ला प्रशासनका अधिकारीहरू घटनास्थलमा पुगिरहेका छन्।"

धराली गाउँकी बासिन्दा आस्था पवारले बीबीसी संवाददाता विकास त्रिवेदीसँग उक्त भयानक घटनाबारे बताएकी छन्।

"अहिले म धरालीमा छु। मेरो घर सडकबाट अलि टाढा छ, त्यसैले यहाँबाट तल कति क्षति भएको भन्ने सबै देखिन्छ," उनले भनिन्।

"मैले मेरो आँखैअगाडि धेरै होटेलहरू बगाएको देखेँ। सबै कुरा एकैचोटि बगाएको होइन। सुरुमा आएको भेल धेरै बलियो र भयानक थियो। तपाईँले ती भिडिओहरू हेर्नुभएको हुनुपर्छ। त्यसपछि पनि, प्रत्येक १०-१५ वा २० मिनेटमा भेलहरू आइरहे। साना भेलहरू आइरहेका छन् र तिनीहरूले होटेलहरूलाई पनि आफूसँगै बगाएर लगिरहेका छन्।"

सरकारले कुनै चेतावनी दिएको थियो?

आस्थाका अनुसार त्यसबारे उनलाई केही जानकारी छैन।

"हामीलाई कुनै चेतावनी पनि दिइएको थिएन। आज बच्चाहरू पनि बिदामा थिएनन्। कसैलाई पनि थाहा थिएन कि यति ठूलो दुर्घटना हुन लागेको छ। यो घटना दिउँसो भएको हो। हामी छतमा गयौँ, त्यहाँबाट सबै कुरा स्पष्ट देखिन्थ्यो। मानौँ केही बाँकी नै रहेन," उनले भनिन्।

त्यतिबेला गाउँका धेरैजसो मानिसहरू स्थानीय पूजामा भाग लिन तयारीमा रहेको उनले बताइन्।

"अगस्ट ४ तारिखको राति र अगस्ट ५(आज) बिहान पूजा थियो। धन्न यो दुर्घटना अगस्ट ४ को राति भएन जब सबैजना गाउँमा भएको पूजामा थिए," उनले भनिन्।

"यदि कुनै चेतावनी भएको भए हामी पूजामा जाने थिएनौँ। यदि कतै अलर्ट जारी गरिएको भए यो हामीसम्म आइपुगेको थिएन।"

प्रधानमन्त्री र गृहमन्त्रीद्वारा दुख व्यक्त

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डमा भएको प्राकृतिक प्रकोपप्रति दुःख व्यक्त गरेका छन्।

उनले एक्समा पोस्ट गर्दै लेखेका छन्, "उत्तरकाशीको धरालीमा भएको यो विपत्तिबाट प्रभावित मानिसहरूप्रति म समवेदना व्यक्त गर्दछु। मैले मुख्यमन्त्री पुष्कर धामीजीसँग कुरा गरेर स्थितिको बारेमा जानकारी लिएको छु। राहत र उद्धार टोलीहरूले राज्य सरकारको निगरानीमा हरसम्भव प्रयास गरिरहेका छन्। मानिसहरूलाई सहयोग पुर्‍याउन कुनै कसर बाँकी राखिने छैन।"

यसअघि गृहमन्त्री अमित शाहले अर्धसैन्य बल इन्डो-तिब्बती सीमा प्रहरी (आइटीबीपी) को तीनवटा टोली प्रभावित क्षेत्रमा पठाइएको बताएका थिए। उक्त अर्धसैन्य बलको क्याम्प पनि यस क्षेत्र नजिकै पर्छ।

साथै चारवटा एनडीआरएफ टोली पनि घटनास्थलमा पठाइएको बताइएको छ।

यसअघि उत्तरकाशीका वरिष्ठ अधिकारी प्रशान्त आर्यले बाढी आएको क्षेत्रमा 'कनेक्टिभिटी' कम भएका कारण सञ्चार अनियमित भएको बताएका थिए।

"धेरै रेस्टुरेन्ट र होटेलहरू भएको क्षेत्र हुनाले हामीले घटनास्थलमा उद्धार टोलीहरू पठाएका छौँ," उनले भने।

हर्सिलबाट दुई किलोमिटरको दूरीमा रहेको धराली पर्यटकीय गन्तव्यमा पर्छ। यो क्षेत्रमा भारतीय सेनाको अड्डा पनि छ।

उक्त क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकोले उद्धार कार्य ढिलो हुने अनुमान गरिएको छ।

केही घाइतेहरूको हर्सिलस्थित सैनिक शिविरमा उपचार भइरहेको विवरणहरू आएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।