इटली: दशकौँयता विशाल माफियाविरुद्ध सुनुवाइ हुँदै

सुनुवाइ कक्ष

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, सयौँ सहभागी हुनसक्ने ठानेर एउटा कल सेन्टरलाई परिमार्जित गरी सुनुवाइ कक्ष बनाइएको छ

इटलीको सबैभन्दा शक्तिशाली माफिया समूह भनेर आरोप लागेको समूहका सदस्यहरूविरुद्ध इटलीमा सुनुवाइ गर्न लागिएको छ।

दशकौँयता त्यस्तो सुनुवाइ हुन सकेको थिएन।

ड्रङ्गेटा समूहमाथि गरिएको लामो अनुसन्धानपछि ३३५ सन्दिग्ध लुटेराहरू र भ्रष्ट अधिकारीमाथि अभियोग दायर गरिएको छ।

नौ सयभन्दा बढी साक्षीले सो सुनुवाइका क्रममा हत्या, लागुऔषध ओसारपसार, कालो धन र जबरजस्ती असुलीबारे प्रमाण दिने अपेक्षा गरिएको छ।

सुनुवाइ बुधवार शुरू हुनेछ र दुई वर्षसम्म चलिरहने अपेक्षा गरिएको छ।

सुनुवाइ दक्षिणी कलब्रिया क्षेत्रमा पुनर्निर्माण गरिएको एक भवनमा हुनेछ। यो ड्रङ्गेटा समूहको चलखेल हुने मुख्य भूभागका रूपमा चिनिन्छ।

सन् १९८० यता इटलीमा यति ठूलो स्तरमा माफियाको सुनुवाइ भएको छैन।

लामेजिया टेर्मे सहरमा रहेको कल सेन्टर भवनलाई पुनर्निर्माण गरेर सुनुवाइ गर्ने नयाँ स्थान बनाइएको हो।

सयौँ मानिस सहभागी हुन सक्ने गरी भवनको स्वरूप परिमार्जन गरिएको हो।

को हुन् अभियुक्त?

यस अघि सन् १९८६ -१९९२ सम्म भएको सुनुवाइभन्दा फरक बुधवार हुने ड्रङ्गेटा माफिया समूहभित्र मनकुसो परिवार भनेर चिनिने समूहविरुद्ध लक्षित रहेको बताइएको छ।

सन् १९८६ -१९९२ मा मुख्यतः सिसिलीका कोसा नोस्ट्रा परिवारविरुद्ध लक्षित थियो।

ड्रङ्गेटा कोसा नोस्ट्राभन्दा ठूलो समूह रहेको मानिन्छ। उनीहरू भिबो भ्यालेन्सियाको कलब्रिया प्रान्तमा सक्रिय छन्।

एएफपी समाचार एजेन्सीका अनुसार हालै भएको एक सुनुवाइमा अभियुक्तहरूको नाम पढ्न मात्रै तीन घण्टा लागेको थियो।

अभियुक्तहरूमा राजनीतिकर्मी, प्रहरी अधिकारी, सरकारी कर्मचारी र डकैती समूहका आरोपित सदस्यहरू छन्।

सबभन्दा ठूला मानिएका अभियुक्त ६६ वर्षीय लुइगी म्यानकुसो हुन्।

६६ वर्षीय उनी 'अङ्कल' भनेर चिनिन्छन्। उदाहरणका लागि केही अभियुक्तहरू 'द वूल्फ' अर्थात् ब्वाँसो, 'फ्याटी' अर्थात् मोटे र ब्लोन्डी जस्ता नामले चिनिन्छन्।

आरोपितहरू ४०० भन्दा बढी छन्। ९२ ले सुनुवाइको छिटो बाटो 'फास्ट ट्र्याक' चुनेका छन्।

अभियुक्तमध्ये अधिवक्ता तथा पूर्वप्रधानमन्त्री सिल्भिओ बेर्लस्कोनीको फोर्जा इटालिया पार्टीका सांसद जियानकार्लो पिटेली लगायत छन्।

पीटेली ड्रङ्गेटा समूहलाई राजनीति र अदालतजस्ता शक्तिशाली संस्थासँग जोडेको भन्ने आरोप अस्वीकार गर्छन्।

धेरैजसो अभियुक्तहरू डिसेम्बर महिनामा इटली, जर्मनी, स्वीट्जरल्यान्ड र बुल्गेरियामा गएका खानतलासीमा गिरफ्तार गरेर नियन्त्रणमा लिइएका हुन्।

माफिया विरोधि अभियोजनकर्ता निकोला ग्राटेरी

तस्बिर स्रोत, AFP

तस्बिरको क्याप्शन, माफिया विरोधी अभियोजनकर्ता निकोला ग्राटेरीले ड्रङ्गेटा समूहलाई 'निमिट्यान्न पार्ने' प्रण व्यक्त गरेका छन्

आरोपहरू के के छन्?

ड्रङ्गेटाहरूले दक्षिण अमेरिका र अन्यत्रबाट आउने कोकिनको ठूलो मात्रा नियन्त्रण गर्ने गरेको विश्वास गरिन्छ।

सयौँ अभियुक्तलाई लागेको आरोप लागुऔषध अपराधभन्दा फरक किसिमका पनि छन्।

माफिया सञ्चालन, हत्या, हत्या प्रयत्न, असुली, अस्वाभाविक ब्याजदरमा ऋण दिएको, सरकारी सूचना चुहाएको र पदको दुरुपयोग गरेको लगायतका आरोप छन्।

अक्सफर्ड विश्वविद्यालयका अपराधसम्बन्धी प्राध्यापक फेडेरिको भरिसिले भने, "यो सुनुवाइले ड्रङ्गेटाले समाजमा कति गहिरो जरा गाडेको रहेछ भन्ने देखाउँछ।"

"सयौँ मानिसविरुद्ध मुद्दा चलाउनुपर्ने अवस्था आउनुले आपराधिक समूहको उपस्थिति देखाएको छ यो स्तब्धकारी छ।"

अभियोजनकर्ता निकोला ग्राटेरीले ड्रङ्गेटा समूह निमिट्यान्न पार्ने प्रण गरेका छन्।

तीन दशकदेखि प्रहरीको संरक्षणमा रहेका ६२ वर्षीय निकोला ग्राटेरी माफियाविरोधी प्रख्यात अभियोजनकर्ता हुन्।

उनले "मानिसहरूलाई सास फेर्न मुस्किल पर्ने गरी र मुटुको चाल ठप्प पार्ने गरी" दुःख दिइरहेको ड्रङ्गेटा समूह समाप्त पार्ने बताए।

प्रोफेसर भर्सिले मुद्दा सुनुवाइले मात्र उक्त समूहको अन्त्य नहुने चेतावनी दिएका छन्।

उनले भने, "उनीहरूलाई जेलमा हाल्न सकिन्छ तर उनीहरू अस्तित्वमा रहनुको कारण पत्ता नलगाएसम्म नयाँ ड्रङ्गेटाहरू पैदा भइरहनेछन्।"