एसईई: उच्च ग्रेड ल्याउने विद्यार्थी कम देखिनुको कारण कोभिड महामारी मात्र हो?

एसईई

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, एसईईको नतिजा सार्वजनिक गर्दै राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरू

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा उच्च ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या अघिल्ला वर्षहरूको तुलनामा न्यून देखिएको छ।

त्यसको कारणबारे सरकारी अधिकारी र शिक्षाविद्को मत फरक-फरक देखिन्छ।

अधिकारीहरूले त्यसलाई "कोभिड महामारीको असर"का रूपमा अर्थ्याएका छन्।

तर शिक्षाविद्हरू "कमजोर नतिजा"को कारण "पठनपाठनमा हुने कमजोरी" ठान्छन्।

उच्च ग्रेड ल्याउने कति?

राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले दिएको जानकारी अनुसार यसपालि विभिन्न ८ खाले ग्रेडमा नतिजा निकालिएको हो।

त्यसमध्ये सबैभन्दा उच्च श्रेणी अर्थात् ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ९ हजार ६ सय ३३ रहेको छ।

तर कोभिडका कारण आन्तरिक मूल्याङ्कनका आधारमा निकालिएको नतिजाअघि भौतिक उपस्थितिमा भएको २०७५ सालको परीक्षामा त्यस्तो जीपीए ल्याउनेको सङ्ख्या साढे १७ हजार ५ सय ८० थियो।

त्यस्तै ३.२० देखि ३.६० जीपीएसम्म ल्याउने विद्यार्थी सङ्ख्या ४१ हजार ६ सय २७ रहेको बोर्डले जनाएको छ।

त्यो पनि भौतिक उपस्थितिमा भएको यसअघिको परीक्षाको तुलनामा कम रहेको बोर्डका अधिकारीहरूले जानकारी दिएका छन्।

२०७५ सालमा ५१ हजार १ सय ३७ जनाले उक्त श्रेणीको जीपीए प्राप्त गरेका थिए।

यस वर्ष कति विद्यार्थीले कति जीपीए प्राप्त गरे?

  • ३.६० देखि ४ जीपीए ल्याउने ९ हजार ६३३
  • ३.२० देखि ३.६० सम्म ल्याउने ४१ हजार ६ सय २७
  • २.८० देखि ३.२० सम्म ल्याउने ६९ हजार ९ सय
  • २.४० देखि २. ८० सम्म ल्याउने ९० हजार ७ सय ८५
  • २.२० देखि २. ४० सम्म ल्याउने १ लाख १२ हजार ७ सय ३३
  • १.६० देखि २ सम्म ल्याउने १ लाख ५ सय ५४
  • १.२० देखि १.६० सम्म ल्याउने ४४ हजार ५ सय ६६
  • ०.८० देखि १.२० सम्म ल्याउने ३ हजार २ सय ८०

कारणबारे सरकारी भनाइ

उच्च ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या न्यून हुनुको कारण कोभिड महामारी रहेको सरकारी अधिकारीहरूको भनाइ छ।

नतिजा सार्वजनिक गरेपछिका कुराकानीमा बोर्डका अधिकारीहरूले सोही कुरा बताएका थिए।

एसईई परीक्षार्थी

तस्बिर स्रोत, RSS

सरकारी अखबार गोरखापत्रका अनुसार शिक्षामन्त्री देवेन्द्र पौडेलले पनि "कोभिडका कारणले पठनपाठन राम्ररी हुन नसक्दा सिकाइ नपुगेको" बताएका छन्।

बीबीसीसँग कुराकानी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले "उच्च ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या कम हुनुको मुख्य कारण कोभिड महामारीको असर" भएको बताए।

उनले भने, "यस्तो भएको कोभिडको कारणले नै हो। तर अहिले बजारमा जीपीए ४ कतिले ल्याए भन्ने हिसाबले मात्र नतिजा खस्कियो वा बढ्यो भन्ने गरेको देखियो।"

"कोही जीपीए एकदमै कम ल्याउने हुन्छन् भने कोही एकदमै बढी ल्याउने हुन्छन्। त्यसैले जीपीए ४ कतिले ल्याए भन्ने आधारमा नतिजा खस्कियो भनेर गरिने मूल्याङ्कन वस्तुनिष्ठ होइन।"

कोभिडका कारण शिक्षा क्षेत्रमा निकै नै क्षति भएको उनको भनाइ छ।

शर्माका अनुसार कोभिडका कारण शैक्षिकसत्रमा भएको उथलपुथल तथा विद्यार्थीको मनस्थितिले पनि एसईईको नतिजामा प्रभाव परेको हो।

शिक्षाविद् के भन्छन्?

कतिपय शिक्षाविद्हरूका भनाइमा उच्च जीपीए ल्याउने विद्यार्थी कम हुनु "चिन्ताको विषय" हो र त्यसमा कोभिडको भन्दा अन्य कारकको भूमिका महत्त्वपूर्ण देखिन्छ।

एकजना शिक्षाविद् विद्यानाथ कोइराला भन्छन्, "कोभिडलाई देखाउनु ठाडो झूट र बेइमानी हो। सरकारले कोभिडका बेलामा के गर्ने भन्ने रणनीति बनाउनु पर्दैन थियो?"

उनका बुझाइमा शिक्षकहरूलाई जिम्मेवार नबनाउने सोच यस्तो नतिजा आउनुको मुख्य कारण हो।

"शिक्षकले कसरी पढाउनुपर्छ भन्नेमा बल गरिएन, जसले राम्रो पढाए, उनीहरूको उच्च श्रेणी आयो, अरूको तल्लो श्रेणी आयो," उनले भने।

कोइरालाका भनाइमा विद्यार्थीले कम अङ्क ल्याउनुमा उनीहरूको भन्दा उनीहरूलाई पढाउने शिक्षक र शिक्षकलाई चलाउने प्रक्रियाको दोष बढी देखिन्छ।

अर्का शिक्षाविद् मनप्रसाद वाग्ले अहिलेको नतिजालाई यसरी मूल्याङ्कन गर्छन्, "माथिल्लो श्रेणीमा आउने घटेका छन्, तल्लो श्रेणीका बढेका छन्।"

परीक्षा

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, परीक्षाको फाइल तस्बिर

"अघिल्ला वर्षमा स्कूलले आन्तरिक मूल्याङ्कनमा पठाउँदा बढेको देखिएको थियो। त्यसले स्कूलले पठाउँदा हचुवामा पठाउने रहेछन् भन्ने पनि देखियो।"

यद्यपि अहिलेको नतिजाका निम्ति कोभिडलाई दोष दिनु उपयुक्त नभएको उनको भनाइ छ।

उनले भने, "पठनपाठनको सुनिश्चितता नगरी परीक्षा गरिन्छ भने त्यसको विश्वसनीयता हुँदैन।"

गत वर्षहरू र यसपालिका नतिजा हेर्दा परीक्षाको नै विश्वसनीयता गुमेको देखिने उनको भनाइ छ।

परीक्षाले पूर्ण मान्यता पाउन त्यसको वैधता र विश्वसनीयता अपरिहार्य रहेको उनले बताए।

SEE examinees Nepal
RSS
यो वर्षको एसईईमा कति विद्यार्थी?

  • ५.१४ लाख कुल परीक्षार्थी

  • २,००० +परीक्षा केन्द्र

  • २,५७,९२४छात्रा

  • २,५७,०५३छात्र

स्रोत: neb.gov.np

'प्रत्युपलब्धि योजना'

शिक्षा मन्त्रालयले चाहिँ कोभिडका कारण समग्र शैक्षिक गतिविधि खस्केको र विद्यार्थीको परीक्षाफल समेत राम्रो नदेखिएकाले त्यसलाई सम्बोधन गर्ने योजना अघि बढाइएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता शर्मा भन्छन्, "कोभिडले पढाइ अवरुद्ध हुँदा त्यसले ठूलो क्षति पुर्‍याएको छ। त्यसको रिकभरी (प्रत्युपलब्धि) का निम्ति हामीले योजना बनाइरहेका छौँ।"

उनका भनाइमा सरकारले 'प्रत्युपलब्धि योजना'कै रूपमा त्यसलाई ल्याउन काम थालिसकेको छ।

एसईई

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, परीक्षाको फाइल तस्बिर

उक्त योजना आएपछि खस्कँदो शैक्षिक अवस्थालाई सुधार गर्ने थप कार्यक्रमहरू आउने शर्माले बताए।

उनले भने, "जति क्षति भयो त्यसको पूर्ति गर्नका निम्ति समय लाग्छ। मूल प्रयास भनेको विद्यालयमा सिकाइ हुने र पठन क्रियाकलापलाई जति बढाउन सकियो त्यति नै राम्रो हुने हो।"