काठमाण्डू र पोखरामा हिन्दी चलचित्रमा रोक, अदालत जाने सिनेमाघर सञ्चालकहरूको तयारी

भारतीय चलचित्र 'आदिपुरुष'मा समावेश एक विवादास्पद संवाद नहटाइएको भन्दै काठमाण्डू र पोखरा महानगरपालिकाले लगाएको भारतीय चलचित्र प्रदर्शन रोकलाई सिनेमाघर सञ्चालकहरूले चुनौती दिने भएका छन्।

काठमाण्डू महानगरका प्रमुख बालेन्द्र शाह 'बालेन'ले उक्त चलचित्रको एउटा विवादास्पद संवाद नहटाए काठमाण्डूका सिनेमाघरहरूमा कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न रोक लगाउने घोषणा गरेका थिए।

भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने ‘आपत्तिजनक सन्देश’ चलचित्रको मूल भागबाटै हटाउन महानगरका मेयरले आह्वान गरेका थिए। सच्याउन तीन दिनको म्याद दिइएको थियो।

‘‘काठमाण्डू महानगरपालिका क्षेत्रभित्र उक्त राष्ट्रहित विपरीतको चलचित्रको प्रदर्शनलाई निषेध गरेर मात्र देशभित्रका अन्य क्षेत्र र विदेशमा सो चलचित्र प्रदर्शन हुन दिने हो भने त्यसले भ्रामक तथ्य स्थापित गर्ने भएकोले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाण्डू महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलि (सोमवार) देखि निषेध गरिएको छ,’’ आइतवार सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा शाहले गरेको पोस्टमा उल्लेख छ।

पोखरा महानगरले पनि जानकी भारतीय छोरी हुन् भन्ने शब्द नसच्चिएसम्म महानगरपालिका क्षेत्र भित्रका सिनेमाघरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारणमा रोक लगाइएको चलचित्र घरहरूलाई जानकारी गराएको बताइएको छ।

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले पनि आफ्नो क्षेत्रमा आदिपुरुष चलचित्रको प्रदर्शनमा रोक लगाइएको बताएका छन्।

‘‘हाम्रो देशको राष्ट्रियता, अखण्डता, स्वाभिमान, सार्वभौमसत्तामा आँच आउने कुनै पनि सोचविचार, अभिव्यक्ति र व्यवहार हामीलाई सह्य छैन। त्यसकारण यो हिन्दी चलचित्र आदिपुरुषमा सीता भारतमा जन्मेको भन्ने खालको अभिव्यक्ति … त्यो डायलग छ अरे भन्ने सुनेको छु। त्यो आपत्तिजनक विषय हो। त्यसो भएको कारण त्यो सम्बन्धित चलचित्र धरानको सिनेमाघरहरूमा पनि प्रदर्शनको लागि हामीले रोक लगाएका छौँ,’’ सोमवार फेसबुकमा भिडिओ पोस्ट गर्दै उनले भने।

भारतमै पनि आदिपुरुषले व्यापक बहस निम्त्याएको छ।

‘सुरक्षाका कारण चलचित्र प्रदर्शन बन्द’

उक्त चलचित्रमा जानकी (सीता) को भूमिका निर्वाह गरेकी अभिनेत्री कृति सेननको पहिरन र रावणको भूमिकामा रहेका सैफ अली खानको 'स्वरूप' को भारतमा आलोचना भएको छ।

त्यहाँ पनि उक्त चलचित्रमाथि प्रतिबन्ध लगाइनुपर्ने माग उठिरहेको छ। दर्शक अनि हिन्दू सङ्गठनका कार्यकर्ताहरूले चलचित्रमा आपत्तिजनक संवाद समावेश गरिएको आरोप लगाएका छन्।

नेपालमा चलचित्र प्रदर्शनलाई अनुमति दिनुअघि सेन्सर बोर्डका अधिकारीहरूले हेर्ने गर्छन्।

बोर्डका सदस्य ऋषिराज आचार्यका अनुसार उक्त चलचित्र बुधवार हेरेर वितरकहरूलाई जानकी भारतकी छोरी भन्ने संवाद काटेपछि मात्रै प्रदर्शनको अनुमति दिन सकिने जानकारी गराइएको थियो।

उक्त संवाद काटेर बिहीवार ल्याएपछि नेपालमा चलचित्र प्रदर्शनको अनुमति दिइएको उनले बीबीसीलाई जानकारी दिए।

तर त्यसपछि पनि चलचित्र प्रदर्शनमा रोक लगाइनु र सबै हिन्दी चलचित्र प्रदर्शन गर्न नदिइनुलाई सिनेमाघर सञ्चालकहरूले आलोचना गरेका छन्।

‘‘यो सङ्घीय सरकारले गर्ने निर्णय हो कि के हो, निर्णय जायज हो कि होइन कसैले पनि छिनोफानो नगरिदिएको भएर हामी अदालतमै गएर यो कुरा टुङ्गो लगाउँछौँ,’’ क्यूएफएक्स सीनेमाजका एक जना सञ्चालक भास्कर ढुङ्गानाले बीबीसीसँग भने।

काठमाण्डू महानगरले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको भए पनि आफूहरूले काठमाण्डू उपत्यकामा हाल हिन्दी सिनेमा प्रदर्शन नगरेको उनी बताउँछन्।

‘’सुरक्षाको कारणले मात्रै त्यस्तो गरेका हौँ। अब अदालतले कस्तो निष्कर्ष निकाल्छ। कसको क्षेत्राधिकार हो भन्ने कुराहरूको निर्णय भएपछि हामीलाई पनि सहज हुन्छ,’’ ढुङ्गानाले भने। गत शुक्रवार काठमाण्डूमा केही युवाले एउटा सिनेमा हलमा पोस्टर च्यात्दै गरेको र चलचित्रको प्रदर्शन बन्द गराएको भिडि‌ओ फूटेज सार्वजनिक भएको थियो।

ढुङ्गानाका अनुसार सकेसम्म आजै स्थानीय तहको निर्देशनलाई न्यायालयमा चुनौती दिने तयारी भइरहेको छ।

बालेनको भनाइ के?

तर शाहले भने "नेपालको स्वतन्त्रता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेर राष्ट्र हितको रक्षा गर्नु प्रत्येक सरकार, सरकारी निकाय, गैरसरकारी क्षेत्र र नेपाली नागरिकको पहिलो कर्तव्य हुने कुरामा कुनै सन्देह छैन" भनेका छन्।

‘‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६)ले सङ्घ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकिएको छ। उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभूति माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ। उक्त चलचित्रबाट नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’’ शाहले लेखेका छन्।

संविधानमै राष्ट्रको हित संरक्षण प्रत्येक नागरिकको कर्तव्य रहेको उल्लेख गरिएको अवस्थामा उक्त कदमलाई गैर कानुनी भनिहाल्न नमिल्ने तर्क कानुन व्यवसायी टिकाराम भट्टराईले गरेका छन्।

काठमाण्डू र पोखराका अधिकांश सिनेमाघरहरूको वेबसाइटमा सोमवारका लागि कुनै पनि हिन्दी चलचित्र प्रदर्शन हुने तालिका समावेश गरिएको छैन। ती दुई सहर बाहेकका स्थानमा रहेका सिनेमाघरहरूमा भने टिकट काट्न पाइने देखिन्छ।

काठमाण्डू र पोखरा महानगरपालिकाका प्रमुख तथा सरोकारवाला कर्मचारीहरूसँग बीबीसीले प्रतिक्रिया लिने प्रयास गरेको छ तर कतिपय अधिकारीले प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

आदिपुरुष चलचित्रका संवाद लेखक के भन्छन्?

चलचित्रका संवाद (डायलग) लेखक मनोज मुन्तशिरले नेपालमा भइरहेको विवादमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। भारतीय टीभी च्यानल आज तकसँगको कुराकानीका क्रममा उनले ‘जुन समयको दृश्य चलचित्रमा देखाइएको छ त्यस बेला नेपाल भारतकै भूभाग रहेको’ बताए।

‘‘म नेपालको विरोध बुझ्न सकिरहेको छैन। यो कथा जुन बेलाको हो त्यस बेला नेपाल भारतको अंश थियो। यदि हामीले सीतालाई भारतकी छोरी भनिरहेका छौँ भने … नेपाल भारतबाट अलग कहाँ भएको थियो। सन् १९०३ वा १९०४ सालको पछि मात्रै नेपाल भारतबाट अलग भएको थियो। नेपाल त भारत नै थियो, भारतकै अंश थियो। त्यस हिसाबले त सीता भारतकै छोरी थिइन्,’’ टेलिभिजन अन्तर्वार्ताका क्रममा मुन्तशिरले भने।

मुन्तशिरको उक्त स्पष्टोक्तिमा नेपाल मामिलाबारे चासो राख्ने नविता श्रीकान्तले प्रश्न गर्दै भनेकी छिन्, ‘‘मनोज जी, नेपालको सांस्कृतिक सम्पदाप्रतिको तपाईँको उदासीन दृष्टिकोणबाट म निराश छु। सांस्कृतिक र मानव निर्मित सीमालाई एउटै रूपमा बुझ्ने कुरामा हामी होसियार हुनुपर्छ। जसरी भगवान् बुद्धको जन्मस्थान लुम्बिनी हो देवी सीता भौगोलिक क्षेत्र जनकपुरकी थिइन जुन अहिले नेपालमा छ।’’

“देवी सीता नेपालकी छोरी हुन् र भारतमा उनलाई देवीका रूपमा पूजा गरिन्छ। कला र संस्कृतिले द्विपक्षीय सम्बन्धलाई बलियो बनाउनुपर्छ र अनावश्यक विवादहरू सिर्जना गर्नु हुँदैन,’’ उनले थपिन्।

चलचित्रले हालसम्म कति कमायो?

बीबीसी हिन्दीका अनुसार प्रदर्शनमा आएको दुई दिनमै आदिपुरुषले विश्वभर २४० करोड भारतीय रुपैयाँको व्यापार गरेको छ। यो चलचित्रलाई समीक्षकहरूले राम्रो मूल्याङ्कन गरेका छैनन्।

पहिलो दुई दिनको कमाइ हेर्दा यो बलिउडका लागि नयाँ रेकर्ड हो।

बलिउड बक्स अफिसमा अहिलेसम्मकै यसअघि सर्वाधिक कमाइ गर्ने चलचित्र पठानले प्रदर्शनको प्रथम दुई दिनमा १२७ करोड भारु बराबरको व्यापार गरेको थियो।

उक्त आँकडा हेर्दा आदिपुरुष निकै अगाडि देखिन्छ।

चलचित्र समीक्षक र दर्शकको आलोचनाका साथै डायलगबारे भएको विवादकाबीच सर्वसाधारण सिनेमाघरसम्म पुगेका छन्।

विवाद झन् झन् चर्किँदै गएपछि चलचित्रका निर्माताहरूले विवादास्पद डायलग फिल्मबाट हटाउने र नयाँ डायलग समावेश गर्ने वाचा गरेका छन्।