भारत: पाकिस्तानसँगको सीमामा नयाँ दिल्लीले आधुनिक सैन्य हवाई अड्डा बनाउने निर्णय किन लिएको हो?

डेढ साता अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा पाकिस्तानको सीमा नजिकै 'डीसा' मा सैन्य हवाई अड्डाको शिलान्यास गरे जसलाई भारतको हवाई सुरक्षाको लागि महत्त्वपूर्ण कदमका रूपमा व्याख्या गरिएको छ।

नयाँ सैन्य हवाई अड्डा उत्तरी गुजरातको बनासकांठा जिल्लामा छ।

यो अर्को वर्षको डिसेम्बर महिनासम्ममा पूर्ण रूपमा तयार हुने बताइएको छ।

त्यसका लागि बजेटसम्म निर्धारण गरिसकिएको जनाइएको छ।

सैन्यहवाई अड्डाको महत्त्व के

प्रधानमन्त्री मोदीले उक्त सैन्य हवाई अड्डाको शिलान्यास गर्दै उक्त अड्डा भारतको सुरक्षाका लागि एउटा प्रभावकारी केन्द्रका रूपमा स्थापित हुने बताए।

उनले भने, "अन्तर्राष्ट्रिय सीमा (पाकिस्तान) यहाँबाट जम्मा १३० किलोमिटर टाढा छ। यदि हाम्रो सेना त्यसमा पनि विशेष गरी वायु सेना डीसामा उपस्थित रह्यो भने हामी पश्चिमी सीमामा निम्तने कुनै पनि चुनौतीलाई बढी प्रभावकारी ढङ्गले जवाफ दिन सक्छौँ।"

रक्षा विश्लेषक राहुल वेदी भन्छन्, "यो हवाई अड्डा सुरक्षात्मक पहलका लागि बनाउन लागिएको हो। भारत पनि एकदमै हाबी छ र पछि हट्ने छैन भनेर देखाउने कोसिस सहित मोदी एउटा आक्रामक नीति लिएर अघि बढ्न खोजिरहेका छन्।"

उक्त हवाई अड्डा गुजरातमा बन्न लागेको पाँचौँ सैन्य हवाई अड्डा हो। उक्त राज्यमा वडोदरा, जामनगर, भुज र नलिया (कच्छ) मा भारतीय वायु सेनाका ठूला अड्डाहरू छन्।

त्यसमध्ये कच्छ र भुजका हवाई अड्डाहरू डीसातर्फको पाकिस्तानको सीमा नजिकै अवस्थित छन्।

विश्लेषक वेदी पछिल्लो कदमले पाकिस्तानलाई विशेष प्रभाव नपर्ने ठान्छन्। तर उनले पाकिस्तानले आफ्ना पहिलेका हवाई अड्डाहरूको स्तरोन्नति गर्नसक्ने बताए।

डीसामा बन्ने सैन्य हवाई अड्डामा अत्याधुनिक प्रविधि र आर्टिफिशियल इन्टेलिजेन्सको प्रयोग गरिने बताइएको छ।

वायुसेनाको ४,५१९ एकड जमिनमा उक्त सैन्य अड्डा बनाइन लागिएको हो। त्यहाँ अहिले २० वटा निगरानी टावर बनिसकेका छन्। करिब २२ किलोमिटर लामो पर्खाल उक्त क्षेत्रमा बनाइएको छ।

भारतीय वायु सेनाका अनुसार अहिले ऊसँग १,६४५ वटा विमान रहेका छन्।

रक्षा विश्लेषक राहुल वेदी भन्छन्, "अटल बिहारी वाजपेयीको समयमा नै यो योजना सुरु गर्नेबारे केही कुराकानी भएको थियो। तर यो परियोजना सुरु हुनुभन्दा पहिल्यै उनको सरकार हट्यो र त्यसको २० वर्ष पछिसम्म कुनै काम भएन।"

उनले थपे "मोदी जब दोस्रो पटक सत्तामा आए त्यसपछि एक वर्षअघि उनले यो सैन्य हवाई अड्डाका लागि १ हजार करोड भारतीय रुपियाँ बजेट निर्धारण गरे।"

नयाँ हवाई अड्डाले कुन क्षेत्रमा कस्तो सुरक्षा दिन्छ

वायु सेना स्रोतहरूका अनुसार यो हवाई अड्डालाई दुई चरणमा तयार गरिनेछ।

पहिलो चरणमा युद्धक विमानका लागि रनवे, ट्याक्सी वे र फाइटर स्क्वाड्रन डिस्पर्सल एरिया लगायत बनाइनेछन्।

दोस्रो चरणमा आधुनिक प्राविधिक कन्ट्रोल भवन र वायु सेनाका कर्मचारीहरूका लागि आवास भवन निर्माण गरिनेछ।

यो परियोजनाका इन्जिनियर इन चिफ लेफ्टिनेन्ट जनरल हरपाल सिंहलाई उद्धृत गर्दै डिसेम्बर २०२३ सम्म परियोजना सम्पन्न भइसक्ने बताइएको छ।

विभिन्न स्रोतहरूले दिएको जानकारी अनुसार डीसा सैन्य हवाई अड्डाले गुजरातको भुज जिल्लामा अवस्थित नालिया र राजस्थानको फलोदी सैन्य हवाई अड्डाबीचमा रहेको रिक्ततालाई पूर्ति गर्ने भएकाले यो भौगोलिक कारणले पनि रणनीतिक महत्त्वको ठानिएको छ।

विशेषज्ञहरूका अनुसार डीसा एक 'फरवार्ड अपरेटिङ् बेस' हुनेछ र त्यसले पाकिस्तानको जैकबाबाद र उत्तरी इलाकाहरूमा रहेका सैन्य हवाई अड्डाबाट कुनै पनि हमला भएको खण्डमा पहिलो रक्षात्मक पर्खालको भूमिका खेल्न सक्नेछ।

मूठभेडको अवस्थामा हैदराबाद (पाकिस्तान), कराची र सक्खर जस्ता शहर उक्त अड्डाको दायरामा हुने बताइन्छ।

मिडियामा वायु सेनाका विशेषज्ञलाई उद्धृत गर्दै जनाइए अनुसार भविष्यमा गुजरात या उत्तर पश्चिम सेक्टर अर्थात् महराष्ट्र वा त्यो भन्दा पनि पर कुनै पनि ठूलो आतङ्कवादी हमला भएको खण्डमा त्यसमा पाकिस्तान विरुद्ध जवाफी कारबाहीका लागि समेत त्यसलाई प्रयोग गर्न सकिने जनाइएको छ।

राहुल वेदी भन्छन्, "डीसाको सैन्य हवाई अड्डा आक्रमण गर्न प्रयोग गरिने भन्दा पनि रक्षात्मक अड्डा हुनेछ। त्यहाँ मिग-२९ र भारतमा बनाइएको तेजस बिमानलाई तैनाथ गरिनेछ। भारतको सबैभन्दा आक्रामक विमान राजस्थानको जोधपुर सैन्य हवाई अड्डामा राखिएको छ र त्यहाँबाट यहाँसम्म आइपुग्न पाँचदेखि ६ मिनेट लाग्छ।"

गुजरातमा रहेका एक खर्ब डलर भन्दा अधिक लगानी भएका औद्योगिक क्षेत्रको सुरक्षाका लागि पनि यो सैनिक हवाई अड्डा महत्त्वपूर्ण हुने ठानिएको छ।

राहुल वेदी भन्छन्, "डीसा बेस बनाउनुको एउटा महत्त्वपूर्ण कारण जामनगरको रिलायन्स तेल रिफाइनरीको सुरक्षा पनि हो। यो संसारकै सबैभन्दा ठूलो तेल रिफाइनरी उद्योग हो। यहाँ कुनै किसिमको हमला भयो भनेर त्यसबाट भारतलाई ठूलो समस्या पर्नसक्छ। त्यही भएर त्यसको सुरक्षाका लागि यो हवाई अड्डा महत्त्वपूर्ण छ।"

वायु सेना आधुनिकीकरण भारतको प्राथमिकतामा

दुई वर्ष पहिला लद्दाखमा चीनसँग मुठभेडपछि भारतले आफ्नो वायु सेनाको आधुनिकीकरणलाई उच्च प्राथमिकतामा राखेको छ।

भारतीय वायु सेनाको अधिकतम युद्धक विमान रुसबाट ल्याइएका हुन्।

तीनमा मिग-२१, मिग-२९ जस्ता फौजी जहाज उल्लेखनीय छन्। विस्तारै यीनको ठाउँमा रफाल, मिराज, जगुआर र अरू नयाँ विमानहरू ल्याउने क्रम चलिरहेको छ।

हालै भारतले आफ्नो देशमा निर्माण गरिएको लाईट कम्ब्याट फौजी जहाज 'तेजस' र 'प्रचंड' हेलिकोप्टरलाई आफ्नो वायुसेनामा सामेल गरेको थियो। भविष्यमा तीनको सङ्ख्या बढाउने उद्देश्य राखिएको छ।

हाल भारतसँग ३१ वटा स्क्वाड्रन उपलब्ध छन्। अबको दश वर्षभित्र तीनको सङ्ख्या ४२ पुर्‍याउने लक्ष्य राखिएको छ। वायु सेनाको आधुनिकीकरणसँगै आउने वर्षहरूमा सैन्य हवाई अड्डा र नयाँ रनवेहरूसमेत निर्माण गर्ने लक्ष्य राखिएको छ।