भारतमा लुकेको ठानिएका हत्या अभियुक्त पत्ता लगाउन साढे ८ करोड इनाम

तस्बिर स्रोत, Supplied
अस्ट्रेलियाको सुदूर उत्तरमा अवस्थित वान्गेटी समुद्री तट टोया कोर्डिङ्ग्लीलाई असाध्यै मन पर्थ्यो।
तर त्यहाँ नै एउटा ‘आवेशपूर्ण, क्रूर र निर्दयी हमला’मा उनले आफ्नो जीवन गुमाउनुपर्यो।
सन् २०१८ अक्टोबर २१ मा आफ्नो कुकुरलाई डुलाउँदै उनी उक्त तटमा गएकी थिइन्।
पहिला पनि कैयौँ पटक त्यसरी हिँडेकी २४ वर्षकी उनी त्यस दिनबाट भने कहिल्यै फर्किएर आइनन्।
अर्को दिन बिहान उनका पिताले उनको ‘सग्लो नभएको’ शव बालुवामा आधा पुरिएको अवस्थामा भेट्टाए।
नजिकै बाँधिएको अवस्थामा फेला परेको कोर्डिङ्ग्लीको प्रिय कुकुरलाई भने कुनै क्षति पुर्याइएको थिएन।
खोजी किन
चार वर्षपछि अस्ट्रेलियाका अधिकारीहरूले टोयाको हत्यामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति राजविन्दर सिंहको खोजीका लागि सर्वसाधारणलाई सहयोग गर्न अपिल गरिरहेका छन्।
पेसाले नर्स रहेका सिंहको मूल घर भारतको पन्जाबमा पर्ने बट्टर कलान हो। तर उनी इनिसफेलमा बस्थे।
टोयाको शव भेटिएको केही घण्टामै उनी आफ्नो काम, श्रीमती र तीन सन्तानलाई छाडेर अस्ट्रेलियाबाट भागे।
सञ्चारमाध्यमहरूले प्रकाशित गरेका विवरणमा प्रत्यक्षदर्शीहरूले टोया मारिएको दिन सिंहका गतिविधि शङ्कास्पद रहेको र चिथोरिएका र टोकिएका दागहरु उनको शरीरमा देखिएको बताएका छन्।
अस्ट्रेलिया र भारतका अधिकारीहरूले सुपुर्दगी आदेशबारे सहमति गरेका छन् तर हालसम्म ३८ वर्षका ती व्यक्ति फेला पार्न सकेका छैनन्।

तस्बिर स्रोत, QUEENSLAND POLICE
त्यहि भएर क्विन्सलेन्डको प्रहरीले अघिल्लो हप्ता उनको पक्राउलाई सहयोग पुग्ने सूचना दिने व्यक्तिका लागि १० लाख अस्ट्रेलियन डलर अर्थात् ८ करोड ६६ लाख नेपाली रुपियाँ बराबरको इनाम दिने घोषणा गरेको छ।
“हामीलाई थाहा छ कि मानिसहरूले यो व्यक्तिलाई चिन्छन् र उनीहरूलाई ऊकहाँ छ भन्ने थाहा छ त्यही भएर हामीले मानिसहरूलाई सही काम गर्न अनुरोध गरेका हौँ,” प्रहरी मामिला सम्बन्धी मन्त्री मार्क रायनले भने।
“यो व्यक्तिमाथि एकदमै जघन्य अपराधको आरोप छ। त्यस्तो आरोप जसले एउटा परिवारलाई नै भताभुङ्ग पारिदियो।”
‘सबैले टोयालाई चिन्थे’
अनुसन्धानकर्ताहरूले टोयाको मृत्यु कसरी भयो भन्नेबारे ज्यादै कम सूचना दिएका छन्।
तर केर्न्सभन्दा ४० किलोमिटर उत्तरमा पर्ने तटमा शव फेला पर्दा उनको शरीरमा गम्भीर र देखिने खालका चोटपटक लागेको विवरणहरूमा उल्लेख छ।
प्रहरीले यौन सम्बन्धको उद्देश्यले आक्रमण गरिएको हुनसक्ने विश्वास लिएको छ।
स्थानीयहरूले मित्रवत् वातावरण रहेको क्षेत्रमा त्यस्तो खालको भयावह हत्याप्रति आश्चर्य व्यक्त गरेका छन्।
एकदमै नजिकको सम्बन्ध भएको आफ्नो समुदायकी प्रिय सदस्यको हत्यालाई लिएर उनीहरू आक्रोशित छन्।
“उनले छोटो समयमा नै धेरैको मन जितेकी थिइन्। उनी यस्ती थिइन् की सबैले उनलाई चिन्थे,” स्थानीय काउन्सिलर माइकल केरले प्रसारक संस्था एबीसीसँग भनेका छन्।
मित्रवत् र क्षमतावान् व्यक्तिका रूपमा परिचित टोया जनावरहरूलाई प्रेम गर्थिन्।
अस्ट्रेलियामा हत्याका शृङ्खलावद्ध घटनाहरूपछि युवतिहरूको सुरक्षाबारे चिन्ता व्यक्त भइरहँदा टोयाले ज्यान गुमाएकी थिइन्।

तस्बिर स्रोत, Getty Images
सार्वजनिक समुद्री तटमा एउटा ठूलो कुकुरसहित दिउँसै हिँड्दा समेत उनी असुरक्षित देखिएको भन्दै कैयौँले प्रश्न उठाएका छन्।
“त्यो हृदय विदारक हो। महिला भएको नाताले म त्यहाँ जान र आफ्नो जीवन बाँच्न चाहन्छु,”क्विन्सलेन्डकी प्रिमिअर अनासटेजिया पालोसेले त्यसबेला भनेकी थिइन्।
“आइतबार आफ्नो कुकुर सहित हिँडिरहेकी एक जना युवतिमाथि यस्तो हुनुहुँदैन।”
सिंहमाथि किन आरोप लगाइयो
टोयाको निधन भएपछिका केही दिन त्यहाँको समुदायले हत्याराको खोजी प्रयासमा दिलोज्यान लगाएर सघाएको थियो।
प्रहरीलाई कैयौँ सूचनाहरू दिइयो भने केही प्रमाण फेलापर्ने आशामा सयौँ मानिसहरू सो तटमा खोजी कार्यमा जुटे।
प्रहरीले स्थानीयबाट डिएनए नमुनाहरू सङ्कलनको काम थाल्यो र प्रमाणको खोजी गर्यो।
उत्तरी केर्न्सको एउटा खोजमा कैयौँ त्यस्ता सामाग्री फेला परेको भनिएको भएपनि प्रहरीले त्यसबारे खुलाएको छैन।
प्रहरीले घटनास्थलबाट दुई घण्टाको दुरीमा रहेको सिंहको घरको खानतलासी गर्यो तर उनको बयान लिन सकेन। किनभने उनले अस्ट्रेलिया छाडिसकेका थिए।
सिंहका आफन्तले स्थानीय सञ्चारमाध्यमलाई उनी आफ्नो घर फर्कनु संयोग मात्रै भएको बताएका थिए।
उनले भनेका थिए, “राजले हत्या गर्न सक्दैन। ऊ एकदमै शान्त छ र ऊ डराउँछ। आफ्नो कामका कारण ऊ एकदमै तनावमा थियो।”
न्यायको लडाइँ

तस्बिर स्रोत, QUEENSLAND POLICE
तर अस्ट्रेलियाको सरकारले मार्च २०२१ मा सुपुर्दगीको लागि प्रयास अघि बढायो। एकदमै बलियो प्रमाण अनुसन्धान अधिकारीहरूसँग भएपछि मात्रै त्यस्तो माग गर्ने गरिन्छ।
अघिल्लो महिना भारतीय अधिकारीहरूले अनुरोधलाई स्वीकार गरे जसको अर्थ स्थानीय प्रहरीले फेला पारेको खण्डमा सिंहलाई पक्राउ गरी अस्ट्रेलियालाई सुम्पनसक्छन्।
चार वर्षको पर्खाइपछि टोयाको परिवारले न्याय पाउने आशा राखेको छ।
टोयाको साथीहरू हुर्किएको, विवाह गरेको र सन्तान जन्माएको देखेको उक्त परिवार ‘आफ्नी छोरीको ज्यान लिने मानिस निस्फिक्री हिँडिरहेको’ कारण थप पीडामा छ।
इनाम घोषणा गरिएका बेला टोयाका पिता ट्रोय कोर्डिङ्ग्लीले आफ्नी छोरी र उनीबाट खोसिएको कुरा फिर्ता नआउने भएपनि न्याय पाउनुपर्ने बताए।
उनले भने, “न्यायले टोयालाई फर्काउँदैन तर उनी न्यायको हकदार हुन्।”








