इटलीमा सुक्खा: उत्तरी क्षेत्रमा 'खडेरी सङ्कटकाल' घोषणा

सुक्खा

तस्बिर स्रोत, EPA

इटलीले ७० वर्षयताकै सबैभन्दा खराब खडेरीबीच पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरेको छ।

कोल्डिरेट्टी कृषि युनियनका अनुसार खडेरीले इटलीको ३० प्रतिशतभन्दा बढी कृषि उत्पादन नष्ट हुने खतरा भएको छ।

एमिलिया-रोमान्या, फ्रियूली भेनेत्सा जोलिया, लोम्बार्डि, पिडमन्ट र भेनेटो क्षेत्रलाई पानीको अभाव सम्बोधन गर्न आपत्कालीन कोषमा तीन करोड ८० लाख डलर रकम दिइनेछ।

कतिपय नगरपालिकाले यसअघि नै नगरवासीले व्यक्तिगत रूपमा कति पिउने पानी पाउनेछन् भनेर मात्रा तोकिसकेका छन्।

इटलीको सरकारले भनेको छ, "सङ्कटकालको उद्देश्य भनेको वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ व्यवस्थापन गर्ने भन्ने हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीको हाहाकार

उसले स्थितिमा सुधार नभए थप कदम चाल्नसक्ने जनाएको छ।

असामान्य रूपमा गर्मी मौसम र हिउँद तथा वसन्त ऋतुमा कम वर्षा हुँदा उत्तरी इटलीमा पानीको अभाव जटिल बनेको छ।

त्यसले जलवायु परिवर्तनका प्रभावका डरलाई थप बढाएको छ।

प्रधानमन्त्री मारियो ड्रागीले आइतवार डोलोमिटस हिमनदीमा आएको भयानक पहिरो पनि "निःसन्देह रूपमा" जलवायु परिवर्तनसँग जोडिएको बताए।

उक्त घटनामा सातजनाको मृत्यु भएको थियो भने १३ जना अझै बेपत्ता छन्।

पो इटलीको सबैभन्दा लामो नदी हो।

उक्त नदी ६५० किलोमिटर लामो छ र पूर्वतिर बग्छ।

सुक्खा

तस्बिर स्रोत, ANADOLU AGENCY VIA GETTY IMAGES

पो उपत्यकाका कृषकहरूले अहिले नुनिलो समुद्री पानी नदीमा पसेर आएको र त्यसले बाली नष्ट भएको बताएका छन्।

यसैबीच, इटालीको सुदूर उत्तरी क्षेत्र डोलोमिटस्‌को सर्वोच्च शिखर मार्मोलादामा हिमनदीमा भएको घटनामा बेपत्ता भएका १३ जनाको खोजी कार्य जारी छ।

थर्मल इमेजिङ क्यामेरायुक्त ड्रोनहरूले जीवित व्यक्तिको खोजी गर्न उडान गरेका थिए।

तर उद्धारकर्ताहरूले कसैलाई जीवित फेला पार्ने आशा कम रहेको बताएका छन्।

उक्त हिमपहिरोका कारण सात जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ।

मृतक र घाइतेमध्ये कैयौँ विदेशीहरू रहेका छन्।

उक्त हिमपहिरोमा कम्तीमा एकजना चेक नागरिक मारिएको मङ्गलवार प्रागका अधिकारीहरूले बताएका छन्।

ती व्यक्ति बेपत्ता भएका साथीसँगै यात्रा गरिरहेका थिए।

इटलीका प्रधानमन्त्रीले सोमबार उक्त क्षेत्रको भ्रमण गरेका थिए।

इटलीका राष्ट्रपतिले चाहिँ उक्त प्रकोपलाई जलवायु परिवर्तनलाई समयमै सम्बोधन नगरे विश्वमा के हुनसक्छ भन्ने एउटा उदाहरण भएको बताए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, सुक्खाले आक्रान्त पूर्वी अफ्रिकामा वन्यजन्तु र पशुचौपायाको बिजोग