तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
काठमाण्डूमा 'आदिपुरुष' को प्रदर्शन रोकियो, भारतमा पनि चर्चा
- Author, गनी अन्सारी
- Role, बीबीसी न्यूज नेपाली
भारतमै व्यापक बहस निम्त्याएको चलचित्र ‘आदिपुरुष’ नेपालमा पनि विवादित बन्न पुगेको छ।
उक्त चलचित्रमा जानकी (सीता) को भूमिका निर्वाह गरेकी अभिनेत्री कृति सेननको पहिरन र रावणको भूमिकामा रहेका सैफ अली खानको 'स्वरूप' को भारतमा आलोचना भएको छ।
भारतमा भन्दा नेपालमा विवाद निम्तिएको विषय चाहिँ भिन्न छ। काठमाण्डूमा केही युवाले एउटा सिनेमा हलमा पोस्टर च्यात्दै गरेको र चलचित्रको प्रदर्शन बन्द गराएको भिडिओ फूटेज आएको छ।
काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन'ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाइएसम्म काठमाण्डूमा अरू पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने घोषणा गरेसँगै त्यसको पक्ष र विपक्षमा मानिसहरूले टिप्पणी गरेका छन्।
कतिपयले उनको कदमको प्रशंसा गरेका छन् भने कतिपयले ‘प्रचारबाजी’ भनेर आलोचना पनि गरेका छन्।
“दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘सीता [जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाण्डू महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन," बालेनले लेखेका छन्।
"यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।”
सेन्सर बोर्ड के भन्छ?
कुनै पनि चलचित्रलाई प्रदर्शनको अनुमति दिनुअघि सेन्सर बोर्डका अधिकारीहरूले पहिला हेर्ने गर्छन्।
कुनै दृश्य अथवा संवाद हटाउनुपर्ने भए हटाउन लगाएर मात्र प्रदर्शनको अनुमति दिइन्छ।
आदिपुरुषको हकमा पनि त्यही प्रक्रिया पूरा गरिएको नेपाली सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्यले बताए।
“बुधवार हामीले चलचित्र हेर्यौँ अनि वितरकहरूलाई जानकी भारतकी छोरी हुन् भन्ने संवाद काटेपछि मात्र प्रदर्शनको अनुमति दिन सकिन्छ भन्यौँ। त्यसपछि उहाँहरूले हिजो त्यो संवाद काटेर ल्याउनुभयो अनि मात्र प्रदर्शनको अनुमति दियौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
कतिपयले संवादलाई ‘बीप’ (सुन्न नमिल्ने) मात्र गरिएको हुनसक्ने अडकलबाजी गरिरहँदा आचार्यले शब्द नै काटिएको स्पष्ट पारे।
“हुन त उनीहरूले सबैतिर प्रदर्शन हुने कपीबाटै त्यो गलत संवाद हटाउनुपर्ने हो। तर कम्तीमा नेपालमा प्रदर्शन हुने कपीमा त्यो नजाओस् भनेर हामीले काट्न लगायौँ,” उनले थपे।
“अन्यायविरुद्ध छोरीहरू लड्नुपर्छ भन्ने सन्देश भएको समग्रमा चलचित्र राम्रो नै छ, तर त्यही संवादका कारण विवादमा मुछियो।”
चलचित्र विकास बोर्ड के भन्छ?
चलचित्र विकास बोर्डले “तथ्यगत त्रुटिसहित” नेपालबाहेक अन्य मुलुकमा प्रदर्शन गरिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बोर्डका अध्यक्ष भुवन केसीले शुक्रवार एउटा विज्ञप्ति जारी गर्दै भनेका छन्, “नेपालकी ऐतिहासिक पात्रको इतिहासलाई तोडमोड गरिएको देखिएकोले संसारभरि जहाँ प्रदर्शन गरे पनि ‘जानकी भारतकी छोरी’ हुन् भन्ने संवादप्रति कडा आपत्ति जनाउँछौँ।”
त्यसलाई सच्याएर मात्र प्रदर्शन गर्नुपर्ने माग राख्दै बोर्डले गर्नुपर्ने पहलमा अगाडि बढेको पनि जनाएको छ।
“संसारका कुनै पनि फिल्मले नेपालको स्वाधीनता, हाम्रा विभूतिहरूमाथिको दाबी, सीमालगायत विषयमा त्रुटि वा नियतवश कुनै संवाद वा दृश्य राखेर प्रदर्शन गर्नु चलचित्र विकास बोर्डका लागि कदापि मान्य हुँदैन,” विज्ञप्तिमा भनिएको छ।
उक्त विवादास्पद संवाद चलचित्रबाटै हटाउनका लागि पहल गर्न बोर्डले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् माग समेत गरेको छ।
नेपाल चलचित्र सङ्घ के भन्छ?
मेयर बालेनले प्रदर्शन गर्न नदिने घोषणा बिहीवार साँझ गरेपछि सामाजिक सञ्जालमार्फत् आफूहरूलाई धम्की आएको नेपाल चलचित्र सङ्घका उपाध्यक्ष भाष्कर ढुङ्गानाले बताए।
“सुरक्षाको कारण हामीले काठमाण्डू उपत्यकामा अहिले बिहान प्रदर्शनहरू नगर्न सिनेमाघरहरूलाई आग्रह गरेका छौँ,” बीबीसी न्यूज नेपालीसँग उनले भने।
काठमाण्डू उपत्यकाबाहेक देशका अरू भागमा चाहिँ पूर्वनिर्धारित तालिकाअनुसार प्रदर्शन अघि बढेको खबर प्राप्त भएको ढुङ्गानाले दाबी गरे।
“विवादास्पद संवाद नै हटाइएपछि थप बहस गर्न अब जरुरी म देख्दिनँ। सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिइसकेको हो,” उनले भने।
उनका अनुसार यसअघि अक्षय कुमार अभिनित चलचित्र “चाँदनी चोक टु चाइना” मा भएको बुद्धबारे विवादास्पद संवाद काटेर नेपालमा प्रदर्शन गरिएको थियो।
नेपालको संसद्मा पनि के भयो?
'आदिपुरुष'मा भएको विवादास्पद संवादबारे शुक्रवार प्रतिनिधसभाको बैठकमा पनि कुरा उठेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले मेयर बालेन शाहको कदमको प्रशंसा गरेका छन्।
“चलचित्र आदिपुरुषको कुरा मात्रै होइन, यथार्थमा पनि कहिले बुद्ध उताको भनेको छ, कहिले सीता उता भनेको छ, कहिले कालापानी, लिम्पियाधुरा हाम्रो भनेको छ,” उनले भने।
“कहिले सांस्कृतिक नक्सा भनेर हाम्रो ठाउँ नै गायब गराइएको छ। हाम्रो इतिहासमाथि छिमेकबाट यस्तो भइरहँदा हामीले भन्न सक्नुपर्छ कि यसले हाम्रो चित्त दुख्छ भनेर, हाम्रो स्वाभिमान र सार्वभौम अस्तित्वलाई अतिक्रमण गरेको छ भनेर।”
“सरकारले सास दबाएर बसेपछि कोही न कोहीले कुनै न कुनै बेला बोल्नुपर्थ्यो। बालेनले बोले सही गरे,” सांसद शाहले थपे।
नेपालका परराष्ट्र र सञ्चारमन्त्रीले यो प्रकरणलाई गम्भीर रूपमा लिनुपर्ने उनको तर्क छ।
भारतीय सञ्चारमाध्यमले के लेखे?
भारतीय पत्रिका द टाइम्स अफ इन्डिया लगायतका सञ्चारमाध्यमले काठमाण्डूका मेयरले आदिपुरुषको प्रदर्शनबारे गरेको घोषणाबारे आफ्नो अनलाइन संस्करणमा समाचार लेखेका छन्।
“काठमाण्डूका मेयर बालेन शाहले प्रदर्शन रोक्ने चेतावनी दिएपछि आदिपुरुष चलचित्रका निर्माताहरूले ‘सीता भारतकी छोरी हुन्’ भन्ने विवादास्पद संवाद हटाएका छन्” भन्ने शीर्षकमा उसले समाचार लेखेको छ।
तर चलचित्रबाट निर्माताहरूले त्यो संवाद हटाएका छन् भनेर समाचारको पेटबोलीमा कतै चर्चा गरिएको छैन र कसैलाई समाचारमा उद्धृत नै गरिएको छैन।
विवादास्पद संवाद हटाइएपछि सेन्सर बोर्डले चलचित्रलाई पास गरेको भन्दै उसले समाचारमा लेखेको छः “निर्माताहरूले पूरै चलचित्रमा थप त्यस्तो गम्भीर त्रुटि गरे वा नगरेको हेर्न चाहिँ बाँकी नै छ।”
टाइम्स नाऊ अनलाइनले नेपालको आपत्तिपछि चलचित्रबाट विवदादित संवाद हटाइएको उल्लेख गरेको छ।
“यो बखत आदिपुरुषका निर्माताले कुनै पनि विवादबाट आफूलाई टाढा राख्न चाहेका छन्, यसैकारण चलचित्रबाट यो संवादलाई हटाउने निर्णय गरिएको छ,” उसको समाचारमा उल्लेख छ।
त्यो विवादास्पद संवाद नेपालको हकमा मात्र हटाइएको हो अथवा सबैतिर प्रदर्शन गरिने कपीबाट हटाइएको हो भन्नेबारे समाचार मौन देखिन्छ।
भारतकै एबीपीलाइभले आफ्नो समाचारमा रामायणलाई उद्धृत गर्दै सीताको जन्म नेपालमा भएको चर्चा गरेको छ।
उसले समाचारमा लेखेको छः “…रामायणका अनुसार माता सीताको जन्म नेपालको जनकपुरमा भएको थियो।”
चलचित्रमा अभिनेता प्रभासले राम, कृति सेननले सीता, सनी सिंहले लक्ष्मण र सैफ अली खानले रावणको भूमिका निर्वाह गरेका छन्।
सामाजिक सञ्जालमा तर्कवितर्क
सामाजिक सञ्जालमा मेयर शाहको कदमबारे विभिन्न तर्कवितर्क भइरहेको छ।
अनुसन्धानकर्ता समीरमणि दीक्षितले मेयर शाहको कदम “व्यावहारिक” भएको बताएका छन्।
“बृहत् नेपाल नक्सा होस् या विदेशी सिनेमामा नेपालको इतिहासलाई नजरअन्दाज गरिएकोमा विरोध जनाउने कार्य। काठमाण्डूका मेयरको धारणा विश्वसामु स्पष्ट हुँदै छः नेपालको नयाँ पुस्ता गलतलाई गलत भन्न डराउँदैन। साथै सहेर पनि बस्दैन, आफूलाई हेपिन दिँदैन। पप्युलिस्ट होइन, प्र्याग्म्याटिक सोच हो,” ट्विटरमा उनले लेखेका छन्।
ट्विटरमै मेयर शाहको ट्वीटप्रति चिकित्सक रामेश कोइरालाले व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।
“गज्जब! यो भारतभरि नसच्चिएसम्म योबाहेक किन अन्य भारतीय सिनेमा मात्र, भारतीय टीभी च्यानल र पेट्रोलदेखि दालचामल र गाडीसम्म चल्न दिनु हुन्न। सकभर भारतीय प्लेन पनि महानगरभित्रको विमानस्थलमा अवतरण हुन नदिऔँ। नेपाललाई हेप्ने? गुड, गुड। सही जा रहे हो, साहेब! (अलिकति हिन्दी लेखिएछ, सरी!)”
तर बिनु पोखरेलले बालेन “सत्यको पक्षमा उभिएको” भन्दै उनको प्रशंसा गरेकी छन्।
“पद होइन बस् सत्यको पक्षमा बोल्ने हुती चाहिने रहेछ। देश नेतृत्वविहीन हुने छैन भन्ने प्रमाण। धन्यवाद मेयर बालेन!”
अर्का ट्विटर प्रयोगकर्ता रमेश कँडेलले पनि शाहको कदमप्रति टिप्पणी गरेका छन्।
“यही स्टन्ट माओवादी र एमाले लगायत कम्युनिस्टले गर्न हुने। अनि बालेनले गर्न किन नहुने? नेपालीले खोजेकै नेता पाउँदैछौँ। म त भन्छु- वेल डन बालेन।”
काठमाण्डूमा आदिपुरुष हेर्न नपाइने भएपछि त्यहाँ बस्नेहरू पोखरा आएर हेर्ने भन्दै मीनु कँडेलले ट्विटरमा व्यङ्ग्य गरेकी छन्।
“आदिपुरुष हेर्न अब काठमाण्डूवासी पोखरा आउने रे, त्यो पनि विमान चढेर।”
ट्विटरमै मुना चापागाईंले व्यङ्ग्य गर्दै लेखेकी छन्, “ग्रेटर नेपालपछि सीता माता फिर्ता ल्याइयो होइन त? लगे रहो। जय नेपाल!”
केही समयअघि मेयर बालेन शाहले आफ्नो कार्यकक्षमा 'ग्रेटर नेपाल' को नक्सा झुन्ड्याएको समाचार आएपछि त्यसको पक्ष र विपक्षमा पनि विभिन्न प्रतिक्रिया देखिएको थियो।
भारतले नवनिर्मित संसद् भवनको भित्तामा राखेको मुरालमा हाल नेपालका रहेका केही भूभाग पनि समेटिएको छ।