इटलीमा २,००० वर्षअघि ज्वालामुखीले पुरेका व्यक्ति 'जलसेनाका उद्धारकर्ता हुनसक्ने'

हर्कुलेनिअममा अध्ययन गर्दै एक पुरातत्त्वविद्

तस्बिर स्रोत, Parco Archeologico di Ercolano

तस्बिरको क्याप्शन, झन्डै चार दशकअघि यो अस्थिपञ्जर फेला परेको थियो

इटलीका पुरातत्त्वविद्हरूले भेसुभिअस पर्वतमा झन्डै २,००० वर्षअघि भएको ज्वालामुखी विस्फोटनका कारण मृत्यु भएका एक व्यक्ति उद्धारकर्ता भएको हुनसक्ने बताएका छन्।

उक्त स्थानमा फेला परेको अस्थिपञ्जर यसअघि कुनै सैनिकको भएको अनुमान गरिएको थियो।

सन् १९८० को दशकमा हर्कुलेनिअममा उनको समेत झन्डै ३०० जनाको अस्थिपञ्जर भेटिएको थियो।

अहिले ती व्यक्ति इतिहासकार तथा जलसेनाका कमान्डर प्लिनी द एल्डरले परिचालन गरेको उद्धार टोलीमा संलग्न एक वरिष्ठ सैन्य अधिकृत भएको विश्वास गरिएको छ।

उक्त ज्वालामुखी विस्फोटनका कारण हर्कुलेनिअ र नजिकैको पोम्पेई सहर प्रभावित भएका थिए।

उद्धारकर्ताको अस्थिपञ्जर

सन् ७८ मा८० किलोमिटर प्रतिघण्टाभन्दा बढी वेगमा आएर लाभा, माटो र ग्यासले हर्कुलेनिअमलाई पुरेका थिए। अनि भवन र मानिसलाई लाभाले लपक्कै ढाकिदिएको थियो।

पोम्पेईबाट उत्तरतिर एउटा बलौटे स्थानमा चार दशकअघि घोप्टो परेको अवस्थामा मानव अवशेषहरू फेला परे।

हर्कुलेनिअममा फेला परेको अस्थिपञ्जर

तस्बिर स्रोत, Parco Archeologico di Ercolano

तस्बिरको क्याप्शन, उक्त अस्थिपञ्जरसँगै औजारहरू भएको झोला पनि भेटिएको थियो

तीमध्ये २६ नम्बर सङ्केत दिइएको अस्थिपञ्जर ४० देखि ४५ वर्षका व्यक्ति भएको बताइन्छ र उनको स्वास्थ्य राम्रो भएको ठानिएको छ। उनलाई ज्वालामुखीको वेगले भुइँमा बजारेको ठानिएको छ।

नजिकै एउटा डुङ्गा फेला परेको थियो र तटमा फेला परेका ३०० वटा अस्थिपञ्जर उद्धारको प्रतीक्षामा बसेका व्यक्तिको ठानिएको छ।

हर्कुलेनिअमको पुरातात्त्विक क्षेत्रका निर्देशक फ्रान्सेस्को सिरानोले २६ नम्बरको अस्थिपञ्जर भएका व्यक्तिले सुरुमा सोचिएकोभन्दा उद्धारकार्यमा महत्त्वपूर्ण भूमिका खेलेको हुनसक्ने बताए।

सिरानोले एएनएसए समाचार संस्थासँग भने, “उनी प्लिनी द एल्डरले बे अफ नेपल्सको उक्त क्षेत्रमा पर्ने नगर र आवासीय क्षेत्रमा मानिसहरूको उद्धारका लागि परिचालन गरेको जलसेनाको उद्धार टोलीका सदस्य हुनसक्छन्।”

उनका अनुसार ती व्यक्तिको साथमा १२ वटा चाँदीका सिक्का र दुईवटा सुनका असर्फी भेटिएको थियो जुन प्रीटोरियन गार्ड भनिने विशेष सैन्य टोलीका सदस्यको एक महिनाको तलबजति हो।

सुन र चाँदीले सिँगारिएको पेटी र हस्तिहाडको बिँड भएको तरबारले उनी केवल सामान्य सैनिक नभएको सङ्केत गर्छन्।

जलसेनाअन्तर्गत डुङ्गा बनाउने दक्षता भएका सिकर्मीले प्रयोग गर्ने खालका औजार पनि उनको झोलामा भेटिएको जनाइएको छ।

कमान्डरको पनि मृत्यु

पिन्ली द एल्डर रोमन जलसैनिक कमान्डर थिए जसलाई हर्कुलेनिअमभन्दा माथिको मिसेनम भन्ने बन्दरगाहमा तैनाथ गरिएको थियो।

प्राकृतिक इतिहाससम्बन्धी आफ्ना लेखनका कारण उनी चिनिने गर्छन्।

ती व्यक्तिको अस्थिपञ्जरमा तरबार, पेटी र चुप्पी पनि थिए

तस्बिर स्रोत, Parco Archeologico di Ercolano

तस्बिरको क्याप्शन, ती व्यक्तिको अस्थिपञ्जरमा तरबार, पेटी र चुप्पी पनि थिए
line

भेसुभिअस ज्वालामुखी विस्फोटनमा उनको मृत्यु भएको अभिलेख उनका भतिजा पिन्ली द जुनिअरले इतिहासकार टासिटसलाई लेखेको दुईवटा पत्रमा उल्लेख गरेका छन्।

उक्त पत्रको अंशमा डुङ्गा तटतर्फ आउँदै गर्दा खरानी अझ तातो र कालो भएको र त्यसको पछिपछि ज्वालामुखीको चट्टान, बलेको डुङ्गा र आगो देखिएको उल्लेख गरिएको छ।

आफ्ना काकाले जहाजका कप्तानको सुझावअनुसार पछि फर्किने कि नफर्किने भनेर केही समय विचार गरे पनि अघि बढ्ने निर्णय लिएको उनले उल्लेख गरेका छन्।

उक्त क्षेत्रमा उत्खननको कार्य केही हप्तामा पुनः थालिने अपेक्षा गरिएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ज्वालामुखीको लाभाले गाउँ पुर्दा