एल च्यापो: मेक्सिकोका खुङ्खार लागुऔषध तस्करीका नाइकेको यस्तो छ कहानी

गुजमान

तस्बिर स्रोत, Reuters

कुनै समय विश्वकै सबभन्दा धनी व्यक्तिमध्येका एक मानिने ह्वाकिन गुज्मान लागुऔषध कारोबार गर्ने एउटा सञ्जालका नाइके थिए।

सिनालोआ नामक उक्त सञ्जाल अमेरिकामा लागुऔषध तस्करी गर्ने सबभन्दा ठूलो आपूर्तिकर्ता रह्यो।

जेलबाट सुरुङ खनेर भागेका गुजमानलाई सन् २०१६ को जनवरीमा फेरि पक्राउ गरिएको थियो।

त्यसपछि उनलाई अमेरिका सुपुर्दगी गरियो।

नोभेम्बरमा सुरु भएको उनीविरुद्धको मुद्दामा गुजमानले कसरी आफ्ना मान्छे खटाएर हजारौँ हत्या, हमला, अपहरण तथा विरोधीविरुद्ध यातनाको सिलसिला मच्चाए भन्ने वर्णन गरिएको थियो।

शुक्रवार खुलाइएको अदालतका कागजपत्रमा उनीमाथि १३ वर्ष सम्मका कम उमेरका किशोरीहरूलाई नसामा लट्ठ पारेर बलात्कार गरेका आरोप पनि लगाइएका छन्।

के भयो पछिल्लो सुनुवाइमा?

मेक्सिकोका कुख्यात लागुऔषध तस्कर ह्वाकिन एल च्यापो गुजमानलाई दशवटा विभिन्न आरोपमा न्यूयोर्कको ज्युरीले दोषी ठहर गरिदिएको छ।

ती आरोपहरूमा कोकेन तथा हिरोइन जस्ता नशालु पदार्थको वितरण, अवैध हतियारको स्वामित्व तथा सम्पत्ति शुद्धीकरण रहेका छन्। योसँगै अब उनलाई आजीवन कारावासको सजाय हुने ठानिएको छ।

कोरोनेल

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, गुजमानकी पत्नी एम्मा कोरोनेल सुनुवाइमा उपस्थित थिइन्

अमेरिकाको न्यूयोर्कमा भइरहेको सुनुवाइका क्रममा ज्युरीले एकमतले सो फैसला गरेको थियो।

सुनुवाइका बेला गाढा रङ्गका सुट ज्याकेट र टाई लगाएर उपस्थित गुजमानले फैसलाप्रति कुनै भाव प्रदर्शित नगरेको सीबीएस समाचार संस्थाले जनाएको छ।

अदालतबाट बाहिर निक्लने क्रममा उनले आफ्ना वकिलसँग हात मिलाए अनि आफ्नी पत्नी २९ वर्षीय पूर्व सुन्दरी एम्मा कोरोनेललाई बूढीऔँला उज्याएर अभिवादन गरे।

को हुन् उनी?

सन् १९५७ मा किसान परिवारमा जन्मिएका गुजमान सुरुमा गाँजा तथा अफिम खेतीमा कामदारको रूपमा काम गर्थे।

त्यसपछि उनले तिनताका 'गडफादर' समेत भनिने ग्वादालाहारा गुटका तस्कर नाइके मिगुएल एन्जेल फेलिक्स गाल्यार्दोको सहयोगी भएर काम गरे।

त्यसपछि तस्करीको दुनियाँमा उनी तीव्र गतिले उदाए।

Presentational grey line

यो पनि हेर्नुहोस्

Presentational grey line

सन् १९८० को दशकको अन्तिमतिर उनले मेक्सिकोको उत्तर पश्चिम क्षेत्रमा सिनालोआ कार्टेल वा गुट खडा गरे।

समयक्रममा उक्त गुट अमेरिकामा तस्कर गर्ने सबभन्दा ठूलोमध्येको सङ्गठित समूह बन्यो।

सन् २००९ मा एक अर्ब डलरको सम्पत्ति सहित विश्वकै सबभन्दा धनीमध्ये ७०१ औँ नम्बरमा पर्दै फोर्ब्स पत्रिकामा गुजमानको नाम आयो।

होचो कदका कारण एल च्यापो अर्थात् 'पुड्के' उपनाम पाएका गुजमानलाई प्रतिद्वन्द्वी समूहले सन् १९९३ मा गरेको हत्या प्रयासमा उनी बल्लबल्ल जोगिए।

त्यसपछि उनलाई मेक्सिकोका अधिकारीहरूले पक्राउ गरे र २० वर्ष जेल हाले।

कसरी उनी दुईपटक जेलबाट भागे?

गुजमान सन् २००१ मा पहिलोपटक जेलबाट भागेका थिए।

क्याप

तस्बिर स्रोत, .

तस्बिरको क्याप्शन, सिनालो‌आमा उनको नाम अंकित क्याप पाइन्छन्।

अत्यन्त सुरक्षित मानिने पोन्टे ग्रान्डे जेलबाट उनी लुगा राख्ने बाकसमा लुकेर भागेको बताइन्छ।

त्यसमा उनलाई भ्रष्ट जेल अधिकारीहरूले सघाएका थिए।

तेह्र वर्षसम्म उनले सबैलाई छक्याउँदै आफ्नो 'साम्राज्य' विस्तारमा लागिपरे।

दोस्रो पटक उनी सन् २०१४ को फेब्रुअरीमा समातिए।

मध्यमेक्सिकोस्थित एल्टिप्लानो जेलमा उनी राखिए।

तर सन् २०१५ को जुलाईमा उनी फेरि जेलबाट भागे।

सुरुङबाट उनी कसरी भागे?

यस पटक उनी डेढ किलोमिटर लामो सुरुङबाट भागेका थिए। सो सुरुङ जेलबाहिरबाट सिधै उनी बस्ने जेलको कोठामुनि जोडिएको थियो।

एल च्यापो

तस्बिर स्रोत, Getty Images

त्यसरी उनलाई भगाउन निकै मेहनत र योजना गरिएको पाइयो।

सो सुरुङ जेल नजिकैको एक निर्माणस्थलबाट सुरु भएको थियो।

Presentational grey line

यो पनि हेर्नुहोस्

Presentational grey line

सुरुङमा हावा आउजाउ गर्न तथा प्रकाशको समेत व्यवस्था गरिएको थियो।

तर यसपटक उनी लामो समय स्वतन्त्र रहन सकेनन्। पाँच महिनापछि उनलाई पुन: समातियो।

एक वर्षपछि उनलाई अमेरिका सुपुर्दगी गरियो जहाँ उनी विभिन्न मुद्दा खेपिरहेका छन्।

कैयौँ कुख्यात तस्कर सक्रिय रहेको मेक्सिकोमा समेत गुजमानलाई उनले प्रयोग गर्ने हिंसाका कारण निकै डरलाग्दो मानिन्थ्यो।

तर उनको गृहराज्यमा भने कतिपयले उनलाई एक किसिमको नायकको रूपमा समेत हेर्छन्।