इटलीमा अत्यधिक खोजी भैरहेका माफिया नाइके सिसिलीबाट पक्राउ

माटियो मेसिना डेनारो

तस्बिर स्रोत, Reuters

    • Author, लोरा गोजी, लन्डन र डेभिड घिग्लिओनी, रोम
    • Role, बीबीसी न्यूज

इटलीमा अधिकारीहरूले अत्यधिक खोजी गरिरहेका मानिसहरूको सूचीमा रहेका एक आपराधिक गिरोहका प्रमुख माटेयो मेसिना डेनारो ३० वर्षपछि सिसिलीबाट पक्राउ परेका छन्।

मेसिना डेनारोलाई सिसिलीको राजधानी पालेर्मोस्थित एक निजी क्लिनिकमा पक्राउ गरिएको बताइएको छ। त्यहाँ उनी क्यान्सरको उपचार गराइरहेका थिए।

उनीमाथि कुख्यात कोसा नोस्ट्रा माफिया समूहको प्रमुख भएको आरोप लगाइएको छ। सन् २००२ मा विभिन्न हत्याको आरोपमा उनलाई अनुपस्थितिमै मुद्दा चलाएर जन्मकैदको सजाय सुनाइएको थियो।

उनको गिरफ्तारीको क्रममा एक सयभन्दा बढी सशस्त्र प्रहरीहरू संलग्न थिए।

इटालीका सञ्चारमाध्यमहरूका अनुसार मेसिना डेनारोलाई स्थानीय समय अनुसार विहानको १० बज्नुभन्दा ठीक अघि पक्राउ गरिएको र विशेष प्रहरी निकाय काराबिनिएरीले गोप्य स्थानमा लगिएको बताइएको छ। उनी केमोथेरापीका लागि नक्कली परिचयसहित उक्त क्लिनिकमा पुगेको बताइएको छ।

इटालेली सञ्चारमाध्यमले प्रसारण गरेको एक भिडिओमा मेसिना डेनारोलाई पक्राउ गरेर लैजाँदै गर्दा मानिसहरूले सडकमा उभिएर इटालेली प्रहरीको प्रशंसा गरिरहेको देखिन्छ।

उनी दोषी ठहर भएका केही हत्याका घटनाहरू यस्ता छन्:

  • सन् १९९२ मा माफिया विरोधी अभियोजनकर्ता जियोभानी फाल्कोनी र पाओलो बोर्सेलिनोको हत्या,
  • मिलान, फ्लोरेन्स र रोममा सन् १९९३ मा भएका घातक बम आक्रमणहरू
  • सरकारी साक्षीमा परिणत भएका पूर्व माफिया सदस्यका ११ वर्षीय छोराको अपहरण, यातना र हत्या

मेसिना डेनारोले एक पटक आफूले मानिसहरूलाई हमला गरेर त्यहाँको एउटा "चिहान भरीदिन सक्ने” सक्ने चर्को दाबी समेत गरेका थिए।

यी माफिया नाइकेले एक शक्तिशाली सङ्गठित अपराध सिन्डिकेट कोसा नोस्ट्राका लागि गैरकानुनी कारोबार, अवैध फोहोर विसर्जन, सम्पत्ति शुद्धीकरण तथा लागूपदार्थको तस्करीको काम समेत गरेका थिए।

उनी टोटो रीइनाका शिष्य भएको बताइन्छ जो कोर्लिओनी समूहका प्रमुख थिए। २३ वर्षसम्म फरार रहेका उनलाई प्रहरीले १९९६ मा पक्राउ गरेको थियो।

उनी कोसा नोस्ट्राको सम्पूर्ण रहस्य थाहा हुने अन्तिम व्यक्ति हुन् भन्ने विश्वास गरिन्छ। धेरै जानकारहरू र अभियोजकहरूले माफियाले गरेका मजिस्ट्रेटहरू फाल्कोनी र बोर्सेलिनोको हत्या गर्ने बम आक्रमणहरू लगायत प्रायः मुख्य अपराधहरूमा संलग्न सबै व्यक्तिको विवरण उनलाई थाहा भएको विश्वास गर्छन्।

मेसिना डेनारो सन् १९९३ देखि फरार रहे पनि उनले आफ्ना मातहतमा काम गर्ने व्यक्तिलाई विभिन्न गोप्य स्थानहरूबाट निर्देशन गर्ने गरेको ठानिन्छ।

दशकौँ अवधिमा इटालीका प्रहरीहरूले मेसिना डेनारोको निकटमा रहेको व्यक्तिहरूमाथि निगरानी गरेर उनको पक्राउको नजिक पुगेका थिए।

त्यसै क्रममा सन् २०१३ मा उनकी बहिनी प्याट्रिजिया र उनी निकट अन्य केहीलाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले मेसिना डेनारोसँग सम्बन्धित महत्त्वपूर्ण कारोबारयहरूलाई नियन्त्रणमा लियो जसले उनलाई थप एक्लो बनाएको थियो।

यद्यपि, प्रहरीसँग मेसिना डेनारोको निकै कम तस्बिरहरू थियो। उनी फरार भएपश्चात् प्रहरीले डिजिटल तस्बिरहरू जोडेर उनी कस्ता देखिन्छन् भनेर चिन्नका लागि चित्र बनाएको थियो। उनको आवाज सन् २०२१ सम्म सार्वजनिक गरिएको थिएन।

सन् २०२१ को सेप्टेम्बरमा लिभरपुलका एक फर्मुला वान फ्यानलाई मेसिना डेनारो भएको आशङ्कामा नेदरल्याण्ड्सको एक रेस्टुरेन्टबाट पक्राउ गरिएको थियो।

सोमबार बिहान ती माफिया नेताको गिरफ्तारीबारे समाचार सार्वजनिक हुँदा इटालेलीहरू निकै चासोका साथ टीभी हेरिरहेका थिए।

वर्षौँसम्म मेसिना डेनारोलाई अपराधिक सङ्घठनका नेताहरूलाई पक्रन नसक्ने राज्यको असक्षमताको प्रतीकको रूपमा हेरिएको थियो। उनको गिरफ्तारी देशको दक्षिणी क्षेत्रहरूमा पनि माफियामाथि नियन्त्रण गर्न सकिन्छ भन्ने सन्देश बन्ने ठानिएको छ जहाँ राज्यको उपस्थिति नरहेको र प्रभावकारी नभएको मानिन्छ।

युनिभर्सिटी अफ एसेक्समा क्रिमिनोलोजी विषयका का प्राध्यापक आना सेर्गीले मेसिना डेनारोको गिरफ्तारी "उनी कोसा नोस्ट्राको नाइके भएकोले मात्र नभई इटालीको सरकारले पक्राउ गर्न बाँकी अन्तिम फरार व्यक्तिको प्रतिनिधित्व गर्ने भएकाले पनि महत्त्वपूर्ण रहेको" बीबीसीलाई बताइन्।

तर, पक्राउ गरिएको समयलाई लिएर प्रश्न उठ्ने सम्भावना छ। क्लिनिकमा बिहानै छापा मार्न कसरी सम्भव भयो, कसले अधिकारीहरूलाई सूचना दियो र सबैभन्दा महत्त्वपूर्ण- मेसिना डेनारो "३० वर्षसम्म सम्भवतः संरक्षित रहेर सिसिली वरपर बसिरहन" कसरी सम्भव भयो भन्ने कुरा स्पष्ट नरहेको प्राध्यापक सेर्गीले बताइन्।

मेसिना डेनारो क्यान्सरको उपचार गराइरहेका थिए र 'निकै नै विरामी' थिए त्यसैले अपराध जगतका कसैले अब उनको उपयोगिता नरहेको भन्ने ठानेर उनी बारेको सूचना अधिकारीहरूलाई दिएको हुनसक्ने अनुमान त्यहाँका मानिसहरूले गरेका पनि उनले बताइन्।

अधिकारीहरूका अनुसार मेसिना डेनारोले आफू पक्राउ पर्न लागेको भन्ने थाहा पाएपछि पनि भाग्ने प्रयास गरेनन्। र विशेष प्रहरी एकाइ काराबिनिएरीले सोधुपछ गर्दा आफू उनीहरूले खोजिरहेका व्यक्ति नै भएको स्वीकार गरेका थिए।

पक्राउ परेका बेला उनले "राम्रा र महँगो लुगा लगाएको" उनीहरूले बताए।

काराबिनेरीको विशेष बल आरओएसका जेनरल पास्केल एन्जेलोसान्तोले मेसिना डेनारोले पक्राउ पर्ने बखत ३५,००० यूरो बराबरको घडी लगाएको जानकारी दिए।

"माफिया पराजित नभएको कुरा प्रस्ट छ। उनीहरूले हारेको सोच्नु गलत हुनेछ," पालेर्मो अभियोजक जनरल मौरिजियो डी लुसियाले भने।

डी लुसियाले पत्रकारहरू समक्ष मेसिना डेनारोले पछिल्ला तीन दशक इटलीका विभिन्न भागहरूमा लुकेर बिताएको र हालै सिसिलीमा आएको बताए।

उनी पक्राउ परेपछि सम्पूर्ण राजनीतिक वृत्तबाट त्यहाँको सशस्त्र बलको प्रशंसा भइरहेको छ।

एक न्यायाधीश तथा पूर्व अभियोजक जनरल जियान कार्लो कासेलीले मेसिना डेनारोको गिरफ्तारी "एक असाधारण...ऐतिहासिक घटना" भएको बताए। उक्त गिरफ्तारीले सन् १९९३ मा इटलीमा १० जनाको ज्यान जाने गरी भएको बम आक्रमणबारे भइरहेको अनुसन्धानमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

इटलीका राष्ट्रपति, सर्जियो माटारेलाले आन्तरिक मन्त्री र काराबिनेरी सैन्य प्रहरीलाई बधाई दिए। उनका भाइ पियर्सेन्टी, सन् १९८० मा कोसा नोस्ट्राद्वारा मारिएका थिए।

प्रधानमन्त्री जर्जिया मेलोनीले सिसिलीको यात्रा गरिन् र पालेर्मो नजिकै ग्युसेप्पे फाल्कोन र सन् १९९२ मा भएको बम विस्फोटका ज्यान गुमाएका अन्य पीडितहरूको स्मारकको भ्रमण गरिन्। त्यहाँ उनले एक मिनेट मौन धारण समेत गरिन्।

मेलोनीले "माफिया आपराधिक समूहको सबैभन्दा महत्त्वपूर्ण सदस्य"लाई पक्राउ गर्ने कार्यको निम्ति सशस्त्र सेनालाई धन्यवाद दिँदै भनिन्, "यो राज्यको लागि ठूलो जित हो।"

डेनियल पालुम्बोद्वारा अतिरिक्त रिपोर्टिङ