युक्रेन युद्ध कसले थाल्यो? ट्रम्पले गरेका दाबीको तथ्य परीक्षण

    • Author, म्याट मर्फी र जेक हर्टन
    • Role, बीबीसी भेरिफाई

फ्लोरिडामा अवस्थित आफ्नो मार-अ-लागो निवासबाट अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विभिन्न दाबीमा उनले रुससँग जारी युद्धका लागि युक्रेन नै जिम्मेवार भएको आरोप लगाएको देखियो।

पत्रकारहरूसँग बोल्दै ट्रम्पले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको लोकप्रियताबारे पनि टिप्पणी गरे। युक्रेनमा 'मार्शल ल' वा सैन्य शासन लागु भएकाले निर्धारित निर्वाचन नभएको उनले बताए।

ट्रम्पका टिप्पणीहरू – जसमध्ये केहीले युद्धबारे रुसी धारणा प्रतिबिम्बित गर्छन् – अमेरिकी अधिकारीहरूले साउदी अरबको रियादमा रुसी प्रतिनिधिमण्डलसँग छलफल गरेको केही घण्टामै आएका थिए।

त्यो छलफल तीन वर्षदेखि जारी द्वन्द्वको अन्त्य गर्न आयोजन गरिएको हो।

लगत्तै जेलेन्स्कीले ट्रम्प 'रुसद्वारा सिर्जित दुष्प्रचार'बाट प्रभावित भएको आरोप लगाए।

बीबीसी भेरिफाईले यो मामिलाको तथ्यजाँच गरेको छ।

दाबी: '(युक्रेनले) यो (युद्ध) सुरु गर्नै हुँदैनथ्यो'

मङ्गलवार रियादमा भएको वार्तामा आफूलाई सहभागी नगराइएकोमा युक्रेनका अधिकारीहरूले असन्तुष्टि व्यक्त गरे। तर ट्रम्पले ती असन्तुष्टिका अभिव्यक्ति पन्छाइदिए। उनले युद्ध अन्त्य गर्न युक्रेनसँग तीन वर्ष रहेको भन्दै लडाइँ सुरु गर्ने दोष किएभमाथि लगाएको देखियो।

"(युक्रेनले) यो (युद्ध) सुरु गर्नै हुँदनथ्यो," उनले भने। क्रेम्लिनले पनि यसअघि युक्रेनले युद्ध थालेको आरोप लगाएको थियो।

"यो युद्ध सन् २०१४ मा उनीहरूले सुरु गरेका हुन्। हाम्रो लक्ष्य यो युद्ध अन्त्य गर्ने हो। हामीले सन् २०२२ मा यो युद्ध सुरु गरेको होइन," सन् २०१४ को फेब्रुअरीमा अमेरिकी टक शो सञ्चालक टकर कार्ल्सनसँगको अन्तर्वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका थिए।

युक्रेनले युद्ध सुरु गरेको होइन। बरु रुसले सन् २०१४ मा युक्रेनको क्राइमिया गाभेको अनि सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा अतिक्रमण गरेको हो।

जनआन्दोलनमार्फत् युक्रेनका रुसबाट समर्थनप्राप्त राष्ट्रपतिलाई सत्ताच्युत गरिएपछि मस्कोले क्राइमिया आफूमा गाभेको थियो।

साथै युक्रेनका पूर्वी भागमा कब्जा जमाएका उसका छद्म फौजलाई पनि मस्कोले सघाएको थियो।

किएभको नयाँ सरकारमाथि उसले भेदभाव अनि रुसी भाषीविरुद्ध नरसंहार मच्चाएको आरोप पनि लगाएको थियो। अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)ले मस्कोका दाबी अस्वीकार गरिसकेको छ।

सन् २०१४ पछिका द्वन्द्व अन्त्य गर्न लक्षित सहमतिहरूको पालना नभएपछि रुसले सन् २०२१ को अन्त्यतिर देखि नै युक्रेनी सीमामा आफ्नो सेना परिचालन गरेको थियो।

सन् २०२२ को फेब्रुअरी २४ मा पुटिनले अतिक्रमण गरे। उनले सैन्य कारबाहीको उद्देश्य भोलोदिमिर जेलेन्स्की नेतृत्वको पश्चिमा देशहरूले समर्थन गरेको सरकारको "असैनिकीकरण र नाजीकरणबाट मुक्त' गर्नुका साथै उक्त देशलाई नेटोको सदस्य बन्नबाट रोक्नु रहेको बताएका थिए।

युक्रेनमा भएको पछिल्लो संसदीय चुनावमा अति दक्षिणपन्थी उम्मेदवारहरूले केवल २% मात्र समर्थन पाएका थिए। अर्को उल्लेखनीय कुरा के हो भने जेलेन्स्की स्वयं यहुदी हुन् अनि उनको दललाई मध्यमार्गी मानिन्छ।

अनि नेटो अधिकारीहरूले सन् २०२१ मा युक्रेन भविष्यमा उक्त पश्चिमा गठबन्धनको सदस्य हुन योग्य रहेको बताए पनि त्यसबारे कुनै औपचारिक प्रक्रिया थालिएको थिएन।

दाबी: 'मलाई भन्न त मन थिएन तर उनको लोकप्रियता ४% मा झरेको छ'

राष्ट्रपति ट्रम्पले जेलेन्स्कीको लोकप्रियता रेटिङ ४% मा झरेको दाबी गरेका छन्।

उनले कुन स्रोत उद्धृत गरेका हुन् भन्ने स्पष्ट छैन किनकि उनले कुनै प्रमाण दिएका छैनन्। हामीले ह्वाइट हाउसलाई यो विषय स्पष्ट पारिदिन आग्रह गरेका छौँ।

युक्रेनस्थित किएभ इन्टर्न्याशनल इन्स्टिट्यूट अफ सोसिओलजीका अनुसार यसै महिना गरिएको एक सर्वेक्षणमा ५७% युक्रेनीहरूले राष्ट्रपतिप्रति विश्वास रहेको जनाएका छन्।

सन् २०२३ को अन्त्यमा त्यो आँकडा ७७% अनि सन् २०२२ को मेमा ९०% रहेको थियो। त्यसले राष्ट्रपतिको लोकप्रियतामा ह्रास आएको देखाउँछ।

अन्य सर्वेक्षणहरूमा भविष्यमा हुने कुनै निर्वाचनको प्रथम चरणमा जेलेन्स्कीभन्दा पूर्वसेनापति भ्यालरी जलुज्नी रहने देखाएका थिए – अर्थात् दोस्रो चरणमा यिनै दुई जनाबीच प्रतिस्पर्धा हुने छ।

युद्धका समयमा आधिकारिक सर्वेक्षण गर्न भने निकै कठिन हुन्छ। दशौँ लाख युक्रेनीहरू भागेका छन् अनि देशको २०% भूभाग रुसले कब्जा गरेको छ।

ट्रम्पका टिप्पणीहरूका माझ केही मुख्य रुसी सञ्चारमाध्यमहरूले ती दाबीको चर्चा गर्दै जेलेन्स्कीका आलोचक एक युक्रेनी सांसद ओलेक्सान्डर दुबिन्स्कीले गराएको र टेलिग्राममा राखिएको सर्वेक्षण उद्धृत गरेका छन्।

उक्त सर्वेक्षणले ट्रम्पको टिप्पणी पुष्टि गर्ने ती सञ्चारमाध्यमको दाबी छ।

दुबिन्स्कीलाई युक्रेनमा देशद्रोहको अभियोग लगाइएको छ र रुसी गुप्तचर निकायको निर्देशनमा काम गरेको आरोप लगाइएको छ।

यद्यपि उनले त्यस्तो आरोपको खण्डन गर्दै आएका छन्।

दाबी: 'परिस्थिति यस्तो छ कि युक्रेनमा निर्वाचन भएको छैन र त्यहाँ सैन्य कानुन लागु गरिएको छ'

सन् २०१९ यता युक्रेनमा राष्ट्रपतिय निर्वाचन नभएको अवस्थातर्फ पनि ट्रम्पले ध्यान तानेका छन्। उक्त निर्वाचनमा राजनीतिक आधार नभएका पूर्व हास्यकलाकार जेलेन्स्की विजयी भए।

उनको पहिलो पाँचवर्षे कार्यकाल सन् २०२४ को मे महिनामा सकिँदै थियो। तर रुसले अतिक्रमण गरेपछि युक्रेनमा 'मार्शल ल' वा सैन्य शासन लागु गरिएको छ। त्यसबाट निर्वाचन स्थगित भएको छ।

युक्रेनमा सैन्य शासनसम्बन्धी कानुन सन् २०१५ मा मस्यौदा गरिएको थियो – रुसले क्राइमिया गाभेलगत्तै अनि जेलेन्स्की र उनको 'सर्भन्ट अफ द पीपल' पार्टी शक्तिमा आउनुभन्दा वर्षौँअघि।

नोभेम्बरमा युक्रेनी संसद्‌मा रहेका सबै दलहरूले युद्ध अन्त्य नभएसम्मका निम्ति निर्वाचन पर सार्न सहमति जनाए। अनि एउटा सर्वेक्षणले युक्रेनीहरूमाझ यो अडानले समर्थन पाएको देखाएको छ।

इन्टर्न्याशनल रिपब्लिकन इन्स्टिट्यूटले सेप्टेम्बर र अक्टोबरमा गराएको सर्वेक्षणमा करिब ६०% मानिसहरूले युद्धकालमा जेलेन्स्कीलाई विस्थापित गर्ने निर्वाचन आयोजनाको विरोध गरेको जनाइएको थियो।

जेलेन्स्कीले युद्ध समाप्त हुनासाथ नयाँ निर्वाचन गर्ने वाचा गरेका छन्। उनले आफू उम्मेदवार हुने वा नहुनेबारे स्पष्ट पारेका छैनन्।

कतिपय विज्ञहरूले युक्रेनमा युद्ध नसकिँदै निर्वाचन गर्न व्यावहारिक रूपमा असम्भव रहेको बताएका छन्। किनभने कैयौँ सहरमा निरन्तर रुसी हमला भइरहेको छ अनि दशौँ लाख नागरिक विदेशमा विस्थापित भएका छन् वा रुसको कब्जामा परेर बस्नुपरेको छ।

क्रेम्लिनले जेलेन्स्कीको वैधानिकताबारे प्रश्न उठाएको केही घण्टापछि ट्रम्पले यो विषयको चर्चा गरे। मस्कोले विगत महिनाहरूमा बारम्बार यो दाबी गर्दै आएको थियो। ज्यानुअरी २८ मा पुटिनले रुसी सञ्चारमाध्यमलाई दिएको एउटा अन्तर्वार्तामा जेलेन्स्कीलाई "अवैध" भनेका थिए।

त्यहाँको निर्वाचन परिस्थितितर्फ इङ्गित गर्दै बोल्दा ट्रम्प उक्त टिप्पणी बारम्बार दोहोरिएको रुसी आरोपसँग मिल्दो रहेकोबारे आफू जानकार रहे जस्तो सुनिन्थे। "त्यो रुसी कुरो मात्र होइन। मैले भनिरहेको छु, अरू देशले भनेका छन्।"

जेलेन्स्कीले चाहिँ यसअघि नै लडाइँको बीचमा "निर्वाचनको विषय उठाउनु अति गैरजिम्मेवार" हुने बताएका थिए।

थप रिपोर्टिङ बीबीसी मनिटरिङबाट

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।