एसईई परीक्षा: छात्रभन्दा छात्रा बढी सहभागी, कारण के हुन्?

बैतडीमा एसईई परीक्षामा सहभागी विद्यार्थीहरू

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, बैतडीमा एसईई परीक्षामा सहभागी विद्यार्थीहरू

कोभिड महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट गरिएको माध्यमिक शिक्षा परीक्षा एसईई यसपटक भने भौतिक उपस्थितिमै शुक्रवारबाट सुरु भएको छ।

उक्त परीक्षामा सहभागी हुनेमा छात्रहरूको तुलनामा छात्राहरू बढी रहेको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरूले जानकारी दिएका छन्।

पछिल्ला वर्षहरूमा छात्राहरूको सङ्ख्या क्रमश: बढ्दै जानुमा कतिपय सामाजिक कारणहरूले भूमिका खेलेको शिक्षाविद्हरूले बताएका छन्।

उनीहरूका भनाइमा बढ्दो जनचेतनाले पनि छात्राको सङ्ख्यामा बढोत्तरी भएको हो।

कति छन् सहभागी?

यस पटकको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयका कामु परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बीबीसीलाई बताए।

उनका अनुसार त्यसमध्ये दुई लाख ५७ हजार नौ सय २४ छात्रा रहेका छन् भने दुई लाख ५७ हजार ५३ जना छात्र छन्।

यस पटक परीक्षामा छात्रभन्दा ८७१ जना बढी छात्रा रहेको उनले बताए।

दाङमा एसईईमा सहभागी विद्यार्थी

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, दाङमा एसईईमा सहभागी विद्यार्थी

रायमाझीका भनाइमा पछिल्ला वर्षहरूमा एसईईमा सामेल हुने छात्राहरूको सङ्ख्या बढिरहेको देखिन्छ।

"छोरीलाई स्कूल नपठाउने" पुरानो मान्यतामा परिवर्तन आएकाले छात्राको सङ्ख्या बढेको उनको बुझाइ छ।

शिक्षाविद् के भन्छन्?

एसईईमा मात्र नभई त्यस माथिका उच्च शिक्षाका कक्षाहरूमा पनि अहिले छात्राहरूको सङ्ख्या बढिरहेको शिक्षाविद्हरू बताउँछन्।

त्यसको एउटा मुख्य कारण "पुरुषले कमाएर पाल्नुपर्छ" भन्ने चिन्तनका कारण सानै उमेरमा कैयौँ किशोर तथा युवाहरू रोजगारीको खोजीमा पढाइ छाडेर हिँड्नु रहेको एकजना शिक्षाविद् विद्यानाथ कोइरालाले बताए।

उनका भनाइमा केटाहरूले सानैमा त्यसरी पढाइ छाड्दा स्कूल र कलेजमा केटीको सङ्ख्या बढेको हो।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई उदृत गर्दै नागरिक दैनिकले शुक्रवार प्रकाशित गरेको एउटा खबरमा १० वर्षअघि कक्षा एकमा भर्ना भएका कुल विद्यार्थीमध्ये ५० प्रतिशतभन्दा बढी कक्षा १० सम्म नपुगेको उल्लेख छ।

त्यस्तै अर्को कारणमा छोरीलाई पनि पढ्न पठाउने चलन बढ्नु रहेको कोइराला बताउँछन्।

उनी भन्छन्, "जनसङ्ख्याका अनुपातमा पनि केटीहरू धेरै र अर्को भनेको पढ्न आउने अवसर केटीहरूलाई थपिएको पनि हो।"

तर उनी सरकारी विद्यालयहरूमा छात्राको अनुपात बढी भए पनि निजीमा त्यस्तो अवस्था नरहेको कतिपय अध्ययनहरूले देखाएको बताउँछन्।

"त्यसको कारण भनेको छोरालाई निजीमा हाल्ने र छोरीलाई सरकारीमा हाल्ने मानसिकता हो," उनी भन्छन्।

परीक्षा दिँदै विद्यार्थीहरू

तस्बिर स्रोत, RSS

सम्पन्न अभिभावकहरूले छोराछोरीलाई नै निजीमा पढाए पनि कतिपय विपन्न परिवारले छोरा र छोरीमा छनोट गर्नुपर्दा "छोरालाई महत्त्व दिने गरेको" कोइरालाको बुझाइ छ।

एसईई कति आवश्यक?

कतिपय शिक्षाविद्हरूले कक्षा १२ लाई उच्च शिक्षाको ढोका मानेपछि एसईईलाई पहिलेको प्रवेशिका परीक्षा एसएलसी जस्तो गरेर सञ्चालन गर्नु नहुने तर्क गर्दै आएका छन्।

उनीहरू विगतमा फलामे ढोका भनिने गरेको प्रवेशिका परीक्षा अर्थात् एसएलसीजस्तै अहिले एसईईलाई पनि विद्यार्थीमाझ 'हाउबुजी' बनाउने काम गरिएको बताउँछन्।

शिक्षाविद् शुशन आचार्य एसईई परीक्षालाई विद्यालय तहमा सीमित गर्नुपर्ने बताउँछिन्।

उनी भन्छिन्, "एसईईका नाममा अनावश्यक रूपबाट सरकारी खर्च गर्नु आवश्यक पनि छैन। विद्यार्थीलाई जाँच भनेर त्रसित बनाएर हाउबुजी बढाउने काम पनि गर्नु हुँदैन।"

"स्कूलमा निरन्तर रूपमा राम्रोसँग शिक्षण हुनुपर्‍यो अनि विद्यार्थीको निरन्तर मूल्याङ्कन हुनुपर्‍यो।"

परीक्षा बोर्ड

यसअघि सङ्घीय संसद्को एउटा संसदीय समितिले पनि कक्षा १० को परीक्षालाई प्रदेश तहमा हस्तान्तरण गर्नुपर्ने निर्देशन दिएको थियो।

सङ्घीय शिक्षा ऐन बन्न नसकेकाले राष्ट्रिय परीक्षा बोर्ड नियमावली संशोधन गरेर यसपटक प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेर जिम्मेवारी प्रदेशलाई दिइएको बोर्डले जनाएको छ।

यद्यपि नतिजा प्रकाशनको काम चाहिँ बोर्डले नै गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार वैशाख २० गतेसम्म हुने एसईई परीक्षाको नतिजा आगामी असार मसान्तसम्ममा प्रकाशित गरिसक्ने योजना बनाइएको छ।