तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनमा १७ वर्षीय युवाहरू किन देश छोडिरहेका छन्?
- Author, मारिआना म्याटभिचक
- Role, बीबीसी न्यूज युक्रेन, किएभ
“म युद्धमा लड्न चाहन्नँ थिए,” हालै युक्रेनको राजधानी किएभ छोडेका १८ वर्षीय अलेक्सान्डर माइसन जुनियरले भने। “यो डरलाग्दो बनिरहेको छ।”
आफू १८ वर्ष प्रवेश गरेको दुई सातामै उनले गत ग्रीष्म ऋतुमा आफ्नो घर छोडेर छिमेकी देश स्लोभाकिया गएका हुन्।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु भएयता देश छोडेर जाने युवाहरूको सङ्ख्या बढ्दै गइरहेको छ। यो एउटा बढ्दो समस्या पनि बनिरहेको छ।
अनिवार्य भर्ती हुनुपर्ने उमेर २५ वर्षमा हुने भए पनि १८ वर्ष उमेरभन्दा माथिका युवालाई युक्रेन छोड्न अनुमति छैन।
त्यसैले वयस्क उमेरमा प्रवेश गर्नुअघि नै परिवारको अनुमति लिएर धेरै युवा पुरुषहरू अन्य देशमा जान्छन्।
अलेक्सान्डरले आफ्ना साथीहरूसँगको कुराकानीपछि देश छोड्नेबारे सोच्न थालेको बताए।
साथीहरू बीच सेनामा सेवा गर्न जुन कुनै बेला आह्वान हुनसक्ने, सेनामा परिचालित हुनुपर्ने र युद्धरत देशमा भविष्य अनिश्चित भएका विषयमा छलफल हुन्थ्यो।
अलेक्सान्डरले आफ्ना थुप्रै साथीहरूको पनि समान भावना भएको बताए। रुसी आक्रमणको उनीहरूले निन्दा गरे पनि उनीहरू आफैँ भने युद्धमा संलग्न हुन चाहँदैनन् र लडाइँमा जानुपर्ने कुराले उनीहरूलाई त्रस्त बनाउँछ।
"सेनामा सामेल हुने मेरा एक मात्रै साथी छन्,” उनले भने। “बाँकी कोही पनि लड्न चाहँदैनन्।”
स्लोभाकियामा अलेक्सान्डर विश्वविद्यालयमा आबद्ध भएका छन् र त्यहाँको भाषा पढिरहेका छन्। स्लोभाकियामा उनका साथीहरू वा सामाजिक समूह छैन। तर पनि उनी युद्ध अन्त्य नहुँदासम्म युक्रेन फर्किने कुनै योजनामा छैनन्।
सेनामा परिचालनको त्रास
"देश छोड्ने निर्णय गर्नु भनेको साथी गुमाउनु हो, परिवार छोड्नु हो, नयाँ संस्कृति अपनाउन कोसिस गर्नु हो, पछुतो मान्नु हो र यी सबै कुराहरू चुनौतीपूर्ण हुन्छ,” युक्रेनमा रहेको परोपकारी संस्था भोइसेस अफ चिल्ड्रेनका शिक्षा शास्त्री ओक्साना पाइसारेभाले भनिन्।
उक्त संस्थाले युक्रेनभरि नै बालबालिकालाई मद्दत गर्नका लागि समुदायमा काम गर्छ र परिवारहरूलाई मानवीय र मनोवैज्ञानिक साथ उपलब्ध गराउँछ।
"पक्कै पनि युवाहरू उग्र स्वभावका हुन्छन् तर युद्ध त डरलाग्दो हुन्छ,” उनले भनिन्।
“सबै जना डराएका छन्, चाहे उनीहरूले भनुन् वा नभनुन्। युक्रेनमै बस्न चाहनेले भर्ती हुने चिन्ताको सामना गर्नुपरेको छ। यो जीवन र मरणको बारेमा भएकाले डर उनीहरूको मस्तिष्कमा छ।"
युक्रेनको जनसङ्ख्या निकायका अनुसार यो वर्ष युक्रेन छोड्ने र नफर्किनेको सङ्ख्या सन् २०२३ को पूरै वर्षमा भन्दा तीन गुणाले बढी छ।
यद्यपि, देश छोड्ने मानिसको उमेर कति हो भनेर आधिकारिक तथ्याङ्क भने छैन। त्यसैले १७ वर्षमै देश छोड्नेको तथ्याङ्क पनि छैन।
युरोस्ट्याटका अनुसार युरोपेली सङ्घ ईयूको जनसङ्ख्या कार्यालयले पनि १८ वर्ष मुनिको उमेरका एक तिहाइ जनसङ्ख्याले दुई वर्षअघि युद्ध सुरु भएयता देश छोडेको बताए।
युक्रेनमा रहेको सामाजिक नीति विभागको तथ्याङ्क अनुसार अमेरिका र युरोपेली सङ्घभित्रका देशमा बस्नका लागि ३५ लाख मानिसले देश छोडेको बताएको छ।
अर्को तर्फ युरोपेली सङ्घले युद्ध सुरु भएयता ४२ लाख युक्रेनी नागरिकलाई आधिकारिक रूपमा स्वीकार गरेको जनाएको छ।
युद्ध अन्त्यपछि कति मानिस फर्किनका लागि तयार छन् भन्ने कुरा महत्त्वपूर्ण हुने इन्स्टिट्यूट अफ डेमोग्राफीका निर्देशक एल्ला लिबानोभाले बीबीसीसँग बताइन्।
"यसअघि, सन् २०२५ भित्र युद्ध अन्त्य हुनेमा हामी भर परेका थियौँ। अहिले हामीलाई लाग्छ कि सन् २०२७ सम्म वा सन् २०३० सम्म अन्त्य हुँदैन। घटनाक्रम अनुमान गर्न नसकिने भएका कारण यसै भन्न सम्भव छैन,” उनले भनिन्।
समाजशास्त्रीहरूले युक्रेनको भविष्यमा देखा पर्ने एउटा चुनौती भनेको जनसङ्ख्याको लिङ्ग र उमेरको संरचनामा आउने ठूलो परिवर्तन हो।
पुरुष युद्धमा परिचालित हुनु र महिला प्रवासमा जानुले परिवार निर्माणमा थप कठिनाइ हुनेछ।
गत महिना युक्रेनियन युथ फोरममा बोल्दै राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले युवाका लागि शैक्षिक अनुदान र घर किन्नका लागि एकै पटक तिर्नुपर्ने रकम घटाउने जस्ता योजना घोषणा गर्दै युवाका लागि राम्रो अवस्था बनाउने वाचा गरेका थिए।
"कठिन परिस्थिति भए पनि युक्रेनले एउटा पुस्तालाई नै युद्धमा गुमाउने छैन,” उनले भने।
उनले युक्रेनीलाई फिर्ता गर्ने मात्रै कार्यका लागि मन्त्रालय गठन गरिने उपाय पनि घोषणा गरे।
अन्धकार भविष्य
"युक्रेनमा आफ्नो भविष्यलाई लिएर मानिसहरू विश्वस्त छैनन्,” १८ वर्षीय म्याक्सिम सेमिदोत्स्कीले भने।
जारी युद्धका कारण देश छोडेर युक्रेन नै फर्किएका थोरै मध्येका उनी एक हुन्।
उनले सन् २०२२ मा दक्षिण युक्रेनमा रहेको खेअरशन क्षेत्र रुसको आक्रमणमा परेपछि त्यहाँस्थित आफ्नो घर छोडेका थिए र परिवारसँग आयरल्यान्ड गएका थिए।
सन् २०२२ अक्टोबरमा खेअरशन मुक्त भयो तर रुसी सेनाको बमबारी भने नियमित भइरहेको थियो र यो ठाउँ अग्र मोर्चामै रहन्छ।
सन् २०२३ अगस्टमा १८ वर्ष पुग्नु दुई महिनाअगाडि म्याक्सिमले युक्रेन फर्किने निर्णय गरे।
"मेरा आफन्तहरूले कठिन हुनसक्ने चेतावनी दिएका थिए तर मैले आफैँ प्लेनको टिकट किनेँ,” उनले भने।
उनकी प्रेमिकाले उनलाई कुरिरहेकी थिइन् र उनीहरूले युक्रेनको राजधानी किएभमा नयाँ जीवन सुरु गरे। उनले वेल्डिङको तालिमको आफ्नो कामलाई निरन्तरता दिए।
"अहिले मैले चाहेको भनेको युद्ध जित्नु हो,” उनले भने। “म मेरो सहर खेअरसन फर्किन चाहन्छु र सुरुबाट पुनर्निर्माण गर्न चाहन्छु।”
उनले यदि आफूलाई सेनामा भर्ती हुन र देशको सेवामा लाग्न बोलाइए आफू युद्धमा लड्न नडराउने बताए।
"म लड्नका लागि जान्छु, तर जीवन जिउनका लागि म सँग पहिला काम हुन आवश्यक छ,” उनले भने।
युक्रेनका स्कूले विद्यार्थीमाझ भएको मतदानमा करिब एक चौथाइले आफू देशबाहिर जान चाहेको बताए।
तर युक्रेनीहरू देश फर्किन चाहने कुरा भने यो युद्ध कसरी र कहिले अन्त्य हुन्छ भन्ने कुरामा भर पर्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।