एउटा बीभत्स ‘हत्या’का कारण स्तब्ध भारत, अनुसन्धानको अन्योल कस्ता?

तस्बिर स्रोत, Getty Images
- Author, गीता पाण्डे
- Role, बीबीसी न्यूज
- Reporting from, दिल्ली
पछिल्लो केही दिनयता भारतमा एकदमै विभत्स ‘मर्डर मोस्ट फाउल’ भनिएको हत्या एउटा घटनाबारे विभिन्न चर्चाहरू भैरहेका छन्।
राजधानी दिल्लीमा प्रहरीले तीन वर्ष आफूसँगै 'लिभ-इन' सम्बन्धमा बसेकी युवतीको हत्या गरेको आरोपमा अफताब पूनावाला नामक एक युवकलाई पक्राउ गरेको छ।
पूनावालाविरुद्ध गत मे महिनामा २७ वर्षीया श्रद्धा वाल्करको हत्या गरेर उनको शवलाई टुक्राटुक्रा पारी घरको फ्रिजमा राखेको र विगत केही महिनादेखि तिनलाई एकाएक गर्दै सहरको विभिन्न भागहरूमा फाल्दै आएको आरोप छ।
हाल आरोपित हिरासतमा छन् र उनले अहिलेसम्म कुनै सार्वजनिक बयान दिएका छैनन्। यद्यपि, मङ्गलवार उनले अदालत समक्ष आफू विरुद्ध "फैलिएको जानकारी सही नभएको" र आफूले "प्रहरी अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको" बताएका थिए।
वाल्करलाई उनका बुबाले हराएको भनेर प्रहरीमा रिपोर्ट गरेपछि गत हप्ता मात्रै उनको मृत्युको खुलासा भएको थियो।
यो घटना वाल्करको बुवाले गत साता उनी बेपत्ता भएको जानकारी दिएपछि मात्र सतहमा आएको हो।
त्यसयता कथित हत्यासम्बन्धी रहस्यमयी विवरणहरू भारतमा समाचारका शीर्षक बन्दै आएका छन् जसमा परिचय नखुलाइएका प्रहरी र स्थानीय पत्रकारहरूलाई उद्धृत गरिएको हुन्छ।
यस आपराधिक घटनालाई "द फ्रिज मर्डर"को सङ्ज्ञा दिइएको छ र यस मुद्दालाई सञ्चार माध्यमहरूले पनि ठुलो महत्त्वका साथ उठाएका छन्।
क्रुद्ध मानिसहरू प्रदर्शनका निम्ति सडकमा उत्रिएका छन्। उनीहरूले पूनावालालाई कडा सजायको मागसहित उनको पुत्ला जलाइरहेका छन्।
वकिल, कार्यकर्ता र पूर्व प्रहरी अधिकारीहरूले सञ्चार माध्यममार्फत जुन सघन रूपमा घटनासम्बन्धी समाचार विवरणहरू प्रस्तुत भैरहेको छ त्यसप्रति चिन्ता व्यक्त गरिरहेका छन्।
उत्तर प्रदेश राज्यको सेवानिवृत्त प्रहरी महानिर्देशक विक्रम सिंहले यसलाई "अत्यन्तै गैरजिम्मेवार"को रूपमा व्याख्या गरे।
"घटनाबारे सानासाना कुराको चर्चा हुनु अनुसन्धानको लागि हानिकारक छ र यस्तो कार्यले मृतकप्रति अपमान जनाउँछ," उनले बीबीसीलाई भने।
घटनाबारे निरन्तर चर्चा हुनुले कुन जानकारी सही र कुन गलत भन्ने कुरा छुटाउन कठिन बनाएको छ।
जानकारीहरू निकै फरक फरक आएकाले उक्त जोडीले एकअर्कालाई कसरी भेटेका थिए भन्ने विषयमै अन्योल सिर्जना गरिदिएको छ।

तस्बिर स्रोत, ANI
सम्बन्धको सुरुवात
प्रहरीका अनुसार वाल्कर र पूनावाला मुम्बईको एउटै क्षेत्रमा बस्थे। उनीहरूले एकअर्कालाई बम्बल नामक डेटिङ एपमा भेटेको बताइएको छ।
तर गत अक्टोबरको सुरुवातमा मुम्बई प्रहरीमा दिइएको उजुरीमा, वाल्करका बुबाले उनीहरूको भेट सन् २०१८ मा कल सेन्टरमा भएको बताए जहाँ दुवै जना काम गर्थे।
पूनावालासँगको सम्बन्ध स्वीकार नगरेकै कारण वाल्करको परिवारसँगको सम्बन्ध तनावपूर्ण थियो।
प्रहरी समक्ष उनका बुबाले भनेका छन्,"हामी हिन्दु हौँ र आफताब मुस्लिम। हामी फरक जात वा धर्म भएकासँग विवाह गर्दैनौँ।“ उनले छोरीलाई पूनावालासँग रहनबाट रोक्न खोजेको बताए।
तर उक्त जोडी सन् २०१९ देखि सँगै बस्न थाल्यो। यसै वर्षको सुरुवातमा उनीहरूले दिल्ली गएर छतरपुर पहाडी क्षेत्रमा अपार्टमेन्ट भाडामा लिएका थिए।
उक्त जोडीका साथीहरू र प्रहरीका अनुसार उनीहरू दुईबीच बारम्बार झगडा हुने गरेको थियो। त्यस्तै पूनावालाले वाल्करमाथि दुर्व्यवहार गर्ने गरेको आरोप लगाइएको छ।
वरिष्ठ प्रहरी अधिकारी अङ्कित चौहानले श्रद्धाले पूनावालालाई उनीसँग विवाह गर्न दबाब दिन थालेको र "मे १८ मा उनले आवेगमा वाल्करको घाँटी थिची हत्या गरेको" एएनआईलाई बताए।
वाल्करका साथीहरूले उनी केही महिनादेखि सम्पर्कमा नरहेको र फोन समेत बन्द रहेको जानकारी दिएपछि उनका बुबाले मुम्बई प्रहरीमा सम्पर्क गरेका हुन्।
दिल्ली प्रहरीका अनुसार बुधवार एक हस्तलिखित नोट सार्वजनिक भयो जुन वाल्करले सन् २०२० मा लेखेकी हुन्। त्यसमा उनले पूनावालाले आफूमाथि कुटपिट गरेको भन्दै उनी विरुद्ध उजुरी दिएकी थिइन् र उनले आफूलाई “मारेर टुक्राटुक्रा पारेर फाल्ने धम्की दिएको” जनाएकी थिइन्। ठ्याक्कै अहिले प्रहरीले जे भयो भनेको छ त्यस्तै।
आलोचनापछि मुम्बई प्रहरीले उक्त घटनाको छानबिन भएको र “युवतीले आफूहरूबीचको समस्या समाधान भएको र विवाद बाँकी नरहेको” लिखित जानकारी दिएपछि अनुसन्धान अघि नबढेको प्रस्टीकरण दिएको छ।

तस्बिर स्रोत, Getty Images
घटनाक्रमबारे थप जानकारी
मङ्गलवार जब पूनावालालाई अदालतमा घटनाबारे प्रश्न गरियो तब उनले भनेका थिए, "जे भयो त्यो त्यति बेलाको आवेगमा थियो र योजनाबद्ध थिएन।“
उनको बयानलाई कतिपयले स्वीकारोक्तिको रूपमा व्याख्या गरे, तर उनका वकिल अविनाश कुमारले भने पूनावालाले हत्या गरेको स्वीकार नगरेको तर "अनुसन्धानमा पूर्ण सहयोग पुर्याइरहेको" दाबी गरे।
उनको गिरफ्तारी लगत्तै प्रहरीले पूनावालाले आफ्नो अपराध स्वीकार गरेको र उनी विरुद्ध प्रमाण फेला पार्न केही सङ्केत दिएको बताएको थियो।
त्यसपछि उनीहरूले उनको अपार्टमेन्टमा खोजी गरे र नजिकैको जङ्गलमा पुर्याए जहाँ प्रहरीका अनुसार- "उनले मृतकका शरीरका अङ्गहरू फालेका थिए।"
प्रहरीले केही हड्डी र शरीरका अङ्गहरू फेला पारेको बताएको छ। त्यसलाई हाल फोरेन्सिक विश्लेषणका लागि पठाइएको छ। ती वाल्करकै हुन् या होइन भन्ने पत्ता लगाउन उनको बुबाको डीएनए नमूनासँग परीक्षण गरिने छ।
प्रहरीले विशेष उपकरणसहित दिल्ली नजिकको गुडगाउँ वरपर हत्यामा प्रयोग गरेको भनिएको चक्कुको खोजी गरिरहेको छ। गोताखोरहरूले दिल्लीको मैदान गढी क्षेत्रको पोखरीमा केही हड्डीहरू भेटेपछि थप अनुसन्धानको निम्ति पोखरी खाली गरिएको छ।
विहीवार अभियुक्तको 'पोलिग्राफ' परीक्षण गरियो र पछि 'नार्को' विश्लेषण परीक्षणमा राखिने ठानिएको छ। यस प्रक्रियामा "ट्रुथ सीरम" नामक औषधि व्यक्तिलाई प्रश्न सोध्नु अघि सुइमार्फत दिइन्छ।
पूनावालाले विरोधाभासपूर्ण बयानहरू दिएपछि अदालतलाई भ्रमित तुल्याएको आरोपसहित न्यायाधीशले परीक्षणको आदेश दिएका हुन्।

तस्बिर स्रोत, Getty Images
अनुसन्धानमा अन्योल
मङ्गलवार प्रहरीले अदालतमा उनीहरूको अनुसन्धानको ८० प्रतिशत पूरा भएको बताएको थियो। तर विवरणहरूले प्रहरी अझै पनि अपराध पुष्टि गर्न महत्त्वपूर्ण प्रमाणहरू खोजिरहेको जनाउँछ।
मृतक र अभियुक्त बस्ने घरबाट वाल्करको कुनै पनि सामान बरामद भएको छैन। र, कथित हत्याको घटना महिनौँ अघि भएकाले केही प्रमाणहरू मेटिएको हुनसक्छ।
शवलाई टुक्राउन आरा वा मासु काट्न प्रयोग हुने खालका ‘गह्रौँ र धारिलो हतियार’ प्रयोग गरिएको हुनसक्ने प्रहरीको भनाइ छ जुन अहिलेसम्म फेला परेको छैन।
प्रहरीले बरामद गरेका हड्डीहरू साँच्चै पीडितकै हुन् वा होइनन् भन्ने पनि अहिलेसम्म पुष्टि भइसकेको छैन। र कथित हत्याको भएको महिनौँपछि फेला परेका अवशेषहरूको गुणस्तरमा ह्रास आएको हुन सक्ने बताइएको छ।
दिल्ली प्रहरीसँग ठोस प्रमाणहरू निकै कम भएको र उनीहरूसँग भएको मुद्दा सम्बन्धी परिस्थितिजन्य प्रमाणहरूमा अदालतमा छानबिन हुन नसक्ने भन्दै आलोचना भइरहेको छ।
यसबारे प्रतिक्रिया लिन बीबीसीले दिल्ली प्रहरीलाई सम्पर्कको प्रयास गर्यो तर अधिकारीहरूले उनीहरू "अनुसन्धानमा व्यस्त" रहेको जवाफ दिएका छन्।
तर सेवानिवृत्त प्रहरी अधिकारी विक्रम सिंह भन्छन्, "प्रचुर प्रमाणहरू छन् र दक्ष अन्वेषकले अभियुक्तलाई दोषी ठहर गर्न सक्नेछन्"।
“कहिलेकाहीँ अपराधमा प्रयोग भएको हतियार फेला पार्न समय लाग्छ तर यदि त्यहाँ रगतको एक थोपा वा थुक छ वा मासुको टुक्रा छ भने सबै कुरा पत्ता लाग्छ।“
यस बाहेक पूनावालाविरुद्ध "उनीहरू सँगै बसिरहेका पुष्टि गर्ने छिमेकीहरूको बयान र सीसीटीभी फुटेजहरू छन् जसमा श्रद्धा नियमित रूपमा घरमा आएको र बाहिर निस्किएको देखिन्छ। ती "पर्याप्त परिस्थितिजन्य प्रमाणहरू" हुन्।





