अमेरिकाले पाकिस्तानको बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका चार आपूर्तिकर्तामाथि किन प्रतिबन्ध लगायो

    • Author, सहार बलोच
    • Role, बीबीसी उर्दू, इस्लामावाद

पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमको तयारीमा सहयोग गरेको भन्दै अमेरिकाले तीन चिनियाँ कम्पनी र एक बेलारूसी कम्पनीमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले एक विज्ञप्तिमार्फत् यसबारे जानकारी गराएका हुन्।

अमेरिकाले आम विनाशकारी हतियारको उत्पादन र आपूर्तिमा संलग्न चार कम्पनीको पनि पहिचान गरिरहेको बताइएको छ। अर्कोतर्फ गाजामा जारी युद्धका लागि अहिलेसम्म अमेरिकाले इजरेललाई तीन अर्ब डलरभन्दा बढीको हतियार उपलब्ध गराएको छ।

पाकिस्तानको विदेश मन्त्रालयले भने इस्लामाबादलाई अमेरिकाको पछिल्लो कारबाहीबारे जानकारी नभएको जनाएको छ।

एक विज्ञप्ति जारी गर्दै उसले भनेको छ “यसअघि शङ्काका भरमा सूची जारी गरिएको थियो। त्यसमा समावेश भएका वस्तुलाई बन्देजको सूचीमा थिएनन् तर उनीहरूले संवेदनशील ठानेको हुनसक्छ।”

पाकिस्तानले राजनीतिक उद्देश्यका कारण निर्यातमा प्रतिबन्ध लगाउने नीतिलाई आफूले अस्वीकार गर्ने बताएको छ।

अमेरिकाले आरोप लगाएका कम्पनी कुन छन्

अमेरिकी विदेश मन्त्रालयले यसबारे थप तथ्य पनि सार्वजनिक गरेको छ।

जसअनुसार अमेरिकाले चीनको सियान लङ्दे टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेडलाई पाकिस्तानको लामो दूरीको बलिस्टिक क्षेप्यास्त्रको तयारीका लागि पार्टपुर्जा उपलब्ध गराएको आरोप लगाएको छ।

अमेरिकाले फिलामेन्ट रकेटका मोटर केसहरू तयार गर्ने मेसिनमा प्रयोग गरिने दाबी गरेको छ।

टियानजिन क्रिएटिभ इन्टरनेशनल ट्रेड कम्पनी, लिमिटेडले पाकिस्तानको लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमलाई पार्टपुर्जा उपलब्ध गराएको छ। यसमा 'स्टिर वेल्डिङ' वस्तुहरू पनि समावेश छन्।

अमेरिकाका अनुसार अन्तरिक्ष प्रक्षेपण उपकरणमा प्रयोग हुने प्रोपेलेन्ट ट्याङ्कको तयारीमा पनि स्टिर वेल्डिङ सामग्री प्रयोग गर्न सकिन्छ।

अमेरिकाको दाबी अनुसार चीनको ग्रानपेक्ट कम्पनी लिमिटेडले पाकिस्तानको अन्तरिक्ष अनुसन्धान सङ्गठन सुपर्कोलाई रकेट मोटरहरूको परीक्षणमा प्रयोग हुने उपकरण उपलब्ध गराएको छ।

सोही कम्पनीले ठूला व्यासको रकेट मोटरको परीक्षणका लागि पाकिस्तानलाई पार्टपुर्जा आपूर्ति गरिरहेको आरोप पनि लागेको छ।

एमटीसीआर भनिने मिसाइल टेक्नोलोजी कन्ट्रोल रिजिम श्रेणी-१ बलिस्टिक क्षेप्यास्त्रहरू यसअघिबाटै पाकिस्तानमा निर्माण हुने गरेका छन्।

अमेरिकी दाबी अनुसार बेलारुसको मिन्स्क ह्वील ट्र्याक्टर प्लान्टले पाकिस्तानलाई बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि विशेष सवारी साधनको चेसिस उपलब्ध गराएको छ।

यो चेसिस बलिस्टिक क्षेप्यास्त्रको प्रक्षेपण कार्यक्रममा प्रयोग गरिन्छ। यो पाकिस्तानको राष्ट्रिय विकास कम्प्लेक्स (एनडीसी) लाई उपलब्ध गराइएको थियो।

अहिले प्रतिबन्ध किन?

अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा विश्वभरि विनाशकारी हतियार रोक्ने अमेरिकी नीति अनुसार यो कदम चालिएको उल्लेख छ।

अर्कोतर्फ, पाकिस्तानको विदेश मन्त्रालयकी प्रवक्ता मुमताज जोहरा बलोचको विज्ञप्तिमा विगतमा पनि कुनै प्रमाण नदिई यस्ता निजी कम्पनीमाथि प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, "अमेरिकाले हालै गरेको कारबाहीको बारेमा हामीसँग विशेष जानकारी छैन, तर हामीले विगतमा शङ्काकै आधारमा प्रतिबन्ध लगाइएको देखेका छौँ।"

"नियन्त्रण सूचीमा नभएको बस्तु पनि संवेदनशील भएको आधारमा प्रतिबन्ध लगाइएको पति विगत छ।"

उनले पाकिस्तानले राजनीतिक उद्देश्यका लागि निर्यात प्रतिबन्धको प्रयोग गरिएको आरोप लगाइन्।

अर्कोतर्फ, रक्षा मामिलाका जानकार विज्ञहरूको विश्लेषणले अर्कै कुरा बताउँछ।

रक्षा विज्ञ सैयद मोहम्मद अली अन्तर्राष्ट्रिय कानुन, अन्तर्राष्ट्रिय संस्था र विश्वभरिका अन्तर्राष्ट्रिय प्रविधिको पहुँच सबै क्षेत्रमा भूराजनीतिको प्रभाव परेको बताउँछन्।

उनले भने, "पश्चिमी देशहरूले चीनको आर्थिक विस्तारलाई रोक्न वा सीमित गर्ने प्रयास गरिरहेका छन्।"

यी प्रतिबन्धपछि ती आरोपहरूलाई चुनौती दिने, जवाफ दिने वा कानुनी राहत पाउने सम्पूर्ण जिम्मेवारी यी आरोप लागेका चिनियाँ कम्पनीहरूमा रहेको उनले बताए।

पाकिस्तानले दशकौँदेखि आफ्नो रणनीतिक कार्यक्रम स्थानीय स्रोतसाधनबाट बनाइएको जवाफ दिने गरेको उनी बताउँछन्।

प्रतिबन्धको इरानसँग सम्बन्ध

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको दाबीमा कडा प्रतिबन्ध लगाउने क्रममा अमेरिकामा रहेका वा अमेरिकी नागरिकसँग भेटिएका ती चार कम्पनीको सबै सम्पत्ति रोक्का गरिने स्पष्ट पारिएको छ।

यससँगै यी कम्पनीका मालिकहरूलाई अमेरिका आउन प्रतिबन्ध लगाइने र अमेरिकी नागरिकहरूलाई उनीहरूसँग व्यापार गर्न पनि रोक लगाइने उल्लेख छ।

तर पत्रकार तथा विश्लेषक अजाज सैयदले बीबीसीलाई बताए अनुसार यो प्रतिबन्धको एउटा कारण यस वर्ष फेब्रुअरीमा बाहिरिएको एउटा समाचारको पनि सम्बन्ध छ।

उनले चार पाकिस्तानी नागरिकलाई अमेरिकी अधिकारीहरूले हुथी विद्रोहीलाई इरानी क्षेप्यास्त्रका पार्टपुर्जाहरू उपलब्ध गराएको आरोप लगाएको बताए।

तिनीहरूमध्ये एक, मोहम्मद पहलवानलाई फेब्रुअरीमा यो आरोप लगाइएको थियो। उनी ज्यानुअरीमा एक कारबाहीको क्रममा पक्राउ परेका थिए।

यो कारबाही जनवरीको सुरुमा अमेरिकाले गरेको थियो जसमा दुई नौसेना नाविकको मृत्यु भएको थियो।

यस घटनापछि अमेरिकी सङ्घीय अदालतमा यस घटनाका मुख्य अभियुक्त पाकिस्तानी नागरिक मोहम्मद पहलवानलाई हतियार पुर्‍याएको अभियोगमा २० वर्षको जेल र तटीय सुरक्षा गार्डलाई झुटो बोलेकोमा थप पाँच वर्षको जेल सजाय हुन सक्ने तर्क गरिएको थियो।

अमेरिकाले हुथी विद्रोहीहरूले रेड सी हुँदै इरानी क्षेप्यास्त्रहरू प्राप्त गरेको आरोप लगाउँदै आएको छ।

अमेरिकी न्याय मन्त्रालयले यी हतियार वा क्षेप्यास्त्रहरू अमेरिकी जहाजमा हालै भएका आक्रमणहरूमा प्रयोग भएको दाबी गर्दै आएको छ। हुथी विद्रोहीलाई हुने सहयोग रोक्न अमेरिकाले यो वर्षको ज्यानुअरीबाट यस्तो कारबाही जारी राखेको छ।

अजाज सैयद भन्छन्, “अमेरिकाले सामना गरिरहेको अर्को समस्या इरान र पाकिस्तानबीचको बढ्दो सम्बन्ध हो। यो समस्या २२ अप्रिलमा पाकिस्तानमा इरानी प्रतिनिधिमण्डलको आगमनसँग पनि जोडिएको छ। इरानसँग पाकिस्तानको सम्बन्ध कुनै पनि हिसाबले सामान्य होस् भन्ने अमेरिका चाहँदैन।”

अहिले कम्पनीमाथि लगाइएको प्रतिबन्ध देशविरुद्ध पनि लगाउन सक्ने चेतावनीको रूपमा हेरिनुपर्ने उनी बताउँछन्।

अमेरिकी आणविक प्रतिबन्धहरूको इतिहास

अमेरिकाले कुनै पनि देशमाथि यस्तो प्रतिबन्ध लगाएको यो पहिलो पटक भने होइन।

विगतका घटनाक्रमहरूबाट अमेरिकाले पाकिस्तानमाथि यसअघि पनि यस्तो नाकाबन्दी लगाएको देखाउँछ।

सन् २०२१मा, अमेरिकी प्रशासनले १३ पाकिस्तानी कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो। ती कम्पनीहरूले पाकिस्तानको आणविक र क्षेप्यास्त्र कार्यक्रममा सहयोग गरिरहेको आरोप लगाइएको थियो।

त्यसबेला विश्लेषक र अनुसन्धानकर्ताहरूले ती कम्पनीहरूबारे पाकिस्तानको आणविक वा क्षेप्यास्त्र कार्यक्रमसँग कुनै सम्बन्ध नभएको बताएका थिए। किनभने ती कम्पनीहरू व्यापार, इन्जिनियरिङ र आयात व्यवसायमा संलग्न थिए।

त्यसपछि सन् २०२३ मा पनि अमेरिकाले पाकिस्तानलाई बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री उपलब्ध गराएको भन्दै तीन चिनियाँ कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो।

यस पटक, आरोप लगाइएका कम्पनीहरूले यी प्रतिबन्धहरू बारे कुनै प्रतिक्रिया दिएका छैनन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।