एसईई दिइरहेका फरक विद्यार्थीहरू जसका लागि आवश्यक छ विशेष व्यवस्था

तस्बिर स्रोत, Kulprasad Neupane
काठमाण्डू, जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयबाट यस वर्ष ५ जना अपाङ्गता भएका विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा एसईई दिँदै छन्।
ती विद्यार्थीहरूको परीक्षा केन्द्र विद्यालय भवन पारिपट्टि रहेको चामुण्डा उच्च माध्यमिक विद्यालय हो।
सोमवार बिहान आफूहरू अध्ययनरत विद्यालयका शिक्षकहरूबाट शुभकामना लिएर परीक्षा केन्द्रतर्फ लाग्दै गर्दा विद्यार्थीहरूसँगै केही थान टेबलसमेत लगिएको थियो ।
कारण- परीक्षा केन्द्रमा ह्वीलचेयरमैत्री डेस्क/टेबल नहुनु।
परीक्षा केन्द्र मुस्किलले २५० मिटर मात्र टाढा भएकाले आफ्ना विद्यार्थीको लागि टेबल व्यवस्थापन गर्न सकेको बताउँछन् खगेन्द्र नवजीवन विशेष शिक्षा विद्यालयका प्रधानाध्यापक राघवप्रसाद दवाडी।
"केन्द्र अलि टाढा भएको भए हाम्रा विद्यार्थीलाई परीक्षा दिनै गाह्रो हुन्थ्यो। विद्यार्थीको मेहनत र भविष्यसँग जोडिएको यस संवेदनशील विषयमा कसले ध्यान दिने?," उनी प्रश्न गर्छन्।
अपाङ्गमैत्री संरचनाको अभाव
ह्वीलचेयर प्रयोग गर्ने विद्यार्थीका निम्ति आम विद्यार्थीले प्रयोग गर्ने टेबलमा लेख्न सम्भव नहुने दवाडी बताउँछन्। उनका अनुसार ह्वीलचेयरको आकार, शारीरिक अवस्था अनुरूप आवश्यकताहरू फरकफरक हुन्छन्।
नेपालका अधिकांश विद्यालय अपाङ्गमैत्री नभएकाले अपाङ्ग विद्यार्थीहरूका लागि अनुकूल विद्यालय मात्र केन्द्र बनाउनु पर्ने उनको तर्क छ।
२०७२ सालको भूकम्पपछि देशभरका ३२ वटामा विद्यालयहरू पुनर्निर्माण भए। ती विद्यालयहरूको भुईँ तलामा ह्वीलचेयर आवतजावत गर्न सहज हुने 'र्याम्प' राखियो। तर, अपाङ्गमैत्री शौचालय, ढोकाको चुकुल, पिउने पानी वा हात धुने स्थान नहुनुले नियमित समस्या सिर्जना गर्ने उनले बताए।
"परीक्षा दिन गएका विद्यार्थी दिसा पिसाब आउँछ कि भनेर डराउनु पर्छ। अरू विभिन्न समस्याहरू कै कारण परीक्षामा ध्यान केन्द्रित गर्न सक्दैनन्," दवाडी विद्यार्थीको अवस्था प्रतिकुल वातावरणको मनोवैज्ञानिक असरबारे बताए।
उनी स्वयं पनि अपाङ्गता भएका व्यक्ति हुन्।
हरेक सार्वजनिक स्थल तथा भवनहरू अपाङ्ग केन्द्रित नभएसम्म विशेष विद्यालयहरूमै केन्द्र राखिनु पर्ने उनको विचार छ।
टाढा केन्द्र पर्दा समयमा नपुगिने डर

तस्बिर स्रोत, Kulprasad Neupane
स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार ह्वीलचेयर प्रयोगकर्ताहरूका लागि सार्वजनिक सवारी साधनमार्फत परीक्षा केन्द्रसम्म धाउन पर्नु अर्को ठूलो चुनौती हो।
आवास वा विद्यालयभन्दा टाढा परीक्षा केन्द्र पर्दा, विद्यार्थीहरूले सवारी साधनले नचढाउने, ढिला पुगिने र क्षमता अनुरूप लेख्न नपाउनेजस्ता व्यवहारिक समस्या बेहोर्नु पर्छ।
"ट्याक्सी लिएर जानु खर्चिलो हुन्छ। त्यसैले नियमित जाने विद्यालयमै केन्द्र राख्नु उचित हुन्छ।"
चित्रात्मक प्रश्नको डर
भौतिक संरचनाको समस्या र सवारी साधनमा असहज पहुँचका कारण दृष्टिविहीन विद्यार्थीहरू पनि उत्तिकै प्रभावित छन्। उनीहरूका लागि उपलब्ध हुने लेखन सहयोगीले हिँडडुलमा पनि मद्दत पुर्याउँछन्। तर, उनीहरूका निम्ति त्योभन्दा जटिल समस्या बनेको छ चित्रात्मक प्रश्नावली।
रुपा तामाङले पाटनस्थित नमुना मच्छिन्द्र विद्यालयबाट एसईई दिँदैछन्। पहिलो दिन अङ्ग्रेजीको परीक्षा दिन जानुअघि आफूलाई निकै डर लागेको उनले सुनाइन्। तर लेखन सहयोगीसँग भेट भएपछि भौतिक चुनौतीहरू झेल्न नपर्ने विश्वास रहेको बताइन्।
"डर त चित्रात्मक प्रश्नहरू आउँछन् कि भन्ने हो। विशेष गरी गणित विषयमा र सामाजिक शिक्षामा नक्साहरू सम्बन्धी प्रश्न आउँछन्। हामी त्यसलाई हल गर्न सक्दैनौँ," रुपाले भनिन्।
चित्रात्मक प्रश्नको विकल्पमा व्याख्यात्मक प्रश्न सोधिनु पर्ने बताउँछिन् सोही विद्यालयकी शिक्षिका इन्दिरा अर्याल। लेखन सहयोगी भेट्नु नै प्रमुख समस्या भए पनि परीक्षा केन्द्रमा पुगेपछि विद्यार्थीहरूले प्रश्न सम्बन्धित समस्याहरू झेल्न नहुने उनी बताउँछिन्।
"तल्लो तहका विद्यार्थीलाई सहायक बनाउँदा कसैले लेख्नै नसक्ने डर। अलि जान्ने विद्यार्थी लग्दा उसको ज्ञान हाबी होला भन्ने डर। दृष्टिविहीन विद्यार्थीकै ज्ञान र क्षमता जाँच्न पर्ने भएकाले चित्रसहितको प्रश्न उचित हुँदैन," अर्यालले भनिन्।
लेखन सहयोगी सम्बन्धित फरक खालका चुनौतीहरूमाथि प्रकाश पार्छन् सूर्योदय अभियानमार्फत दृष्टिविहीनहरूका लागि लेखन सहयोगी खोज्न मद्दत गर्दै आएका सौगात वाग्ले। उनका अनुसार परीक्षार्थीले तयारी नगरी जाने, सहयोगीमै निर्भर हुने, चिट चोर्नेजस्ता समस्या देखिएको उनी बताउँछन्।
"हामीले दृष्टिविहीन साथीहरूलाई मद्दत हुने ठान्यौँ किनकि लेखन सहयोगी पाउन मुस्किल हुन्छ। तर अन्य अप्ठ्याराका बाबजुद सहयोगीहरू नै हतोत्साहित हुने खालका गतिविधि चाहिँ प्रेरित हुनु हुँदैन," वाग्लेले भने।
विशेष क्षमतामैत्री छैन मूल्याङ्कन प्रणाली
बहिरा विद्यार्थीलाई प्रश्न पत्रमा भएका लामा वाक्यहरू बुझ्न कठिन हुने बताउँछन् केन्द्रीय बहिरा माध्यमिक विद्यालयका शिक्षक ऋषि देवकोटा।
"बहिरा विद्यार्थीहरूको सुन्न र बुझ्न सक्ने क्षमता सुन्न सक्नेको तुलनामा कम हुन्छ। तर प्रश्न चाहिँ उही हल गर्नुपर्छ। सीमित अक्षरहरूको सङ्केत बुझ्न सक्ने भएकाले सोही अनुरूप सरल र छोटा प्रश्न अपेक्षित हुन्छ," उनले भने।
फरक क्षमता भएका विद्यार्थीहरू सोधिने प्रश्न एउटै भए पनि मूल्याङ्कन उनीहरूको अवस्थाको आधारमा हुनुपर्ने उनको तर्क छ।
"जो विद्यार्थीको हात छैन, गोडाले लेख्छन्, कम सुन्छन् वा दृष्टिविहीन छन् भने उनीहरूका लागि छुट्टै प्रश्न पत्र हुनुपर्छ। प्रयोगात्मक परीक्षाहरू पनि उनीहरूको अवस्था अनुकूल गरिनु पर्यो," खगेन्द्र नवजीवन विशेष विद्यालयका प्रधानाध्यापकले भने।
"हामीले सधैँ अपाङ्गतामैत्री मूल्याङ्कन प्रणाली हुनु पर्यो भनेका छौँ तर हालसम्म सम्बोधन भएको छैन।"
भौतिक संरचनादेखि प्रश्न र मूल्याङ्कन प्रणाली अपाङ्गतामैत्री भए उनीहरूका पनि पूर्ण रूपमा परीक्षामा केन्द्रित हुन सक्ने उनको राय छ।
अपाङ्गता भएक बाहेक बाल सुधार केन्द्रमा रहेका बालबालिकाको लागि पनि फरक व्यवस्था आवश्यक पर्छ।
कानुनी बन्धनबीच एसईई
कानुनी विवादमा परेका बालबालिकालाई राख्न देशभर ८ वटा बाल सुधार गृह स्थापित छन्। ती सुधार गृहहरूमा माध्यमिक तहसम्मको पढाई हुन्छ। त्यहीँबाट उनीहरूले एसईई परीक्षा दिन समेत पाउँछन्।
भक्तपुरस्थित बाल सुधा गृहको केन्द्रबाट यस वर्ष १९ जनाले एसईई दिँदै छन्।
"सुरुमा पढ्न सक्दिनँ। बुवा आमाले त सुधार्न नसकेको मलाई पढाइले के सुधार्ला भन्ने विद्यार्थीहरू पनि एसईईमा सहभागी हुन पाउँदा दङ्ग देखिए," केन्द्रका व्यवस्थापक रामहरि पौडेलले भने।
उनीहरूलाई निरीक्षण गर्न परीक्षा बोर्डबाटै कर्मचारी खट्ने उनले जानकारी दिए।
"सुरक्षा जोखिमका कारण विद्यार्थीहरूलाई अन्यत्र लैजान मिल्दैन। त्यसैले अन्य परीक्षा केन्द्रमा सरह हरेक सुविधासहित यहीँ परीक्षा सञ्चालन भइरहेको छ।"
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार देशभरका अन्य बाल सुधार गृहमा विद्यार्थीको सङ्ख्या र आवश्यकता अनुरूप परीक्षा दिने व्यवस्था गरिएको छ।

तस्बिर स्रोत, NAtional Examination Board
कस्ता छन् अन्य सुविधा
यस वर्ष परीक्षा बोर्डले एसईईको समय तालिका पठाउँदा हरेक विद्यालयलाई फरक क्षमता भएका विद्यार्थीहरूको आवश्यकता अनुरूप तयारी गर्न निर्देशन दिएको बताउँछन् अध्यक्ष शर्मा।
"कुनै पनि बालबालिकाको अवस्था फरक भएकै कारण उसले अप्ठ्यारो झेल्न नपरोस् भन्नेमा सतर्क छौँ। उनीहरूलाई सहज बनाउनका लागि हामीले विद्यालयहरूसँग समन्वयन गर्यौँ," उनले भने।
दृष्टिविहीन विद्यार्थीहरूले लेखन सहयोगी राख्न पाउने र एकदेखि डेढ घण्टा समय थप गर्ने व्यवस्था भएको जानकारी दिए।
"परीक्षाको मर्यादा विपरीत काम नहुने गरी सहयोगी राख्न दिन्छौँ।"
उनले बताए अनुसार चित्र समाविष्ट प्रश्नको विकल्प पनि उपलब्ध गराइएको छ।
"आगामी वर्षदेखि कम्प्युटरमार्फत परीक्षा दिन पाउने वैकल्पिक व्यवस्था पनि उपलब्ध गराउँदै छौँ," शर्माले बताए।








