एसईई परीक्षा सुरु, यसकारण अझै बाँकी छ 'पुरानो हाउगुजी'

तस्बिर स्रोत, RSS
- Author, मतिना त्वानाबासु
- Role, भक्तपुर
शुक्रवारदेखि यस वर्षको एसईई परीक्षा सुरु भएको छ। परीक्षामा चार लाख ८५ हजार छात्रछात्रा सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
प्रदेश परीक्षा व्यवस्थापन समितिले प्रदेशहरूअनुकूल हुनेगरी व्यवस्था मिलाएको यस पटकको एसईईमा २,०३७ केन्द्रहरू तोकिएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा भन्छन्, "केन्द्रले प्रश्नपत्र पठाउने, उत्तरपुस्तिका जाँच्ने र नतिजा प्रकाशन गर्ने काम गर्ने छ।"
यस पटक जापानको राजधानी टोक्योबाट समेत १४ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदै छन्।
कुनै बेला ‘फलामे ढोका’ भनिने माध्यमिक तहको परीक्षाप्रति अहिले पनि मानिसहरूको चासो, चिन्ता र भय सोचे जति हराउन नसकेको धेरैको अनुभव छ।
"अन्य कक्षाको वार्षिक परीक्षाजस्तै हो एसईई परीक्षा। यसलाई त्यसरी नै बुझ्नुपर्छ," शर्मा भन्छन्।
बोर्डले परीक्षा सकिएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्ने लक्ष्य राखेको जनाएको छ।


अभिभावकको भय
काठमाण्डूकी सरिता खनाल छोरीको परीक्षाका लागि बिहीवारदेखि नै कार्यालयबाट बिदा लिएर बसेकी छन्।
छोरीको परीक्षा नसकुन्जेल कार्यालय जाने र सामाजिक जमघट सबै बन्द गर्ने उनले बताइन्।
"एसईईको बेला उससँग कोही न कोही एक जना त बस्नैपर्यो। हामी भयौँ भने उसलाई पढ्न बस्दा एक्लो महसुस हुँदैन। उसलाई चाहिएको चिज तुरुन्तै दिन सकिन्छ। बेलाबेला खाना र पानी दिन सकिन्छ। एसइई हुन्जेल कतै नजाने।"
भक्तपुरको डोलेश्वर सिपाडोलकी फुलान बल पनि छोराको रुचि अनुसारको खानेकुरा घरमा ल्याएर राखेको बताउँछिन्।
उनलाई परीक्षाको तयारीमा मोबाइल र टीभी बाधक बन्ला भन्ने निकै चिन्ता छ।
"बेलाबेला मोबाइल चलाउन थाल्छ। टीभी हेर्न थाल्छ। हामी नभए कसले रोक्ने र भन्ने?" उनले भनिन्।
एसईई दिने सन्तानका लागि अभिभावकहरूको कुनै न कुनै किसिमले तयारी कुनै अस्वाभाविक होइन।
राजु अधिकारीले आफ्नो मोबाइलको घण्टी बन्द गरेर भाइब्रेशन मोडमा राखेका छन्। घरमा टीभी हेर्न बन्देज लगाएका छन्।

तथ्याङ्कमा एसईई २०७९
- सहभागी विद्यार्थी: ४,८५,३९६
- छात्र: २,४२,६७४
- छात्रा: २,४२,७१२
- लैङ्गिक अल्पसङ्ख्यक: १०
- परीक्षा केन्द्र: २,०३७

मोबाइल र ल्यापटपको समय

फुलानलाई कोभिड महामारीमा अनलाइन कक्षा सञ्चालन गर्ने निहुँमा विद्यार्थीलाई मोबाइल र ल्यापटपको लत बसेको भन्ने लाग्छ।
त्यही लतका कारण एसईई परीक्षाको तयारीमा छोराले सोचे जति समय नदिएको उनको गुनासो छ।
उनी सुनाउँछन्, "पढे जस्तो गर्ने। कति हेरेको भन्यो भने पढेको भन्छन्। किताबमा उति समय बिताएको कहिल्यै थाहा छैन।"
ललितपुरका रामकृष्ण डङ्गोलले आफ्नो छोराले प्रयोग गर्ने उपकरणहरू आफ्नो दराजमा लुकाउन परेको बताए। जाँच सकेपछि फिर्ता गर्ने सर्तमा त्यस्तो गरेको उनले बताए।
अधिकांश अभिभावकले परीक्षा अवधिभरि मोबाइल र ल्यापटपजस्ता उपकरण नचलाउन अनुनय नै गरेको बताएका छन्।


होस्टलको माग
"एसईई दिने विद्यार्थीलाई होस्टल राख्नु पर्दैन। घरमै बसेर पनि राम्रो गर्न सक्छन् भन्दा अभिभावकहरू आफ्नो बच्चाको क्षमतामा विश्वास गर्न सक्दैनन्। होस्टेलको व्यवस्था गर्नुस् भन्छन्," काभ्रेको एक विद्यालयका प्रधानाध्यापक हिरा शर्मा भन्छन्।
उनले एसईईबारे अझै कतिपय अभिभावकमा डर कायमै रहेको सुनाउँछन।
"परीक्षा दिने बच्चालाई जाँच केही होइन जस्तो लागिसक्यो तर अभिभावक र शिक्षकलाई भने कताकताको डर अझै छ।"
एसईई परीक्षा अवधिभरि होस्टलको व्यवस्था गर्ने उपत्यकाका केही विद्यालयका शिक्षकसँग कुराकानी गर्दा उनीहरूले पढाइको लागि भन्दा पनि मोबाइल र ल्यापटपबाट छुटकारा दिन अभिभावकले होस्टलको माग गरेको बताए।
एसइई परीक्षामा जसरी पनि राम्रो ग्रेडसहित उत्तीर्ण हुनुपर्छ भन्ने मान्यता राख्ने अभिभावकले विद्यालयमा होस्टेलको व्यवस्थापनका लागि दबाब दिएको सुनाइन् भक्तपुरकी एकजना शिक्षिका चन्द्रशोभा मानन्धरले।
"होस्टलमा राखेर दिनरात पढाउन सके विद्यार्थीले राम्रो ग्रेडसहित एसइई उत्तीर्ण गर्नेछन् भन्ने कतिपय अभिभावक र शिक्षकको सोचले विद्यार्थीहरूमा निकै दबाव पर्छ।"
'सामान्य तर अझै विशेष'
एसईई परीक्षा विद्यालयमा लिइने अन्य परीक्षाझैँ सामान्य हो, आत्तिनु पर्दैन, गर्न सकिहालिन्छ भन्दै गर्दा पनि यो परीक्षाबारे हुने चर्चा परिचर्चाले यसको महत्त्व र विशेषता विशेष छ भन्ने सन्देश दिइरहेको कतिपयको टिप्पणी छ।
यतिवेला स्नातकोत्तर अध्ययन गरिरहेकी रोजी तामाङलाई एसईईको परीक्षामा विद्यार्थी अभिभावक र शिक्षकको चिन्ता त्यसको आकार र प्रभावभन्दा निकै ठुलो हुने गरेको अनुभव छ।
यसको चौतर्फी चर्चाले पनि यसको हाउगुजी कायमै राखेको उनको ठम्याइ छ।

तस्बिर स्रोत, RSS
"एसईई परीक्षा दिन जानुअघि विद्यार्थीलाई टीकाटालो गरेर पठाउँदा के-के न गर्न जान लागेको, के जितेरै आउनुपर्ने जस्तो विशेष खालको अनुभूति गराउने परिपाटी अहिले पनि देखिन्छ," तामाङ भन्छिन्, "यसैले पनि एसइई परीक्षा सामान्य होइन, विशेष हो भन्ने बनाएको छ।"
सर्लाहीको एउटा विद्यालयमा अध्यापन गर्ने शिक्षिका सानु कार्कीका अनुसार आफ्नो विद्यालयभन्दा बाहिर गएर परीक्षा दिनु पर्ने व्यवस्थाले एसईईको महिमा नघटेको हुनसक्छ।
"अभिभावकलाई त्यही कुराले बढी सताउने गरेको जस्तो लाग्छ।"
जसका सन्तानले अतिरिक्त कक्षा वा ट्यूशन पढेका छैनन् वा जसको परिवारबाट पहिलो पटक एसईई दिइरहेछन् ती र त्यस्ता परिवारमा एसईईको डर बढी रहेको शिक्षिका कार्की बताउँछिन्।
"मिस, मेरो नानीले गर्न सक्ला त? एकचोटि हेर्नू न है भन्ने अभिभावकहरू पनि छन्। यत्रो मेहनत गरेर पढाएका छौँ लेखिहाल्छन् नि भन्ने अभिभावकहरू पनि बढ्न थालेका छन्। तर त्यस्तो अभिभावकको सङ्ख्या अझै कम नै छ।"
एसईई परीक्षा हलमा गार्ड बस्ने शिक्षकहरूसँग यतिबेला अभिभावकहरू नजिक हुन खोज्ने, आफ्नो सन्तानलाई कुनै हिसाबले "सजिलो" भइहाल्छ कि सहजीकरण हुन्छ कि भन्ने प्रयास गर्ने गरेको शिक्षकहरू सुनाउँछन्।
अभिभावकको व्यवहारले पनि एसईई जति नै सामान्य परीक्षासरह मान्नु पर्छ वा बनाउनु पर्छ भने पनि सर्वसाधारण मानिसहरूमाझ यो अझै विशेष हुने गरेको शिक्षकहरू सुनाउँछन्।
एसईई परीक्षामा सहभागी हुने विद्यार्थीलाई दिइने महत्त्व, उनीहरूलाई गरिने व्यवहार, उनीहरूले पाउने शुभेच्छालगायत परीक्षा तयारीमा विद्यालय तथा शिक्षककले गर्ने मेहनत, परीक्षा अवधिमा अभिभावकले दिने साथ, परीक्षा केन्द्रहरूमा उनीहरूले बटुल्ने ११ कक्षाको भर्नाको पर्चीलगायत सञ्चारमाध्यममा हुने चर्चा परिचर्चाले एसईई सामान्य होइन विशेष हो भन्ने मान्यता स्थापित गर्नमा सहयोगी बन्दै आएको धारणा धेरैले व्यक्त गरेका छन्।












