तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
‘देशभरिका सिनेमाघरमा भारतीय चलचित्र बन्द’, नेपालमा हिन्दी चलचित्रको बजार कत्रो
- Author, संजीव गिरी
- Role, बीबीसी न्यूज नेपाली
भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश रहेको भनिएको विवादास्पद संवादबारे विवाद चर्कँदै जाँदा हाल ‘देशैभर उक्त चलचित्र प्रदर्शन रोकिएको’ उक्त चलचित्रका नेपालका वितरकले बीबीसीलाई बताएका छन्।
काठमाण्डू र पोखरा महानगरपालिकाले घोषित रूपमै आदिपुरुषसहित सबै हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाएका छन्। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि आदिपुरुषको प्रदर्शनमा रोक लगाएको घोषणा गरेका छन्।
शान्ति सुरक्षाका कारण 'देशभरिका सिनेमाघर सञ्चालकहरूले उक्त चलचित्र प्रदर्शन नगरेको' वितरक मनोज राठी बताउँछन्। उनको कम्पनी व्यंकटेश ईन्टरटेनमेन्टले नेपालमा आदिपुरुष वितरणको अधिकार लिएको थियो।
‘‘कुनै त्यस्तो चिठी नआउँदै (निर्देशन दिएका स्थानीय तहबाट) सिनेमाघर सञ्चालकहरूले बन्द गरे। पक्कै शान्ति सुरक्षाको कुरा भयो होला,’’ सिनेमाघर सञ्चालक तथा निर्मातासमेत रहेका राठीले भने।
तर नेपालमा सबैभन्दा धेरै सिनेमा देखाउने पर्दा रहेको क्यूएफएक्स सिनेमाजले भने आदिपुरुषका वितरकले नै चलचित्र उपलब्ध नगराएकाले प्रदर्शन रोक लगाइएका सहर बाहेकका स्थानमा पनि उक्त चलचित्र प्रदर्शन नगरिएको जनाएको छ।
महँगो मूल्य तिरेर वितरण अधिकार खरिद गरिएको भनिएको आदिपुरुष चलचित्रको ‘मूल्य’ शून्य बराबरमा पुगेको वितरक राठी बताउँछन्।
तर उक्त चलचित्र कति मूल्यमा खरिद गरिएको थियो भन्ने कुरा भने उनले खुलाउन चाहेनन्।
कति कमाइ गर्ने अपेक्षा थियो?
जानकारहरूका अनुसार नेपालमा व्यापक चर्चा भएका आदिपुरुष जस्ता चलचित्रले झन्डै १६ - १७ करोडको हाराहारीमा ग्रस (कुल) कमाइ गर्ने अनुमान गरिन्छ।
आदिपुरुषको हकमा गत बिहीवार काठमाण्डू महानगरपालिकाका मेयरले सामाजिक सञ्जालमा स्टेटस पोस्ट गरेसँगै शुक्रवार बिहानैबाट काठमाण्डूका हलहरूमा चलचित्रको शो स्थगित हुन थालेको थियो।
जुन क्रम शनिवार पनि जारी रह्यो।
काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन'ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्नमा रोक लगाउने घोषणा गरेका थिए।
आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए। उक्त संवाद सच्याउन तीन दिनको म्याद दिइएको थियो।
‘‘हाम्रो ठूलो व्यापार हुने भनेको शुक्रवार र शनिवार नै हो,’’ राठीले भने।
अझ नयाँ चलचित्र प्रदर्शनमा आउँदा पहिलो शुक्रवार र शनिवारको व्यापार झन् महत्त्वपूर्ण मानिन्छ।
‘‘आदिपुरुषबाट पहिलो सप्ताहान्त नेपालभरबाट पाँच करोड कुल आम्दानी गर्ने आकलन थियो। भारत र अन्यत्रको अवस्था हेर्दा त्यति हुनुपर्ने हो। तर हाम्रो यहाँ एकदमै खराब अवस्था भयो,’’ राठीले भने।
त्यसमा काठमाण्डू उपत्यकाबाट मात्र झन्डै ७० प्रतिशत कमाइ हुने अपेक्षा गरिएको उनी बताउँछन्।
नेपालमा सर्वाधिक व्यापार गर्ने हिन्दी चलचित्रमा बाहुबलीको दोस्रो भाग, केजीएफको दोस्रो भाग, आरआरआर र पठान रहेको व्यवसायीहरू बताउँछन्।
‘सबै हिन्दी चलचित्र प्रदर्शन बन्द’
नेपालमा हाल आदिपुरुषबाहेक अन्य भारतीय चलचित्र पनि प्रदर्शनमा नरहेको बताइएको छ। तर त्यसको कारण हालको विवादभन्दा पनि चलिरहेको हिन्दी चलचित्रको अभाव रहेको बताइन्छ।
आदिपुरुष अघि विक्की कौशल र सारा अलि खानले अभिनय गरेको बलिउड चलचित्र 'जरा हट्के जरा बच्के' नेपालमा प्रदर्शन भइरहेको थियो।
हिन्दी चलचित्र माथि विभिन्न स्थानमा रोक लगाइएसँगै दिनको एक दुई शो चलाइराखिएको उक्त चलचित्र पनि हाल प्रदर्शन भइरहेको छैन।
तर रोक लगाइएका बाहेकका स्थानमा सुरक्षा चुनौती र घट्दो व्यापारका कारण अन्य भारतीय चलचित्र प्रदर्शन नगरिएको बुझिएको छ।
हालको परिस्थिति हेरेर आफूले भविष्यमा ल्याउने तयारी गरेको चलचित्र पनि रोकिने अवस्था उत्पन्न भएको राठी बताउँछन्।
‘‘अब मैले कसरी काम गर्ने, भोलि ठूलो चलचित्र ल्याउँदा यस्तै स्थिति हुँदैन भनेर कसरी ढुक्क हुने?अहिले एक जना मेयरले गर्दा सबै बन्द भयो। भोलि अर्को कसैले भन्ला, पार्टीले भन्ला। हामीले कुन आधारमा चलचित्र ल्याउने?,’’ उनले भने।
‘‘भारतमा सेन्सर भएको हुन्छ त्यसपछि नेपालमा हुने हो। विश्वव्यापी प्रक्रिया यही हो। सेन्सरले पास गरेपछि अरू कसैको त अधिकार चल्ने कुरा छैन। तर यहाँ त यो अन्योल बुझ्नै नसकिने खालको छ।’’
नेपालमा चलचित्र प्रदर्शनलाई अनुमति दिनुअघि सेन्सर बोर्डका अधिकारीहरूले हेर्ने गर्छन्।
बोर्डका सदस्य ऋषिराज आचार्यले आदिपुरुष चलचित्र बुधवार हेरेर वितरकहरूलाई जानकी भारतकी छोरी भन्ने संवाद काटेपछि मात्रै प्रदर्शनको अनुमति दिन सकिने जानकारी गराइएको बीबीसीलाई गत साता बताएका थिए।
उक्त संवाद काटेर बिहीवार ल्याएपछि नेपालमा चलचित्र प्रदर्शनको अनुमति दिइएको आचार्य बताउँछन्।
तर त्यसपछि पनि चलचित्र प्रदर्शनमा रोक लगाइनु र सबै हिन्दी चलचित्र प्रदर्शन गर्न नदिइनुलाई सिनेमाघर सञ्चालकहरूले आलोचना गरेका छन्।
हलहरूको अवस्था के?
अहिले देशैभरका सिनेमाघरहरूमा नेपाली र अङ्ग्रेजी भाषाका चलचित्र प्रदर्शन भइरहेका छन्।
नेपाली चलचित्र जारी वैशाखको पहिलो साताबाट प्रदर्शन भइरहेको छ भने अर्को नेपाली चलचित्र नीरफूल जेठको अन्तिम साताबाट चलिरहेको छ।
त्यसबाहेक सिनेमाघरहरूमा अहिले हलिउड चलचित्र द फ्ल्यास, एलिमेन्टल, ट्रान्सफर्मर्स: राइज अफ द बिस्ट, स्पाइडर म्यान: अक्रस द स्पाइडर भर्स र द लिटल मर्मेड लगायत चलिरहेको छ।
व्यावसायिक हिसाबले विगतमा नेपाली बजारमा हिन्दी चलचित्रको निकै धेरै वर्चस्व रहेको बताइने गरेको भए पनि पछिल्लो समय भने चलचित्र कस्तो बनेको छ भन्ने कुराले फरक पार्ने जानकारहरू बताउँछन्।
त्यसै कारण कतिपय नेपाली चलचित्रले हिन्दी चलचित्रभन्दा बढी २२-२३ करोड सम्मको कुल आम्दानी गरेको राठी बताउँछन्। तर त्यस्ता नेपाली चलचित्रको सङ्ख्या भने निकै कम छ।
हलिउड चलचित्रले भने नेपालमा पाँच – ६ करोड रुपैयाँ आमदानी गर्ने गरेको वितरकहरूको भनाइ छ।
क्यूएफएक्स सिनेमाजकी बिजनेस डिभलेपमेन्ट प्रमुख तृप्ति गिरी आफूहरू सिनेमाघरहरूको सुरक्षा अवस्था बारे सतर्क रहेको बताउँछिन्।
हाल थुप्रै रोचक हलिउड चलचित्र प्रदर्शनमा रहेका कारण क्यूएफएक्स सिनेमाज अन्तर्गतका सिनेमाघरहरूमा चहलपहल पूर्ण रूपमा घटिनसकेको भए पनि आदिपुरुषका लागि छुट्ट्याइएको स्थान भने खेर गएको उनको भनाइ छ।
‘‘आदिपुरुषको अकुपेन्सी अर्थात् हलमा सीट भरिएको स्थिति ८० प्रतिशतको हाराहारीमा थियो। कतिपय अवस्थामा त ९० – ९५ प्रतिशतसम्म पुगेको थियो,’’ उनले भनिन्। ‘‘चलचित्र प्रदर्शनमा रहेको भए यो साता पनि ७० प्रतिशतको हाराहारीमा अकुपेन्सी रहने अपेक्षा हामीले गरेका थियौँ।’’
नेपालका १० स्थानमा २६ वटा पर्दा रहेको क्यूएफएक्स सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन हो।
काठमाण्डूको दरबारमार्गस्थित क्यूज सिनेमाका महाप्रबन्धक राकेश श्रेष्ठका अनुसार विद्यार्थी सङ्गठनहरूले पनि आदिपुरुष प्रदर्शन नगर्न उनीहरूलाई सतर्क बनाएका छन्।
दुई पर्दा रहेको क्यूज सिनेमामा नेपाली र हिन्दी चलचित्र प्रदर्शन गरी राखिएको भए पनि हलहरू लगभग रित्तो रहेको उनी बताउँछन्।
‘‘बाहुबलीका नायक आदिपुरुषमा पनि रहेकाले हामीलाई ठूलो अपेक्षा थियो,’’ श्रेष्ठले भने। ‘‘हलहरूको अकुपेन्सी झन्डै १० प्रतिशतमा झरेको छ।’’
दुई वटा मात्रै पर्दा र त्यसमा पनि कम सीट सङ्ख्या सहितका हल रहेकाले आदिपुरुषबाट कुल १५ लाख रुपैयाँ आमदानी गर्ने अपेक्षा क्यूजले गरेको थियो।
हिन्दी सिनेमाको बजार कस्तो छ?
राठीका अनुसार नेपालका सिनेमाघरहरूमा हिन्दी चलचित्रको बजार झन्डै ६० प्रतिशत छ।
पछिल्लो तनावले व्यापारमा दीर्घकालीन रूपमा व्यापक प्रभाव पार्ने सम्भावना रहेको उनी बताउँछन्।
‘‘पहिला पनि ऋतिक रोशन काण्ड हुँदा एक दुई महिना सिनेमाघरमा मानिसहरू आएका थिएनन्,’’ उनले भने।
काठमाण्डू महानगरमा मात्रै १७ वटा मल्टिप्लेक्स रहेको बताइन्छ। प्राय जस्तो मल्टिप्लेक्समा दुई देखि तीन वटा पर्दा छन्।
काठमाण्डूमा सिङ्गल स्क्रिनको सङ्ख्या भने खुम्चिएर दुई – तीन वटामा सिमित भएको बताइन्छ।
‘‘व्यापार हुने पनि अहिले मल्टिप्लेक्सबाटै हो,’’ उनले थपे।
क्यूज सिनेमाजका श्रेष्ठका अनुसार दर्शकको मागमा आधारित भएर सिनेमा पस्किनुपर्ने हुँदा नेपालमा हिन्दी चलचित्रको माग उच्च रहेको कुरा यकिन गर्न असहज छैन।
‘‘बहुप्रतीक्षित नेपाली चलचित्र चल्छ। तर त्यस्तो चलचित्र निकै कम आउँछ। हलिउड चलचित्रको हकमा पनि एकदमै चलेको बाहेकका सिनेमामा दर्शक छैनन्। तर हिन्दीमा पहिले देखिकै झुकाव भएर पनि होला दर्शहरूले हिन्दी नै खोज्छन्,’’ उनले भने।
‘‘हाम्रो सिनेमाघरमा झन्डै ७० प्रतिशत व्यापार भारतीय चलचित्रले गर्ने गर्छ,’’ उनले थपे।